बिहीबार, वैशाख १३, २०८१

त्रिशुलीमा ढिकीच्याउँ !

युवराज नयाँघरे२०७८ साउन ३ गते ५:०७

‘अब हामी पुरा तीन घन्टा भेलमा हेलिँदै छौँ !’
मालिङ्गो बस्ती रै’ छ त्रिशुली तीरको । बेनीघाटसँग जोडिएको ठाउँ । माथि सडकबाट खराङखुरुङ खोला छेउमा भेला भयौँ हामी । जलाम्मे संसारमा हेलिन आएका हामी थियौँ—तीसजना ज्यान ।

हावा हालेर टुन्न फुलेका प्लास्टिकका डुङ्गा तैरिइरहेका थिए । कतिमा हावा ठेलिँदै थियो । कतिमा नापजाँच गरिँदै थियो । उपत्यकाको गर्मीले पाकिएका हामीहरु कतिखेर पानीमा पसेर छप्लाङछुप्लुङ गरुँ–गरुँ भइरहेथ्यो ।
भुइँ नै तातेको उखर्माउलो !

त्रिशुली तीरमा बसेर नाउ खियाउन सघाउने गाइडहरुले सावधानीका कुरा सिकाए हामीलाई । ठाडा कान लाएर हामीले सुन्यौँ—पानीमा हेलिँदा सतर्क हुनुपर्ने कुरा ।
‘तपाईंहरुका गाइडले जे भन्छन्, त्यो गर्नुहोला । लाइफ ज्याकेटलाई मज्जाले कस्नुस् । पानीमा खसिहाले मुन्टो माथि पार्नु होला, ज्याकेटले मास्तिर उतार्छ । पानी नखाएपछि मरिंदैन, पानीमा बाँचेको आनन्दी आउँछ !’

त्यसो भने एक जना मुख्य प्रशिक्षकले । नेक्सस हिमालयन रिभर एडभेन्चरका हर्ताकर्ता जस्ता थिए उनी । परिचयमा नाम खुल्यो उनको—उपेन्द्रराज घिमिरे । हामी जमजमाएर बस्दाबस्दै अरु निकै टोली काठमाडौँबाट आएर मिसियो हाम्रै हुलमा । हेर्दाहर्दै खोला तीरमा सयौँ मान्छेको बराम लाग्यो । तरुनातरुनी मन थाम्न नसकेर पानी छ्यापाछ्याप गर्न थाले । पानी–यात्रा गर्न आएपछि थामिइरहन सक्नु पो कसरी !
गर्मी र पानी ।
आगो र घिउको हालत थियो यतिखेर ।

दुई दिन अघि अकस्मात् निम्तो पाएथेँ भाइ राजीव खत्रीको । ‘हामी त्रिशुलीमा बोटिङ गर्न जाने भयौँ । आनाकानी नगर्नु होला । यो एउटा एडभेन्चर पनि हो । दाइलाई पनि निम्तो गरेँ मैले !’

यो त्यही त्रिशुली हो—जसले धेरै बसहरु निलेको छ, ट्रकहरु खाएको छ, कारहरु चपाएको छ । अनि थुप्रै जीवनलाई स्वात्तै साहोरेर आफ्नो गर्भमा लुकाएको छ ।

राजीवको निम्तो पाएपछि मनमा कुरा खेले—‘आकाश यात्रा गरियो, पहाड यात्रा गरियो, यो जलयात्रा पनि जुर्‍यो !’

सुरुमा एक पटक त नजाऊँ कि जस्तो पनि लाग्यो । यो त्यही त्रिशुली हो—जसले धेरै बसहरु निलेको छ, ट्रकहरु खाएको छ, कारहरु चपाएको छ । अनि थुप्रै जीवनलाई स्वात्तै साहोरेर आफ्नो गर्भमा लुकाएको छ ।

यो त्रिशुली त्यही हो— देशका थुप्रै नेताहरु यसले खाएको छ । निकै उच्च प्रशासक र व्यापारीहरु निलेको छ । धेरै विद्यार्थी र लालाबाला गायब पारेको छ ।

यो त्यही त्रिशुली हो—जसले सयौँ गाउँले र पदयात्रुहरु चबाएको छ । अनि मनग्गे कर्मचारी र तीर्थालुहरु आफ्नो भुँडीमा हुलेको छ ।

यो त्यही नदी हो—जोसँग भीर, बाढी र पहिराको नातो छ धेरैधेरै ।

अर्को मनले प्रश्न गर्‍यो—‘खोलामा हठात् पर्नु र व्यवस्थित ढङ्गले यात्रा गर्नुमा फरक हुन्छ । जा, नयाँघरे जा । जलयात्राको ज्ञान’नि लिनै पर्छ !’

नभन्दै पछिल्लो त्यै तर्कको बैसाखी टेकेर म बेनीघाट झरेँ । बाटाभरि गाडीमा गीत गाउने र हाँसो उराल्ने काम मच्चीमच्ची भइरह्यो । नेपाल स्काउटका प्रशिक्षक र प्रशिक्षार्थीका माझमा उत्तम भट्टराई र म निम्तालु थियौँ । तैपनि हामी घुलमिल भई पो हाल्यौँ लगत्तै ।

निकै बेर त्रिशुली तीरमा खर्किएपछि लगभग दशबाह्र रङ्गीबिरङ्गी डुङ्गामा राखियौँ हामी । यो मालिङ्गो बस्ती । काँक्रा, इस्कुस र आँप लटरम्म फलिरहेका थिए । बाँसघारी बरु देखिएन । मालिङ्गोका घारी नि मेरा आँखाले देखेनन् । छाला खुइल्याउने खालको थियो बेसीको गर्मी ।

अघि मास्तिर चिउरा र चाउचाउमा नुनखुर्सानी मोलेर तयार पारेको दुईचार फाँको लाएको थिएँ मैले । उत्तमले मलाई सरक्क एउटा कुनामा बेस्सरी खोलेसरि फत्केको चाउचाउको एक बटुको हातमा थमाएर भनेँ—‘यत्ति चैँ खाइहाल्नु होला । भरे कतिखेर पाइने हो, थाहा छैन । हुलमुलमा जिउ जोगाउनु, भीडभाडमा पक्लाकपुक्लुक खाइहाल्नु भन्छन् !’ उखान बदलेर भट्टराईले मेरो ख्याल गरे ।

मैले घडी, फोन र पैसा मास्तिर गाडीमा थान्कोमान्को लाएँ । तर तीनसय रुपियाँ जत्ति घाँटीमा झुन्डाएर चेपेको थिएँ प्लास्टिकको धोक्रामा । भरे के पर्छ ….के पर्छ….!

पानीमा गएर जिस्काजिस्की गर्नेका हुलहालले छ्यापेको पानीका प्रहारले थोरथोरै भए पनि भिजिसकेथेँ म । जतिसुकै तर्किए पनि, हेलिए पनि पानीमा आएपछि ओभानो कसरी हुन सकिन्छ र ? मालिङ्गोमै एक सर्को भिजिएथ्यो ।

मैले टोपी कसेँ । लाइफ ज्याकेट बलियोसँग बाँधेँ । हातमा प्लास्टिकको बहना लिएर फोटो पनि खिचियो । बर्खाको एकदमै धमिलो पानीलाई मनमनै माया गरेँ । म जस्तै पानीलाई अँगाल्न हतारिएकाहरुका अनुहार पढेँ सुस्तरी ।

हाम्रा डुङ्गामा आठजना पर्‍यौँ । त्यस्तै सात–आठ जनालाई बाँडेर राखिने रहेछ ।  निकै बेरको बाँधछाँद र निर्देशनपछि डुङ्गा छोडियो त्रिशुलीको डरलाग्दो भेलमा ।

अनि त हाम्रा गाइड राजेन्द्र श्रेष्ठले भनेथे—‘अब हामी पूरै तीन घन्टा भेलमा !’
सुरुमा उनले डुङ्गा कसरी बढाउने, कसरी रोक्ने, छाल आउँदा के गर्ने, कसरी आफूलाई सुरक्षित पार्ने आदि अनेक कुरा र तरीका बताए । सुरुमा हामी सिक्ने क्रममै डुङ्गा ठेलेरै पुग्यौँ पारि ।

पार्वती रहेछ हामी चढेको डुङ्गाको नाउँ । मैले एक पटक आफू चढेको नाउ हेरेँ । रातो रङको यो निकै बलियो र प्रविधिले खारिएको जस्तो लाग्यो । ‘चालीस वर्ष अघि यसलाई नेपालमा ल्याइएको हो !’ पार्वतीको आगमनबारे थाहा पाइयो ।

दुई दिन अघि डरलाग्दो झरी परेर त्रिशुलीको पानीको सतह निकै माथि पुगेको रहेछ । त्रिशुलीमा भेलबाढी नै आएको लाग्थ्यो । धमिलो खोलाले बगरभरि दगुरेको फिँजे छाप जताततै देखिरहेथेँ म । माथि–माथिसम्म भेल आएर बोटबिरुवा मर्‍याकमुरुक पारेको देखिरहेथेँ म ।

र्‍यापिड, फरवार्ड, होल डन, लेफ्ट फरवार्ड, राइट फरवार्ड आदि शब्द राम्रैसँग सुन्न थालियो अब । दाहिने मोड, देब्रे मोड, अगाडि बढाऊ, रोक भनिएको थियो । हाम्रा हात–हातका बहना त्यै अन्सार चलाउनुपर्थ्यो । कान चनाखा पार्नै पर्थ्यो हामीले ।

त्रिशुलीको भेलमा हेलिएका छौँ । सुरुमा एक खालको डर लाग्यो । कतै घ्वाप्लक्क घोप्टिए….! यस्ता डरले अँट्ठिएको शरीर ससाना कुराबाट पनि निकै आत्तिंदो रहेछ । म डुङ्गाबाट तल झरी चिसो पानीमा हात चोबिरहन्थे घरीघरी । डुङ्गा सलल्ल बगेपछि एउटा बेग्लै मज्जा भयो । दायाँ बायाँका घरबस्ती देखिन थाले । गाई चराइरहेका गोठालाहरु खोला छेउमा बाँकटे हानिरहेका हुन्थे । आइमाईहरु सिरक र डसनाका खोल जस्ता ठूलठूला लुगा किनारका बडेमान ढुङ्गामा पछारिइरहेका देखिन्थे ।

मन सुरुमा निकै खल्बलिए पनि पछि चैँ औधी रमाइलो हुन थाल्यो । घरी हामी अगाडि, घरी अरु टोली अगाडि हुँदै ‘पानी दौड’ निरन्तर भइरह्यो । पार्वती रहेछ हामी चढेको डुङ्गाको नाउँ । मैले एक पटक आफू चढेको नाउ हेरेँ । रातो रङको यो निकै बलियो र प्रविधिले खारिएको जस्तो लाग्यो ।

‘चालीस वर्ष अघि यसलाई नेपालमा ल्याइएको हो !’ पार्वतीको आगमनबारे थाहा पाइयो । पाँच वर्ष अघिदेखि त्रिशुलीका पाहुनालाई सत्कार गरिआएका राजेन्द्रले हामीलाई धेरै कुरा बताइरहेका छन् ।

पारिपट्टिको मझुवाटार कटेपछि राजेन्द्रले भने—‘अब वेलकम र्‍यापिड भेटिन्छ !’
नभन्दै निकै ठूलो छालले हामीलाई स्वागत गर्‍यो । ठूलो ढुङ्गामा ठोकिएर मास्तिर उठी फर्केको पानीको मुस्लोले घ्वाप्पै छोप्यो ।
आत्तिए–आत्तिएजस्तो भयौँ हामी । तर डुङ्गा त ढिकीच्याउँ–ढिकीच्याउँ गरेर मास्तिर उठेर स्वात्तै तल खस्दा असाध्यै रमाउन पुग्यौँ । आकासतिर उठेर धर्तीमा स्वात्तै खस्दाको आनन्दी ।

एउटी लिखुरी युवती र अरु पाँच–छ तरुना ज्यान थियौँ हाम्रो नाउमा । अगाडिपट्टि बस्ने किराँत अनुहारका अलिक उत्ताउला युवा थिए । उनी जतिखेरै हाम्फाल्न तयार हुन्थे । पछाडिपट्टि बसेका अर्का चनमते पनि त्यस्तै चालढालका । पौडिन नजाने पनि डुङ्गाको डोरी समातेर बग्दो भेलमा तैरिन्थे जति बेलै । अरु सबै मौन थियौँ ।

वास्तबमा युवतीको घुर्की, आवेश र नखरापूर्ण थियो यो छालमा । नारीमा हुने बलियो बैँसको गमक थियो यो छालमा । हरेक पुरुषलाई सरक्क अँट्ठयाउन सक्ने मायावी अँगालो थियो यो छालमा ।

