शनिबार, असोज २, २०७८

जिवनलाई उत्कर्षमा पुर्‍याउने आनन्ददायी बानीहरु

कृष्ण शर्मा२०७८ साउन ८ गते २०:०२

वयस्कावस्था पार गरेपछि केहि समय मदिराजन्य पेय पदार्थको (कु)लतमा लाग्नु भन्दा पहिले म सिनेमाको खूबै ठुलो पारखि थिएँ । मुकुन्द मामा चाहिं राजनीति र रमितामा रस राख्नुहुन्थ्यो । ‘हीरो’ साइकलको पछाडि बसालेर भारतको सीमावर्ति बजार महाराजगंज स्थित सिनेमा हलमा फिल्म देखाउन लैजादा भन्नु हुन्थ्यो, “भान्जा, पछि गएर हजुरले सिनेमामा खेल्न पर्छ ।” उहाँको त्यो प्रस्ताव र प्रोत्साहन प्रति मैले कहिल्यै ध्यान दिइन । ममा कलाकार बन्ने स्वभाव र क्षमताहरु छैनन भन्ने कुरामा म घाम झैँ छर्लंग थिएँ । उहाँले साइकल चलाउँदै गर्दा मैले उहाँको खाकि जिन्सको ज्याकेट पछाडि बनाइएको अमिताभ बच्चनको हातमा जन्जिर भएको, रिसले आँखिभौं निधार माथिसम्म पुगेको चित्र हेरेरै साइकल पछाडिको फलामे सिटले पिठ्युँमा दिने पीडा बिर्सन्थें ।

साइकल यात्रा पछि हामी बुटवलबाट सुनौलीका लागि छुट्ने स्थानिय थोत्रा सार्वजनिक बस चढ्थ्यौं । नेपाल-भारत बोर्डर पुग्थ्यौं । फेरि उत्तिकै थोत्रा भारतिय बस चढेर बल्ल महाराजगन्ज पुग्थ्यौं ।

त्यो ताका म पाँच वा छ कक्षामा पढ्थें सायद । हिन्दी भाषा त्यति सारो आउँदैनथ्यो । मलाइ एउटा निष्चित ठाउँमा उभिन लगाएर मामाले बडो मुश्किलका साथ भिड छिचोलेर टिकट काट्नु हुन्थ्यो । कहिलेकाहिं म्याटिनि शोको टिकट मामा काउन्टरमा नपुग्दै सकिन्थ्यो । अनि ब्ल्याकमा अलिक धेरै पैसा तिरेर किन्नुहुन्थ्यो । सिनेमा शुरु हुनु अगाडि हामी टिकट काटिसकेकाहरुको अर्को लाइनमा उभिन्थ्यौं । फलामको ढोका खुले पछि गएर काठको मेचमा बस्थ्यौं । मामाले मेरा साना हातका अन्जुली भरि मम्फुलि (बदाम) राखिदिनुहुन्थ्यो । केहिबेरमा अगाडिको बडेमानको पर्दामा सिनेमा शुरु हुन्थ्यो । मामा सिनेमामा मस्त हुनुहुन्थ्यो, म मम्फुलि फोकेर खानमा ।

उहाँ अमिताभ बच्चनका हरेक डाइलगमा ताली पिट्नुहुन्थ्यो । हरेक मुक्का र फ्लाइङ किकमा ‘गज्जब ! … क्या बात!’ भन्नुहुन्थ्यो । सिनेमाको बिच बिचमा आउने गीतहरुमा गुन्गुनाउनुहुन्थ्यो । फिल्मका भावुक दृश्यहरुमा गम्भिर हुनुहुन्थ्यो । म भनें कतिबेला मध्यान्तर होला र ढोका खुले पछिको उज्यालोमा तल खसेका मम्फुलि टिप्न पाइएला भनी कुरी बस्थें । बिचरो म सानै थिएँ । सिनेमाको कथा बुझ्न हम्मे पर्थ्यो। बिच बिचमा मामाका मसिना औलाले मेरो पातलो पाखुरा खोस्रन्थे । उहाँले मेरो कानको नजिकै आफ्नो मुख ल्याएर कलाकारहरु चिनाउनु हुन्थ्यो, “भान्जा, उ त्यो भुकुल्ल कपाल भएको मान्छे चाहिं प्रान हो, बुझ्नुभो ? अनि यिनी महीला चाहिं रेखा ! उ त्यो दाडि वाला चाहिं अमजद खान !” मामालाइ रेखा बिछट्टै मन पर्ने, अमिताभ बच्चनको त कुरै गर्नु परेन।

दिलिपकुमारका चलचित्रमा एक्लै रोएँ । अमिताभ बच्चनका चलचित्रमा म एक्लै रिसाएँ । गोबिन्दाका चलचित्रमा म मन भित्र एक्लै नाचें । नाना पाटेकरका चलचित्रमा म अन्याय बिरुद्ध मन भित्रै लडें । कहिं न कहिं कुनै न कुनै माध्यमद्वारा मेरा भावाबेगहरुको रस्सा कस्सि त हुनु नै थियो । कहिं न कहिं पोखिनु त थियो नै । स्वप्नदोष जस्तै म सिनेमाका पर्दामा पोखिएँ ।

सिनेमा सक्किए पछि पर्दा नजिकै गएर ति सिनेमामा खेल्ने मान्छेहरुलाइ भट्ने मन हुन्थ्यो । तर मामालाइ भन्न सक्तिनथें । त्यो बेला के थाहा, सिनेमा र नाटक फरक कुरा हुन भनेर !

घर फर्कंदा मामा स्वयम आफुलाइ अमिताभ बच्चननै सम्झनु हुन्थ्यो सायद । जसरि अधिकांश दर्शकहरुले फिल्म सकिएपछि हल छोड्दा आफुलाइ मन परेको नायक नायिकाको प्रभाव र मनोदशा मन अनि भाव भंगिमामा लिएर बाहिरिएका हुन्छन त्यसै गरि उहाँले पनि अमिताभ बच्चनको प्रभाव लिएर आउनु भएको थियो । उनकै हाउभाउ काड्नु हुन्थ्यो । डाइलग बोल्नुहुन्थ्यो । बडो जोशका साथ शरिरलाइ अगाडितिर निहुराउँदै, टाउको साइकलको ह्यान्डल तिर झुकाउँदै कुदाउनु हुन्थ्यो । साइकलले यदाकदा सन्तुलन गुमाउँथ्यो । तर मैले मेरा लामा खुट्टा दुबै तिर जमीनमा टेकाउँथे । हामी त्यो ग्राभेलको कठोर सतहमा पछारिनबाट बच्थ्यौं । बिच बिचमा सिनेमाको कथानकका कुरा गर्नु हुन्थ्यो मामा । रेखाको नाचको तारिफ गर्नुहुन्थ्यो । उहाँले सबै कुरा सकेपछि अन्तिममा फेरि भन्नुहुन्थ्यो, “भान्जा, पछि गएर सिनेमामा खेल्न पर्छ, बुझ्नुभो!”

कदमा अलिक होंचो नै हुनुहुन्थ्यो उहाँ । अग्लो साइकल चलाउँदा उहाँको पिठ्यु सिटको दायाँ बायाँ घस्रिरहन्थ्यो । म उहाँलाइ पछाडि राखेर साइकल चलाउनसक्ने भैसकेको थिइन । उहाँको साइकल संगको संघर्ष देख्दा कहिलेकाहिं टिठ लाग्थ्यो ।

पछि उहाँले पक्लिहवा कृषि क्याम्पसमा होस्टेलको सुबिधा पाएपछि हाम्रोमा बस्न आउनु परेन । “गिरफ्तार”, “अन्धाकानुन”, “शोले”, “जन्जीर” आदि हेरे पछि त ति साइकल बस चढेर भारत गई बदाम खाँदै सिनेमा हेर्ने दिनहरुमा अनायासै पुर्ण बिराम लाग्यो।

त्यसको केहि वर्ष पछि ८० को दशकको मध्यतिर बुटवलमा सिनेमा घरहरु बन्न थाले। ठेउला रोगको अन्धबिस्वासमा आधारित “शितला माता” नामक सिनेमा हेर्दा मैले मामालाइ खूब मिस गरें । मम्फुलि बिनाको, अमिताभ बच्चन बिनाको र मामाको मामत्व बिनाको त्यो सिनेमा हेराइ मलाइ बडो खल्लो लाग्यो । पछि भदाहा दाइ प्रेमचन्द्र सँग मिथुन चक्रवर्तिको त्यो जमानाको हिट “डान्स डान्स” हेर्ने मौका जुर्यो। सिनेमा अवधिभर मैले जानी नजानी सिनेमा बुझेको जस्तो पार्न मामाले जस्तै ब्यवहार देखाएँ । मैले प्रेमचन्द्र दाइलाइ कस्तो प्रभाव पार्न चाहान्थें त्यो आज पर्यन्त थाहा छैन । तर उहाँलाइ मैले सिनेमा हेर्न मन पराउँछु भन्ने कुरा चाहिं त्यो दिन देखि निश्चित भयो।

प्रेमचन्द्र दाइ मेरि फुपुका जेठा छोरा । उहाँ उमेरमा म भन्दा ६ महिना जेठा । सानै देखि बजारमा हुर्के बढेकाले उहाँ हामीभन्दा धेरै पढेको, जानेको र बुझेको मान्छे प्रतित हुने । खेलकुदमा पनि त्यत्तिकै अगाडि । बोल्नमा पनि खूब सिपालु । पछि गएर सार्क युवा बक्तृत्वकला प्रतियोगिताका लागि लुम्बिनि अन्चल प्रतिनिधि भएको मान्छे । उहाँको तास खेल्ने बानी चाहिं मलाइ पटक्कै मन नपर्ने। मलाइ छेउमा राखेर उहाँ घन्टौसम्म तास खेलिदिन सक्ने । तर उहाँले ध्यान दिएर खेल्ने हुनाले सधै जसो पैसा जित्नुहुन्थ्यो । त्यसपछि हामी राजमार्ग चौराहा स्थित नेवारि रेस्टुराँमा खाजा खान जान्थ्यौं । खाजासँगै थोरै पेय पदार्थ पिउथ्यौं । त्यस पछि सिनेमा हेर्न जान्थ्यौं । तास खेलेर पैसा हारेको दिन सधैं उहाँले मलाइ कालिका चलचित्र मन्दिरमा सिनेमा हेर्न लैजानुहुन्थ्यो । पछि थाहा पाएंँ त्यहाँ त उहाँले टिकट काट्नै पर्दो रहेनछ । उहा सँगसँगै स्कुल पढ्ने साथीको बुबाले बनाएको हल रहेछ । अनि त के चाहियो ? मसँग दोस्ति भएपछि उहाँ मलाइ छोडेर एक्लै सिनेमा हेर्न नजाने । अरुसँग पनि नजाने । मसँग मात्रै जाने ।

एक दिन सोधें । उहाँले भन्नुभयो, “मलाइ सिनेमा नक्कलि कुरा हो भन्ने थाहा भएकाले हेर्नै मन लाग्दैन । तर मलाइ तिमिले सिनेमा हेरेको हेर्न मन पर्छ । तिमी सिनेमा यसरि हेर्छौ मानौं त्यो सब बास्तवमै तिम्रो अगाडि भैरहेछ । तिमी कथा भित्र छिर्न सक्छौ । कलाकारहरुसँग भिज्न सक्छौ र आफूलाइ त्यसमा समाहित गरेर, कम्तिमा सिनेमा अवधि भर नै किन नहोस, आफूलाइ सहि अर्थमा बिर्सन सक्छौ । सिनेमाको कथामा हास्न, रुन, ताली बजाउन, खलनायक बिरुद्ध रिसाउन र नायकमा आफूलाइ देख्न अनि उसको संवेदनामा आफूलाइ पाउन सक्छौ । सायद यो सिनेमा हल बन्दै गर्दा म मेरो साथि बिक्रमसँग नआएको भए, बजारमा हुने सिनेमाका शूटिङ हेर्न नगएको भए मैले पनि तिमिले जस्तै सिनेमा हेरेर आफ्नो बर्तमानलाइ बिर्सन सक्ने गरी मजा लिन सक्थें कि!”

जबसम्म मानिसले प्रकृतिबाट हरबखत आफू अनुकुल अवसरहरु मात्र प्राप्त होउन भन्ने चाहना राखिरहन्छ तबसम्म उ दुखीः रहिरहन्छ । तर, जब उ ती चाहनाहरुबाट अलग रही निरपेक्ष भावमा प्रकृतिलाइ जस्तो छ त्यस्तै रुपमा स्विकार्न सिक्छ तव उ सुखी हुन थाल्छ ।

दाइ प्रेमचन्द्र र ममा अन्य धेरै विषयबस्तुसँगै सिनेमा हेर्ने कुरामा पनि परिपक्वता र अपरिपक्वता रह्यो । प्रेमचन्द्र दाइ चलचित्र हेर्दासम्म म भित्र बदलिइरहने भावना र संवेदनाका साक्षी बनिरहन्थे । कहिलेकाहिं अलिक धेरै पिएको बेला शान्तसँग सुतिदिन्थें ….मैले थाहा पाउँदा पाउँदै कि बन्द हल भित्र सेतो पर्दामा बदलिइरहने दृश्यहरु बास्तविक होइनन्, कलाकारहरुलाइ मन्चमा क्यामेरा अगाडि अभिनय गराएर खिचिएका भिडिओ क्लिपहरु काट्कुट गराएर बनाइएको चलचित्रहरुले मलाइ चुम्बकले जस्तै सधैं तानिरहे र म तानिइरहें ।

प्रेमचन्द्र दाइ काठ्माण्डु गएपछि पनि म एक्लै गएँ सिनेमा हेर्न । दिलिपकुमारका चलचित्रमा एक्लै रोएँ । अमिताभ बच्चनका चलचित्रमा म एक्लै रिसाएँ । गोबिन्दाका चलचित्रमा म मन भित्र एक्लै नाचें । नाना पाटेकरका चलचित्रमा म अन्याय बिरुद्ध मन भित्रै लडें । कहिं न कहिं कुनै न कुनै माध्यमद्वारा मेरा भावाबेगहरुको रस्सा कस्सि त हुनु नै थियो । कहिं न कहिं पोखिनु त थियो नै । स्वप्नदोष जस्तै म सिनेमाका पर्दामा पोखिएँ र अझै पनि त्यहिं पोखिने क्रम जारि नै छ । तमाशाको ‘अगर तुम साथ हो…” का दृष्य र शब्दले आजपनि मलाइ मेरो जीवन सिंगिनीसँगको प्रेमका शुरुवाति दिन संझाउछन र मेरा आँखाभरि रोक्नै नसकिने गरी आसुको बाढी ल्याईदिन्छन् । म पोखिन्छु । बर्षात पछिको धर्ती जस्तो स्निग्ध, सफा र स्पष्ट महशुस गर्छु ।

तर कहिलेकाहिं केहि सिनेमा अनि टेली सिरियलहरुले आँसु होइन, आँधिसँगै असिना ल्याईदिन्छन् । पहिले दूरदर्शनमा “महाभारत” अनि हालसालै नेट्फ्लिक्समा “बुद्ध” हेरे पछि म जीवनको आँधिबेहरिमा अल्झिएर असिनाको क्रुर मारले चुटिएको छु ।

संसार र जीवन हामी कसैले खोजे वा चाहे जस्तो हुँदैन । बास्ताविकता र चलचित्रका कथामा आकाश जमीनको फरक हुन्छ । म चाहन्छु आज बर्षात होस ताकि मरो खेतबारिका मकैले घुँघामा जल पाउन सकुन् । तर मेरो छिमेकी दिलिप चाहन्छ, कम्तिमा एक हप्ता सम्म वर्षात नहोस बरु चर्को घाम लागोस ताकि उसको बाबाले खोलेको इटाभट्टामा सुकाईएका काँचा इँट्टा राम्रोसँग सुकुन र बर्षात नहुँदै भट्टि भित्र जान पाऊन् ।

प्रकृति निरपेक्ष हुन्छ । हामी नै हो प्रकृति आफू अनुकुल बनेको खण्डमा रमाउने र नबनेको खण्डमा दुःखी बन्ने । पानी परेन भने शायद म दुखि हुन्छु किनकि मेरो खेतबारिका मकै हुर्कन पाउँदैनन । पानी पर्यो भने शायद दिलिप दुखी हुन्छ किनकि हजारौंको संख्यामा रहेका उसका काँचा इँट्टाहरु फेरि माटोमा मिसिन्छन् ।

हामी सबैका सुख दुखका आधारहरु फरक छन् । तर एउटा कुरा चाहिं शास्वत सत्य छः हामी त्यस समयमा दुखी हुन्छौं जब यो संसार, प्रकृति अनि दुनियाँ हामीले चाहे जस्तो गरि प्रकट हुँदैन । हामी त्यस समयमा खुशि हुन्छौं जब संयोगबशः केहि थोरै कुरा हाम्रो अनुकुल प्रकट हुन्छन् । जबसम्म मानिसले प्रकृतिबाट हरबखत आफू अनुकुल अवसरहरु मात्र प्राप्त होउन भन्ने चाहना राखिरहन्छ तबसम्म उ दुखीः रहीरहन्छ । तर, जब उ ती चाहनाहरुबाट अलग रही निरपेक्ष भावमा प्रकृतिलाइ जस्तो छ त्यस्तै रुपमा स्विकार्न सिक्छ तव उ सुखी हुन थाल्छ । तसर्थ, यथार्थ बुझ्नु जरुरि छ कि संसार, प्रकृति र दुनियाँ मानिसले चाहे जस्तो गरि सधैं अनुकुल भईरहँदैन । हामी संसार, प्रकृति र दुनियाँबाट सधैं चाहे जस्तो अनुकुल बातावरण पाउँदैनौं । त्यसैले मरुभूमिमा मृगत्रिष्णाको भ्रममा उँटले यात्रा पूरा गरे जस्तै हामी स्वयमले सिर्जना गरेका मृगतृष्णाका पछाडि दौडिरहन्छौं । मेरो सिनेमा प्रतिको लगाव, प्रेमचन्द्र दाइको पेय पदार्थ प्रतिको लगाव, मुकुन्द मामाको राजनीति प्रतिको लगाव, यी र यस्तै धेरै लगावले गर्दा नै दुनियाँभर यत्रो मृगतृष्णा रूपी मायावी बजार खडा भएको छ।

यात्रालाइ नै गन्तब्य बनाएर हिंड्दा पछि परेको भन्नेहरु प्रति केहि गुनासो छैन । साधनलाइ नै साध्य बनाउन सके पछि न रह्यो भूत प्रति पश्चाताप न भबिष्य प्रतिको चिन्ता!

क्षणिक खुसि खोजेर हामी कतिन्जेल सुख पाउँला ? सुख दुखको यो कुमाले चक्र अलि अलि बुझ्दा बुझ्दै पनि मैले आज पर्यन्त सिनेमा हेर्न छोडेको छैन । केहि समयअघि मात्रै युट्युबमा “मेरे पास तुम हो” नामक पाकिस्तानी सिरिएल हेर्दा चुहिएका आँसुबाट भिजेका परेलीहरु अझै ओभाएका छैनन् । अहिले सम्झँदा आनन्द यसर्थमा आउँछ कि समय धेरै नै खाइदिएको भए पनि सिनेमा हेर्ने पुरानो आदतले मलाइ ‘महाभारत’ वा ‘बुद्ध’ हेरेर जीवन बुझ्ने अवसर दियो । म अहिले जहाँ भाषाबिदको रूपमा जागिर गरिरहेको छु त्यसका लागि सानै भए पनि पृष्टभूमी तयार गरिदियो । मामाले हिन्दि सिनेमाप्रति लत नबसालिदिएको भए, बुबाले हिन्दी भाषामा प्रकाशित हुने समाचारपत्र एबम मासिक पत्रिकाहरु घरमा नल्याएको भए मेरो हिन्दी भाषा माथिको पकड त्यति बलियो हुँदैनथ्यो जति भाषाबिद हुनको लागि आवश्यक हुन्छ । कतिपय पूराना आदतहरुले सजिलै नछोडेकोमा म बिस्मात हैन हर्ष नै महशुस गर्छु ।

जिन्दगीको रेगिस्तानमा एक्लै यात्रा पूरा गर्नै छ भने किन रुँदै, कहालिंदै, बितेका कुरामा पश्चाताप गर्दै पाइला चाल्ने ? अँध्यारोमा हिंड्दा मेला छुटेर एक्लै भएँ त के भो ? औंशीको निष्पट्ट अँध्यारोमा कालो बिरालो खोज्दै गर्दा दायाँ मोडहरु मात्र लिएको भए शायद मसँग बाँड्नुपर्ने धेरै कुराहरु हुँदैनथे होला । आखिर म भन्दा अघि गएकाहरु पनि त कतै टाढा पुगेका त छैनन् । तर मैले अँध्यारोमै पनि खतरा मोलेर घायल हुँदै आफूलाई दायाँ र बायाँ मोडिरहें ।

आज थाहा हुँदैछ, त्यो लक्ष्यरुपि कालो बिरालो जिन्दगीको यति बिध्न अँध्यारोमा कहिल्यै भेटिने छैन । तर मेरा ती धंधंगिहरुले सिर्जेका आनन्ददायी आदतहरु त छन् नि बाँकिको यात्रामा स्वयंलाइ साथ दिन ! यात्रालाइ नै गन्तब्य बनाएर हिंड्दा पछि परेको भन्नेहरु प्रति केहि गुनासो छैन । साधनलाइ नै साध्य बनाउन सके पछि न रह्यो भूत प्रति पश्चाताप न भबिष्य प्रतिको चिन्ता !

तपाइँको प्रतिक्रिया

फेसबुक