मंगलबार, चैत ६, २०८०

एनआरएन बेल्जियम निर्वाचन : निर्वाचन समितिले नै गर्‍यो धाँधली

नेपालप्लस संवाददाता / बेल्जियम२०७८ साउन १५ गते १३:१७

एनआरएनए बेल्जियमको गत आइतवार भएको राष्ट्रिय परिषदको अधिवेशनमा निर्वाचन समितिले ब्यापक धाँधली गरेको देखिएको छ । निर्वाचन समितिले उपाध्यक्षका प्रत्याशी मध्ये कम मत प्राप्त गरेका तिर्थ धमलालाई विजयी घोषणा गरेको थियो । निर्वाचन समितिले मत परिणाम घोषणा गर्दा पढेको लिस्टमा तिर्थ धमलाको अन्तिम मत परिणाम ६८६ उल्लेख छ भने उनका निकटतम प्रतिद्वन्दि रमेश सापकोटाले ६८१ मत पाएर पराजित भएको उल्लेख गरिएको छ ।

तर निर्वाचन समिति सदस्य सचिव शिव कुमार वरुवालले परिणाम घोषणा गर्दा पढेको सूचिमा बिभिन्न बुथबाट प्राप्त मतहरुलाई जोड्दा बिजयी भनिएका तिर्थ धमलाको जम्मा ६६८ म देखिन्छ । रमेश सापकोटाको भने साविक ६८१ नै छ । तर पनि निर्वाचन समितिले नियतवस तिर्थ धमलालाई जिताउन बदमासि गरेको प्रष्ट देखिएको छ ।

पराजित भनिएका उम्मेदवार रमेश सापकोटा भन्छन- पहिले पनि आन्त्रोपेन क्षेत्रको मतमा ८७ हुनुपर्नेमा ३७ लेखिएको थियो । अहिलेको यो अन्तिम परिणाममा पनि यसरी फरक देख्दा नियतवस गरिएको भन्ने पुष्टी भएको छ । यस अघी निर्वाचन समितीले मतदाता नामावलीमा प्रकृया नपुगेको बताउँदै करिब५०० मतदाताको नाम हटाएको थियो । कांग्रेस, माओवादी र माधवनेपाल समुहले बनाएको गठवन्धनका समर्थक थिए ।

बेल्जियमबाट हाम्रा संबाददाताले जनाए अनुसार निर्वाचन प्रकृया शुरु हुन्नु अघि देखी नै निर्वाचन समिति आफैं एक पक्षिय उम्मेद्वार हरुलाई जिताउने प्रपन्चमा लागेको देखिन्छ । धेरै मत ल्याएर पनि पराजित भनिएका उपाध्यक्षका उम्मेदवार रमेश सापकोटाले एनआरएनए केन्द्रसँग पुन: निर्वाचनको माग गर्ने तयारी गरीरहेका छन्। उनका एक सहयोगी भन्छन्- यस्तो धाँधलीपूर्ण रुपमा भएको निर्वाचन परिणामले मान्यता पायो भने एनआएनएका लागि यो भन्दा दुर्भाग्यपूर्ण स्थिती अर्को हुने छैन ।

उता लोक दाहाल नेतृत्वको निर्वाचन समितिले आफूहरुले घोषणा गरेको परिणाम नै अन्तिम भएकोले कुनै फेर बादल नहुने जनाएको छ । समितिका एक जना सदस्यले भने- “हामीले पुन: मतपत्र गणना गर्दा धमलाजी नै विजेता देखिए । त्यसैले हाम्रो घोषणामा कुनै परिवर्तन हुँदैन । सत्य यही हो ।

एनआरएन आइसीसीले भने बेल्जियमको धाँदलीका बारेमा कुनै प्रतिकृया ब्यक्त गरेको छैन । पटक पटक प्रयास गर्दा पनि अध्यक्ष कुमार पन्त संपर्कमा आउन चाहेनन् ।

बेल्जियमको यो निर्वाचन समिती पनि राजनीतिक भगबण्डाका आधारमा बनाइएको थियो । संयोजक लोक दाहाल माओबादी अन्तर्गतको जनप्रगतिशिल मन्चमा आवद्द ब्यक्ती हुन् भने सदस्य सचिव शिव बरुवाल केपी ओली पक्षधर हुन् ।

निर्वाचनमा भएको धाँधलीमा सामेल भएको आरोप लगाउदै जनप्रगतिशिल मन्च बेल्जियमले लोक प्रसाद दहाललाई कारवाही गर्ने जनाएको छ । बेल्जियमको यो घटना पछी अन्य राष्ट्रिय परिषदहरुको परिणाममा पनि ब्यापक प्रश्न खडा भएको छ ।

तर एनआरएनए बेल्जियम निर्वाचन समितिद्वारा आजै शुक्रवार जारि प्रेस बिज्ञप्तीमा निर्वाचन समितिले घोषणा गरेको उमेदवारनै बिजयी भएको उल्लेख छ । एनआरएनए बेल्जियमका उपाध्यक्षका उमेदवार तिर्थराज धमलाले एन्त्रोपेन क्षेत्रमा २२९ मत पाएको तर कसैले नक्कली सूची तयार पारेर समाजलाई भ्रमित पारेको भन्दै निर्वाचन समितिको तर्फबाट घोर भर्त्सना गरिएको छ ।

निर्वाचन समिति बेल्जियमद्वारा आज शुक्रवार जारि गरिएको प्रेस बिज्ञप्ती

निर्वाचन समितिका लोक प्रसाद दहालले आफ्नो फेसबुक मार्फत् भनेका छन् “हिजो राती नक्कली ट्याली बनाएर निर्वाचन समितीका सदस्य सचिव शिव बरूवाल र मेरो बिचमा नकारात्मक भ्रम सिर्जना गरिएकोले यसमा कुनै सत्यता नरहेको र यस्ता भ्रम नफैलाउन अनुरोध गर्दै यस्तो किर्ते ट्याली कोबाट आयको हो र किन गर्न खोजिएकोहो सत्य तथ्य बाहिर ल्याउन अपिल गर्दछु !!”

तपाइँको प्रतिक्रिया

फेसबुक