मंगलबार, मंसिर २१, २०७८

बुढीको रिस

निल थापा / कोपेनहेगन, डेनमार्क२०७८ साउन ११ गते १६:४९

“चाँदीको भाँडाको के कुरा गर्नु सुनको भाँडामा भात खाने वीर शमसेरको त ईतिहाँस मेटिएको छ” भन्दै अस्ति भर्खर छिमेकीले फेसबुकमा लेख्या भुल्यौ ? नाम मिल्या जस्तो लाग्दैमा तिमीले के लछार पाटो लाउछौं र?

कुनामा सुर्ती मोल्दै झोक्राएको बुढा प्रति लच्छित गर्दै काँधैमा चढुँला जसरी उफ्रि बुढी ।

‘कति पटक भनी सकें सुर्ती, चुरोट नखाऊ भनेर । नेपाल हुदाँ टिबी भएको बिर्स्यौ ? हुँदाहुँदै रक्सि खान’नि सिक्यौ हैन ? तिम्रो पारा हेर्दा त छिमेकिसँग रिसाउने मात्र हैन । तिमीलाई नै जुत्ता फुकालेर झ्याम्म हानौं जस्तो हुन्छ मलाई त ।’ बुढी टुप्पै सम्मको रिस देखाउँछे।

कतिपटक भनिसकें यो विदेशमा बसेर पनि राजनीति नगर भनेर । भन्या सुन्या हैन ।
मनलाग्दी गर्या छ । हिंड्या छ । बुढीले खाउँला झै गरेर बुढालाई हेरी ।

बूढो मलिन हुँदै जवाफ फर्काउँछ ‘नकरा न। कति कराएकि काम नपाएर ?’

‘कराउने मात्र हैन । उस्तै परे बजाउँछु अब भाटाले’ बुढी झन क्रोधीत हुन्छे ।

हुनत मेरो नै भाग्य खोटो । बा आमाको कुरा नसुनी तिमीजस्तो काम नलाग्ने खलाँतीको पछि लागेर घर छाडेर भागें ।

अध्ययनको लागि गाउँ छाडेर शहर छिरेकि ऊ । विध्याले भन्दा वैंशले दुख दिएर पढाइ छाडि घर छाडेर भागेकोमा पछुतो मान्छे ।

‘भैगो नि त । कति करा कि ? जे भयो भयो । बिस्तारै राम्रो हुन्छ नि । म छँदै छु नि त । के को चिन्ता गर्छेस ?’ बूढो अलि मलिन स्वरमा सम्झाउन खोज्छ ।

नाप्यौ । के गर्छौ तिमीले ? सारा समाजले तिम्रो असलियत थाहा पाईसक्यो । केहि जानू सुन्नु छैन । त्यसै बाठो भको छ । ठुटे नेता भको छ । महिलावादी नारा फुक्या छ । जान्नु सुन्नु केही छैन । कसैले तपाईं भनोस कि नभनोस्। आफै मपाईं गर्या छ ।

‘घरको बुढीलाई रातदिन काममा दलाएर तिमीलाई महिलावादी बनेर विदेशमा पनि अरु सँग जुहारी खेल्न लाज छैन ?’ बुढी बुढालाई प्रतिप्रश्न गर्छे ।

कतिठुला नेता, साहित्यकारहरुले महिलाको बारेमा लेख्या छन् । मानिसले सामान्य रुपमा लिएका छन् । तिमी भने छिमेकीले एउटा फेसबुकमा केही लेख्यो भन्दैमा बौलाएर हिंड्ने । बदला लिन हिड्ने । पढ्नु सढ्नु छैन त्यसै । ठूला नेता साहित्यकारहरुले लेखेको किताब,कथा,कविता रचनाहरु पनि पढ्ने गर । राईटर बाजेको कथाको भोटिनि पात्र नै हेर “कुष्ठरोगि भएनि वेस्या शय्यामा सुतेर भएपनि बाजेलाई बचाउँछु” भन्दै आफ्नो लोग्नेको लागी परेको जे नि गर्न खोज्छे ।

