बुधबार, वैशाख १२, २०८१

गुरु पुर्णिमा उर्फ ‘टिचर्स डे’

समीक्षात्मक लेख

रन्जु पाण्डे / मीनभवन, काठमाडौं२०७८ साउन ९ गते ५:०३

म एउटा लेख लेख्ने तयारीमा छु । गुरु पूर्णिमाको उपलक्षमा गुरु प्रति नमन गर्दै यसको महिमा अनि यसलाई प्रकाशमा ल्याउनुपर्ने बारे अलिकति चर्चा गर्न चाहन्छु ।

“दाताराम सरको यो जन्ममा तिर्न नसकिने ऋणनको भारले म थिचिएको छु । यस्ता आदर्श गुरू दुर्लभ हुन्छन् । आज म जे छु, जस्तो छु दाताराम सरको कृपाले बुनिएको आकार हो । हजारौं दिनदेखि यो हृदयमा सञ्चित एउटा अव्यक्त श्रद्धामिश्रित सम्झना छ । त्यो क्रमिक रुपले कपुर जस्तै उड्दै छ… ” (साभार)

मैले दाताराम सरलाई कहिले पनि देखिन । केवल उनको त्याग, एउटा ‘असल मान्छे’ बनाउने, उनको त्यो अथक प्रयासको उर्जालाइ भनें मैले महसुस गर्न सकें । “मलाई चिन्नुभयो ? म गोविन्द ”

“को गोबिन्द ?” एउटा संवेदना शून्य आवाज कानमा गुन्जिन्छ । अल्जाइमर भएर ओच्छ्यान परेका आफ्नो गुरुलाई लगभग पाँच दशक पछि भेट्दा प्रा। डा। भट्टराईका आँखा रसाएका थिए । मलाई लाग्छ, त्यतिबेलासम्म उनी गोविन्द भट्टराईमा सरिसकेका थिए । त्यहाँ दातारामको कुनै अर्को आँखा थिएन जुन डा. भट्टराईसँग जुधोस । उनको कुनै अर्को हृदय थिएन जसले आफ्नै शिष्यको हृदयलाई छामोस । त्यहाँ त एउटा शरीर मात्र थियो केवल एक मुठ्ठी सास बोकेर कि कहिले अन्तिम पटक आफ्नै रूप देखुँ गुरु दाताराम उर्फ गुरु गोविन्द ।

प्राध्यापक डाक्टर गोविन्द भट्टराईलाई हाईस्कूल तहमा अध्यापन गराउनुहुने श्रद्धेय गुरु दाताराम शर्मा प्रतिको श्रद्धाञ्जली लेख उहाँद्वारा रचित आत्मसंस्मरण ‘सम्झनाको सागरमा केही दिन’ पाना नं ९७-११३ बाट उल्लेख गर्दै म प्रसङ्ग अगाडि बढाउँछु ।

मान्छे जन्मेपछि उसका कर्महरु आफ्नै गतिमा बढ्दै गएको हुन्छ ऊ सँगसँगै । उ हुर्कदै जान्छ । अथवा भनौं हुर्काइँदै जान्छ । उ सुन्ने गर्छ, ‘आज नागपञ्चमी’ ‘ जनै पूर्णिमा, आज कृष्णाष्टमी, ‘भोलि गुरु पुर्णिमा’ ‘पर्सि तीज, अनि फेरि दशैं तिहार’आदि-आदि । त्यहीअनुसार उत्सव मनाइन्छ घरमा । विद्यालयमा अनि समुदायमा । उ चुपचाप सामेल हुँदै जान्छ, मनाउँदै जान्छ । न उसले यसको जरामा पसेर त्यो उत्सवको भेद बुझ्ने कोसिस गर्छ न हुर्काउने, अह्राउने, बढाउनेले नै यसको जरो देखाइदिने गर्छन् । कतिपय अवस्थामा त अभिभावक स्वयंलाई पनि थाहा हुन्न कि यो किन मनाइँदै छ । किनकि उनीहरु स्वयंले पनि पुर्खाले रोपेको बिरुवामा पानी हाल्ने काम मात्र गरिरहेका हुन्छन् । यसरी परम्परालाई अन्धाधुन्ध निभाउँदै र स्वीकार गर्दै जाँदा ती सबै एउटा कोरा नियमको रुपमा मात्र रहन्छ । तर त्यसप्रति हृदयभाव गाँसिन भने कहिल्यै पाउन्न । अनि कुनबेला यसको ‘हाइब्रिड’ हाँगाले लगाउने फलमा चाडपर्वको असली स्वादनै हराइसकेको हुन्छ पत्तो नै पाइन्न ।

