बिहीबार, चैत १५, २०८०

शनिवार- साहित्य / सृजना / नियात्रा

सिलीगुडीको बराल निवासमा एक रात

डा. गोबिन्द राज भट्टराई२०७८ साउन ९ गते ५:०१

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )
१२ नोभेम्बर २०१३
राति ब्युँझँदै निदाउँदै, केही तन्द्राका क्षणहरू भोग्दै, अदृश्य पथको कल्पना र झस्कामा, एनजेपी कटिन्जेल निदाउने हुँ कि भन्ने झस्कामा मैले समय बिताएँ । साथमा गुवाहाटीदेखि चढेका असमेली एवं बंगाली साथीको ठूलो हुल थियो । तिनीहरू आँखाको उपचार गर्ने उद्देश्यले मेची आँखा अस्पताल बिर्तामोड आउन लागेका थिए । मलाई एउटा ठूलो आनन्दले छोप्यो— हाम्रो देशमा पनि यस्ता विशेषज्ञ रहेछन् जसले गर्दा त्यति टाढादेखिका भारतीय नागरिकसमेत आकर्षित हुन थालेछन् । कतिले त लाहानसम्म पुगेको प्रसङ्ग पनि उठाए । हामी कति मुम्बई, पटना, लखनऊ र दिल्ली जानेको हिसाब छैन । अब नेपालले पनि अलिकति ऋण चुक्ता गर्न थालेछ भन्ने मलाई गौरवको अनुभव भयो । तर हाम्रा डाक्टर र प्रबन्धकलाई अनुरोध गर्दछु— ती विनम्र होऊन् । तिनमा ज्ञानको अहङ्कार नपलाओस् । टाढाटाढाबाट उपचारार्थ आउने दुःखीहरूका अज्ञानताबाट फाइदा लुट्ने र तिनलाई ठग्ने कार्य नगरून् ।

साधारण स्लिपर रेलमा अलिक भीड हुन्छ अलिक अव्यवस्था हुन्छ । त्यहाँ ओढ्ने ओछ्याउने सेवा प्राप्त हुँदैन । तथापि जाडो धेरै ओर्लिनसकेको मध्यकार्तिकमा बाक्लो स्वेटर लगाएर एउटा बर्की ओढी कटाएँ । कडा ठन्डीको महीना भए जाडाले बङ्ग्याउँथ्यो होला ।

एनजेपीमा ओर्लिंदा बिहान चिसिएको थियो । भर्खर सूर्याेदयको मुहूर्तमा भारी सुटकेस लिएर म उत्रेँ । एकै छिनमा म उभिएकै ठाउँमा मुक्ति उपाध्याय बराल र विनोद विष्टजी आइपुग्नुभयो । अब कुनै कुरा साइबरले असम्भव छैन । श्रीमुक्ति उपाध्याय बराल एक स्थापित स्रष्टा हुनुहुन्छ भने विनोद विष्ट चलचित्र निर्माता— सिने कलाकार । त्यहाँबाट हामी शहरैशहर आधी घण्टा हिँडेपछि सिलिगुडीको पारसमणि प्रधान पथमा पुग्यौँ । नजिकै बाटाछेउ मुक्ति निवासमा रोकियौँ ।

मुक्ति परिवारको आवास सुन्दर एवं आकर्षक थियो । मलाई एउटा खुसी लाग्यो— शिलाङमा, यता गुवाहाटीमा र सिलिगुडीमा गरी हामीले पाँच जना नेपालीका कार चढ्यौँ । यसबाट मलाई उहाँहरूको जीवनस्तर निकै उच्च हुँदै गइरहेछ भन्ने सङ्केत मिल्यो । मुक्तिजीका आँगनमा पनि कार थियो, उता दीप्ति भाउजू नेपाली विद्यालय जान तत्पर रहेकी, छोरी अंग्रेजी विद्यालय जान । माताले खाना बनाउनुभयो र हामीले भोजन गर्‍यौँ । मुक्तिजी पनि अध्यापनमा प्रस्थान गरेपछि मैले रातको अधूरो निद्राको क्षतिपूर्ति गरेँ ।

म ब्यूँझँदा मुक्तिजी फर्किनुभएको थियो । साथमा असमका स्रष्टा, समालोचक ज्ञानबहादुर क्षत्रीज्यू । मलाई आश्चर्य र आनन्द लाग्यो । चार वर्षअघि कीर्तिपुरमै भेटिनुभएका क्षत्रीज्यू आज अचानक यहाँ भेटिनु सानो संजोग थिएन । उता सिक्किमसम्म पुगी उत्तर–औपनिवेशिकता विषयको सम्मेलनमा भाग लिई फिर्नुभएको हो । त्यसो त भारतीय नेपाली वाङ्मयमा उत्तरआधुनिकता अझै नयाँ छ, परन्तु बंगाली, हिन्दी, असमिया जस्ता सम्पन्न भाषाले ल्याएर बुझाएका चिन्तनपरम्परा र प्रवृत्तिको प्रभावले गर्दा बिस्तारै नेपाली पनि त्यता सोच्न थालेका छन् । ज्ञानबहादुरको यसपल्टको सिक्किम सहभागिताले त्यही कुरा स्पष्ट पार्‍यो ।

ज्ञानबहादुरजीसँग लामो वार्ता गर्न पाएँ । उहाँसँग कति जिज्ञासा, उत्सुकता र प्रेम थिए । तेजपुरका बौद्धिकमध्ये नेपाली वाङ्मयको नवीन समयप्रति सचेत र उत्सुकमध्ये उहाँ एक हुनुहुन्छ । डा. जमदग्नि उपाध्यायद्वारा सम्पादित एक महत्वपूर्ण कृति हिस्ट्रि एन्ड कल्चर अव् आसामिज नेपाली उपहार लिएर दुवै हाम्रो आवास कीर्तिपुरमा पुगेको दिन सम्झिन्छु । दुवैले तयार गरेको एक महत्वपूर्ण कृतिको समीक्षा गर्ने दिनको प्रतीक्षा गरिरहेको छु । तीन वर्षअघि प्राप्त यस ग्रन्थको अत्यन्तै ठूलो महत्व रहेछ । यता ज्ञानबहादुरले सम्पादन गरेको नेपाली समालोचना यात्राको पनि क्रमिक रूपले प्रसङ्ग उठाउनेछु । त्यस दिनको भेट मलाई ज्यादै आनन्दकर भयो । नेपाली वाङ्मयको उत्थान गर्ने चिन्तामा समर्पित ज्ञानबहादुरजीसँगको भेटले हाम्रो आपसी संवाद सुरुचिपूर्ण एवं ज्ञानवद्र्धक रह्यो ।

दिन ढल्केपछि मुक्तिज्यूको पछि लागेर हामी अलिकति परतिर गयौँ । त्यही टोलमा अवस्थित नेपाली जातिको उत्साहले निर्मित समाज सेवा समिति नामक एक भव्य सभाभवन आयो । अरुणा लामा पथले छुने ठाउँको निर्माणाधीन यस भवनको भुइँतलामा एउटा शिष्ट मण्डली स्रष्टा समालोचकको समूह प्रतीक्षामा थियो । कैयौँ वर्षदेखि आवतजावत गरे पनि मैले सिलिगुडी शहरका स्रष्टाहरूको भेलामा उभिने मौका पाएको थिइनँ । यसपल्ट अग्रज मुक्ति बरालको प्रयत्न र सम्पर्कले अचानक म यो विद्वद्मण्डलीसमक्ष उपस्थित हुन पुगेँ । त्यहाँ मैले भेटेका प्रा. भीमप्रसाद उपाध्याय, लक्ष्मण श्रीमल, नरबहादुर दाहाल, मोहन ठकुरी, बिर्ख डुअर्सेली जस्ता अघिका परिचितहरूसँग पुनर्मिलन भयो भने, उता मीमलाल सापकोटा, डा. कुमारी दाहाल लगायतका स्रष्टा–समालोचकहरूसित परिचयात्मक भेटघाट भयो । यस अपूर्व भेटलाई समाजले अलिकति औपचारिक रूप पनि प्रदान गर्‍यो । नरबहादुर दाहालको अध्यक्षतामा म र ज्ञानबहादुर क्षत्री अतिथि भई बस्यौँ ।

त्यहाँ स्वागतमा एक विशेष कार्यक्रमको समायोजना गरियो । ज्ञानबहादुरजीले आसामेली नेपाली साहित्यमाथि आफ्ना धारणा राखेपछि मेरो पालो आयो । सबैको जिज्ञासा थियो— मैले नेपाली साहित्यको वर्तमान स्थितिका बारे बोलौँ । विश्व साहित्यका नवीन तरङ्ग एवं तिनको नेपालीमाथि प्रभावबारे बोलौँ । एक एक प्रश्न त उत्तरआधुनिकताका बारेमा बोलौँ । मबाट यस्तै कुराहरू सुन्न उत्सुक यो जनसमुदाय देखी मलाई बडो आनन्द लाग्यो । मैले दीर्घप्रतीक्षित आफ्नो सम्भाषण आरम्भ गरेँ—

आदरणीय सभाध्यक्ष, मेरा अग्रज, श्री नरबहादुर दाहालज्यू तथा अन्य उपस्थित स्रष्टा, समीक्षक एवं दर्शकवृन्द । यो शहरमा तपाईंहरूसितको यो प्रथम भेट हो, यद्यपि प्रा। भीमकान्त उपाध्याय, लक्ष्मण श्रीमल, मोहन ठकुरीजस्ता केही स्रष्टा विद्वान्सित मेरो भेट निकै पुरानो रहेको छ । त्यसो त, सबैजसो तपाईंहरूलाई सुने–पढेको छु । नेपाली वाङ्मयको सिर्जना र संवर्धनमा तपाईंहरूको योगदान महत्वपूर्ण छ । आजको यो सम्मीलन जुटाइदिने अग्रज मुक्ति बरालज्यूप्रति विशेष आभार प्रकट गर्दछु र साहित्यिक मित्र ज्ञानबहादुरको उपस्थितिले आफू विशेष अभिभूत भएको कुरा अनुरोध गर्दछु ।

सर्वप्रथम मेरो यात्रा भारतको शिलाङस्थित एफ्लु विश्वविद्यालयद्वारा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने उद्देश्यले आरम्भ भएको थियो । भारत, बङ्गलादेश र नेपालका प्राज्ञजनको उपस्थितिमा नेपाल र नेपालीका तर्फबाट सहभागी भई त्यसमा एक विशेष कार्यपत्र प्रस्तुत गर्न पाउँदा हाम्रो जातीय गौरव संवर्धनमा म पनि सहभागी हुन सकेँ होला भन्ने धारणा उत्पन्न भएको छ । त्यहाँ समसामयिक विश्वले मानेका नवीनतम ज्ञानका हाँगा र सैद्धान्तिक ज्ञानका आधारमा सम्मेलन भए तापनि त्यसको अन्तःसम्बन्ध, ज्ञानको निर्माण, सञ्चय र निरन्तरतामा स्मृतिले के गर्दछ, स्मृति कसरी सुरक्षित हुन्छ, कसरी भेट हुन्छ, स्मृतिको संवाहक तत्व संस्कृतिले आज कसरी सङ्कट भोग्दैछ ? आदि विषय थिए ।