डुङ्गा चलाउन सुरुको देब्रे लहरमा मलाई राखिएको थियो । तर मैले राम्रोसँग मेसो पाइनँ । अनि तुरुन्तै मेरो ठाउँमा उत्तमलाई राखियो । उनले गरेको तरीका हेर्दै आफ्नो प्याडल चलाउन थालेँ म पनि ।

भेलमा सलल्ल बगिरहँदा अत्यन्तै पुलकित भयो मन । विशाल खोलामा हामीलाई बोकिएको डुङ्गा आवाजविहीन भएर तलतल गइरहेथ्यो । आवाज त हामी निकाल्थ्यौँ उत्तेजित भएर, रमाएर, फुलेल भएर अनि खुसी थाम्न नसकेर ।

डरलाग्दो भेल भए पनि त्रिशुलीको बगाइ शान्त नै थियो । दुई पहाडको चेप भए पनि धेरै ठाउँमा खोलो फैलेर बगेको छ । यहीँनिर बस्तीका मानिसहरुका चहलपहल अलिक बढ्तै देखिए । स–साना भुराभुरी पनि छप्ल्याङछुप्लुङ गरिरहेथे ।

बहिरहेका डुङ्गाबाट झ्वाम्म–झ्वाम्म फाल हानेर फेरि डुङ्गाकै फेर समात्न आउनेहरु निकै देखिए । कति त निस्सासिएर डुब्लान् जस्ता देखिन्थे । अनि डुङ्गाहरु उद्घारका लागि नजिकै पुगेर उत्रिरहेका पौडीबाजलाई डुङ्गाभित्र हाल्थे । यो क्रम भयो धेरै पटक ।

बाटोमा एउटा बन्दै गरेका आधी पुलसँग भेट भयो । त्यो पुल नाघेर तल पुगिनसक्दा अर्को ठूलो छालसँग भेट भयो हाम्रो । निकै बेरसम्म तल–माथि भएर समथर पानीमा पुगेर डुङ्गा थामियो ।

‘यो लेडी डिलाइट हो !’ छाललाई चिनाए राजेन्द्रले । वास्तबमा युवतीको घुर्की, आवेश र नखरापूर्ण थियो यो छालमा । नारीमा हुने बलियो बैँसको गमक थियो यो छालमा । हरेक पुरुषलाई सरक्क अँट्ठयाउन सक्ने मायावी अँगालो थियो यो छालमा ।

स–साना छालहरु आउँथे । हामी हतारिएर त्यता जान चाहन्थ्यौँ । तर हाम्रा गाइडले कि रोक्थे, कि घुमाएर अर्कै बाटो समाउन लाउँथे । उनी हाम्रो परीक्षा लिइरहेका पनि छन् कि—यस्तो पनि पटकपटक लाग्थ्यो ।

‘मेरो कुमार तत्व खुस्किन्छ कि !’ उत्तमले बोलेको कुराले के छनक दिँदै थियो—म बुझिरहेको थिइनँ । वरपरका डुङ्गाबाट बाल्टीका बाल्टी पानी हाम्रा डुङ्गातिर हुत्याइरहेका थिए तरुनीहरु । अर्थ त्यतैतिर लक्षित थियो कि !

पानीमा रमाइलो गर्न आएपछि ओभानो बस्ने वा न्यानो लुगा जोगाउँछु भन्ने भएन । हामी धेरै पटक धेरै खालका छालबाट भिजिसकेका थियौँ, रुझिसकेका थियौँ । अनुहार त बगेका त्रिशुलीले धोइदियो आफैले ।

हाम्रा छेउमा एउटा झ्वाँके तरुनो उसकी बज्राँठ तरुनी साथीको तिघ्रो मुसार्दै फिँजे झोलमा तिरिमिरी झ्याइँ देखिरहेथ्यो । भालेपोथी दुबै मस्तराम भइरहेका थिए र सरकारको राजस्वमा वृद्धि गराइरहेका थिए ।

बगिरहेको पानीभित्र विचित्र–विचित्र दृश्यसँग हाम्रा आँखाले मितेरी लाउनु पर्‍यो । डुङ्गामा गुजुल्टिएको पानी, भुँवरीमा परेको पानी, मास्तिर फर्किएको छालले गोलो पारेको पानी, उत्ताउलिएर बटारिन खोजेको पानी र घुमिरहेको पानीको दाइँमा मेरो मन पनि घुम्थ्यो फनफनी । पानीको अलमस्ती संसार !

कतिपय ठाउँमा त्यति धमिलो खोला पनि डुङ्गामा आफैले बनाएको छालमा मास्तिर उठेका लहरबाट सेताम्मे दृश्य छरिन्थ्यो । कति ठाउँमा सेतो पानी पनि छायाँ र घामको प्रहारले कालाम्मे देख्न सकिन्थ्यो । अद्भूत थियो पानी लीला ।

त्रिशुली मोडिएपछि एउटा निकै ठूलो छालसँग मेरो भेटघाट भयो । देब्रेतिर दुई ठूला चट्टानहरुको चेपबाट उच्छिटिएर उँभो फर्किएको छालले निकै ताहुरमाहुर देखायो । हामी एक पटक फनन्न घुमिन्छ कि जस्तो हालतमा पुग्यौँ । मैले त पानीको छालमा आफ्नो मुख मात्र धोएर एक सरो नुहाएकै अनुभव गरेँ ।

छेउकी लिखुरीले भनेको सुनेँ—‘मैले त पानी नै खाएँ !’अब त डर, त्रासभन्दा पनि छालमा पौँठेजोरी खोज्न खोज्ने एक खालको साहसले घरीघरी मुन्टो उठाउँथ्यो । साथीहरु चलाइरहेको दाबिलो मास्तिर एकै पटक उठाएर कला प्रदर्शनै गर्न थाले । चिच्याई–चिच्याई उल्लास पोख्न थाले । नाउमै हल्ली–हल्ली नाच्न थाले । मर्काइरहेको जिउमा नदीको सबै खाले भङ्गिमा भेट्न सकिन्थ्यो ।

‘यो भर्खरै गएको ठाउँ ट्वीन रक्स हो !’ राजेन्द्रले मलाई टिपाए । उनीसँग अरु धेरै म बुझिरहेको छु पानीको संसार । पानीको प्राप्ति र पानीका सङ्कटलाई पढ्न खोजिरहेको—उनका बोलीबाट । पानीमा झण्डै आधा दशक बित्नु ख्यालख्याल र खेलाँचीको कुरो हुँदै होइन । उनको ‘जल–ज्ञान’ मेरा लागि ‘स्थल–शिक्षा’ हुन सक्ने थियो ।

धादिङबेसी जाने ठूलो पुललाई तलैबाट हामीले नाघ्यौँ । अनौठो लाग्यो— सारा संसार यै पानीले नभेटोस् भनेर मास्तिर पुल हालेर गइरहेथ्यो । हामी त्यो पुललाई तलबाट पानी हुर्‍याएर बिदा गरिरहेथ्यौँ । जीवनको सापेक्ष चरित्र उही र उस्तै नहुने रहेछ ।

बगिरहेका छौँ पानीमा । त्रिशुलीको पानी घरी शान्त भेटिन्छ, घरी उत्तेजित । हामीसँग भएका अनुहारको हालतमा छ—त्रिशुलीको पानीको वेग । छाल र शान्त बगाइ । यो लुकामारीमा पानी यात्रा जारी छ हाम्रो । त्रिशुलीमा हेलिएको हाम्रो टोली कहिले अगाडि, कहिले पछाडि भएर निर्बाध बगिरहेको छ, छ ।

स–साना छालहरु भेटिन्थे । साथीहरु झटपट डुङ्गालाई छालमा मिसाउन पाखुरा चलाउँथे । सुरुसुरुमा त म पनि कस्सिएरै लागेँ । पछि–पछि बलिया बाङ्गा हुँदाहुँदै म चालीसेले केको मरिहत्ते हाल्नु ! यै सोचेर हात चलाए झैँ गरी मुखले हैँसे गर्न थालेँ ।

‘यिनीहरु भरे पानीमा खसे भने कसरी उत्रेलान् ?’ मैले प्वाक्क भनेँ ।  ‘केटोले समात्ला केटीको थुम्काथुम्की, केटीले समाउली केटाकै जराबुटा !’ उत्तमको टिप्पणी । म हाँसेँ, भाइले नि सघाए ।

हरे, पानीको भुँवरीमा पनि ठग्ने मान्छेको बुद्धि ! निकै बहेपछि हाम्रो डुङ्गा देब्रेपट्टिको चट्टाने भीरतिर किनार लाग्यो । बिस्तारै अरु डुङ्गाले पनि त्यतैतिर आफूलाई थामे । हामी पनि उत्रेर ढुङ्गेनी उबडखाबड नाँघ्दै मास्तिर लाग्यौँ । नाङ्गा पैतालामा बालुवा र ढुङ्गा खुबै बिझाए । एक खालको कुतकुतीजस्तो ।

खाना खाने बिसौनी रै छ यो । असजिलो, ढुङ्गेनी बाटो र नाङ्गा गोडालाई तालमेल मिलाएर चरौँदीको त्यो क्याफेमा पुग्यौँ हामी—जहाँ अरु थुप्रै जलयात्रीहरु संसारै निलुँलाजस्तो अनुहारमा खाना खान पङ्क्तिबद्ध भेटिन्थे । हामी पनि उभियौँ तिनकै सारमा । भोक गतिलै लागेथ्यो । भित्र र बाहिरका दुईतीन ‘भाते–लहर’ मा पनि भोजन नपाइने भएपछि भट्टराईले मलाई भने—‘भित्रै पसौँ होला !’

अनि फेरि हामी दुई भाइ भित्रै पसेर छोटो लाइनमा तेर्सिन पुग्यौँ । यहाँ धेरै अर्थले राम्रो रहेछ । हाम्रा छेउमा एउटा झ्वाँके तरुनो उसकी बज्राँठ तरुनी साथीको तिघ्रो मुसार्दै फिँजे झोलमा तिरिमिरी झ्याइँ देखिरहेथ्यो । भालेपोथी दुबै मस्तराम भइरहेका थिए र सरकारको राजस्वमा वृद्धि गराइरहेका थिए ।

‘यिनीहरु भरे पानीमा खसे भने कसरी उत्रेलान् ?’ मैले प्वाक्क भनेँ ।
‘केटोले समात्ला केटीको थुम्काथुम्की, केटीले समाउली केटाकै जराबुटा !’ उत्तमको टिप्पणी ।
म हाँसेँ, भाइले नि सघाए ।

त्यो हुलमा हाम्रै टोलीका अरु भुस्तिघ्रेहरु थप्पिएर चिसो भातलाई आगो बनाउन थाले । अनि हामी दुई पनि जमेर भुँडी उकास्न थाल्यौँ । छेउमा सुकिला युवतीहरुको लुगा लिपिक्क टाँसिएको थियो—चिसो पानीले । छालले छोइएका तिनका ज्यानमा ल्याफ्ल्याफी लुगाबाट थुप्रै अङ्ग चिहाउँथे घरीघरी । मैले भनेँ—‘मेरो एकनिष्ठ धर्म बिग्रन्छ कि भाइ !’ कुरो बुझेका भाइ हाँसे । म आफ्नो मनको र आँखाको तिर्सना मत्थर पार्न पीरो खोर्सानी टोक्न थालेँ कर्‍याम्मकर्‍याम्म ।
‘खोर्सानी भए अरु थप्नुस् !’

उत्तमको कुरो सुन्दा ती सेता चुचुरा झल्मलाइरहेथे सामुन्ने । यस्तै–यस्तै चालाले खाना खाइयो । अनि हुर्दुराएर तल डुङ्गातिरै झर्‍यौँ हामी । अघिको हुलले आ–आफ्नो डुङ्गा भरिइसकेको रहेछ । त्रिशुलीमा फेरि कल्याङमल्याङ सुरु भयो । होहल्ला र हाँसोले खोला गुञ्जायमान भइरहेथ्यो । मैले वरपरका हरिया थुम्कातिर हेरेँ—तलको हाँसो थर्किएर माथिसम्म गुञ्जित थियो ।

डुङ्गामा गएर बस्दै मात्र थियौँ—अरु दुई ठोसे तरुनी थप्पिएर भने—‘यीँ बस्ने हामी नि !’
‘तौल बढी होला कि ?’ मैले भनेँ ।
‘छैन–छैन । थोरै तौल छ । अलिकति थपिएको हो, भर्खर खाएको भात !’ हामी हाँस्ययं गोरी युवतीको उत्तरले ।

तर तिनका अस्वाभाविक ठूला स्तन र सालका रुखका बडेमानका तिघ्रा हेर्दा डुङ्गामा कम्पन होला झैं ठानेँ मैले ।
अब फेरि सुरु भयो—त्रिशुलीमा बग्न ।

निकै बोलैया सन्ध्या र सुस्मिता थपिएपछि अघिदेखि कम बोलेर धेरै हाँस्ने रक्षा पनि अब त हाँसोभन्दा बोल्नै बढी गर्न थालिन् । नारीमय हुन थाल्यो वातावरण ।

त्रिशुलीको अपार भेलमा बहिरहेका छौँ हामी । मास्तिरको चल्ती सडकसँग हाम्रो झल्याकझुलुक भेटघाट हुन्छ । काठमाडौँ हुर्दुराएको त्यो पहाडी बाटो गएभन्दा विपरीत दिशातिर गइरहेका छौँ हामी ।
‘थलमा कुद्नेभन्दा बेग्लै हुन्छन् जलमा बग्नेहरु !’ उत्तमका कुरा सुन्छु ।

तर मेरा आँखा त्रिशुलीमा छरपस्टिएर बगेका डुङ्गाको सङ्ख्या गन्न र मान्छेका टाउका गन्नमा नै निमग्न छन् । खोलैभरि डुङ्गैडुङ्गाको लस्कर छ । कति ठाउँमा ट्राफिक जस्तो पो छ हालत !

मैले अत्यन्तै आदर गर्ने मनसुन मौसमसँग जोडिएको छालसँगै म जिस्केको थिएँ, छोएको थिएँ र अँगालेका थिएँ । यो भव्य र विराट् छालले एउटा दह्रै कम्पन छुटाएको थियो मन, आँखा र चेतनामा ।  ‘तँ मस्तकी रै’ छेस् मनसुन !

बाफरे, कति आत्तिएछन् मान्छे पानी पीडाले । कति साह्रै आकुल भएछ काठमाडौँको मान्छे गर्मीले । कति धेरै अत्याएछ तातोले । त्रिशुलीमा सयौँ टाउका थिए गर्मीसँगै जुधिरहेका । सुरुमा निकै गर्मीलाई छालले हिर्काएपछि शीतल भयो । तर एकोहोरो चिसो पानीले हान्दा–हान्दा मेरो जिउ थिलथिलो भयो भने नि हुने । अब त हलुका जाडो पो जरकमरक गर्न थाल्यो जिउमा ।

खोला वारिपारि गर्ने तुइन भेटियो । हामी तुइन तल पुग्दा मास्तिर देख्यौँ एउटी युवती पारि गई आफ्नै हातले डोरीमा सरेर । उसकोे छातीको पछ्यौरी छेउमा रहेको केटोको हातैमा सरक्क रह्यो । ऊ तुइनमा गइरही…..गइरही….. म हेरिरहेको छु । पारि पुगेर यसो हातले छामी उसले । अनि देखी पारि नै छ उसको पछ्यौरी । तरुनी पारितिर जान तुइनको डोरीमा फेरि झुन्डिई । नारीले जीवनको यस्तो वारिपारिमा कति समय खर्चनु पर्छ ? म हेर्दै थिएँ माथि तुइनमा । तल डुङ्गामा हामी बगिरहेका थियौँ निरन्तर….निरन्तर….

दुई कन्या आएपछि हाम्रो डुङ्गामा वातावरण देखियो बेग्लै । पुरै भिन्न । असाध्यै हाँस्नुपर्ने, जिस्किनुपर्ने र ठट्टा गर्नुपर्ने ती तरुनी त रै’ छन् यै पानीजस्ता, यै छालजस्ता, यै भुमरीजस्ता । थलथले युवती घरी अगाडि पुग्थिन्, घरी माझमा । घरी छेउमा त घरी एकदमै पछाडि । धेरै जसो चैँ माझमा बसेर उल्कापात मच्चाइरहिन् तिनले ।

तिनका लुगाले ठाउँ छोडिसकेका थिए । तलतिरको जाँघेले कम्मरतिर सुर्किएर बस्न रुचायो, कम्मर मास्तिरको लाइफ ज्याकेट अटेसमटेसिएर ढलपल भएको भान तिनले भन्दा बढ्ता पायौँ हामीले । पूरा दमकल बोलाउनुपर्ने खण्ड देखिएथ्यो ।

बहना चलाउँदा–चलाउँदा आत्तिएर भेलमा खसिने डर थियो । हात थाक्थे फतक्कै गलेर । कति पटक बहना छिटो–छिटो चलाउँदा हत्केलाको पछाडिपट्टि ठोेक्किएर र रगडिएर दुख्न थालेथे । दर्फराएर चहर्‍याएको र त्यसमा पटक–पटक पानी पर्दा साह्रै टट्याउन थालेको थियो । तर ती सबै कुरा म बिर्सिरहेको थिएँ । पानीमा रमाउन, खेल्न र हराउन आएको कुरा मात्र सम्झिरहेको थिएँ ।

फेरि भेट भयो सेताम्मे छालसँग । चरौँदीपछि लगत्तै भेट भएको यो ठूलो र भव्य छाल थियो । हाम्रो छेउमा रहेको अर्को डुङ्गालाई उछिन्दै हामी छाल छोप्न पुगिहाल्यौँ । ओहो ढिकीच्याउँ ! ढिकीच्याउँ !! ढिकीच्याउँ !!! कति मज्जा ।

छेउका तरुनीहरु आत्तिएर कराए । ती कराए पनि फेरि कतिखेर छाल आइपुग्छ भनेर गनगन गर्न थालिहाल्थे । अनि हाम्रो गाइडलाई भन्थे—‘लौन, र्‍यापिडतिर लानु छिटो–छिटो !’

ल्याण्डस् स्लाइटसँग भेट भएको थियो । पछिल्लो रोमाञ्चक छाल । यो एकदमै रमाइलो र निकै परसम्म तन्किएको ठूलो छाल । मैले नि यहाँनिर पानी खान पुगेँ । बटारिएर आएको छालको मुस्लोले हामीलाई हुत्याएर एक छिन रनभुल्ल पारेथ्यो । म त ढुनमुनिएर तल डुङ्गामै पछारिन पुगेँ । हातको बहना खुस्केको झण्डै–झण्डै । डुङ्गामा बस्ने पनि एउटा खास तरीका हुँदो रहेछ । बाङ्गो बसे झैँ बस्नुपर्ने अनि खुट्टाका बूढीऔँलाले तलपट्टि दह्रैसँग टेक्नु पर्दो रहेछ । हातले त खियाउने बहना चाल्नु परि गो । बेला–बेलामा मेरा औँला खुस्कन्थे, गल्थे वा छालले हुत्याएर म पछारिन पुग्थेँ । अनि त्यति बेला ती तीन युवतीको हाँसोले त्रिशुलीको पानी सतह नि उठ्थ्यो निकै–निकै माथि ।

अर्को तुइन आयो । मास्तिर घाँस र दाउरा बोकेर गएकी आइमाईले सानो बच्चा पनि च्यापेकी थिई । बट्टा सहितको तुइनमा रहेकी काखे बच्चाले तुरुर्र पिसाबै तुर्क्यायो । हामी नाघियौँ । हाम्रा छेवैको अर्को डुङ्गामा परेछ तातो मूत—‘नुनिलो पो छ त !’ भनेको सुनियो ।
‘तातो पनि रै’ छ !’ हल्ला गर्नेहरुले बोलेको सुनियो ।

त्रिशुलीको चिसो पानीमा एउटा भगवान समानको सानो मान्छेले सचेत पार्‍यो । थलथले निकै पटक अगाडि छालमा परेर पछारिएपछि हाम्रा छेउमा आएर बसिन् । मेरा अगिल्तिर थिए उत्तम । म उनकै सारमा बहना चलाउँथेँ । उनी जता–जता चलाउँथे, आफ्नो हात त्यतै–त्यतै चलाउँथेँ म ।

थलथले आएर मेरा घुँडामा घुस्रिन् । ती जलथलले भरिपूर्ण युवतीले मेरो घुँडोलाई भरथेग गर्न थालेपछि मेरा हात पो गल्न थाले । मभित्रको पुरुषको फँणा उठ्दै–बस्दै गर्ने सुरसारमा देखापर्‍यो ।

साँच्चै खतरनाक छ । चट्टानभित्र छिरेर आएको पानीले बनाएको छाल नाँघ्नु पर्छ । क्यै गरी बोट ढुङ्गाको चेपभित्र पस्यो भने लास समेत गायब हुन्छ !’ राजेन्द्रका कुरा ध्यान दिएर सुनेँ । चिसो भयो मेरो मन ।

‘दाइ, र्‍यापिडमा लानु न लानु !’ मेरा घुँडालाई आफ्नो सबै शरीर सुम्पेकी तिनले बोल्न भने छोडिनन् । तिनी घरी मेरा, घरी उत्तमका घुँडासँग आफ्ना छाती अर्पेर चिच्याउँथिन्—‘छिटो जाऊँ, छिटो जाऊँ !’ तर मेरा पाखुरा त्यत्तिकै लल्याकलुलुकिएका थिए गलेर ।

अलिक जँघारजस्तो ठाउँ देखापर्‍यो कि हाम्रो टोलीका तरुनातरुनी हामफाल्न खोजिहाल्थे उर्लंदो भेलमा । पानीका गहिरा भुँवरी वा फनफनी हुने रह समेतको ख्याल गर्दैनथे ती कत्ति पनि ।

मैले पटक–पटक यो अद्भूत वातावरणमा ल्याइपुर्‍याउने भाइ राजीवलाई सम्झें । तर उच्छिट्टिएर कुन डुङ्गामा उनी परे–परे । एकदमै शून्यताको अनुभव गरेँ । जसले खुसी दियो, ऊ यो हर्षोलासमा सामेल भइरहेको छैन— यस्तै कुरा पानीका छालमा म खेलाइरहेथेँ ।

मसिना छालमा समेत मिसिन मन लाग्थ्यो । खासगरी छालले माथि पुर्‍याएर फेरि स्वात्तै खसालिदिन्थ्यो— अनि त्यतिखेरको उल्लासलाई जतिखेरै पाउन पाए हुन्थ्यो भन्ने लाग्दो रै’ छ । त्यसैले अहिले यी युवतीका लहरमा उभिएर अरु साथीहरु पनि चिच्च्याउन थाले—‘र्‍यापिड ! र्‍यापिड ! !’

तर त्यो र्‍यापिड हाम्रो वशको कुरो थिएन । सामुन्ने देखिएको छाल हामी पुगुन्जेलमा उसको शक्ति मत्थर भइसकेको हुन्थ्यो ।
‘तपाईंहरु डराउनु हुन्छ । यहाँ त डुङ्गालाई जुधाई, सर्लक्कै पल्टाएर मस्ती लिने मान्छेहरु नि कति आउँछन् कति !’ राजेन्द्र एड्भेन्चर बताउँछन् ।

हुन पनि सल्लल बग्नुभन्दा छालमा परिनु वा डुङ्गालाई ठोक्काएर सर्लक्कै डुङ्गा पल्टाउनेहरु निकै हुँदा रहेछन् । यसो गर्दा दुर्घटनाको सम्भाव्य ज्ञान र उत्तेजनाको अनुभूतिमा चुर्लुम्म डुब्न पाइने रहेछ । मलाई नि कताकति यस्तै लाग्यो ।

एक ठाउँमा ज्यादै ठूलो छालमा पुग्यौँ हामी । सिङ्गो डुङ्गा नै ढलपल भयो । दुईजना लड्यौँ हामी छालको प्रहारले । म त निथ्रुक्कै भएँ भिजेर । अरुथोक भन्दा नि छातीमा राखेको कागजी टिपोट नभिजोस् भन्ने चाह थियो । पैसा जाबो त जतिसुकै भिजे नि चलिहाल्थ्यो—पिर थिएन त्यसको । अनि प्लास्टिकको धोक्रो उल्टाएर कागज जाँचेँ । ल्याफल्याफीले भिजेर अर्कातिर पो छापिएछ । कहाँको पढ्न सक्नु !

‘यो हो मनसुन र्‍यापिड !’ राजेन्द्रले हामी सबैलाई थरहरी पार्ने र असाध्यै रमाइलो पार्ने छालको चिनारी गराए ।
‘ए मनसुन ! तपाईंलाई वन्दना गर्छु !’

मैले अत्यन्तै आदर गर्ने मनसुन मौसमसँग जोडिएको छालसँगै म जिस्केको थिएँ, छोएको थिएँ र अँगालेका थिएँ । यो भव्य र विराट् छालले एउटा दह्रै कम्पन छुटाएको थियो मन, आँखा र चेतनामा ।
‘तँ मस्तकी रै’ छेस् मनसुन !’

गइसकेको मनसुन र्‍यापिडको बखान मेरा ओठले गरिरहेका थिए । त्यसको प्रभाव धेरै बेरसम्म परिरहेको थियो । भर्खरै पार गरेको छालले मलाई अरु सीप र तरीका सिकाएको थियो । मनसुनमा आउने वा मनसुनी चालमा देखापर्ने ? के थियो यो छालको गहकिलो परिचय ? मैले सोध्ने फुर्सदै पाइनँ ।

एक ठाउँ पानी फैलेर सोझो बगेको देखिन्थ्यो । पानीका पातला छालले त्रिशुलीको गम्भीरता मज्जाले हेर्न सकिन्थ्यो । मलाई लाग्यो— यहाँनिर त म नि पौड्न सक्छु । खै, किन हो झ्वाम्मै हाम्फाल्न चैँ मनले मानेन ।
अँहँ, कसै गरी मानेन ।

यता थलथलेले मेरा घुँडा अँठ्याएकी अँठ्याएकै ! म त असिनपसिन भइसकेँ । यत्रो विराट् नदीको स्वाँ ऽऽऽऽ छ एकोहोरो । एक नासले पानी खाने तिर्सनाले प्याकप्याकी पार्न छोडेको होइन मलाई । तल झरेको छ घाम । अग्लाहोचा पहाडको श्रृङ्खला दुबैतिर छ । छेलिनबाट बचेको घामसँग पल्याकपुलुक भेटघाट हुन्छ बेलाबखत ।

उसको छायाँ नदीमा परिरहेको छ । नदीमा बग्न खोजेका छायाँ हेर्छु । अभ्यन्तरमा केही ज्ञानको झिल्का चम्केजस्तो लाग्छ ।
‘अब कति छ सकिन ?’
‘मुख्य र्‍यापिड आउनै बाँकी छ !’
‘ए, राम्रो भो !’
हामी राजेन्द्रको उत्तरबाट निकै उत्साहित थियौँ । अब त अरु धेरै छालहरु भइदिए हुन्थ्यो भन्ने लागिरह्यो ।

हाम्रा छेउका युवतीहरु आपसमा योजना बनाउन थाले—‘योभन्दा डरलाग्दो छाल हुने भोटेकोसीमा र्‍याफ्टिङ जाने है !’
ती ठोसे तरुनीहरु ‘है, है’ मा रमाउन थाले, गिल्किन थाले र हामीलाई नि सहमतिका लागि टाउको हल्लाउने बनाउन थाले ।

दक्षिणतिर सारा डुङ्गाहरु किनार लाउन थालेपछि मैले सोधेँ—‘होइन, खतरनाक छाल आउनै बाँकी छ भन्या होइन त ? सबै पो ओर्लिन थाले त !’
‘बूढाबूढी र केटाकेटी ओरालेको नि !’
‘के साँच्चै डरलाग्दो छाल छ त ?’
‘साँच्चै खतरनाक छ । चट्टानभित्र छिरेर आएको पानीले बनाएको छाल नाँघ्नु पर्छ । क्यै गरी बोट ढुङ्गाको चेपभित्र पस्यो भने लास समेत गायब हुन्छ !’ राजेन्द्रका कुरा ध्यान दिएर सुनेँ । चिसो भयो मेरो मन । अघिदेखि असाध्यै चञ्चला भएकी सन्ध्या र सुस्मिताका गाला पनि डरले निकै रात्तिए ।

म सानो छँदा आमाले नुहाइदिएको याद छ, दिदीले पखालपुखुल पारेको सम्झना छ । तर अहिले यस्ता ठोसे तरुनीहरुले निरन्तर पानी छ्यापिरहँदा सन्तोषी भएर आफ्नो ढाड हटाइनँ । थापिरहेँ चुपचाप ।

‘निकै डरलाग्दो पो रै’ छ । ओर्लने कि तपाईं नि ?’
‘आ ऽऽऽ भाइ, छोडनुस् । जाने, जे त होला !’
‘हैन, डरलाग्दै छ रे त !’
उत्तमले मेरो ख्याल गरे ।
‘हात्ती छिर्‍यो पुच्छर अड्कियो, नगरौँ भाइ । अब यो अन्तिम छाल नि के छोड्नु !’ मैले लिँडेढिपी कस्न छोडिनँ ।

नभन्दै बूढाबूढी र केटाकेटी सबैजसो ओरालिए । तर मैले मन बलियो बनाई छाडेँ । यी अरुको जे गत होला, त्यै गत मेरो नि हुन्छ—मेरो लिँडे तर्क यै भो ।

खोलामा पानी बेस्मारी बढेको हुनाले यो अन्तिम छालतिर लाने–नलानेबारे निके गलफती भएछ । गाइड बीच नि निकै छलफल भइरहेको देखिरहेथेँ म ।

पारिका डुङ्गा वारिपट्टि लस्करै राखिएको छ । सबै डुङ्गाबाट मान्छे निस्केर पाखाभरि कुदाकुद गरिरहेका छन् । बराम लागेर पानी, छाल र वेगबारे अनेक अड्कलबाजी गरिरहेका छन् ।
मैले हाम्रा गाइडलाई सोधेँ—‘भाइ, यो अन्तिम र्‍यापिडको नाम के हो ?’
‘अपसेट हो दाइ !’
‘नामै डरलाग्दो रै’ छ !’
म फुसफुसाएँ ।
सबैजना गलफती गरिरहेका छन् । अनेक अनुमान गरी छाल तर्न सकिने–नसकिने अड्कलमा जुटेका छन् ।

म मौन भएर तलतिर गडगडाइरहेको ढुङ्गाभित्र छिरेर खदारिँदै बाहिरिएर एक मान्छे अग्लो छाल उर्लिएको देखिरहेको छु । माथि सडकका चट्टानलाई समेत छुनछुन खोजिरहेको चर्को छाल ।

लाग्दैछ, अपसेट त्यै हो । त्यसलाई पार गरियो भने, सम्पन्न हुन्छ हाम्रो पानी डुलाइ । पूर्ण हुनेछ–जलयात्रा ।

यै बेलामा पानी छ्यापाछ्याप सुरु भयो । सन्ध्या र थापाले बाल्टीबाट पानी झिक्दै एकले अर्कालाई खत्याउन थाले । म शान्त छु । ती ठोसेहरु पहिला अञ्जुलीमा सीमित थिए । बिस्तारै हत्केला हुँदै बाल्टीले छ्यापछ्याप हुत्याउन थाले पानी ।

ती छेलिएर मेरा वरपर गर्न थाले । ती लुक्न खोज्दा जताबाट पनि मैलाई पानी पर्थ्यो । पछि–पछि त मलाई मात्र दुईतिर पानीले झ्वामझ्वामी हिर्काउन थाले । म त पानी पट्टिएर बसेको अग्राखको मुडो झैँ हल न चल भएर बसिरहेँ…बसिरहेँ……

म सानो छँदा आमाले नुहाइदिएको याद छ, दिदीले पखालपुखुल पारेको सम्झना छ । तर अहिले यस्ता ठोसे तरुनीहरुले निरन्तर पानी छ्यापिरहँदा सन्तोषी भएर आफ्नो ढाड हटाइनँ । थापिरहेँ चुपचाप । यो कुनै मूूल्यबाट प्राप्त हुने कुरो पनि त थिएन । पानी लीला थामिएको थिएन ।

‘भाइ, आज २०६९ साल जेठ २० गते हो क्यारे ?’
‘हो त । मिति साह्रै ख्याल गर्नु भो नि !’
‘भाइ, जीवनमा पहिलो पटक युवतीले पानी प्रयोग गरी कुटेको दिनको ख्याल नगर्नु त ?’
‘गर्नु, गर्नु ! मज्जाले गर्नु ।’ हामी बीच हाँसो छरियो ।

घाम दक्षिणतिर डाँडाबाट झरे पनि उज्यालो भने फक्रेकै छ । बर्खाका लामा दिन । खोला जति बगे नि छोट्टिएका छैनन् दिनहरु ।
‘तयार होऊँ । आ–आफ्ना डुङ्गामा बस्नुस् । चाँडो–चाँडो !’

उर्दी सुनियो । एकाएक सिटी बजे । दगुरादगुर सुरु भयो नदी तीरमा । मान्छेको लम्कीझम्की हठात् बढ्यो । बेग्लै वातावरण भयो । एउटा कोलाहल । अन्ततः जाने भइएछ अपसेटतिर । खुशी पनि लाग्यो । निकै अघिदेखि हाम्रा गाइडले भनेको सम्झिएँ—‘यो निकै खतरा छ । आँट गर्नै पर्ने खालको छ । यो पार नगरेसम्म नुन नहालेको तरकारी झैं भइरहन्छ !’ नभन्दै हामी हेलियौँ पनि ।

भनेभन्दा डरलाग्दो लाग्दै गयो । भेलको मुस्लो ककारोभित्र गएको देखिरहेको छु म । ठूलो ढुङ्गो बीचमा उभिएर पानी बाँडिएर गएको र ठूलो भुमरी उठेको नि देखियो ।  सेताम्मे फिँजले झन् डरलाग्दो देखिरहेको छु म । चिसो पानी ह्वात्तह्वात्त मुखमा परिरहेको छ पटक–पटक । छाल आएपछि हामीलाई छिटोछिटो बहना चलाउन लगाइयो । हामीले चलाएभन्दा चाँडो आफैं डुङ्गा वेगिइरहेको छ, छ ।

हामीअघि पाँच–छ डुङ्गा गएका थिए । तीनलाई पनि म निहालिरहेको छु । तिनका गतिविधिलाई हेर्दै छु । तीन–चार डुङ्गा स्वात्त–स्वात्त बगे ।
‘लौ, लौ ! !’ एउटा डुङ्गा पर्लक्कै पल्टियो । मान्छेहरु खोलामा बग्न थाले । रङ्गीबिरङ्गी लुगा लगाएका मान्छे भेलमा उत्रिएको देखियो । सातो गयो मेरो । हामीभन्दा केही अगाडि भएको त्यो घटनाले गर्दा मैले आँखा चिम्लिन समेत पाइनँ । एकदमै सामुन्ने भएको त्यो डरलाग्दो घटनाले म एकछिन त तिर्मिराएँ । मुटु चल्यो भटकभटक । तर हामी पनि सँगसँगै भएको हुनाले धेरै चिन्ता लिइरहने हालतमा थिएनौँ । उद्धारका लागि डुङ्गा भेला भइरहेका देख्यौँ । गाइडहरु भेलमा पसेका थिए डुबेकालाई जोगाउन ।

हामी मूल भेलमा पस्यौँ । एकदमै ठूला–ठूला छालहरु माथि–माथि उठेका थिए । बटारिएर अकास्सिएका छालमा ढिकीच्याउँ–ढिकीच्याउँ हुँदै एक मिनेट जति तीब्र रुपमा बग्यौँ होला हामी । यत्ति साह्रो हल्लियो डुङ्गा—कोही कसैको अनुहार, स्थिति र हविगत हेर्ने मौकै मिलेन । कसैका केही ख्याल गर्ने चान्स नै मिलेन । कसैको कुनै हालत पर्गेल्ने अवस्थै जुरेन ।

एकोहोरो हुर्दुराएको–हुर्दुराएकै, एकनासले बगेको–बगेकै र एक तमासले हल्लिएको–हल्लिएकै हामी स्वात्तै तलको शान्त पानीमा आइपुगेछौँ । निरन्तर झाँगलझुँगल पारेर भ्यात्त हिलोमा खसेको हालतमा हामी छाल नाघेर आइपुग्यौँ ।

अब सबथोक शान्त थियो । सबथोक सिद्धिएको थियो । सबै कुरा पूर्ण भइसकेको थियो । सबै चीज पाईसकिएको थियो । तीनघन्टा बगाइले पूर्ण विराम पाएको थियो । मैले चिसो पानीले हात धोएँ ।
‘सकियो दाइ ?’ सन्ध्याको तुलबुल ।
‘सकियो त । तपाईंहरुले अपसेटलाई पार गर्नु भो । यो निकै क्रुद्ध, रिसाहा र सन्काहा ¥यापिड हो !’ राजेन्द्रले बताए ।

एकछिन पछि बिस्तारै डुङ्गा किनार लागे । क्रमशः बिहानको स्थितिमा डुङ्गा तेर्सिए । हामी पनि डुङ्गाबाट ओल्र्यौं । त्यसपछि गाइडलाई बीचमा राखेर तस्वीर खिच्यौँ हामीले । अँध्यारो तलसम्म ओर्लिएको थियो । बिस्तारै पानीबाट पाइला भुँइतिर लागे । अब लुगा फेर्नुपर्ने थियो । न्याना लुगाले शरीर ढाक्नु पर्ने थियो ।

एउटा अद्भूत स्पर्शले आँखामा ठुङ मारेको थियो । सारा शरीरमा पानीको कडा स्पर्शले लट्ठिएको थिएँ म । धेरैजसो अघि पानीमा बहेको डुङ्गालाई थाप्लामा बोकेर गाडीतिर उकालिए । हामीले त आफूले खियाएका बहना नि बोक्न सकेनौँ ।

त्यति धेरै थकाइ र गलाइले गालेको थियो मलाई । हो, थाकेर चूर भएका थियौँ हामी । पाइलै नटेकिने थकाइ । फिसलिङतिर लाग्दा सिठी बजायो साँझले ।

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया