शुक्रबार, वैशाख १४, २०८१

देउवालाई १६५ मत : ‘ओली, माधव दुबै पक्षको प्रतिनिधि भोट आयो’

नेपालप्लस संवाददाता / काठमाडौं २०७८ साउन ३ गते २३:०८

अनेक राजनीतिक तिकडम र आरोह–अवरोहबीच प्रधानमन्त्री शेरबहादुृर देउवाले संसदमा विश्वासको मत पाएका छन् । संसदमा विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक हुनेमा देउवाले १६५ मत पाएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट गत सोमबार सत्ताच्युत गरिएका प्रधानमन्त्री केपी शर्मा ओली(एमाले)को स्थानमा अदालती जनादेशबाट आएका नेपाली कांग्रेसका शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी(जसपा)को एकढिक्का मतसहित ‘विश्वासको मत’ प्राप्त भएको छ ।

आइतबार अपरान्ह सम्म जसपाको उपेन्द्र यादव समुहका झण्डै २० जना सांसदले मात्रै समर्थन गर्ने स्थिती देखिएपनि अन्तिम घडीमा जसपाका ३२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

आइतबार अपरान्हसम्म देखिएको मतमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १ र जसपामा उपेन्द्र समुहको २० गरी १ सय ३१ मत सुनिश्चित भैसकेको थियो । तर, एकाएक जसपा सांसद सबैको देउवाकै पक्षमा मत आउने भएपछि र नेकपामा ओली पक्षका ११ सांसदले पनि ओली पक्षमा मत दिएका छन् ।

यसरी नेकपा ओली पक्षबाट मत दिनेमा सांसद हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन् । यी सबै ओली पक्षका सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा यसअघि हस्ताक्षर गरेका थिएनन् ।

यसबाहेक, एमालेमा माधव नेपाल पक्षका सांसदको मत पनि देउवाकै पक्षमा परेको छ । योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्। देउवालाई मत दिनेहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याण खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरुलगायत छन् ।

आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन्।

यस्तै पार्टी एकताका लागि दबाब दिन भन्दै नेपाल पक्षकै १० जना सांसदले देउवालाई विश्वासको मत नदिने निर्णय लिएका छन् । जसमा योगेश भट्टराई, घनश्याम भुसाल, नारायण खतिवडा, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दिपक प्रकाश भट्ट, राजबहादुर बुढा, झपट रावललगायत छन् । प्रतिनिधिसभा बैठक जारी रहेकै बेला एमालेका केही सांसदहरु बाहिरएका छन् ।

तपाइँको प्रतिक्रिया