बिहीबार, साउन २१, २०७८

‘गोरा साहेब’ तरबार बोकेर राजा भेट्न

नेपालप्लस संवाददाता२०७८ साउन ६ गते ६:२६

सन् १९५० मा मोरिस हेर्जोगले अन्नपुर्ण जेठो हिमालको आरोहण गर्ने बेला नेपाल बिदेशीकालागि खुलेकै थिएन । त्यो बेला नेपालकोलागि कूटनितिक सम्पर्क खासै हुन्थेन । राणा प्रधानमन्त्रीको शासन थियो । जति कूटनितिक सम्पर्क हुन्थे ति दिल्लीबाट हेरिन्थ्यो । सन् १९५० मा म दिल्लीस्थित फ्रान्सेली दुतावासमा कार्यरत थिएँ । त्यहिँबाट मैले अन्नपूर्ण हिमाल आरोहणको चाँजोपाँजो मिलाएँ ।

त्यसो त, सन् १९२८ मै फ्रान्सेली अन्वेषक सिल्भाँ लेभी नेपाल गएका थिए । उनी त्यो बेलानै पूर्विय क्षेत्रका प्रसिद्द ज्ञाता थिए । भ्रमण गर्थे देश देशको । त्यसैले गर्दा उनको राणा प्रधानमन्त्री चन्द्र शमशेरसितपनि राम्रो संवन्ध थियो । उनले राणाहरुसित राम्रो संवन्ध बनाएकाले पछि त्यसैका आधारमा फ्रान्स-नेपाल संवन्ध रहिरह्यो । फ्रान्सेलीहरुले अन्नपूर्ण हिमाल चढ्ने भनेपछि त्यो संवन्धले गर्दा राणाहरुबाट अनुमति लिन सजिलो भयो ।

दिल्लीस्थित हाम्रा राजदूतले नेपालको कुनै हिमाल आरोहणको ब्यवस्था मिलाउन पाए हुन्थ्यो भनेपछि दिल्लीबाटै सम्पर्क गरेर राणा प्रधानमन्त्री मोहनशमशेरबाट अनुमति लियौं । त्यसपछि हाम्रो यात्रा पक्का हुने भयो । म भारतमा कार्यरत रहेकाले मलाई अलि अलि गोर्खा भाषा, थोरै हिन्दीपनि आउँथ्यो । त्यसैले यो अनुमति लिने कामकालागि म लागें ।

सन् १९५० मा अन्नपुर्ण हिमाल आरोहण गरेपछि त मेरो सम्पर्क, नेपालको चासो, ज्ञानको दायरा झनै बढ्यो । मेरो सम्पर्कपनि रहिरह्यो । पछि म सन् १९८० मा काठमाडौंमा फ्रान्सको राजदूत बनें । त्यो बेला सबै काम राजदरबारले गर्थ्यो । राजदूत भैसकेपछि मैले ओहदाको प्रमाणपत्र बुझाउनुपर्‍यो । ति कामहरु भए, बुझाईयो ।

सबै बुझाएपछि दरबारबाट एकदिन मलाई बोलावट भयो । मैले आफ्नो फ्रान्सेली पोशाक लगाउनेनै भएँ । खासमा त्यो मेरोलागि दरबारमा पहिलो औपचारिक कार्यक्रम थियो । त्यो कार्यक्रममा म हाम्रो फ्रान्सेली औपचारिक पोशाकमा गएँ । कूटनितिज्ञहरुले लगाउने हाम्रो औपचारिक फ्रान्सेली पोशाकमा कम्मरमा तरबार भिरेको हुन्छ । झट्ट हेर्दा त तरबार देखिँदैन । कम्मरमा पेटी जस्तो हुन्छ । त्यसमा घुसारेको हुने ।

दरबारको गेटबाट त म छिरें । सैनिकहरुलाई सायद ख्याल भएन । राजालाई भेट्न जाँदा फ्रान्सेली राष्ट्रिय धुनपनि बजिरहेको थियो । जब म खुट्किला उक्लिँदै थिएँ त्यो बेला दरबारको सुरक्षा गर्ने दुई जना मतिर अचम्म मान्दै, हतारिएझैं गरेर आए । उनीहरुलाई कसैले खबर गरेछ- ‘एक जना गोरा साहेबले कम्मरमा खुकुरी भिरेर राजाको शयनतिर जाँदै छ । हतारहतार आएर तिनले मेरो कम्मरबाट तरबार झिके ।

म खुट्किला चढेर राजालाई भेत्ने कक्षतिर जाँदाजाँदै त दरबारका सुरक्षाकर्मीहरुबिचमा ‘गोरा साहेबले कम्मरमा तरबार बोक्या छ’ भन्ने खबर फैलिसकेको रहेछ । दरबारका सुरक्षाकर्मीबिच एकैछिनमा हल्लीखल्लीनै मच्चिएछ । उनीहरुलाई त ‘गोरा साहेबले तिनको राजालाई हत्या गर्न कम्मरमा तरबार बोकेर गएको भन्ने परेछ ।’

बास्तवमा त्यो खास फ्रान्सेली कूटनितिक पोशाक मात्रै थियो । तर तिनलाईपनि के थाह त्यो पोशाकको एक भाग हो भनेर । यस अघि कम्मरमा तरबार बोकेर सायद कोहि गएकोपनि थिएन । पछि यो विषय अन्य देशका कूटनितिक अधिकारीहरुका बिचमापनि हाँसो र रमाईलो बनिरह्यो । त्यो मेरोलागि एकदमै अचम्म, रोचक क्षण थियो ।

(सन् १९८० देखि १९८४ सम्म नेपालमा राजदूत रहेका फँसिस द नोयलले पेरिसमा लगभग एक दशक अघि लेखक ददि सापकोटालाई सुनाएको अनुभव । सन् २०१७ मा उनको मृत्यु भैसकेको छ)

तपाइँको प्रतिक्रिया

फेसबुक