आजको समाज विखण्डित हुँदैछ । नागरिकहरू परिक्षेपित हुँदैछन् । त्यसै प्रसङ्गमा मैले नेपाली कथाको डायास्पोरिक जीवन र स्मृतिको चर्चा–दृष्टान्त प्रस्तुत गरेँ । यो सबै पोस्टकोलोनिअल स्थिति हुँदै पोस्टमोडर्नसम्म पुगेका विश्वको चिन्ता हो भने यतिखेर अनेक प्रकारले अतीतमा स्थापित संरचना विभंजित रहेकाले यो उत्तरसंरचनावादी स्थितिको मूल्याङ्कन र विश्लेषण हो । यथास्थितिवादीका लागि सामाजिक स्वरूप जहाँको त्यहीं छ, परन्तु समयको चाल र गति बुझ्नेका निमित्त यो आमूल परिवर्तनमा पसेको छ र यसको गतिको तीव्रता अकल्पनीय छ । यसको परिचालनमा उत्तरआधुनिक परिस्थितिमा डायास्पोरिक जीवन त्यसले जीवन्त राख्ने साइबर संस्कृति र ग्लोबल भोगाइ हुन् ।

भारतीय चिन्तनपद्धतिको तुलनामा नेपाल पछि नै छ, परन्तु हामीले समयको गति सुन्ने र सिक्ने समय आएको छ । मलाई यसपालिको बृहत् सम्मेलनले त्यही बताएको छ ।

एफ्लुको तीनदिने शिलाङ सम्मेलन सम्पन्न गरेपछि शिलाङ बजारको भानुभक्त द्विशतवार्षिकी समारोहअन्तर्गत आयोजित देवकोटा जयन्तीमा सहभागी हुने अवसर प्राप्त गरेँ । सँगै जोडिएको कविता गोष्ठीले मलाई यताको साहित्यको झलक दियो । त्यसै गरी पछि गुवाहाटीमा भएको साहित्यिक भेटघाट र विमर्शले पनि मलाई पूर्वाेत्तर भारतको नेपाली साहित्यबारे केही झलक प्राप्त भएको छ ।

त्यसो त म आफूलाई स्रष्टा भन्न रुचाउँछु । मूलरूपले म सिर्जनाकै तृष्णा बोकेर हिँडेको छु जस्तो लाग्छ । तर मैले पूर्णरूपले आफूलाई सिर्जनामा समर्पित गर्न पाइनँ वा सकिनछु जस्तो पीर पनि लाग्छ । आजसम्ममा मेरा चार उपन्यास र पाँच यात्रा निबन्ध सङ्ग्रह प्रकाशित भएका छन् । तर मेरो अधिक समय समालोचना र अनुवादले निलेका छन् । यी नचाहेरै र अनिच्छापूर्वक लाग्नुपरेका विधाक्षेत्र हुन् ।

साहित्य निर्माण गराउने स्थिति त विश्वभरि भिन्न छ । हामी त्यसबाट असम्पृक्त रहन सक्तैनौँ । फेरि भर्खरै जुर्मुराएर उठेको नेपाली साहित्यमा विश्वबोध अत्यन्तै अल्पमात्रामा छ । यसतर्फ ध्यानदिने अभिरुचि भएका नेपाली पाठक–लेखकलाई विश्वयात्राको सङ्केत दिने उद्देश्यले मैले अधिकांश समय सिद्धान्तको परिचय र निर्माणमा व्यतीत गरेँ । नेपाली वाङ्मयको नयाँ सोच र सिद्धान्त कहाँ देखिन्छन् ? तिनको अध्ययन र प्रकाशनमा बिताएँ । विगत दुई दशकयता विश्वविचारको एक छाता अवधारणा “उत्तरआधुनिकता” विषयलाई परिचित गराएँ र त्यससँग जोडिएका डायास्पोरा सिद्धान्त, साइबर सिद्धान्तलगायत पर्यावरणीय सिद्धान्त, जातीय, जनजातीय सिद्धान्त जस्ता विचारलाई नेपाली वाङ्मयमा प्रवेश गराएँ, परिचित गराएँ र स्थापित गराएँ । त्यसो त यसमा अरू पनि सहयात्री हुनुहुन्छ । तर लुकेर अधिनायकवादको पक्षमा अरूको आलोचना गर्न उद्यत र अरू लुकेर संरचनावादलाई बचाउने भनेर व्यर्थ प्रयत्न गर्नेहरू धेरै छन् ।

