बुधबार, साउन २०, २०७८

मलाई नजन्माएका मेरा बा

गुमनाम परदेशी२०७८ साउन ५ गते ०:१०

काठमाडौं उत्रिंदा अझै झिसमिसे भएको थिएन । सुन्धाराका मसीना चिया ब्यापारी भर्खर आफ्ना केट्ली खकाल्दै थिए । बसबाट झरेका यात्रुहरुको एउटा लर्को वीर अस्पातलतिर सोझियो । धेरै मान्छे उपचारका लागी राजाधानी भित्रिने गर्दछन । हिजो बेलुका म नारायणघाटबाट बस चढ्दा मेरो सिट अगाडि एक जना बुढा मान्छे कहराई रहेका थिए । तिनी रातभरी चिच्याए । बसमा यात्रा गर्दा मज्जाले निदाउन सक्ने म आँखा झिमिक्क सम्म परेनन । उनिहरुले वीर अस्पातलमा बेड पाइन्छ कि पाइदैन होला भनेर चिन्ताका कुरा गरे रातभरी । बुढा बिहानैसम्म शान्त रहन सकेनन- दुखे होला । उनिहरु वीर अस्पातल तिर लागे ।

मेरो दिमागमा भने वर्षौं सम्म ति बुढाको अनुहार नाचिरह्यो- बेड पाए कि पाएनन होला तिनले ! धरहरा मुन्तिर एउटी आमैले स्टोभ ह्वार्‍र पारिन् । “चिया पाईन्छ ?”- मैले सोधें । “अलिकती टायम लाग्छ बाबु”- दिउरीमा पानी बसाल्दै उनले जवाफ दिइन । जती टायम लागे पनि के भो र ! मलाई ठ्याक्कै तोकिएकै समयमा कहीं पुग्नुपर्ने छैन । फेरी म कहाँ पुग्ने ? आँफैलाई थाहा छैन ।

बिहानको चार बज्न लागेको छ, अब एक्कैछिनमा विक्रम ट्याम्पुले आवाज बढाउँदै जाने छन । जमरा टुसाए जसरी शहरभरी मान्छे उम्रिने छन । दिनभरिमा को कहाँँ पुग्छ पत्तो हुँदैन । म सँग पाँच पाथी चामलको एउटा सानो बोरा छ । एउटा झोला जहाँँ क्याम्पसका प्रमाणपत्रहरु र केही लत्त्ता कपडा छन् । अस्ती बेलुकी बाले भनेका- “खेतमा रुपियाँ फल्दैन, धान फल्छन, चामल लिएर जा” । मैले त्यही गरें । पाँच पाथी चामल बोरामा बाँधेर हिंडे । अब मैले यही चामल खाएर काठमाडौं सँग लड्न सक्नेगरी बलियो हुनुपर्ने छ ।

त्यो बडो उदेकलाग्दो समय थियो, बम्बई संघर्षले खिइएको शरीर लिएर म काठमाडौं उत्रिएको थिएँ ! अबको बाटो आँफै खन्नुपर्ने थियो ! धेरै पछी जागिर मिल्यो । राजाधानीमा अडिने एउटा सहारा मिल्यो । लेख्न जान्नु र पत्रकार बन्नु दुईवटा फरक कुरा हुन भन्ने मैले पहिलो पटक थाहा पाएँ । आखिर अडिनका लागि सिंगौरी खेल्नै पर्ने थियो- खेलें ।

एक दिन अफिसले भन्यो- नेपाल प्रहरिका आइजीपी अच्युत कृष्ण खरेलसँग रमाइलो कुराकानी गर्नुपर्‍यो । मैले हुन्छ भनें । धेरै दिनको प्रयास पछी समय मिल्यो- अर्को हप्ता आइजीपी निवास, नक्साल । समय त मिल्यो । तर मेरो मुटु ढक्क फुल्यो । कडा मिजाजका मान्छे भनेर सुनेकै हो । वामदेव गौतमले अच्युत कृष्ण खरेललाई आफ्नो राजनीतिक शिकार बनाएर आइजीपीबाट हटाएपछी मैले एक पटक अन्तर्वार्ताको लागि फोन गरेको थिएँ । “अदालतमा मुद्दा विचाराधिन छ । छिनोफानो होस् अनी कुरा गरौला नि”- उहाँले भन्नु भयो ।

अदालतले उहाँलाई बहाली गर्‍यो । जिन्दगीमा कहिल्यै नभेटेको मान्छे । दुर दुरसम्म कुनै साईनो नभएको मान्छेको पक्षमा फैसला आएको सुन्दा म खुसीले उफ्रेको थिएँ । फैसला आएकै दिन समाचार लेखेर बाहिर निस्किंदा मलाई धेरैबेर आफ्नै आवेग प्रती अनौठो लाग्यो । यो देशमा हजारौं लाखौं मान्छे अन्यायमा परेका हुन्छन् । कतिले न्याय पाउँछन कतिले पाउँदैनन । तर म अरुको कसैको जितमा यती सारो उद्वेलित बनिन । अच्युत कृष्ण खरेलको जीतमा किन त ?

मलाई अहिलेसम्म थाहा हुन सकेको छैन । गेटमा उभिएका दुई जना प्रहरिले छामछुम पारेपछी मलाई बैठक कोठामा पुर्याए । आन्तर्वार्ता सकिंदासम्म मेरो सोचाइको क्षितिज धेरै फराकिलो बनिसकेको थियो । देशको प्रहरी प्रमुखका पर्खाल रहित धारणा मनन योग्य थिए । अन्तर्वार्ता पत्रीकाको एक चौथाई पेजमा छापियो । तर दिमागमा भने नमेटिने तस्वीर बस्यो । म अन्तर्वार्ताका लागि जाँदा उहाँका बारेमा मान्छेहरुले गर्ने टिप्पणी केलाईरहेको थिएँ । केही त सोध्नु पर्ला । सोधें पनि । एउटा प्रश्नको जवाफ यसरी आयो- “मैले मेरो पदमा बस्दा कसैले थाहा पाउँदैन भनेर कुनै गलत कदम चाल्नुपूर्व ईश्वरलाई सम्झिन्छु । सोच्छु ईश्वरलाई छल्न कसरी सकिएला” । ईश्वर प्रतिको भरोसा मेरो आत्ममा गहिरो गरी जोडीएको छ । हाम्रो वाल्यकाल मन्दिरबाट प्रवाह हुने धुपको गन्धसँगै हुर्किएको हो । कसरी मेटिन्छ त्यो माटो र धुपको सुगन्ध ।”

गुमनाम परदेशी र अच्युत कृष्ण खरेल

कोही मान्छेका केही कुरा यस्ता हुन्छन् जसले जिन्दगीभर प्रभावित पारिरहन्छन् । प्रहरिको आइजीपीमा वहाल ब्यक्तिको सादगीपन र निडर स्वभावले म तरंगित भएको थिएँ । पछी मैले एउटा कार्यक्रममा उहाँले प्रधानमन्त्री गिरिजा प्रशाद कोइरालासँग आँखा जुधाएर बात गरेको देखें । कस्तो लाग्यो भने प्रहरी प्रशासनलाई डराउन दिने वामदेव गौतम चरणको अन्त्य भएको छ । “खाना खाएर जाउ” उहाँले भन्नु भो । मेरो पत्रकारिताको आयु कती लामो हुन सक्ला । धेरै माथि मैले सोचेकै छैन । यो क्रममा भेट हुनेहरु र भेट भएकाहरुको बडेमानको सुची बनेको छ । तर कुनै मान्छे यसरी आत्मिय बनेन ।

“भो मैले खाना खाँदिन । फेरी बजारमा पुलिसको खान्की खाने पत्रकारको बिल्ला लाग्छ”- मैले भने । उहाँ खिस्स हाँस्नु भो । “बरु तपाईं सँगको ‘एक्सेस’ सहज होस मलाई जागिर खान सजिलो हुन्छ” ।

एक दिन उहाँले सोध्नु भो- “तिमी दशैंमा चितवन जान्छौं कि यहिं हुन्छौं” ?

“म यहिं हुन्छु । केही काम सक्नुपर्नेछ” मैले भने ।

“ए त्यसो भए यता घरमा आए हुन्छ नि” !

“हुन्छ म आउँछु” !

टिका लगाउँदा यस्तो लाग्यो म बाकै हातबाट टिका लगाइरहेको छु । आशिर्वाद उनै छन् । टाउकोमा जमरा सिउरिदिंदै गर्दाको प्रेम उस्तै छ । मैले पछी सोधें- “के म तपाईंलाई बा भन्न सक्छु” ?

उहाँले एक पटक त मलाई ट्वाल्ल हेर्नु भो । “तिम्रो कुरा हो ! तिम्रो भावना हो ! मैले के भनौं” ।

त्यसपछी उहाँ अच्युत कृष्ण बा हुनु भो । बासँग के आग्रह हुन सक्लान्, भएनन् । म सधैं सम्बन्धहरुका बारेमा निराकार हुन सकिरहेको हुन्न । र, सम्बन्धहरुको परिभाषा उदेक लाग्दोगरी समाजमा जेलिएको पाउँछु । बाउ बन्नका लागि हुने प्रजनन् शक्तिको व्याख्याले निरासाजनक रुपमा दिमागलाई कसेको छ । यो चक्रब्युह पक्कै होइन ।

अच्युत बा भन्नु हुन्छ- जीवनका धेरै कुराहरु पूर्वजन्मले निर्देशित गरेको हुन्छ । होला पनि ! म पृथ्वीको दुर दराज एउटा कुनामा बसेर मलाई नजन्माएका मेरा बा लाई सम्झिरहेको हुन्छु ।

गिरिजा प्रसाद कोइरालासँग नजर जुधाएर बोल्नसक्ने आँखा चिम्सिएका छन् । जोश त उस्तै छ । आध्यात्मिक चेतना खल्बलिएको छैन । गरिव वालवालिकाहरुलाई पढाउन सहयोग गर्ने हात अझ दह्रा बनेको देखेको छु । म निसृत आकाशमा हेरिरहेको हुन्छु । घाम झुल्किंदै होला । अच्युत बाले बाटो देखाउँदै गरेका ति मसिना केटाकेटीले उज्यालो देख्न पाउने छन् ।

म पत्रकारिता चटक्क छोडेर आफ्ना सपनामा उकेरा लगाउन हिंडेको दुई दशक भएछ । बेलायत टाढा छ । फुटेका सपना लिएर फर्किने कुरा भएन । दस वर्ष अघि नेपाल जाँदा घरमा पुगेर भेटें । निस्तेज अच्युत बाको अनुहार- छातीमा टाउको राखेर ह्वाँ ह्वाँ रुन मन लाग्यो । जिन्दगीले धेरै पटक ठगेको छ बा लाई ! हिजो मात्रै कुरा हुँदा बाले भन्नु भो- “हामी जिन्दगीका कुरा गरिरहेका हुन्छौं । तर जिन्दगी हाम्रो कहाँ हो र यो त ईश्वरको लीला हो” !

तपाइँको प्रतिक्रिया