अब मैले पनि त्यही भन्नु पर्ने हो ? कि त्यस्तै हुनु पर्ने हो ? केही वुज्नु सुज्नु छैन समाजमा मलाई हाँसोको पात्र बनायौ होईन ? बुढी बुढालाई राईटर बाजेकि एक भोटिनी पात्रको संझना दिलाउँछे ।

नत्र मैले तिम्रो लागि के पो गरीन । कतिदिन अरु सँग बदला लिन्छौ ? समाजमा सबै संग बदला लिन सक्छौ ? रिस देखाको छ हिंड्या छ । अरुको उन्नति प्रगतिमा रिस गर्या छ । यस्तो पाराले कति दिन तिमी सुरक्षीत हुन्छौ ?

कसले भन्यो मेरो फेसबुक चलाएर अरुलाई जे पायो त्यहि लेख्न भनेर ? बुझ्नुसुझ्नु छैन त्यसै महिलावादी भनेर उफ्रदैमा तिमीलाई मान्छे गन्छन् ? श्रीमान भएर घरकि श्रीमतीको फेसबुक चलाएर अरुलाई जे पायो त्यही गाली गरेर लेख्ने । त्यही हो तिम्रो वुद्दिअनि चेतना । त्यही हो तिम्रो राजनीतिक चेत ।

आफुभने अंग्रेजीका नानाभाती गाली सहेर काम गरेको छु यही विदेशमा । अनि तिमीलाई चैं आफ्नै नेपाली दाजुभाईसँग लड्नु पर्ने विदेशमा पनि ।

जब केही बुझ्दैनौ भने के राजनीति गर्छौ ? बुढाको भाषिक अल्पज्ञान र वौदिकता माथि प्रश्न गर्छे बुढी ।

त्यसै अरुलाई कारवाहि गर्छु भन्यो हिंड्यो । के कारवाही गर्छौ तिमीले ? अरुको किन बिगार गर्नु । आफू असल काम गरेर हिंडन् । सबैले तिमीलाई राम्रो नै भन्नुपर्छ भन्ने के छ ?

त्यसै तिमीलाई फलानो त मानसिक रोगी रहेछ भन्या छन् मान्छेले यो समाजमा ।
बुढी अशान्त देखिन्छे ।

बुढीको कुराले बुढोलाई नि झोंक चल्छ अनि ओठे जवाफ लाउँछ ‘भो भो धेरै नकरा । पोथी बासेको धेरै राम्रो हुँदैन ।’

बुढाको कुरा सकिन नपाउँदै बुढी झम्टिंदै कराउँछे ‘के भन्यौ रे ? हिजोसम्म मेरै बाउको सम्पतिले यहाँसम्म पुग्या छौ । अझै मलाई पोथी बासेको राम्रो हुँदैन भन्दै कराउँछौ । तिमी भाले भएर चै के लछार पाटो लायौ त ? बुढीलाई बुढाको कुराले असह्य हुन्छ।

त्यहीँ पोथी शब्द नबुझेर तिमीलाई सबैले हल्लुँडो बनाए । थाहा छ कि नाई ? समाजमा मुख देखाउन भाको छैन मेरो । अझै बढि बोल्छौ । अरुको राजनीतिक फाईदाको लागि आफ्नो श्रीमती अरुलाई नै बुझाऊँला जस्तो गरेर ईज्जतफाल्ने हो । भाले – पोथि शब्दको अर्थ छुट्याउन सक्दैनौ, ब्यंग्यात्मक शब्दहरु बुझ्दैनौ भने के पार्टिको राजनीति गर्छौ ? तिमीलाई आफ्नो कुबुद्दी थाहा छ ? अझ घरमा भाले हुन खोज्छौं? छोराहरु हुर्कि सके घरपरिवारको चिन्ता छैन तिमीलाई ? सँगै विदेश आएका साथीभाईहरुको ग्रिनकार्ड, पि आर, पासपोर्ट आईसक्यो । तिमी भने घरको न घाटको भएर बस्या छौ ।