उत्तरआधुनिक विश्वले ल्याएको लेखन चिन्तनका समालोचना र सिर्जनाका व्याख्या अनेक उदारवादी विकल्पहरू छन्, तिनको परिचय र स्थापनामा आफ्नो लामो समय व्यतीत भएको छ । आजसम्मका छवटा सिद्धान्त र समालोचनाका ग्रन्थले मैले स्थापना गरेको नेपाली मार्ग स्पष्ट पार्नेछ । ती कृति यस प्रकार छन्—
काव्यिक आन्दोलनको परिचय (२०४८)
आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६०),
पश्चिमी बलेँसीका बाछिटा (२०६१),
उत्तरआधुनिक ऐना (२०६२),
उत्तरआधुनिक विमर्श (२०५४) र
उत्तरआधुनिकता र समयबोध (२०६९) ।

त्यसो त यहाँ यथास्थितिवादीसित प्रत्येक दिन भेट भएकै छ परन्तु मैले भविष्य सम्झेर केवल आफ्नो कर्तव्य गरिरहेँ । ती प्रत्येक अन्धकारसित जुध्न थालेको भए व्यर्थै मेरो श्रम र समय नष्ट हुने थियो । समयले नै त्यो काम गर्नेछ, उनीहरू स्वयं निराश्रयी हुनेछन् र विवश भई नवपथ पक्रिनेछन् । उदारता र स्वतन्त्रतामाथि विजय गर्ने कुनै शक्तिको जन्म भएको छैन, हुने छैन भनी म आफ्नो निष्ठामा लागिरहेको छु ।

महाकविले अघि तास्कन्द सम्मेलनमा भन्नुभएको थियो— हाम्रा स्रष्टाको अन्य भाषा–साहित्यसितको सम्पर्कको अभावले र अनुवादको अभावले हामी पछि परेका छौँ । वास्तवमा त्यो सत्य आज आधा शताब्दीपछि पनि यथावत् छ । नेपाली स्रष्टाको विश्व परिस्थितिसँग सम्पर्क र आदान–प्रदान छैन अनि नेपाली साहित्यमा पर्याप्त मात्रामा अनुवाद कार्य गर्न, गराउन सकिएको छैन । यिनै दुइटा कार्यमा किञ्चित् मात्रामा पनि योगदान पुर्‍याउन सकिएला कि भनी म समालोचना र सिद्धान्तपट्टि लागेको हुँ । यो मेरो अनिच्छापूर्वक गरिएको बाध्यताकर्म हो । यसबाट समयलाई ज्ञान र शिक्षा प्राप्त होस् भन्ने लागेको छ ।

त्यसो त, मैले ओसारेको ज्ञानले समाज सिञ्चित हुन धेरै समय लाग्छ । मजस्ता एक डफ्फा सिद्धान्तकार र व्याख्याताको उपस्थिति आवश्यक छ । आशा छ समयले तिनलाई जन्माइरहनेछ । फेरि ज्ञानको यस पक्षले मलाई पनि सहयोग पुर्‍याएको छ । त्यही सहयोगका भरले नै समीक्षा र समालोचना गर्ने क्रममा नेपाली साहित्यलाई विश्व परिवेशमा राखेर हेर्दा मलाई केही निर्णय गर्न अलिक सजिलो भएको छ ।

त्यसो भए पनि म केवल सिर्जनामै रमाउन चाहन्छु । त्यसो भए पनि सामयिक चेतना बेगरको सिर्जना भनेको अक्षरको नाश मात्र हो जस्तो लाग्छ । अलिकति क्षतिपूर्ति हुन्छ । तर सिर्जनाको अमूल्य समय सिद्धान्तको कठिन यात्राले शोषण गर्दछ । त्यसैले मेरो मनमा समालोचकप्रति ठूलो आस्था छैन ।

