शनिबार, असोज २, २०७८

सामाजिक रुपान्तरणकालागि अन्तरविरोध मात्रै चर्काउने कि स्थिरता पनि खोज्ने ?

योगेन्द्र तिमिल्सिना२०७८ साउन ११ गते ८:४५

व्यक्तिका परम्परागत प्रवृत्ति र मूल्य मान्यताहरुलाई समूल परिवर्तन गर्न राज्यका नियम र कानुनले मात्र पुग्दैन । एउटा व्यक्ति वा कुनै समूहले विद्रोह गरेर मात्र पनि समाज सहजै रुपान्तरण हुनसक्दैन । समाजको सामुहिक चेतनामा परिवर्तन ल्याउनसके मात्र चिरस्थायी रुपान्तरण हुनसक्छ । छोटो समयमा कुनै परिवर्तन नै हुँदैन भन्ने होइन, तर परिवर्तित सामाजिक सन्दर्भमा मानिसका परम्परागत धार्मिक, सांस्कृतिक प्रवृत्ति तथा मूल्य मान्यताहरु स्थायी रुपमा परिवर्तन गर्न भने व्यापकरुपमा सामाजिक चेतनाका दीर्घकालीन अभियानहरु नै चलाउनुपर्ने हुन्छ । व्यक्तिका धार्मिक, सांस्कृतिक र परम्परागत मूल्य तथा मान्यताहरुलाई बलजफ्ती परिवर्तन गर्न खोजियो भने समाजले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ भन्ने कुरा सन् १९६६ मा शुरु भई १९७५ मा समाप्त भएको दस वर्षे चिनियाँ साँस्कृतिक क्रान्तिले देखाईसकेको छ ।

यस क्रान्तिले चीनको हजारौं वर्ष पुरानो इतिहास निमिट्यान्न पार्‍यो । त्यसैले वर्तमान सन्दर्भमा यस्ता कुराहरुमा कहीं कतै कमी कमजोरी छ भने सामाजिक सचेतना कार्यक्रम र आधारभूत शिक्षामा जोड दिनु समय सामेक्ष हुनेछ ।

सामाजिक कुरीति र कुसंस्कार आफैं सिर्जित होइनन्, मानवीय संस्कार र सामाजिक रीति रिवाजहरु आदिमकालदेखि समाजले नै स्थापित गर्दै ल्याएका हुन् । विकास, सभ्यता र सामाजिक परिवर्तनको सन्दर्भमा वर्तमान अवस्थामा कतिपय कुराहरु असान्दर्भिक अथवा कुसंस्कारको रुपमा हेरिन्छ । छाउपडी यस्तै एउटा कुसंस्कार हो । कतिपय अवस्थामा घरभित्रैबाट पनि विस्तारै यस्तो कुप्रथालाई हटाउन सकिन्छ । घरभित्र आफ्नै श्रीमान्, सासू–ससुरा वा देवर–जेठाजु सवेदनशील भैदिए भने पनि यस्तो कुप्रथा निरुत्साहित हुँदै जान्छ ।

कानुनले छाउपडीलाई अपराध मानेपछि सार्वजनिक रुपमा छाउघर बन्द गरिएता पनि महिलाको मासिक चक्रको समयमा कसैलाई नछोई अलग बसेर बार्ने चलन अब हराएर गयो भन्नसक्ने अवस्था छैन । यस्तो समयमा ऐनलाई छल्न कुनै न कुनै वैकल्पिक व्यवस्था गरी अलग बस्ने गरिएको छ । यद्यपि यसलाई पनि निकै ठुलो सुधार मान्नैपर्ने हुन्छ । महिलाको मासिक चक्रको समयमा बार्नु वा नबार्नु अथवा त्यसका फाइदा, बेफाइदा के हुन् भन्ने कुरा बुझ्न जबसम्म सरोकारवाला आफैँ सक्षम हुँदैन, उसले यस कुरालाई आत्मसात गर्दैन । उसले आफैं त्यस कुराको महसुस गर्नसके मात्र कुरीति अन्त भएर जान्छ । त्यसको लागि ऐन, कानुन भनेका डुब्न लागेको मानिसलाई त्यान्द्राको सहारा भनेजस्तै हो । गाउँभित्रैबाट शिक्षा र चेतनाका कार्यक्रमहरु आउनु आवश्यक छ ।

नेपालको तराई–मधेश वा पहाडका प्रायः सबै ग्रामीण क्षेत्रमा धामी, झाँक्री र बोक्सीको अवधारणा व्यापक छ । कुनै महिलालाई बोक्सीको आरोप लगाउनु वा त्यस आरोपमा उसलाई गाली बेइज्जती गर्नु वा दण्डित गर्नुलाई कानुनले अपराध मान्दछ । आरोपित महिलालाई कानुनले संरक्षण दिएको छ । तर के त्यस्ता महिला समाजमा सुरक्षित हुन्छन् त !

कानुनी बाटो रोज्दा आरोपित महिलालाई समाजबाट एक्लिने डर छ । उसँग कोही नबोल्ने, समाजमा उसँग कुनै व्यवहार नगर्ने अवस्था सिर्जना भएको देखिएको छ । अर्को अर्थमा समाजले उसलाई तिरस्कार गरी एक्ल्याउने अवस्था सिर्जना भएको देखिन्छ । यसबाट हामीले एउटा महत्वपूर्ण शिक्षा लिनु जरुरी छ । त्यो के हो भने कुनै पनि सामाजिक परिवर्तनको लागि सबैभन्दा पहिले मानिसको सामाजिक–सांस्कृतिक रुपान्तरण आवश्यक पर्दछ, परिवर्तन झ्वाट्ट एकैचोटी हुँदैन । राज्यको कानुनले पीडितलाई साथ दिएता पनि समाजभित्र उनको सामाजिक रुपान्तरण हुन सकेको छैन । त्यसैले राजधानीको माइतीघर मण्डलामा भेला भई विरोधस्वरुप नारा जुलुस गर्दैमा सुदूर ग्रामीण क्षेत्रमा सामाजिक परिवर्तन सम्भव छैन । यस्ता नाराजुलुसले राज्यको नियम कानुन परिवर्तन गराउन केही भूमिका खेल्न सक्छन्, तर शहरी नाराजुलुसको प्रभाव गाउँका कुना कुनासम्म पुग्छ भन्न सकिंदैन । जबसम्म हामी गाउँ गाउँमा शिक्षा, स्वास्थ्य र जनचेतनाका कार्यक्रमहरु लिएर निरन्तर जाने गर्दैनौं तबसम्म गाउँमा पीडितहरु एक्लै हुनेछन् । धामी, झाँक्री र बोक्सीको अवधारणा गलत हो भन्ने कुरा मानिसहरुलाई बोध गराउन क्रमिकरुपमा गाउँलेहरुबाट नै यस्ता कार्यक्रमहरु सञ्चालन गराइनु पर्दछ । राजनैतिक नेतृत्वले मानिसका धार्मिक–सांस्कृतिक आस्थालाई वलपूर्वक लाद्न गर्न चाह्यो भने त्यो सफल हुन सक्दैन ।

कम्युनिस्ट राजनीतिमा कुनैबेला धर्मलाई अफिम भनिन्थ्यो । सांस्कृतिक क्रान्ति गरी चिनमा धर्म नष्ट गर्न मठ मन्दिर भत्काउने काम भयो । क्रान्तिताका बुद्धको मूर्तिमा कालो पोतियो । तर त्यो सफल हुन सकेन किनभने चिनियाँ जनताले आर्थिक–सामाजिक रुपान्तरणमा साथ दिएता पनि धार्मिक आस्था र पुरातात्विक महत्वका निर्माणहरु मास्न उनीहरु चाहँदैनथे । नेपालमा पनि माओवादी द्वन्द्वकालमा समेत ठाउँ ठाउँमा अनिष्ट भयो, अनेकौं पुरातात्विक महत्वका निर्माणहरु ध्वस्त भए । यस्ता अपराधिक कार्यले मानिसहरुका मनमा घृणा मात्र पैदा गर्‍यो, उपलब्धि केही हुन सकेन ।

आज हामी विश्वव्यापी खुला बजार अर्थतन्त्रको संस्कृतिसँग जुझिरहेका छौं । मोबाइल, ल्यापटप, ट्याबलेट जस्ता विद्युतीय सामग्रीहरुको सर्वसुलभता र इन्टरनेट मार्फत सूचनाको विश्वव्यापिकरणले गर्दा पश्चिमाहरुको संस्कृति र छाडापनले हामीलाई यति धेरै गाँजेको छ कि हामीलाई हाम्रा सबै परम्परा र मान्यताहरु काम नलाग्ने हुन् भन्ने भ्रम परेको छ । स्कुले केटाकेटीहरु सानै उमेरदेखि पोर्न फिल्मदेखि जासुसी र अपराधिक गतिविधिका वेबसाइटहरुसँग परिचित छन् ।

समाज सामाजिक नियमले मात्र सञ्चालन हुनसक्छ । ऐतिहासिक परम्परा र संस्कार अन्तर्गतका सामाजिक मर्यादा र नीति नियमहरुका आधारमा चलिरहेको समाजलाई नयाँ उपभोक्तामुखी बजारिकरणको आधुनिक सिद्धान्तले गाँज्दा पुराना मान्यताका डोरीहरु चुँडिए र नैतिक मान्यताका नयाँ नियम र सीमाहरु हाम्रो सभ्यता अनुकूल भएन । साँच्चै भनौं भने बजारीकरणले कुनै सीमा नै तोकेको छैन भन्दा अत्युक्ति नहोला ।

बलत्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग आइरहेको छ । त्यस्तै लैंगिक दुव्र्यवहारका घटनाहरु नियमित जसो संचार माध्यमहरुमा आइरहेका छन् । यौन र प्रजनन् प्रक्रियालाई व्यवस्थित गर्न समाजले महिला र पुरुष बिच विवाहको संस्कार स्थापित गरेको छ, तर यौनले अहिले क्षणिक तुष्टि र मनोरञ्जनको ठाउँ लिएको छ । विश्वव्यापिकरणले ल्याएको प्रतिस्पर्धात्मक खुला बजारमा अनैतिक र उच्छृङ्खल गतिविधिलाई प्रोत्साहन दिइएको छ । पोर्न फिल्मको अवास्तविक दृश्यहरुबाट मनोरञ्जन लिन हाम्रा युवाहरु अभ्यस्त हुन थालेका छन् । त्यसैले उनीहरु वास्तविक र जैविक यौन सम्बन्धमा असन्तुष्ट हुन थालेका छन् । आर्थिक र सामाजिक विकासमा पछि परेका मुलुकका मानिसहरु जति जति बिग्रँदै जान्छन् आजको बजारलाई त्यतिनै फाइदा पुग्छ । आजको बजारले नाफा हेर्छ, सामाजिक हित हेर्दैन ।

हामीले राणाशासन फाल्यौं, राजतन्त्र फाल्यौं, बहुदलीय प्रजातान्त्रिक व्यवस्था समेतलाई धोइधाई गरेर प्रजातान्त्रिक समाजवाद, अझ गणतन्त्र ल्यायौं । जनताले नचाहेको अरु कुनै राजनीतिक व्यवस्था तपाईं जबर्जस्ती थोपर्न सक्नुहुन्न । राजनीतिक व्यवस्था परीक्षण गर्दा गर्दै सात दशक बितीसके । त्यसैले यो देशमा अब आर्थिक विकासको कार्यक्रमका साथै सामाजिक रुपान्तरणका प्रयासहरुको मात्र खाँचो छ । लैङ्गिक, जातीय वा क्षेत्रीय अन्तरविरोध मात्र चर्काएर परिवर्तन सम्भव हुँदैन । अब हामीले अन्तरविरोध चर्काउने कुरा गरेर मात्र हुँदैन, स्थिरता पनि खोज्नुपर्‍यो ।

महिला र पुरुषका बीचमा अन्तरविरोध छैन, अन्तरविरोध त अपराधिक गतिविधि, हिंसा र मनोविज्ञानमा छ । पितृसत्तात्मक समाजलाई उखेलेर फ्याँकी दिनुहोस्, त्यसको ठाउँमा कस्तो समाज हामीले चाहेको हो विधिवत स्थापना गरौँ, कसैलाई सराप्ने काम नगरौँ । यसमा महिलाको भूमिका के हुनुपर्दछ ? के यस प्रक्रियामा नियम, कानुन वा पुरुषले कुनै बाधा पुर्‍याउने छन् ? ब्रामणवाद वा जनै लाउनेहरुका प्रवृत्तिहरुलाई गाली गर्न छाडौँ, जातीय र क्षेत्रीय द्वन्द्व उराल्ने वेला अब छैन । लोकतान्त्रिक प्रक्रियाबाट शासन गर्न पुगेका मानिसहरुलाई हटाउन अब लोकतान्त्रिक विधिबाट नै प्रतिस्पर्धामा आउँ ।

अब पितृसत्ताका साथै सबै खाले विकृतिको सफाइ गर्न मुहान खोजौं । हामी लैङ्गिक असमानता भयो भन्छौं, लिभिङ टुगेदरलाई मान्यता दिन्छौं, बिना कुनै नैतिक बन्धन स्वेच्छाले गरिएको यौन सम्बन्धलाई मान्यता दिन्छौं । प्राकृतिक रुपमा सन्तान उत्पादन गर्न बाबु र आमा दुबैको आवश्यकता पर्छ, तर जन्मदिने आमा भएपछि बाबु किन चाहियो भन्छौं । यी सबै तर्कहरुले समाजमा नैतिकता स्थापना गर्ला ? हामीलाई वैयक्तिक स्वतन्त्रता मात्र भए पुग्छ वा अनुशासनको बाटोमा डोर्‍याउने कुनै बलियो आधार चाहिएला ? अपराध अपराध नै हो, यसलाई अर्को अर्थमा नहेरौं । हामी गम्भीर भएर सोचौं र बलात्कार मात्र होइन,अरु सारा फोहोरहरुको सफाइ गरी सामाजिक रुपान्तरण गर्ने मुहान खोज्न जुटौँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक