बिहीबार, वैशाख १३, २०८१

एनआरएनए फ्रान्स बिभाजित, संस्थापन पक्षले निर्वाचन गराउन नसकेको भन्दै कमिटी गठनको निर्णय

नेपालप्लस संवाददाता / पेरिस२०७८ साउन १० गते १:२०

एनआरएनए फ्रान्स अन्तत बिभाजित भएको छ । नेपालप्लस स्रोतका अनुसार संस्थापन पक्षले एनआरएनए फ्रान्सको सदस्य बन्न चाहनेलाई बन्देज गरेको, निर्वाचन गराउनसमेत असक्षम रहेको र आइतवार हुने भनिएको निर्वाचनमा धाँधलीको तयारि गरेको लगायतका आरोप लगाउँदै नयाँ कमिटी गठन गर्ने निर्णय गरिएको हो ।

एनआरएनए फ्रान्सको संस्थापन पक्षले अनलाईन निर्वाचनकालागि लिएको निर्वाचन प्रणाली (एप्लिकेसन)मा मनपरि गरेकोले त्यसलाई सुधार गरेर मात्रै निर्वाचन गर्नुपर्ने माग उठेको थियो । संस्थापन पक्ष र समाबेशी पक्षबिच आज अपरान्ह करिब ३ बजेबाट राती झण्डै साँढे १० बजेसम्म वार्ता भएको थियो ।

वार्ता क्रममा अमेरिकाका नेपालीले बनाएको अनलाईन मतदान प्रणाली (एप्लिकेसन) लाई सुधार गरि निर्वाचनमा उत्रिएका समाबेशी र संस्थापन पक्ष दुबैले मतदानको परिणाम निगरानी गर्न पाउने बनाउने सहमती भएको थियो । तर दिउँसो करिब ३ बजेदेखि राती ११ बजेसम्म द्विपक्षिय वार्ता हुँदापनि संस्थापन पक्षले निर्वाचनलाई एकलौटी किसिमले कब्जा गर्न खोजेपछि समाबेशी पक्षले आफ्नै कमिटी बनाएर एनआरएनएको नेत्रित्व लिन अघि सरेको वार्तामा संलग्न एक सदस्यले नेपालप्लसलाई राती फोनमा बताए ।

ति सदस्यका अनुसार दुबै पक्ष बार्तामा बसेर निर्वाचन प्रणाली बनाउने अमेरिकी नेपालीसित समाबेशी समुहका प्रकाश सापकोटा, उदयराज पाण्डे र उता संस्थापन पक्षका राजु खप्तडी बस्नेत, मिन कुमार श्रेष्ठसमेतले अनलाईन मतदानको यो एप्लिकेसनबारे सामुहिक छलफल गरेका थिए । छलफलका क्रममा एप्लिकेसन बनाउने ब्यक्तिले ‘यदि दुबै पक्षले मतदानको प्रक्रिया हेर्न पाउने, निगरानी गर्न पाउने बनाउनुपर्ने हो भने थप ३ दिनको समय दिनुपर्छ’ भन्दै तिन दिन मागेका थिए । एप्लिकेसन बनाउने कम्पनीलेनै थप तिन दिन माग गरेपछि निर्वाचनलाई केहि दिन सार्नुपर्ने सुझाव आएको थियो ।

स्रोतका अनुसार आइतवार जुलाई २५ मा हुने निर्वाचनकालागि अनुगमनकर्ता तोकिएका नेदरल्याण्ड्सका हरी पौडेललेपनि निर्वाचनको प्रक्रिया पुरा नभएको अवस्थामा अन्य देशमापनि निर्वाचन सारिने गरेको, निर्वाचन सार्नै हुन्न भन्ने नभएको बिचार ब्यक्त गरेका थिए ।

संस्थापन पक्षका तर्फबाट बार्तामा बसेका महासचिव मिन श्रेष्ठ र राजु खप्तडी बस्नेत शुरुमा निर्वाचन प्रणाली (एप्लिकेसन) सुधार्न मन्जुर थिए । तर एमालेको भात्रि संगठन प्रवाशी नेपाली मञ्च फ्रान्सका अध्यक्ष भक्त वाग्लेले उनीहरुलाई ‘निर्वाचन सार्न हुन्न है ?’ भन्ने खबर गरेपछि बस्नेत र श्रेष्ठले निर्वाचन सार्न सकिन्न भन्ने जवाफ दिएपछि वार्ता भंग भएको समाबेशी पक्षका केहिको भनाई छ । एप्लिकेसनलाई सुधार गर्नुपर्ने लगायतका नौ वटा मुल विषयमा समझदारी गर्न संस्थापन पक्ष तयार नभएपछि द्विपक्षिय वार्ता शनिवार राति करिब पौने ११ बजेतिर भंग भएलगत्तै दुबै पक्ष आआफ्नो तयारिमा लागेका थिए ।

समाबेशी समुहले यस अघि सहमतिकालागि नौ बुँदा संस्थापन पक्षसमक्ष राखेको थियो । तर शनिवार भएको वार्तामा निर्वाचन एप्लिकेसनलाई सुधार गरेर आफ्नो समुहको तर्फबाट प्रकाश सापकोटालाईपनि निगरानीकालागि समाबेश गर्नुपर्ने वा एप्लिकेसनमा पहुँच दिनुपर्ने र केहि दिन निर्वाचन सारेर सहमतीमै निर्वाचन गरे मान्य हुने भन्दै समाबेशी समुह लचिलो भएको थियो । तर संस्थापन पक्षले यि कुनैपनि विषयमा सहमती गर्न नमानेपछि वार्ता भंग भई समानान्तर समिति गठन गर्ने अवस्था स्रिजना भएको बताएका छन् ।

एप्लिकेसन बनाउने कम्पनीका मुल ब्यक्तिलेनै दुबै पक्षले हेर्न पाउने हो भने त्यस प्रोग्राममा केहि प्रक्रिया थप्नु र मिलाउनुपर्ने भन्ने जवाफ दिएपछि समाबेशी समुह यो एप्लिकेसनले गर्ने मतदान प्रक्रितिका बारेमा सशंकित बनेको थियो । ‘हाम्रो पक्षकालेपनि निगरानी र अनुगमन गर्न पाउनुपर्छ भनेपछि थप तिन दिन किन चाहियो ? निर्वाचनकालागि धाँधलीको भित्री तयारि गरेकोलेनै हो भन्ने हाम्रो बुझाई हो’ वार्तामा संलग्न ति सदस्यले नेपालप्लसलाई भने ।

यो समाचार तयार पार्दासम्म संस्थापन पक्ष एकातिर बसेर निर्वाचनको तयारि गरिरहेको छ भने समाबेशी पक्ष एनआरएनए कमिटि गठन गर्ने, मतदाताहरुलाई जानकारि दिने र केन्द्रलाई संस्थापन पक्षले एनआरएनए हाँक्न नसकेको, निर्वाचननै गराउन असमर्थ रहेको, केन्द्रले दिएको निर्देशन र बैधानिक प्रावधानसमेत कुल्चिएको भन्दै जानकारि दिन छलफलमै जुटिरहेको छ ।

‘संस्थापन पक्षले सदस्यता प्रमाणीकरणमा एकपक्षीय तरिकाले व्यापक धाँधली भएको, निर्बाचन समितिमा राजनैतिक भात्री संगठनका अध्यक्ष र सदस्य समाबेश भएको र त्यसको बिरोध हुँदा केहिपनि सुनुवाई नगरिएको, निर्बाचन समिति आफैंले निकालेको उम्मेदवार सम्बन्धि नियमावलीको बिपरित कार्य गरेको र सप्रमाण केन्द्रमा उजुरी गरि केन्द्रिय अध्यक्ष, महासचिब सहित युरोप सयोजक सहित दुबै पक्ष बैठक बसेर गरेको समझदारीको समेत ब्यवास्ता गरेको’ भन्दै गत शुक्रवार जुलाई २३ का दिन केन्द्रसमक्ष उजुरि गरेको थियो । तर केन्द्रले त्यसपछि यसको लागि समाधान निकाल्ने वा हस्तक्षेप गरेको छैन ।

सामान्य निर्बाचन सम्बन्धि आचार संहिता बिरुद्द संस्थापन पक्षले सँस्थाको अफिसियल पेजलाइ प्रचार प्रसारका लागि प्रयोग गरेको, निर्बाचन २ दिन बाँकी रहँदा समेत संथापन पक्षले निर्बाचन प्रबिधि सम्बन्धि जानकारी आफूहरुमा मात्र गोप्य राखी अन्य पक्षलाइ कुनै जानाकारी नदिइकनै आम मतदातालाई अन्योलमा राखेको आरोप समावेशी पक्षले लगाएको थियो ।

सदस्यता आबेदन दिएकाहरुलाई समेत सदस्य बन्न नदिएको लगायतका उजुरि केन्द्रमा परेपछि गत जुलाई १३ का दिन एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, महासचिव मिनकुमार श्रेष्ठ र समाबेशी समुहका तर्फबाट तप्त भण्डारी र दिलिप गुरुङ, एनआरएनए अध्यक्ष कुमार पन्त, महासचिव हेम राज शर्मा र एनआरएनए युरोप क्षेत्रिय संयोजक नारायण आचार्यबिच वार्ता भएको थियो ।

वार्ताका क्रममा अध्यक्ष पन्तले सदस्यताको आबेदन भरेकाहरुलाई सदस्यता दिनुपर्ने, नेपाली नागरिकता पेश गरेकालाई सदस्यतामा बन्चित नगर्न निर्देशन दिएका थिए । तर सामुहिक बैठक बसेर सहमति गरिएका र केन्द्रिय पदाधिकारीले दिएका ति निर्देशनसमेत संस्थापन पक्षले पालना नगरेको समाबेशी पक्षले बताउँदै आएका छन् ।

संस्थापन पक्षमाथि लागेका आरोप र तिनका भनाई समाबेश गर्ने उद्देश्यले नेपालप्लसले अध्यक्ष नरेन्द्र शाही र महासचिव मिन कुमार श्रेष्ठसित पटक पटक संपर्कको गर्दै आएपनि उनीहरु दुबैले सम्पर्कमा नआउने र सोधेको प्रश्नको जवाफ दिने गरेका छैनन् ।

यहि विषयसित संवन्धित तलका समाचारपनि हेर्नुस्

एनआरएनए फ्रान्सद्वारा केन्द्रकै निर्देशन उल्लंघन; निर्वाचन प्रकृयानै गोप्य, समानान्तर समिति गठन गर्ने अन्तिम चेतावनी

केन्द्रिय समितिको हस्तक्षेपपछि एनआरएन फ्रान्समा सहमती : रित पुगेका आबेदकले सदस्यता पाउने, उमेदवारी दर्ताको समय लम्बियो

एनआरएनए केन्द्रले न्याय नगरे एनआरएन फ्रान्सको समानान्तर समिति गठन गरिने

बैधानिकता पुगेकालाईपनि एनआरएनए फ्रान्सको सदस्यता नदिएको खुलासा, सप्रमाण उजुरी

एनआरएनए फ्रान्सको सदस्यता प्रमाणीकरणमा धाँधली !

एनआरएनमा राजनिति नगर्न सानालाई उपदेश, नेतृत्वकर्ता हाकाहाकी राजनिति गर्दै

तपाइँको प्रतिक्रिया