ओहो म कता अलमलिएछु ! मैले त गुरु पुर्णिमाको पो कुरा गर्दैछु । गुरु अर्थात ‘गु’ अन्धकार अनि ‘रुह’ आत्मा । शास्त्रमा लेखिए अनुसार यस दिन महर्षि वेदव्यासको जन्म भएको मानिन्छ । कतै यसै दिनलाई महर्षि वेद व्यासले आफ्ना शिष्यलाई पहिलो पल्ट भागवत पुराण सुनाएको दिन पनि भनिन्छ । आफैंलाई छेक्ने अन्धकारलाई चिर्दै आफू भित्र ज्ञानको ज्योति फैलाईदिने सबै गुरुलाइ गुरु दक्षिणा स्वरुप सम्झेर आराधना गर्ने दिन ।

चलनचल्तीमा पुरुषले व्रतबन्ध गर्दा, महिलाले विवाह पश्चात घर माइतीको बुजुर्ग संग मन्त्र सुने पश्चात वर्षमा एकदिन तिनै मन्त्र सुनाउने गुरुलाई ढोग गर्ने परम्परा पुरानै मानिए पनि गुरुपूर्णिमा भने घरमा भन्दा विद्यालयमा मनाइने चलन व्यापक रहन गयो ।

यसै सम्बन्धमा छलफल गर्न मैले केही आफन्त ईष्टमित्र सङ टेलीफोनमा कुराकानी गरेकी थिएँ । २० देखि ४० उमेर समूहका उनीहरुलाई यस बारेमा जिज्ञासा राख्दा लगभग सबैजसोले गुरुपूर्णिमा कहिले भन्नेसम्म थाहा नभएको बताए ।

“गुरुपूर्णिमा कहिले हो थाहा छैन । यो भनेको ‘टिचर्स डे’ हो । स्कुल पढ्दा साथीहरु बीच पैसा उठाएर टिचरलाई उपहार दिएर हामी सेलिब्रेट गर्थ्यौं । अहिले त केही हुन्न ।”

“अनि तिमीले अहिले खोजी गर्दैनौ त उनीहरुलाई ? ” मेरो यो प्रश्नमा २० वर्षीय युवा ऊनी भन्छन, “त्यस्तो अहिले खोजी-खोजी सम्झने कुनैपनि टिचर थिएन मेरो स्कूलमा ।”

गाउँ मात्र होइन शहरका पनि ठूला ठूला नाम चलेका विद्यालयहरुमा सानो कक्षामा गुरुपूर्णिमा मनाइन्छ । तर कक्षा बढ्दै गएपछि सूचनाको भारी बोकाउँदै जाने क्रममा ज्ञानको भकारी भर्ने यो संस्कार मनाउन विद्यालयले पनि जरुरी ठान्दैन । साना कक्षामा पनि गुरु पुर्णिमा मनाइरहँदा यसको भित्री तहसम्म पुगी अर्थ बुझाएर मनाउने भन्दा पनि विद्यार्थीहरूले आफै मिलेर शिक्षकलाई उपहार दिनेमा नै उत्सव केन्द्रित भएको पाइन्छ ।

विद्यालयमा मात्र सिमित रहेको गुरुपूर्णिमा उर्फ ‘टिचर्स डे’ मा प्रत्येक कक्षाको कक्षागत शिक्षकलाई अघिल्लो वर्षका विद्यार्थीले पनि उपहार दिने आधारमा आफूले कति विद्यार्थीहरूको मनमा भावनात्मक खाता खोल्न सकेको रहेछ भन्ने आँकलन गरिंदो रहेछ ।

“मलाई विद्यार्थीहरुले दिएको रातो कलमले म उनीहरूको परीक्षाको कापी जाँच गर्छु । त्यो कलम मलाई वर्ष दिनभरिलाई पुगेर अरु शिक्षक सहकर्मीलाई समेत दिन पुग्दा आफूले विद्यार्थीको मनमा राम्रै छाप पार्न सकेकोमा गर्व लाग्छ । अझ भनौं भने त गुरु पूर्णिमाको दिन कसले कति कलम उपहार पाउने भन्ने एउटा हल्का होड जस्तै चल्छ ” आफ्नो अनुभव यसरी सुनाउँछिन् सरकारी विद्यालयकी एक गुरुआमा ।

यसरी मनाइने गुरु पूर्णिमा जब विद्यार्थीहरु विद्यालयबाट ‘पास आउट’ हुन्छन् उनीहरु त्यो उच्च परम्परालाई त्यही बिसाएर जान्छन् र त्यसरी खोलिएको त्यो भावनात्मक खातामा फेरि कहिल्यै ” सन्तुलित” देखिन्न । काठमाडौंको अत्यन्त महँगो विद्यालयमा सानो कक्षा देखि १२ कक्षासम्म पढेर निस्किएकी एक २८ वर्षीय पूर्व छात्रालाई यस बारेमा सोध्दा उनी भन्छिन “गुरुलाई रेस्पेक्ट गर्ने यो फङ्सन स्कुल लेभलमा हामी मनाउँछौं । स्कुल पछि पनि कन्टिन्यु गर भनेर बुझाएको सम्झना छैन । त्यसैले मामु बाबालाई विस गर्छु सम्झे भने ।”

“आमाबुवालाई मान्ने पर्व छुट्टै बनाइएको भएर होला, खै मैले त केही पनि गर्दिन गुरु पूर्णिमाको दिन । अहिले म साँढे भएको बेला छ जब गोरु बन्छु अनि गुरु खोजौंला । ” उमेरले लगभग ४० छुन लागेको भतिज मजाक मै भएपनि यथार्थलाई यसरी ओकल्छन् ।

जीवनको उर्जाशिल उमेरमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहँदा ती गुरु जसले मार्ग निर्देश गरेका छन् हिजोका दिनमा, आज अनि अहिले सम्म, किन सम्झन्नन युवावर्ग आफ्नो पथप्रदर्शकलाई र सम्मान गर्न जान्दैनन् । किन संस्कृति परम्परा यति क्षीण हुँदै गै रहेछ ? के साँच्चै शिक्षामा व्यापारीकरण मौलाउँदै गएर शिक्षक-विद्यार्थी बीचको सम्बन्ध परीक्षामा प्राप्त अंकमा मात्र सीमित भएको हो त ? के यहि होडमा रटाइ सूचना मात्र लदाउदै गएर विद्यार्थीको उनीहरूप्रति हृदयगत भाव हराउँदै गएको हो त ? केही अपवादलाई छोडेर आज अध्यापन एउटा पेशामा सीमित भएको छ त्यो पनि अन्य विकल्प नपाउँन्जेल । विद्यालय एउटा व्यापारिक केन्द्र बन्न गएको छ । यद्यपि गाउँ शहरमा देखिने अध्यापकीय बिकृतीमा सरकारको शिक्षाप्रतिको दृष्टिकोणलाई नजरअन्दाज गर्न सकिँदैन, यसले बचेखुचेका आदर्श गुरुलाई समेत प्रभाव पारिरहेको छ । आज विद्यालयका शिक्षक प्रति विद्यार्थीको त्यो प्रगाढता विरलै भेटिन्छ जुन गोविन्द दाताराममा हामी देख्छौं । अर्जुन कृष्णमा हामी सुन्छौं । एकलब्य द्रोणाचार्यमा हामी पाउँछौ ।

“सधै शिक्षाको भिक्षाटनले चलेको छ जीवन । थोरे गुरुजनबाट अलेली थाप्दै माग्दै घडा भर्दै र फेरी चुहाउँदै चलेको छ यो जीवन । तर कहिले पनि त्यो घडा नभरिने रहेछ” प्राध्यापक डाक्टर भट्टराईको यस्तो अनुभव सुनिरहँदा लाग्छ, त्यो घडा भर्ने मुहान केवल विद्यालय मात्र होइन तर पनि यथार्थमा भन्नुपर्दा अहिले गुरुपूर्णिमा या त विद्यालयमा शिशु कक्षामा मनाइन्छ या त जीवनको उत्तरार्धमा एक एक गुरु समातेका आम समुदाय यस दिन आ-आफ्नो धाममा गुरुलाई पुज्छन् । राधेराधे गुरु, ॐ शान्ति गुरु, जीवन विज्ञान गुरु, आर्ट अफ लिविङ गुरु, इशा सद्गुरु । लेख्दालेख्दै आँखा बन्द गरेर यसो सम्झँदा त आफ्नै छोरीको अनुहार पनि पो देखियो त । झल्यास भएँ । ओहो ! अघिल्ला पुस्ता मात्र नभई पछिल्ला पुस्ता पनि गुरु हुँदा रहेछन । यस अर्थमा यहाँ घरपरिवार, छिमेक समुदाय सर्वत्र ब्याप्त रहेछन गुरु अनि गुरुकुल जसको मिठो बाछिटाले हामी आज सिन्चित भएका रहेछौं ।

गुरुपूर्णिमा प्रत्येक वर्ष मनाइन्छ । तर ऋतु फेरिएपछि पात झर्ने अनि पालुवा लाग्ने नियमलाई बाहिरबाट देखेर बुझे जस्तै भएको छ । त्यसलाई हृदयंगम गर्ने काम आज पटक्कै देखिन्न । केवल सँगै लिएर जाने काम मात्र भएको छ पुर्खाबाट पुस्तामा सार्न । तर के सार्दै छु र के बोकेर ल्याएको बारेमा वाहक पुस्तासमेत अनभिज्ञ देखिन्छ। त्यसैले त आज सन्तान जन्मने बित्तिकै शेयरको कारोबार गर्न बैंकमा खाता खोलिदिने अभिभावकहरूले आफ्ना केटाकेटीहरुलाई अन्धकारबाट उज्यालो देखाउने गुरुलाई चिन्न, पुज्न अनि हृदयमा भावनात्मक खाता खोलिरहनको लागि प्रेरित गरेको त्यति पाइँदैन ।

आफ्नो पारिवारिक पेशागत वा रुचिकर जीबनमा मार्गदर्शन देखाउने व्यक्तिलाई मान्नु अर्थात उनलाई गुरु मानेर उनको सिद्धान्तमा चल्नु, उनले देखाएको बाटोमा हिंड्नु वास्तवमै सजिलो मार्ग हो । त्यहाँ खुरुखुरु हिँडे पुग्यो । शिष्यलाई सहकर्मी मानेर गुरुले हेर्ने कि उसलाई पछाडि पछाडि हिड्न प्रेरित गर्ने त्यो पनि आज सोच्नु जरुरी छ । गुरुको पछिपछि शिष्य लाग्दा कहिलेकाहीँ गुरुले पदअनुसारको पहिचान नबोकेको उदाहरण हामीले नदेखेको होइन । सत्यको जितको लागि थियो । तर द्रोणाचार्यले आफ्नो प्रिय शिष्य अर्जुनलाई जिताउन एकलव्य सँग उनैको औंला गुरुदक्षिणा स्वरुप मागेका दृष्टान्त पनि हामी शास्त्रमा भेट्छौं यद्यपि गुरुलाई थपना गरेर आफू भित्रको अन्धकारलाई चिर्ने काम भने एकलव्यले गरे ।

जब अन्धकारलाई चिरिन्छ त्यसपछि गुरु त्यही भित्र देखिन्छ । आफ्नै रुपमा भेटिन्छ जहाँ गुरु र शिष्य बिचमा कुनै दुरी रहन्न ।अघिपछि भइन्न । एकाकार भईन्छ । र अरु थुप्रै शिष्यको हृदयमा खाता खोल्न तिर लागिन्छ । असली अर्थमा गुरुलाई पुज्नु भनेको उनलाई आफै।भित्र देख्नु न हो । सबै ज्ञात अज्ञात गुरुप्रति हार्दिक ढोग अनि नमन गर्दै आफ्नो लेखाइमा आज अल्पविराम लगाउँछु ।

तपाइँको प्रतिक्रिया