बिहीबार, चैत १५, २०८०

आरजू राणा स्कूलका ‘ट्रस्टी’ अर्थबिज्ञ डा. विश्वबाट देशले के आसा गर्ने ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन १३ गते २३:२२

देउवा सरकार गठन भएको दुई सातामा सबैभन्दा बढी केही कुराको चर्चा छ भने डा . विश्वनाथ पौडेलको छ जो सोमबार मात्रै राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष चयन भएका छन् । तर धेरै राजनीतिक चेतना भएका र योजनाका गती पहिल्याउनेहरुले समेत योजना आयोग देशमा किन छ र यसले खास के गर्छ भन्ने बुझ्न सकेका छैनन । डा. राम शरण महत देखी युवराज खतिवडा र स्वर्णिम वाग्ले जस्ता अर्थशास्त्रका धुरन्धरहरुले यो आयोगको उपाध्यक्ष बन्दा देशले के के उपलब्धी हाँसिल गर्‍यो ? हरेक पटक जनताले उठाउने प्रश्न यही हो । यद्यपी बिगत भन्दा अहिले फरक के छ भने अरु पुर्वहरुको तुलनामा विश्वनाथ पौडेलको चर्चा अली बढी छ ।

देउवाको कार्यशैली र सुस्तपना डा. पौडेलको छनौटका कारण केही समय ओझेलमा परेको छ । योजना आयोगमा कुनै पदाधिकारीलाई नियुक्त गर्नासाथै कायापलट भैहाल्छ झैं गरेर हल्ला पनि चलाइएको छ । यसअघि पनि डा. स्वर्णिम वाग्लेजस्ता अर्थ र योजनावेत्तालाई योजना आयोगमा लगिएकै थियो । तर यस्ता बिज्ञ भनिनेहरुले देशको लागि कर तिर्ने जमातले देख्ने गरी मैले यस्तो योजना ल्याएकोले देशले यहाँसम्म फड्को मार्यो भन्नसकेको खोइ ? छैन । योजना आयोगका कुनै पनि पुर्वहरुले यसो भन्न सक्दैनन् । किनभने यस्ता पदहरुको उत्पादन जुनसुकै आशयले गरिएको भएपनि सबैको मनसाय जागिर खाने ध्याउन्नमा हुन्छ । न त सरकारले योजना आयोगका कुनै कामहरुलाई गम्भिरताका साथ लिन्छ न जनताले पत्याउनसक्ने कुनै आधार छ ।

तरपनि सरकार फेरिंदा सबै ठाउँका प्रमुखहरु फेरिन्छन । अहिले पनि भएको त्यस्तै हो । शेरबहादुर देउवाले कुनै एक जना आफ्ना भक्त विश्वनाथ पौडेललाई जागिर लगाएका हुन । विज्ञ हुनु र भक्त हुनु एउटै कुरा होइन । तर हाम्रो विडम्बना के हो भने विज्ञहरु भक्त भईदिन्छन ।

अर्को कुरा के छ भने अमेरिकाको बर्क्लेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रिकल्चर एन्ड रिसोर्स इकोनमिक्समा विद्यावारिधि गरेका पौडेल पछिल्ला वर्षमा सानिमा बैंक, मध्य तमोर जलबिद्युत आयोजना हुँदै अगस्ट, २०१९ बाट एउटा निजी स्कुलको ‘बोर्ड अफ ट्रस्टी’ समेत बनेका छन् । यसमा संयोग के छ भने हालकी ‘फस्ट लेडी’ आरजू राणाको स्कुल र काठमाडौंका सम्भ्रान्तले मात्रै आफ्ना सन्तान पठाउने भनिएको युलेन्स स्कुलमा आरजूले नै नियुक्त गरेका बोर्ड अफ ट्रस्टी समेत पौडेल रहेकै छन् ।

अब एक जना शिक्षा ब्यापारी उमेश श्रेष्ठ स्वास्थ्य राज्य मन्त्री बन्दा ‘कन्फ्क्टि अफ इन्ट्रेस्ट’ भयो भनेर नाराबाजी गर्नेहरु डा. पौडेलका हकमा भने बेपता छन् । प्रधानमन्त्रीकी श्रीमतीको स्कुलमा आफ्नी सानी छोरी पठाउने, त्यही स्कुलको बोर्ड अफ ट्रस्टी बस्ने र उनैको सिफारिशमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसम्म बन्ने ? नैतिकताको कुरा यहाँ लागु हुन्छ कि हुँदैन । युवा अर्थशास्त्रीका रूपमा परिचित पौडेल काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा भिजिटिङ एसोसिएट प्रोफेसर समेत हुन् ।

केन्द्रीय तथ्यांक विभागले गत वैशाखमा आर्थिक वर्ष २०७७-७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३।९८ प्रतिशत हुने अनुमान गरेको थियो । तर निषेधाज्ञा लम्बिएकाले त्यसमा पनि असर पुगेको छ । आर्थिक वर्ष २०७६-७७ मा आर्थिक वृद्धि २.१२ प्रतिशत ऋणात्मक भएको थियो । यसरी कोभिडले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउँदै पुनरुत्थान गर्ने भूमिका निर्वाह गर्नुपर्ने दायित्व पौडेलमा भएपनि सुरुमैं नाताबाद–कृपाबाद तथा इशाराका भरमा योजना आयोगमा पुगेका उनले आफ्नो विज्ञता देखाउने पद त पाएका छन् तर अवशर पाउँछन पाउँदैनन त्यो भने भविष्यलाई नै छोडिदिउँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक