शनिबार, वैशाख ८, २०८१

नेपाल वायुसेवाको पतनमा ज्वार्चनको हात ? छानबिनको कागज अख्तियारमा पठाउन सुझाव

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन १२ गते ९:४९

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रले बाहिर ल्याएको छानबिन प्रतिवेदनमा जोडिएका एकजना क्याप्टेनका कारण नेपाल वायुसेवा निगमले पछिल्लो समयमा अधोगती बेहोरोको उल्लेख छ ।

क्याप्टेन दिपुराज ज्वार्चन स्वयम यति समुहका हर्ताकर्ता नोर्बुछिरिङ शेर्पाका साथी र ब्यवसायिक पार्टनर समेत हुन् । यी दीप ज्वार्चनका बाबु यम ज्वार्चन समेत नेपाल वायुसेवामैं क्याप्टेन छन् । सातौं तहबाट नेपाल वायुसेवामा जागिर सुरु गरेका दिपुराज अहिले यति बिध्न प्रभाव–पहुँचमा पुगेका छन् कि उनी हुनलाई ९ तहका भएपनि १० तह सरहको ‘अपरेसन डाइरेक्टर’को जिम्मेवारी सम्हालेका छन् ।

आज नेपालको ४१ देशसँग हवाइ सेवा सम्झौता भएको छ । तर छ दशकको इतिहास भएको नेपाल एयरलाइन्सको उडान अहिले पनि सीमित देशमा मात्र छ । यो गतिले कहीँ पनि पुगिँदैन भन्ने यथार्थ जगजाहेर भैसक्दा पनि एकजना ज्वार्चन वा अर्का राजनीतिक टीकाधारी महाप्रबन्धक डीमप्रसाद पौडेलक्र कारण नेपाल वायुसेवा कहींकतै पुग्न सक्ने देखिन्न ।

केन्द्रले बाहिर ल्याएको अध्यन प्रतिवेदनमा ज्वार्चन केन्द्रित अध्ययनको सुुझाव यस्तो छ—

सुझावहरु

१- क्याप्टेन दिपुराज ज्वार्चनलाई अपरेशन निर्देशकको रुपमा नियुक्ति नेपाल वायुसेवाका कर्मचारीहरुको सेवा, शर्त सम्वन्धि विनियम, २०५८ को विनियम ३३ मा तोकिएको योग्यता विपरीत अपरेशन्स म्यानुअल संशोधन गरी निजसँग मिल्ने निजलाई शुरुमै नियुक्त गरी नियुक्त भैसकेपछी अपरेशन्स म्यानुअल संशोधन गरिनु तथा नियमनकारी निकाय नेपाल नागरीक उड्डयन प्राधिकरणबाट निजको नियुक्ति भैसकेपछी अन्तरवार्ता तथा लिखित जाँच लिई निजको नियुक्ति तथा गैरकानुनी रुपमा संशोधित अपरेशन्स म्यानुअललाई समर्थन गर्ने कार्य कानुनको भावना विपरीत देखिन्छ ।

त्यसैगरी अपरेशन्स म्यानुअल संशोधन गर्ने कार्यविधिको समेत पालना नगरी आफूखुसी हचुवाको भरमा नियुक्त गर्ने कार्य, नियम विपरीत नियुक्त हुने तथा सो संशोधनलाई समर्थन गर्ने पदाधिकारीलाई कानुन बमोजिम कारवाही गरी गैरकानुनी प्रकृयाबाट पद प्राप्त गर्ने र उक्त पद उपलब्ध गराउनेलाई कानून बमोजिम कारवाही गरी गैरकानुनी रुपमा प्राप्त गरेको पदबाट प्राप्त गरेको रकम तथा सुविधाबापत लिएको रकम
सम्वन्धितबाट अशुलउपर गरी नियमानुसार नियुक्त गर्न तथा नियमावलीको प्रतिकुल नहुनेगरी आवस्यक प्रकृया पुरा गरेर मात्र अपरेशन्स म्यानुअल लगायत कानुनी प्रावधानहरु शंसोधन थपघट गर्न तथा सो सम्वन्धमा छानविनको क्रममा देखिएका प्रतिवेदनमा उल्लेखित कुराहरुको समेत पालना गर्न र कारवाहीको जानकारी केन्द्रलाई उपलब्ध गराउन भनी श्री पर्यटन तथा नागरीक उड्डययन मन्त्रालय, नेपाल नागरीक उड्ययन प्राधिकरण तथा संचालक समिति, नेपाल वायुसेवा निगमलाई निर्देशन दिन मनासिव हुने ।

२- निगमको कर्मचारीहरको सेवा, शर्त सम्वन्धि विनियमावली, २०५८ अनुसूची १२ घ ११ मा उल्लेखित कानुनी प्रावधान हेर्दा पाईलटहरुलाई महिनामा कम्तिमा ४५ घण्टा उडान समयको प्रत्याभुत गरेको र सो वापत रकम उपलब्ध गराउने कुरा उल्लेख भएको पाईन्छ भने अपरेशन्स विभागको डाईरेक्टरले कुनै भेदभावबिना सकेसम्मको उडान उपलब्ध गराउने र प्रत्येक महिना २ वा सो भन्दा बढी पाईलटको १५ घण्टाभन्दा बढीको उडान घण्टाको फरक परेमा त्यसको  औचित्य (जस्टिफिकेसन) दिनुपर्ने बाध्यात्मक व्यवस्था गरी पाईलटहरुको सेवा सुविधाको प्रत्याभूत गरेको देखिन्छ । तर निगमबाट प्राप्त विवरण हेर्दा कानुनले वाध्यात्मक गरेको प्रावधानको पालना नभई कुनै पाईलटलाई मासिक १०० घण्टा र कसैलाई शुन्य घण्टा प्रदान गरी सबैलाई समान ब्यवहार गरेको देखिंदैन ।

साथै त्यस्तो उडान घण्टा फरक परेको कुरालाई उचित पुष्ट्याई सहित कार्यालय प्रमुखलाई जानकारी गराउनुपर्नेमा सो ब्यवस्थाको समेत पालना गरेको पाईएन । अपरेशन्स विभागले मनोमानी ढंगबाट आफुखुसी उडान तालिका बनाई कानुनले तोकेको प्रावधान समेत पालना नगरी तोकिएको जिम्मेवारी पुरा नगरी नियम विपरीत कार्य गरी पाईलटहरुलाई अन्याय गरेको देखिंदा यसमा संलग्न जिम्मेवार पदाधिकारीलई कानून बमोजिम कारवाही समेत गरी उडानमा समान सहभागिता एवं समान पहुँचको ब्यवस्था मिलाउन र कानुनमा उल्लेखित प्रावधानलाई अक्षरस पालना गर्न गराउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिने तथा नेपाल नागरीक उड्ययन प्राधिकरणबाट नियमित अनुगमन गरी सोको प्रतिबेदन यस केन्द्रलाई पठाउन भनि निर्देशन दिन मनासिव हुने ।

३- Initial Type Rated Instructor (TRI) को लागि २ दिनको तालिम तथा 320-330 क्याप्टेनको लागि ३ Working Days Training गरे हुने ब्यवस्था अपरेशन्स म्यानुअलको Part D clause no. 4.5 Training Syllabus and program मा उल्लेख भएको देखिन्छ । तर निगमले २३ दिनको तालिम स्वदेशी पाईलटलाई प्रदान गरी सक्षम बनाई विदेशी श्रमिकलाई विस्तापन गर्नुपर्ने कानुनी ब्यवस्थालाई उलंघन गरी लामो समयसम्म विज्ञापननै नगरी म्याद थप गर्दै करोडौ रकम भुक्तानी गरी निगमलाई थप आर्थिक ब्यभार पारेको देखिंदा जिम्मेवार पदाधिकारीलाई कानुन बमोजिम कारवाही गरी स्वदेशी पाईलटलाई योग्य बनाई विदेशी नागरीकलाई तुरुन्त विस्थापन गर्ने ब्यवस्था मिलाउन भनि नेपाल नागरीक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमलाई निर्देशन दिने ।

४- क्रुहरुको वासको लागि जापानको तीनतारे होटेल नारीतालाई छनोट गर्दा खरिदसँग सम्वन्धित तोकिएको मूल्यांकन समितिले मूल्यांकन गरी पेश हुनुपर्नेमा अपरेशन्स निर्देशक र सोही शाखाका अन्य कर्मचारीले एकलौटी मूल्यांकन समेत गरी होटल वास सम्वन्धमा नेपाल वायुसेवा निगमको आर्थिक विनियमावली, २०६५ को विनियम ९४ मा मौजुदा सूची (स्ट्यान्डिङ लिष्ट) तयार गर्नु पर्नेमा सो समेत गरेको पाईएन । साथै उक्ट होटेलसँग रु. ६,३९,८२,१८४ रकमको संझौता गरेको देखिएको । साथै वायुसेवा निगमको स्वीकृत टिप्पणीमा तोकिएको योग्यता पुगेको होटेलले शिलवन्दी दरभाउपत्रमा भाग नलिएको भन्ने उल्लेख भएको देखिंदा यस्तो अवस्थामा अन्तर्राष्ट्रिय स्तरको खुला वोलपत्रको
माध्यमबाट समेत खरिद गर्न सकिने अवस्था रहँदारहँदै मनोमानी ढंगबाट नियम, कानुन, कार्यविधि तथा केन्द्रको निर्देशन तथा वायुसेवा निगमको निर्णय विपरीत योग्यता पुरा नगरेको होटल नारितालाई छनोट गरी संझौता गर्ने कार्य गैरकानुनी देखिएकोले यसमा मिलेमतो भएन भन्न सक्ने अवस्था नदेखिएकोले संलग्न कर्मचारी तथा पदाधिकारीलाई हदैसम्मको कानुनी कारवाही गरी प्रचलित कानुनको पालना र केन्द्रबाट दिएको निर्देशनको पालना गर्न लगाई शुसासन कायम हुनुपर्ने देखिन्छ ।

५- अपरेशन्स म्यानुअलको प्रावधान अनुसार गोपाल सिंह विष्टको जागिर अवधि ६ वर्ष हुनुपर्ने तथा क्याप्टेनको रुपमा वायुसेवामा प्रवेश गरेको ब्यक्तिको उमेर ५५ वर्ष भन्दा माथि रहेको अवस्थामा fleet progression opportunity to jet fleet मा हुन नसक्ने साथै तालिम गरेको ब्यक्तिले वायुसेवा निगमलाई ६ वर्ष अनिवार्य सेवा दिनुपर्ने नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्वन्धि विनियमावली, २०५८ मा उल्लेखित प्रावधान विपरीत वायुसेवाले निजलाई तालिममा पठाउने कार्य विधिसम्वत देखिएन । तसर्थ यस्तो प्रकारको कानुनको उलंघन गर्ने कार्य गैरकानुनी देखिएकोले निजलाई तालिममा पठाउने निर्णय लगायत कार्यमा संलग्न पदाधिकारीलाई कानुन वमोजिम कारवाही गरी उक्त तालिममा लागेको खर्च समेत अशुल उपर गर्न सम्वन्धित निकायलाई निर्देशन दिन उपर्युक्त देखिन्छ ।

६- Airbus-320 simulator (License Renewal Training) तालिमको लागि निगमले २७ डिसेम्वर २०१९ मा कोटेशन माग गरेकोमा सबैभन्दा कम दरभाउपत्र पेश गर्ने Simaero Academy को कोटेशन स्वीकृत गर्नुपर्नेमा सो गरेको पाईएन । तसर्थ उक्त कार्यमा संलग्न पदाधिकारीलाई कानुन वमोजिम कारवाही गरी नेपाल वायुसेवा निगमलाई भएको क्षति अशुलउपर गर्न सम्वन्धित निकायलाई निर्देशन
दिन उपर्युक्त देखिन्छ ।

७- आयकरको सम्वन्धमा सम्वन्धित श्रमिकको पारिश्रमिकबाट कट्टा गरी बाँकि रहेको रकम मात्र भुक्तानी हुनुपर्ने सैद्दान्तिक तथा सम्वन्धित देशको कानुन अनुसार हुनुपर्नेमा नेपाल वायुसेवा निगमबाट निगमको काममा नियुक्त विदेशी श्रमिकहरुलाई नियुक्ति गर्दा आयकरको कुरा स्पष्ट नगरी एकमुष्ट रकम प्रदान गर्ने गरी संझौता गरेको देखिएको तथा आयकर वापतको रकम वायुसेवाको कोषबाट भुक्तानी भउको संलग्न
कागजातहरुबाट देखिएको हुँदा विधिसम्वत देखिएन । सो सम्वन्धमा नेपाल वायुसेवा निगममा करारमा कार्यरत विदेशी कर्मचारीले आयकर बापत नेपाल सरकारलाई बुझाउनु पर्ने रकम निजहरुले बुझाउनुपर्ने वा वायु सेवा निगमले बुझाउनुपर्ने हो । सो सम्वन्धमा यथार्थ छानविन एबं कारवाही गरी सोको जानकारी यस केन्द्रमा समेत पठाउन भनि नेपाल नागरीक उड्ययन प्राधिकरणमा लेखि पठाउन मनासिव देखिन्छ ।

८- छानविन प्रतिवेदन लगायतका कागजात आवस्यक कारवाही तथा जानकारीको लागि प्र.म. तथा म.प. को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन तथा नागरीक उड्यन मन्त्रालय, नेपाल नागरीक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगममा पठाई उल्लेखित निकायबाट भएको कारवाहीको जानकारी नियमित रुपमा केन्द्रमा पठाउन लागाउन मनासिव हुने ।

तपाइँको प्रतिक्रिया

फेसबुक