अर्कातिर नेपाली साहित्यलाई सम्पन्न गराउन विश्वका अनेक भाषाभाषीसित रहेको अमूल्य ज्ञानलाई आदान–प्रदानका लागि तीव्र बनाउन म अनुवादपट्टि पनि फर्किन बाध्य भएको हुँ । कुनै देशको साहित्यिक प्राप्तिलाई अनुवादका माध्यमबाट विश्वस्तरमा लगिएन भने त्यो कुण्ठित, सीमित र अवरुद्ध हुन्छ । हामी आफैं नै लेख्ने र आफैं रमाउने आत्मप्रशंसक जस्ता मात्रै हुनेछौँ । हाम्रो सीमित दृष्टिकोण बाहिरको साहित्य हाम्रोमा प्रवेश गरोस् र हाम्रो साहित्य अन्यसमक्ष पनि पुगोस् भन्ने हेतुले म त्यता लाग्न बाध्य भएको हुँ । समालोचना र अनुवाद दुई बाध्यात्मक कर्मको सेवाले मेरो पचास प्रतिशत समय खाएका छन् । सिर्जनाको समय त्यसरी काटिएको छ । तर सिर्जना म स्वान्त सुखाय गर्थें भने समासलोचना, सिद्धान्त र अनुवाद कर्महरू बृहत् समूहको वा देशका लागि गरिएका हुन् । मैले नगरे कसले गर्ला ? त्यसैले मैले बाध्यात्मक भनेँ ।

मेरो यस्तो दृष्टिकोण रहेको छ । नेपाली वाङ्मय विश्वसाहित्यझैं फैलेर अनेक भूगोल नाघ्दै पर र माथि पुगेको छ— संसारमा यो उच्च स्थानमा छ परन्तु यसको गुणात्मकता अन्य उच्च साहित्यसँग तुलनीय छैन । उता पचासौँ देशमा हाम्रो जाति वितरीत भएकाले नेपाली वाङ्मय कहाँकहाँसम्म पुगिसक्यो तर त्यहाँ हाम्रा स्रष्टाहरूले अन्य माध्यमका प्रयोग गर्न सकेका छैनन् । अंग्रेजी वा अन्य माध्यममा नगएसम्म विश्वसाहित्यको चेतताले लेख्न नथालेसम्म हामी कतै देखिने छैनौँ ।

आज तपाईंहरूबाट यो सम्मान र प्रेम प्राप्त गर्दा म आह्लादित भएको छु । यस्तो आवागमन र अन्तर्क्रियालाई बढाएर हामीले पारस्परिक रूपले वाङ्मयको उन्नतिलाई तीव्र गराउनुपर्दछ । आज यस अविस्मरणीय क्षणका संयोजक मुक्ति बराल एवं तपाईं समस्त स्रष्टा विद्वद्वर्गप्रति म आभार प्रकट गर्दै यहीं रोकिन्छु ।

त्यसपछि प्रश्नोत्तर सेसन चल्यो । सहभागीले अनेक जिज्ञासा प्रस्तुत गरे । यसरी भारतीय नेपाली साहित्यको तर्फबाट देखाइएको उत्साह, जिज्ञासा र सहभागिता अत्यन्तै उत्साहजनक थियो । हामीले त्यहाँ तीन घण्टा व्यतीत गरेपछि फेरि भेट्ने आशा लिएर बिदा भयौँ । राति पुनः मुक्ति आवासमा भेला भयौँ र बाँकी समय वार्ता गरी सुत्यौँ । ज्ञानबहादुर क्षत्री गलेर बेहोस झैं हुनुभएको थियो ।

१३ नोभेम्बर २०१३

हामी सखारै उठ्यौँ र काँकरभिट्टा प्रस्थान गर्ने तयारीमा लाग्यौँ । विनोद विष्टजी गाडी लिएर आइपुगेका थिए । घरमा आएका अखवार पल्टाएर हेर्‍यौँ । हिमालय दर्पणमा यस्तो समाचार लेखिएको थियो ।
हिमालय दर्पण
सिलगढी, बुधबार १३ नोभेम्बर २०१३
अनुवादकहरूलाई पनि पुरस्कार र सम्मान दिएर प्रोत्साहन दिनु आवश्यक छ : डा. भट्टराई
सिलगढी, १२ नोभेम्बर (नि.प्र.) : ।

‘अनुवादकको अभाव र आदान–प्रदानको अभावले नेपाली साहित्य कठाङ्ग्रिने अवस्थामा पुगेको छ’ भन्ने महाकवि देवकोटाको भनाइ आज ५० वर्ष बितिसक्दा पनि शतप्रतिशत सफलीभूत भइरहेछ— ‘जबसम्म साहित्य सिर्जनासरह अनुवादकहरूलाई पुरस्कार र सम्मान दिएर प्रोत्साहन दिने उच्चकोटीको संस्था अघि बढ्दैन, तबसम्म हाम्रो साहित्यलाई विश्वले चिन्दैन, केवल हामीसम्म मात्र अर्थात् आफैं लेखेर आफैं प्रशंसा बटुल्नेसम्म सीमित रहनेछ ।’

समाज सेवा समितिद्वारा स्थानीय अरुणा लामा मञ्चमा आयोजित औपचारिक भेटघाट कार्यक्रमका मुख्य अतिथि विशिष्ट साहित्यकार तथा नेपाल त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रा. डा. गोविन्दराज भट्टराईले उक्त मन्तव्य प्रकट गरे । तिनले अझ भने— शिलाङमा मनाएको देवकोटा जयन्तीमा नेपालीलगायत खासी, अंग्रेजी, हिन्दी आदि विभिन्न भाषाका साहित्यकारहरूले देवकोटाका कृति आआफ्नो भाषामा प्रस्तुत गरे र तिनीहरूले देवकोटालाई महाकवि भनेर सम्बोधन गर्दा देवकोटाको सम्मान र आफ्नो साहित्य धनी भएको महसूस भएको तिनले बताए । इङ्लिस एन्ड फरेन ल्याङ्गुएज युनिभर्सिटीद्वारा शिलाङमा आयोजित प्रथम अन्तर्राष्ट्रिय त्रिदिवसीय सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्ने एक मात्र प्रतिनिधि डा. भट्टराई सिलगढी हुँदै बुधबार बिहान नेपाल फर्किनेछन् । ‘निमोनिक्स प्र्याक्सिस’ (कल्चर अव् मेमोरी) नामक उक्त कार्यपत्रमा डा. भट्टराईले ‘स्ट्राटेजिस एडप्टेड बाइ ट्रान्सकल्चरल कम्युनिटिज इन द प्रिजर्भेसन अफ मेमोरिज, विथ स्पेसल रेफरेन्स टु नेपाली डायास्पोराज’ विषयमाथि आफ्नो गहकिलो विषय पेस गरेर उपस्थित विभिन्न भाषाका साहित्यकार सबैलाई प्रभावित पारे ।

उल्लेखनीय छ, डा. भट्टराईले धेरै कविता, निबन्ध अंग्रेजीमा अनुवाद गरिसकेका छन् भने धेरैवटा यात्रा संस्मरण पनि लेखिसकेका छन् । उनी अन्तर्राष्ट्रिय स्तरका अंग्रेजी अनुवादक मात्र नभएर समालोचक, उपन्यासकार पनि हुन् ।

साहित्यकार मुक्ति उपाध्यायद्वारा सञ्चालित आजको यस कार्यक्रममा उपस्थित साहित्यकारहरूमा नरबहादुर दाहाल, ज्ञानेन्द्र खतिवडा, तेजपुरका ज्ञानबहादुर क्षत्री, नाटककार लक्ष्मण श्रीमल, भीमकान्त उपाध्याय, तुलसी भट्टराई, पी. बी. डुवर्सेली, राजा पुनियानी, बी.बी. विश्वकर्मा, संस्थाका सचिव सी.के. प्रधानलगायत अन्य विशिष्ट व्यक्तिहरू थिए । क्रमश :

(अर्को भाग आगामी शनिवार)

तपाइँको प्रतिक्रिया