बिहीबार, साउन २१, २०७८

नेपाली राजनीतिका खोभारी रायहरु

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन ४ गते १०:३५

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को पहिलो बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । यदि यही अनुपातको विश्वास सरकारको निती तथा कार्यक्रम र बजेट पारीत गर्ने बेलासम्म पायो भने देउवा आउँदो डेढ वर्षका लागि प्रधानमन्त्री रहनेछन । आफ्नो पार्टीका जम्माजम्मी ६१ जना सांसद संख्या भएका प्रधानमन्त्री देउवाले १ सय ६५ मत पाउनु नाटकिय चमत्कार मात्र होइन नेपाली राजनीतिको कुरुप पक्ष पनि हो ।

हुन त ७ महिना देखी हुँडलिएको नेपाली राजनीति देउवाले विश्वासको मत प्राप्त गरेपछी विगत अब विस्तारै स्थिर हुने अपेक्षा गरिएको छ । तथापी पर्दाभित्रका केही कुराहरुको छायाँ भने हिजो देखी नै देखिन शुरु भएको छ । केपी ओलीले संसद बिघटन गरिसके पछी सरकारमा सामेल भएको ठाकुर र महतो समुहको यु-टर्नको रहस्य खोलिन जरुरी छ । ठाकुर समुहको पलटवारसँगै देउवाका अगाडि चुनौती पनि थपिएका छन । पछील्ला राजनीतिक घटनाक्रमले दिएको नतिजा के हो भने मधेसवादी दलहरु शक्ती र सत्ताका लागि जे पनि गर्न सक्दछन । उनिहरुसँग कुनैपनि सैद्दान्तिक आवरण बाँकी छैन । आइतवार अपरान्ह संसद बैठकमा ब्यक्त नेताहरुका अभिब्यक्तिले केही गम्भिर प्रश्न उब्जिएका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पटक पटक राजनीतिक बन्दिहरुको रिहाइ हुनुपर्ने माग दोहर्याए । खास गरेर रेशम चौधरिको मुद्दाका बारेमा उनी बढी केन्द्रित भए । बितेका १ वर्ष यता मधेसका अन्य मुद्दा ओझेलमा पर्नेगरी रेशम चौधरीको रिहाइको माग अगाडि आएको छ । सुनियोजित रुपमा भएको हत्याकाण्डका अपराधीलाई छुटाउन उदेक लाग्ने गरी भएको मधेसी दलहरुको आग्रह देउवा सरकारका लागि घाँटिको हड्डी हुने छ- न निल्न सकिन्छ न ओकल्न ।

कुनै बेला महन्थ ठाकुर नेपाली कांग्रेसमा हुँदा यिनी देउवाका तिब्र आलोचक थिए । दुर्गम गाँउबाट आएको केटोले पचास वर्ष पार्टीको विरासत थामेको परिवारका उतराधिकारी गिरिजा प्रसाद कोइरालालाई आँखा देखाएको चित्त बुझेको थिएन । उनले पार्टीको एउटा बैठकमा भनेका पनि थिए- देउवाजी तपाईं बोल्न त बोल्नुस् तर त्यति चर्को पनि नबोल्नुस् ता कि त्यसले तपाईंलाई नै पोलोस” ।

अहिले शनिवार र आइतवार दुई दिनको कसरत पछी तिनै ठाकुर दुवाको काँध थाम्न उभिए । मधेसमा एक से एक समस्याहरु छन । मधेसमा मात्र के देशभरी नै समस्या छन ।

आर्थिक पाटोलाई छोड्नेहो भने मधेसको मुख्य समस्या नागरिकताको हो जुना एक्कैछिनको आवेग र चर्का भाषाणले मात्र समाधान हुँदैन । त्यसका लागि गतिलो राजनीतिक गृहकार्य हुनु पर्दछ । राजनीतिक सहम्ती बिना यो समस्याको समाधान हुँदैन भन्ने कुरा महन्थ ठाकुर मात्र होइन सबै मधेशी नेताहरुलाई थाहा छ । तै पनि उनिहरुले वर्षौ देखी मधेसी जनताका आँखामा छारो हालीरहेका छन् ।

खासमा मधेशी नेताहरु स्वयं मधेसका समस्या समाधान गर्न चाहँदैनन । यदि मधेशका समस्या समाधान भए भने महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवहरुको रोजिरोटी सकिने छ । उनिहरुलाई के कुरा राम्रो सँग थाहा छ भने संविधान नै संशोधन गर्नुपर्ने यस्ता विषयहरु ढिकिच्याँउ खेलले सम्भव हुँदैन । तै पनि संविधान संशोधन गर्न सरकारमै जानुपर्ने उनिहरुका दलिल उस्ताका उस्तै छन् ।

राजनीतिमा वा जुना सुकै पेशा, ब्यवसायमा अलिकती इमान भन्ने कुरा हुनै पर्दछ । यदि राजनीतिमा इमान भएन भने त्यो नेपालमै हुन्छ ।

त्यसो त, ०५१ पछी नेपालका राजनीतिक दलहरुको इमानमा ह्रास हुँदै गएको छ । नत्र दुई साता अघि काम चलाऊ सरकारमा सामेल भएका मान्छेहरुले कसरी यती छिटो अर्को काँमा धाप मार्न सक्छन् । हुन त ठाकुर-महतोहरुले धाप मारेकै कारण अहिले भर्खरको राजनीतिक संकट टरेको छ । तर यिनिहरुको यु-टर्नले दिर्घकालिन संकटलाई जटिल रुपमा संस्थागत गरेको छ ।

कुनै बेला नेपाली राजनीतिमा खोभारी रायको निकै चर्चा थियो । पचासको दशकको नेपाली पुस्ता कसैले पनि खोभारी रायको नाम विर्सेको छैन । उ बेला शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा सबैलाई लाग्यो, हामीले खोभारी रायलाई नचाइरहेका छौं । तर खासमा खोभारी रायले ति सबैलाई आफ्नो अनुकुल नचाइरहेका थिए । अहिले ठाकुर-महतो समुह उस्तैगरी च्याँखे थापेर बसेको छ । च्याँखे थाप्न लगाउने र च्याँखेमा पर्ने सबै उनै छन् । अहिले खोभारी राय एउटा छैनन्, दर्जनौं खोभारी रायहरु फैलिएका छन् । यो नेपाली गणतन्त्रको विक्षिप्त पक्ष हो । कुरुप रुप हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक