शुक्रबार, वैशाख १४, २०८१

बिदेशमा बस्ने नेपालीमाथि स्वदेशका नेपालीद्वारा किन बारम्बार प्रहार ?

जुनु दिब्य राना / हङकङ२०७८ साउन ११ गते १५:४६

     जुनु दिब्य राना

आफु बिदेशमा दुखसुख बसेपनि आफ्नो देशमा विभिन्न प्राकृतिक विपत्तिमा रोगी दुखिलाई सक्दो सहयोग गर्न सधैं तत्पर रहने बिदेशी नेपाली प्रति किन बारम्बार प्रहार हुन्छन् ?

केहि ब्यापारी र सम्भ्रान्त बाहेक अन्य नेपालीले देशको दुखमा सँगै मन दुखाएका हुन्छन । देशको चासो लिइरहेकै हुन्छन । आफ्नो देशको अवस्थाको चासो राख्नु त्यो जुनसुकै देशका नागरिकको नैसर्गिक अधिकारको विषय हो ।

तर देशभित्र बसेर आफूलाई बुद्धिजीवी मान्ने केहि कवि, लेखक र पार्टीको झन्डा बोक्ने कार्यकर्ताहरुले बिदेशमा बसेर देशको चिन्ता गर्नेहरुलाई कटाक्ष गर्दै बारम्बार लेख्दा बडो ताज्जुब लाग्दछ ।

अत बिदेशीनुका कारण र बिषयहरु मस्तिष्कमा सल्बलाउन थाल्दछन । दुखको कुरो बिदेशमा बसेर आफ्नो गुजारा गरिरहेका नेपाली प्रति देशभित्र बस्ने नेपालीको भावना खासै राम्रो छैन । यो अत्यन्तै दु:खद विषय हो । किनभने रहर वा बाध्यता जे जस्तो भएपनि अन्ततः सामन्य नेपालीले बिदेशीको विकल्प देख्दैनन ।

कुन नेपालीलाई रहर छैन देशमा बसेर राज्यको पहुँचमा रोजगार प्राप्त गर्न ? विभिन्न बिषयमा डिग्री गरेका युवाहरु देशमा अवसर नपाएर अन्तत हरियो पासपोर्टमा भिसा लगाउन बाध्य बनेका नेपालीको संख्याको हिसाबकिताब कुनै लेखक वा राज्य संयन्त्रले राख्न सकेको छ ?

डिभि परेर अमेरिका गएको वा अन्य प्रकारले बिदेशीएका नेपालीले टिस्टाको बारेमा लेख्नुहुन्न भन्ने कहाँ छ?

देशको कुनै कुनामा बसेर आफुलाई विश्वज्ञाता ठान्नु आफैमा वौद्दिक निरिहता पुष्ठि गर्नु पनि हो । विश्व जति फराकिलो छ उतिकै फराकिलो सोचको पहुँच पुर्याएर लेखक वा बुद्धिजीवीले लेख्नु वा विश्लेषण उपयुक्त हुन्छ ।

के नेपालमा बस्ने अमेरिकी नागरिकले अमेरिकाको ट्विन टावरमा परेर दिवंगत भएकाहरुको चिन्ताबारे लेख्न मिल्दैन र?

पक्कै मिल्छ । किनभने विश्वमा रोजगार र जिवन सहजीकरणको लागी बिदेशीने नेपाली मात्रै छैनन । धनी देशका नागरिक समेत रोजगारकै शिलशिलामा विश्वका अनेक देशमा पुगेर श्रम बेचिरहेका हुन्छन ।

देशमा सबैलाई समान अवसर र रोजगारी पुगेको भए बिदेश जाने दोस्रो विकल्प कसले सोच्छ ?

देशमा राजनीतिक अवस्था कहिले स्थिर रहेन । रोजगारी नेता र ठुलाबडाले गोजिमा जसको पहुँच पुर्‍याउनसक्छ उनिहरुले नै जागिर पाउने हो ।

देशमा आम नागरिकको निम्ति नागरिक क्षमता अनुरुपको काम भएको भए को जान्छ र बिदेश ? कसलाई रहर छ मलेसिया र खाडीबाट बाकसमा कुहिएर फर्किन ?

देशमा समान पहुँच भएको भए कसले भर्छ दर्जनौंपटक डिभि भिसाको फारम ? र सबैलाई समान अवसर भएको भए कसले श्रम बेच्न चाहन्छ ३५-४० डिग्रीको तातोमा भोकै प्यासै ?

देश बिकास भएको भए, देशमै लाखौं फ्याक्ट्रीहरु उद्योगहरु खुलेको भए को जान्छ ३५-३६ डीग्रीको घाममा फलाममा रापिएर पैसा कमाउन ?

देशमा सबैलाई समान अवसर भए परदेशमा दोस्रो दर्जाको नागरिक बनेर, अंगभंग भएर कति सुरुङमा निस्स्सासिएर मर्नुपर्ने कसलाई रहर छ ?

केहि सम्भ्रान्त नेपाली बाहेक बिदेशमा मोज मस्तिको लागि जानेहरु न्युन छन । नेपाली बिदेशीको विकल्प छैन र बिदेशीएका छन ।

ठुला ठुला निर्माण कम्पनीमा काम गर्दैगर्दाको जोखिम देशको कुनै कुनाको कोठामा बसेर आक्षेप लगाउनु जस्तो सहज हुँदै हुँदैन । काम गर्दैगर्दा ठुला ठुला मेसिनले थिचिएर छियाछिया बनेका नेपालीको संख्या कसैले राखेको छ ? जोखिमपूर्ण काम गर्दै गर्दा हात चुडिएका र आँखा गुमेका अनुहारको स्वरुप बिग्रेका नेपालीको संख्या कसैले राख्न जरुरी ठान्यो ?

यि यावत कारण रगत र पसिना बेचेर बिदेशीएका नेपाली प्रतिको साँघुरो सोंच राख्ने लेखक होउन वा कवि चाहे जोसुकै जोकोहि प्रति दयाभाव मात्रै पलाउँछ ।

तपाइँको प्रतिक्रिया