भिसा सकियो भन्दै समाजमा रुँदै, कराउँदै र हल्ला फिजाँउदै हिंड्या छौ । अझै मलाई हेप्छौ ? धन्न मैले काम गरेर तिमीलाई पाल्या छु । कति दिन तिमीलाई पाल्नु ? कतिदिन तिम्रा नेता कार्यकर्ता पाल्नु ? हुदाँहुँदा तिम्रा नेताको श्रीमती मुसतिघ्रे छोराहरुको समेत सेवा गर्नुपर्या छ मैले । तिम्रो घिनलाग्दो सामाजिक ब्यबहारले गर्दा मान्छेले सामाजिक संजाल, पत्रिकामा लेख समेत लेखेर मजाक बनाईसके । अब त मैले नाक मुख देखाएर हिंड्न समेत नहुने भईसक्यो ।

युरोप बस्या भन्नू मात्र छ । न दुई पैसा कमाएको छ । न केही जोड्न सक्या छ । बूढो भने खाली नेताको चाकडिमा पैसा सक्या छ । थुईक्क मेरो भाग्य । तिमी जस्तो पटमुर्खसँग लागेर सब भविष्य चौपट पारें ।

‘बाआमाले त राम्रोसँग पढ। घर परिवार, खानदान मिल्ने ,केटासँग बिहे गर्दिन्छौं भन्या थिए । मेरो नै बुद्दी पुगेन । घर छाडेर भागें । ‘पोईल गईछे फलानो कि छोरी’ भनेर सारा गाऊँलेले बा आमाको कुरा काटे । आज पनि गाउँघर तिर मुख देखाउन भाको छैन । आखिरमा आज आएर मैले यो दु:खका दिन ब्यहोर्नु पर्यो ।’ भाग्यलाइ दोष दिंदै बुढी झनै रिसाउँछे ।

‘हाम्रो मात्र होर अरु साथिभाईहरुको पनि समस्या छ नि’ बूढो अरुको समस्या देखाएर पन्छिन खोज्छ।

‘को साथीभाईहरु ? तिम्रा कुन चाहिँ गतिलो साथिभाई छन् र ?’ बुढाको साथीहरु प्रति असन्तुष्टि पोख्छे बुढी ।

कुन चाहिँ बुद्दि भको साथि छन् र तिम्रो ? त्यही समाजमा वरिष्ठ हुन पाईन, ठुटे नेता हुन पाईन भनेर रोईलो गर्ने समाज भडुँवा त होलान नी हैन ? घाटमा पुर्याएको आफन्तको लाशसँग समेत सेल्फि खिचेर फेसबुकमा फोटो रंग्याएर नाटक गर्ने त्यस्ता नौटंकिलाई नि तिमी साथी भन्छौ ? त्यस‌ैले होईन अस्ति भर्खर तिमीलाई किर्ते कागज गर्यो फलानोले सगंठनमा बसेर भनेर समाजमा तिम्रो बारेमा हल्ला फिजाएको । सबैले त्यसको असली रुप थाहा पाईसके ।

संस्थाको पैसा खाएर मोटाएको छ त्यो । त्यही भएर डराई-डराई मेरो पछि लाग्या छ भन्दै अस्ति मात्र तिमीले त्यसको बारेमा मलाई भन्या हैन ?

‘आफ्नालाई छाढेर अरुको पछाडि ड्राईभर भएर दौडेको छ त्यो पद खान’ भन्दै थियौ त अस्तिसम्म त त्यो पाखन्डीको बारेमा।
अझै त्यस्ता जाली पाखन्डिको पछि लागेर माथि पुग्छौ तिमी ।

कि त्यो सबैसंग ज्यु ज्यु गर्ने खुईले चतुरे । त्यो चतुरे झन कम छ ? आफ्नै मान्छेलाई चिन्दैन त्यो । पैसाको लागि आफ्नै मान्छेलाई समेत कामबाट निकालेर नेपाल पठायो रे त्यसले । काम गर्ने ठाउँमा पनि आफ्नै नेपालीलाई काम लाउँदै साहुसँग मिलेर पैसा नदिई ठग्छ रे त्यसले ।

अस्ति भर्खर त्यसको बुढि भन्दै थिई ‘जाँड खाएर छोराछोरी र मलाई कुट्यो’ भनेर ।
छिमेकिले कुरा लाईदे छ । त्यहि भएर अहिले पुलिस चौकि धाको धाई छ रे विदेशमा भए पनि । त्यसता चतुरेको पछि लागेर ठूलो मान्छे बन्छौ तिमी ? अरुको पाऊ मोलेर ठूलो बन्न खोज्ने कमता को छ त्यो चतुरे । हिजो अरुको पाऊ पर्यो । आज तिम्रो पर्छ । पर्सि फेरि अरु कसैको पाऊ मोल्न जान्छ । अनि त्यस्ता चतुरेलाई ठूलो बनाउन तिमी आफ्नै श्रीमतीको ईज्जत दाऊमा लाउने ?

त्यो चतुरेलाई न त ईज्जत प्यारो न बेईज्जत होला भन्ने चिन्ता । त्यसता फटाहाँसँग पछि लागेर नि हुन्छ ।

तिजमा दर खान हिंड्या संस्थाको अनपढ महिलालाईसम्म झुक्याएर संस्थाको माईन्युटमा सिग्नेचर गराई राजनीतिक फाईदा लिन खोज्यो । अरुसँग बदला लिन खोज्यो । नामर्द नै रहेछ त्यो पाजी त भनेर समाजभरि त्यसको उछित्तो काढ्या छन मान्छेले अहिले । थाहा छ कि छैन तिमीलाई ?

‘कि त्यो मामा हो कि काका भन्ने को कुरा गरेको ? त्यो झन एक नम्बरको समाज भडुँवा हो ।’ बुढी बुढाको अर्को साथी माथि पनि रिस पोख्छे ।

त्यो भडुँवाले त स्वास्नीको कुरा सुनेर आफ्नै भाईलाई नै घरबाट निकालेर नेपाल पठायो रे । नेपाल जादाँ आउँदा समेत सामाजिक संस्थाको पैसाले टिकट काट्यो भनेर कत्रो हल्ला छ त्यसको यहाँ । संस्थाको पैसा खायो हिसाब देखाएन भनेर कति हल्ला छ समाजभरी त्यसको । रेष्टुरेन्टमा सँगै काम गर्दाकी केटीलाई झुक्काएर बिहे गरेको रे त्यो पाजीले । बेस्सरी छुचि छ रे त्यसको बुढी । त्यसकै बुहारीले सुनाएकी मलाई ।

अझ रेष्टुरेन्टमा काम गर्दा रक्सि चोर्यो भनेर कामबाट नै निकालिदिएको रे त्यसलाई । कुन गतिलो छ र त्यो भडुँवा । त्यसलाई अहिले बिहान-बेलुकै बुढीले पिटेर राखेकि छे रे । मैले नि तिमीलाई त्यसको बुढीले जस्तै गर्नुपर्ने । के जाति संस्थाको चुनाव हारे देखि समाजमा मुख पनि देखाउन छाड्या छ रे त्यो पाजीले । तिम्रो लागि भगवान होला । तर मेरो लागि त्यो एक नम्बरको पाजी नै हो । एक नम्बरको गँजेडी र जड्याहा छ रे त्यो । खान पाए दस जनाको घरमा साईनो लाऊँदै पुग्छ रे । त्यस्ताले आफ्नो नि घर बिगार्छ अरुको नि घर बिगार्छ । बेलैमा सोच । त्यस्ताको पछि लागेर केही प्रगति हुँदैन तिम्रो ।

बुढापाकाले त्यसै भन्या हुन र ‘शरीर त बजाउने हो । एक किसिमको पाउजुको ताल झैं । लोग्नेमान्छेले बजाए केही न केही । स्त्रीले बजाए दरबार कि रानी ।’ मेरा साथीहरु कहाँबाट कहाँ पुगिसके म भने तिमीजस्तो काम नलाग्ने खलाँतीको फेला परेर फसें ।

गल्ती मेरै हो । तिमी जस्तोलाई विश्वास गरेर भविष्य विगारें । अरुले बुढिलाई काममा नजाउ भन्छन् । आफू काम गर्छन । कमाउँछन्, घरपरिवार खुसि राख्या छन् । घर सल्लाह गर्छन् । उन्नति प्रगती गर्या छन् । तिमी भने मलाई सुपरभाइजरले काममा हातपात गर्दा, अभद्र ब्यबहार गर्दा समेत केहि बोल्न सकेनौ । तिमी जस्तो पानीमरुवा ले नि के ठुलो कुरा गर्छौ यो समाजमा ? उल्टै जागिर माग्न गयौ हैन मेरो बुढीलाई काम दे भन्दै । नामर्द हुँदै । मेरो सम्म बेईज्जत गर्यौ हैन काम गर्ने ठाउँमा ।

कसले बाठो भएर मेरो काम गर्ने ठाउँमा जानु भन्यो तिमीलाई ? आफ्नै बुढीलाई सुपरभाइजरले हातपात गर्दा चाहिं कहाँ गयो तिम्रो महिलावादी सोच ? कहाँ गयो तिम्रो समाज ? कहाँ गयो तिम्रो संस्था ? कहाँ गयो तिम्रो राजनीति ? बुढी काममा आफूले भोग्नु परेको अपमान सम्झदै झन क्रोधित हुन्छे ।

‘तिम्रै कारणले गर्दा कामबाट पनि निकालिदियो । काम गर्ने ठाउँमा पनि साथीहरुको अगाडि मुख देखाउन नहुने बनायौ । अझैपनि तिम्रो मति सुध्रिएन हैन’ । बुढी एकोहोरो कराउँछे ।

बुढीको कुरा सुनेर बूढो झरीमा रुझेको मुसो झैं हुन्छ। केही बोल्न सक्दैन । टोलाएर बस्छ ।

फेरि बुढी बम्किन्छे -के टोलाएर बसेको ? दिमागमा केही घुस्या छ कि नाई ? कि त्यही राजनीति -राजनीति भन्दै सारा जीवन वर्वाद गर्ने हो ? लु धैरै टोलाएर बस्नु पर्दैन, झन दिमाग चाँडै फुस्केला ।

खुरुक्क गएर लुगा फेर अनि हिंड्। बाहिर जान ढिला भईसक्यो । बुढी कुराअन्तै मोड्छे ।

बूढो मलिनो स्वरमा सोध्छ – कता जाने हो र ? किन आत्तिएकी ?

बुढी झर्किदै जवाफ फर्काउँछे – कता जानु नि ? डाक्टरकोमा जान लाग्या । तिम्रो नै दिमाग जचाँउन जान लाग्या । दिमाग बिग्रया थाहा छ कि नाई ? जसको सोच्ने दिमाग गतिलो छैन । उसैलाई राजनीति गर्नु पर्ने यो विदेशमापनि ।

चाँडो हिंड् । ढिला भईसक्यो – तिमी जस्तो फुर्सदिला छैनन् डाक्टर यहाँ । दिमागले ठिक-वेठिक नसोचे पनि राजनीति गर्नुपर्ने यस्तालाई पनि । बुढी रिसाउँदै बुढाले नबुझ्ने गरि भुतुभुताउँछे ।

बूढो बुढीतिर हेर्दै खिस्रिक्क हाँस्छ ।

(आलेखमा ब्यक्त सामाग्रिका पात्रहरु काल्पनिक हुन् । कसैको कथासित मिल्न गएमा संयोग मात्रै हुने छ-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक