शुक्रबार, वैशाख ७, २०८१

मृतकको संख्या १५०, विनाशकारी युरोपेली बाढीमा सयौं अझै बेपत्ता

नेपालप्लस संवाददाता / फ्रान्स, जर्मनी२०७८ साउन २ गते १२:२९

photo Source : Facebook Krishna REGMI

आज शनिबार पश्‍चिमी युरोपमा विनाशकारी बाढीबाट मर्नेको संख्या १५० भन्दा माथि पुगेको छ । सयौं नागरिक अझै बेपत्ता छन् । उद्धारकर्मीहरूले त्यस विनाशलाई पार लगाउन र थप क्षति रोक्न मेहनत गरिरहेका छन् ।

प्रहरीका अनुसार अहिले पश्चिमी जर्मनीको अह्र्विलर काउन्टीमा ९० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो र यहाँ अधिक हताहत हुने त्रास अधिकारीहरुमा छ । शुक्रबार अधिकारीहरूले राइनल्याण्ड-प्यालेटिनेट राज्यमा ६३ जनाको मृत्यु भएको बताएका थिए । त्यहाँ अझैपनि सयौं व्यक्ति हराइरहेका छन् ।

संचार नेटवर्कमा भएको अवरोधले अझै हराइरहेकाहरुको यकिन मूल्यांकन गर्न जटिल बनाएको छ ।

पश्चिमी जर्मनीले जलप्रलयको सबैभन्दा गम्भिर क्षती भोग्नु परेको छ । हालको बाढीले बेल्जियम, लक्जमबर्ग र नेदरल्याण्डलाई पनि पिरोलेको छ । सडक र घर फोहोर पानीमा डुबेका छन् । थुप्रै गाउँका मानिसलाई भागाभाग गर्न बाध्य बनाएको छ ।

प्रभावित क्षेत्रहरूमा अग्नी नियन्त्रक, स्थानीय अधिकारी र प्रहरीहरु, केही सवारी ट्यांकहरूले सडकका भग्नावशेष सफा गर्ने विशाल कार्य सुरु गरेका छन् ।

प्रकोपको वास्तविक क्षती बल्ल स्पष्ट हुँदै छ । क्षतिग्रस्त भवनहरूको मूल्यांकन शुरु गर्न लागिएको छ । केहि भवनहरुलाई पूर्णरुपमा भत्काउनुपर्ने छ । बस्नयोग्य भवनमापनि ग्याँस, बिजुली र टेलिफोन सेवाहरू पुनर्स्थापनाका लागि प्रयास भइरहेको छ ।

जर्मनीको सरकारले पिडितहरुलाई आर्थिक सहयोग र पूनर्निर्माणकालागि विशेष सहायता कोष खडा गर्ने घोषणा गरेको छ । क्षतिको लागत धेरै अर्ब युरो पुग्ने अनुमान गरिएको छ ।

शुक्रवार अमेरिकाको भ्रमणबाट फर्किएकि चान्सलर एन्जेला मर्केलले प्रभावित नगरपालिकाहरूलाई “सरकारबाट छोटो र दीर्घकालीन सहयोग” दिने वाचा गरेकि छन् ।

बेल्जियममापनि क्षती बढ्ने आशंका

बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले शनिबार देशको पूर्वी भागमा अभूतपूर्व गएको बाढीको क्षति अवलोकन गरेका थिए । अधिकारीहरूले मर्नेहरूको संख्या बढ्नसक्ने बताएका छन् ।

शुक्रबार रातीसम्म आधिकारिक मृत्युको संख्या २० थियो र २० जना अझै हराइरहेका थिए । लिज नजिकै एंगलूरमा प्रहरीले राती अर्को एक जनाको शब फेला पारेका थिए ।

जर्मनीको चुनावी राजनिति मौसम परिवर्तनमा केन्द्रित

विनाशकारी बाढीले मौसम परिवर्तनलाई जर्मनीको चुनाव अभियानको केन्द्रमा राखेको छ । सेप्टेम्बर २६ मा निर्वाचन हुँदै छ र चान्सलर एन्जेला मार्केल आफ्नो १६ वर्षिय सत्तारोहणबाट बाहिरिँदै छिन् ।

“जर्मनीले भविष्यमा अझ राम्रो तयारी गर्नुपर्नेछ “गृहमन्त्री होर्स्ट सीहोफरले भनेका छन् “यो चरम मौसम परिवर्तनको परिणाम हो”।

चुनाव पछि मार्केलको उत्तराधिकारी हुने मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन लाशेटले उत्तर राइन-वेस्टफालिया र राईनल्याण्ड प्यालाइटिनेट राज्यको लागि “ऐतिहासिक अनुपातको प्रकोप” भन्दै मौसम परिवर्तनकालागि ध्यान दिनुपर्ने बताएका छन् ।

ग्रीन पार्टीका उम्मेद्वार अन्नालिना बारबाक आफ्नो गर्मीको बिदा रद्द गर्दै पीडित क्षेत्रतर्फ गएकि छन् । सोसल डेमोक्र्याट्सका झण्डा बोक्ने, वित्तमन्त्री ओलाफ स्कोल्जले गैरसरकारी प्रशासन सहयोगको वाचा गरेका छन् ।

जर्मन भाषाको समाचार पत्रिका ‘डेर स्पिगल’ ले ‘ग्लोबल वार्मिंग र चरम मौसम संवन्धित घटनाहरू बीचको सम्बन्धले पछिल्ला दिनमा ल्याएको ठूलो वर्षा र त्यसबाट आएको जस्तो बाढीले मौसम परिवर्तनप्रति उम्मेदवारको प्रतिक्रियालाई आकर्षण गर्ने’ उल्लेख गरेको छ ।

“जनता जान्न चाहन्छन् कि राजनीतिज्ञले उनीहरूलाई यि गम्भिर विषयमा कस्ता माध्यमबाट डोर्‍याउँछन्” उनले जर्मन पत्रीकासित भने ।

लक्जमबर्ग र नेदरल्याण्डमा पनि ठूलो वर्षाले गम्भिर क्षती पारेको छ । धेरै क्षेत्र डुबेका छन् । हजारौंलाई मास्ट्रिक्ट शहरबाट बाहिर निकाल्न बाध्य पारेको थियो ।

लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटेलले आफ्नो देशको धेरै भागको अवस्थालाई “नाटकीय” भन्दै आर्थिक क्षति ठूलो भएको बताएका छन् ।

उनले बाढीमा क्षति भोग्ने नागरिकहरूलाई तत्काल सहयोगका लागि पाँच करोड युरो प्रारम्भिक प्याकेजको प्रतिज्ञा गरेका छन् ।

यसैसित संवन्धित समाचार

बाढीबाट युरोपमा मृतकको संख्या १२६ : नेदरल्याण्ड, बेल्जियम र लक्जमवर्गपनि प्रभावित

भिषण बाढीले जर्मनीमा ३३ र बेल्जियममा ४ को मृत्यु, नेपाली सकुशल

तपाइँको प्रतिक्रिया

फेसबुक