शुक्रबार, वैशाख ७, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

लाठा र बन्दुकसँग काँकरभिट्टा–दमक

डा. गोबिन्द राज भट्टराई२०७८ साउन १६ गते ११:५०

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भागकालागि यहाँ क्लिक गर्नुहोला )

(१३ नोभेम्वर २०१३)

यसरी सिलिगुडीको कार्यक्रम सम्पन्न हुनासाथ काँकरभिट्टा जाने बसमा चढेँ । बगेरझैँ काँकरभिट्टा उत्रिएँ । तर कोही आउँदैनन् । दलाल आउँथे । खलाँसी, ड्राइभर इत्यादिको त्यहाँ गोलो हुन्थ्यो । झोला तान्न आउँथे । आज छैनन्, यात्रु छेक्न तान्न पुग्थे, आज छैनन् । पैसा साट्नेले घेर्थे आज छैनन् । घाम अलिकति चढेको छ । तर दुईचार ट्याक्सीबाहेक त्यहाँ केही छैन । ठूलो सुनसान चिर्दै अघि बढेपछि एउटा बस उभिएको भेटियो । तर यात्री चढेका छैनन् । वरिपरि भएका दुईचार जना पनि अलमल्ल छन् ।

मैले सोधेँ— ‘किन यस्तो सुनसानले ढाकेको छ भाइ ?’
‘तपाईं कहाँ जाने र ?’
‘दमक !’
‘इस्कोटमा जानुपर्छ काका, भरिएछ भने जाऔँला तर ३०० लाग्छ ।’
‘एकसय मात्र होइन भारा ?’
‘खतरा छ काका, अब तीन सौ लाग्छ ।’
अर्काे पात्र— ‘धरानलाई नि त ?’
‘धरानलाई पान्सौ काका ।’

सिलिङमिलिङ छन् मानिसहरू । सिमानापारिका मनिपुरे बर्काे ओढेका, आछामे गम्छा ओढेका, मुखमा पानको रंग बोकेकाहरू, कुम्लाकुटुरासँग सलबलाउँछन् । तर बसवालाले कसैलाई बोलाउँदैन । मुनालको सहायक (खलाँसी) कड्किएको सुन्छु— ‘गए जानू नगए नजानू काका, दमकको तीन सौ धरानको पान्सौ, लोकल चढ्दैनन्, हामीले पुलिसको इस्कोडसित चल्नुपर्छ । खतरा छ काका, गाडी कहीँ जखम भए २५ हजार दिन्छ त्यो पनि तीन महीनापछि । उः त्यो सिसा हेर्नाेस्, ढुङ्गा हानेर धुलो पारेको, झन्डै मेरो टाउको फुटालिदिए । त्यस्तो खतरामा गाडी चलाउनु पर्छ नि त ।’

छ दशकदेखि चलेकोे निरङ्कुशता विरुद्धको सङ्घर्षमा कत्रो त्याग र बलिदान गरे जनताले । तर अझै पनि प्रजातन्त्रले स्थिरता प्राप्त गर्न सकेको छैन । यसको महत्व स्थापित हुन सकेको छैन । त्यो आउन सकेको छैन ।

ऊ बोल्दै थियो, मानिस स्तब्ध थिए । उसले जति भने पनि हुन्थ्यो । यात्रुहरू गाडी चलिदिए हुन्थ्यो भन्नेमा थिए । चुपचाप म सिटमा बसेको थिएँ । अघि पनि शिलाङबाट फर्केका समयमा काँकरभिट्टादेखि दमकसम्म रिक्सामा चढेको थिएँ । लिम्बूवानको बन्द थियो । बाटामा ढुङ्गा, आगजनी र भयावह स्थिति थियो । बेलाबेला रिक्साबाट ओर्लेर पोको काँधमा राख्तै फेरि पैदल गर्दै, कति बेला राँगागाडा र ठेलागाडा गर्दै म आइपुगेको थिएँ । पछि मैले पनि बोलेँ ‘जय लिम्बूवान ।’ त्यही शीर्षकमा त्यो यात्रा अनुभूति (निबन्ध) लेखेर प्रस्तुत गरेको थिएँ । आज त्यसको चार वर्षपछि देशले प्रजातान्त्रिक पद्धतिअन्तर्गत बहुदलीय व्यवस्थाका लागि चुनाव गर्ने पूर्वसन्ध्याको स्थिति पनि उस्तै ।

कसको बन्द हो ?

देशमा यातायात बन्द भएको दुईदिन भयो, चुनाव हुने दिनसम्म बन्द हुनेछ भन्छन् ।  म सम्झँदै गएँ, छ दशकदेखि चलेकोे निरङ्कुशता विरुद्धको सङ्घर्षमा कत्रो त्याग र बलिदान गरे जनताले । तर अझै पनि प्रजातन्त्रले स्थिरता प्राप्त गर्न सकेको छैन । यसको महत्व स्थापित हुन सकेको छैन । त्यो आउन सकेको छैन । त्यसकारण प्रजातन्त्र ल्याउने, संविधानसभाको चुनाव हुने तत्परतामा यो राष्ट्र सम्पूर्ण रूपले उठेको बेला, कुनै महान् उत्सवमाझैँ उचालिएको बेला यसका विरुद्धमा उत्रिने साथीहरू पनि उपस्थित भएका छन् ।

प्रजातन्त्रको एउटा सौन्दर्य भन्नु चाहिँ सबैका विचारको सुरक्षा हो । सबैलाई आआफ्नो स्पेस प्राप्त हुने हो । तर यसपालि के भयो, कहाँ त्रुटि भयो, केकस्ता मागहरू राखिए र किन यो अवरोध उत्पन्न भयो ? यो आश्चर्यमा छु ।

काँकरभिट्टाको बजारमा सशङ्कित आँखासँग अत्यन्तै लामा लाठाधारीहरू नीला ड्रेसमा उभिएका हुन्थेà । अलिक परतिर छेउमा एउटा खुला गाडीमा चढेका पुलिस थिए । तीभन्दा अघिल्तिर गाडीमा चढेको सेनाको सानो टुकडी थियो । खुला भ्यानमाथि तीनवटा बन्दुक दक्षिण फर्केका थिए । तीनवटा उत्तरतिर, तीनवटा पश्चिमतिर र फेरि बन्दुक आकाशतिर सोझिएका पनि थिए । मलाई कुनै अर्थ खुलेन, १५ वर्षसम्म सर्वत्र बन्दुक देख्यौँ, अग्ला बुटपट्टी र गोलीगठ्ठा देख्यौँ— के प्रजातन्त्र आउने घडीमा बन्दुक चाहिन्छ ? म छक्क परेर सोचेँ— शायद प्रजातन्त्रलाई जन्माउन धेरै होसियारी र तयारी चाहिन्छ !

आतङ्कवादको स्थापनामा बन्दुक चाहिन्छ । त्यसको निस्पादनमा पनि बन्दुक । त्यसको समाप्तिमा बन्दुक । यता प्रजातन्त्रको मृत्युमा पनि बन्दुक । उता प्रजातन्त्रको जन्ममा पनि बन्दुक ।

त्यसो त, अघिको माओवादी कालको विद्रोहमा पनि यिनै बन्दुक ठडिएका र तेर्छिएका देख्यौँ । आज निर्धक्क भई भोट हालेर चुनावद्वारा प्रजातन्त्र ल्याउने समयमा पनि यिनै बन्दुक ठडिएका छन् । कस्तो छ— आतङ्कवादको स्थापनामा बन्दुक चाहिन्छ । त्यसको निस्पादनमा पनि बन्दुक । त्यसको समाप्तिमा बन्दुक । यता प्रजातन्त्रको मृत्युमा पनि बन्दुक । उता प्रजातन्त्रको जन्ममा पनि बन्दुक । म आश्चर्यमा छु । बन्दुक र बाँस एकै रहेछन् । प्रजातन्त्रको कोक्रो बन्न बन्दुकका चोया काढ्नुपर्ने; प्रजातन्त्रको अन्तिम सद्गतिमा हरिया बाँस चाहिने ।

बाटामा हेर्दे गयौँ— मानिस डराएका पनि छन्, कतै पड्काउने हुन् कि । मानिस निर्भीक पनि छन् । पड्काए पनि यो उत्सव मनाउने तयारीमा राष्ट्र उठेको छ । सबै त आँगनमा छन् । चौरीमा छन् । बजारमा खेतमा सर्वत्र मानिस उत्सवको मुडमा छन् । बन्दुक फेर्दै दमक पुग्यौँ । प्रत्येक घरमा झसङ्ग भइने, बाटामा, वृक्षमा, वाहनमा सर्वत्र । यत्रो रंगीचंगी यात्रा ध्वजापताका कहिल्यै भएको थिएन ।

………………………

चुनावको अग्गेठ छ गाउँ गाउँमा (१४ नोवेम्वर २०१३)

दमक पुगेर मैले दुईदिने विश्राम लिएँ । आमासँग पुग्दाको अर्कै छ आनन्द । घर बनाउँदै हुनुहुन्छ आमा । सन्तुष्ट र सक्रिय हुनुहुन्छ । झापा–मोरङ दुवै जिल्लाका बजार हेर्न पुगेँ— म चकित भएँ । अघि २०३९ सालको बहुदलीय चुनावमा काजीशेर देवानले भाङबारी दमकमा जितेका थिए । गाउँघर छिमेकी, हली, गोठाला सारा भेला गरेर एकडेढ सय मानिसको (पुरुष विशेषणको) समूहमा नारा लगाउँदै सारा घुमेका थिए । बजारदेखि तलतलसम्म परिक्रमा गरी तीन घण्टामा फर्केर हाम्रा पिताजीले भन्नुभयो— “ठूलो उत्सव गर्‍यौँ नानी, बजारै उल्टियो र दुईतीन सौ मानिसले जुलुस गरी फिर्‍यौँ, गर्मीले निक्कै सारो पार्‍यो ।”

त्यसपछि २०४८ सालमा तराईभरि साइकल र्‍याली हुन थाले । कोही त राँगा–गोरुगाडामा पनि गर्थे । साइकल नहुनेहरूको पैदल लस्कर हुन्थ्यो ।

यसपालि झापा–मोरङमा देखेँ— अनेक पार्टी र दल छन् । सबैसबै मोटरसाइकल रातै र पहेँलै, झन्डा फर्फराउँदै, एकजना दुईजना कतै तीन, कति नारीले हाँकेका कति पुरुषले, सबै जस्तो नयाँ समयका पुस्ताका फिरिरी बजारै ढाकेर गाउँ ढाकेर; उम्मेदवारले पाँच लिटर पेट्रोल निःशुल्क भरिदिने, जुलुसमा लागेर झन्डा गाड्दै पेट्रोल भर्दै जिल्लाका कुनाकुनासम्म, गाउँबस्तीसम्म कहिल्यै नपुगेका गल्ली–डगरमा, झन्डा फहराउँदै— कस्तो समय आयो कत्रो परिवर्तन ।

२०३६ साल अझ २०४८ सालले मानिसलाई जुन तीव्र विभाजन र घृणाको स्थितिमा धकेल्यो यसपालि यस्तो उग्रता देखिएन । राष्ट्रले बिस्तारै प्रजातान्त्रिक अभ्यास गर्दैछ होला ।

अब उमेदवार बोल्दैन । ऊ चिनिँदैन । उसको हँसिया टल्किन्छ अथवा घर, वृक्ष, गाई अथवा यस्तै केही सङ्केतमा ऊ हुन्छ । समय ज्यादा यान्त्रिक हुँदैछ । एकप्रकारले यो जनसहभागिता हो । आआफ्नो दलप्रति हार्दिक समर्थन हो । सङ्केतद्वारा उपस्थितिद्वारा, मोटरसाइकलद्वारा । त्यहाँ देखेँ कुमारको झन्डा मागेर फिल्फिलाउँदै आशोक अघि बढ्थ्यो । पेट्रोल पम्पमा तीन लिटर मागेर अलिक पर पुगी कतै छड्कियो । फेरि झन्डा कतै लुकाएर फर्की आयो । अर्काे दलको झन्डा गाड्यो र फेरि अर्काे पेट्रोल पम्प पुग्यो । त्यहाँ रूखको लाइन थियो— पाँच लिटर थाप्यो र आठ लिटर पेट्रोल भरेर काम गर्न गयो ।

यस्तो दुरुपयोग व्यापक छ । तर अघि भने, सुकुम्वासी टोलतिर वा गाउँतिर खसी काटेर दिनदिन भात–मदिरासहितका विशाल भोज हुन्थे । ती यसपालि बन्द भएछन् । बाटामा भित्तामा पोस्टर–पम्प्लेट कम्ती छ, गालीगलौज भाषा र निन्दा ज्यादा हुन्थे । यसपालि त्यस्तो निन्दा चीत्कार थिएन । घरघरमा भेला भएकाहरू आआफ्ना वा अरूका दलप्रति ज्यादा पूर्वाग्रह नराखी वार्ता गरे । यसरी एकै ठाउँमा अनेक विचार अट्लाजस्तो उसबेला लाग्दैनथ्यो । २०३६ साल अझ २०४८ सालले मानिसलाई जुन तीव्र विभाजन र घृणाको स्थितिमा धकेल्यो यसपालि यस्तो उग्रता देखिएन । राष्ट्रले बिस्तारै प्रजातान्त्रिक अभ्यास गर्दैछ होला ।

मलाई सोध्ने पत्रकार यहाँ पनि आएका थिए— यसपालि कुन दलको विजय हुन्छ होला ? म भन्न सक्तिनँ । भन्नु आवश्यक छैन । प्रजातन्त्रमा मेरो दलका विजयमा हर्षित हुने होइन, पराजयमा पनि समरूप हुनुपर्छ । किनभने यो सबैले स्पेस पाउने व्यवस्था हो । यो साझा स्पेसबाट बहुल सोच वा धारणाको सुरक्षा हुन्छ, हुनुपर्छ ।

तपाईंले आफ्नो दलको विजयलाई मात्र विजय ठान्ने हो भने अरूको विचार उपेक्षित हुनेछ । नत्र तपाईं र अधिनायकवादको विचारमा के फरक पर्छ ? बहुलता नै प्रजातन्त्रको सौन्दर्य हो । अनेक विचारले आफ्नो सम्मति, धारणा अभिव्यक्त गर्ने अवसरको नाम नै डेमोक्रेसी हो ।

एक विद्वानले भनेका छन्— प्रजातन्त्रमा एकै जना मात्र भए पनि आफ्नो मत राख्ने अवसरबाट वञ्चित गरिनुहुन्न । यसलाई फाइदा वा बेफाइदा जे भन्नोस्, प्रजातन्त्रको सुन्दरता त्यही नै हो— सबैका विचारको कदर ।

यसपालि मानिस बिस्तारै प्रजातान्त्रिक अभ्यासमा लागेका जस्ता छन् । भारतमा भने यस्तो अभ्यासलाई स्थिर गराउन सात दशक लाग्यो । हाम्रो भर्खर आरम्भ छ । त्यसकारण अझै पनि आतङ्कवादले ढुकिरहेकै छ । अझै पनि अराजकताका अभ्यासकहरू सक्रिय छन् ।

त्यसो त चुनाव हुन नदिनेहरुले व्यवस्थामा नआउने बित्तिकै अराजक वा आतङ्ककारी भन्न मिल्दैन । भिन्न विचार हुनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ । म भन्छु कतै जाति भएर, कहीँ धर्म भएर, कहीँ भूगोल भएर आउँछन्— त्यस्तो बेला नै पृथक्तावादी भएको आरोप पनि पाउँछन् ।

प्रजातन्त्र अति कोमल छ । सबैले आफ्नो स्पेस यहाँ खोज्ने भएकाले यो सबै अटाउने घर हो । तर कुनै कोठामा बस्नेले फोहोर पार्ने, ज्यादा हल्ला गर्ने आदि हुँदा अरूको स्वतन्त्रताभित्रै ज्यादा अप्रिय कर्म हुन जान्छन् । यो प्रजातान्त्रिक प्रणालीभित्र हुनसक्ने दुरुपयोग हो । सबैको विचारले स्थान पाउँछन् । तर पूर्ण रूपले प्रजातान्त्रिक प्रणाली विकसित नभएको हाम्रो जस्तो ठाउँमा मानिस आफ्नो कर्मका पक्षबाट उम्किन खोज्दछन् । प्रजातन्त्र स्वस्फूर्ततामा, अधिकारबोधमा, कर्तव्यमा, त्यागको निष्पादनमा र सजगतामा मात्रै सम्पन्न हुने कुरा हो । नत्र अधिनायकवादमा घाँस खुवाएर पालिने चेतनाशून्य पशु ठीक छ । यता हाम्रो देशमा बहुदल मान्ने व्यक्ति र पार्टीहरूले स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्दछन् । तर त्यो नमान्नेहरू अझै अधिनायक वा निरङ्कुशता स्थापित गर्न सकिन्छ कि भनी दाउ हेरिबसेका छन् । राजतन्त्रवादीहरूले आफ्नै देशको अतीतलाई आदर्श मान्दछन्, वाममार्गीहरूले उत्तरतिरका महाशक्तिलाई आदर्श मान्दछन् । तर अब त्यो सम्भव छैन । त्यो आकाशको फल कहिल्यै झर्दैन ।

…………

दमक–झापामा यस चुनावले समय शिक्षित र सम्पन्न हुँदै गएको प्रमाण देखायो । सचेत र सहनशील हुँदै गरेको देखायो । यो राष्ट्रको एउटा स्वरूप हो । म भोलिप्रति ज्यादै आशावादी छु ।

प्रजातन्त्रमा एकै जना मात्र भए पनि आफ्नो मत राख्ने अवसरबाट वञ्चित गरिनुहुन्न । यसलाई फाइदा वा बेफाइदा जे भन्नोस्, प्रजातन्त्रको सुन्दरता त्यही नै हो— सबैका विचारको कदर ।

यो नौलो कुरा हो । ज्ञानका नयाँ शाखा पलाउँदै जाँदा यो विकसित भएको हो । उता  (सम्पन्न विश्वतिर) यो अघि नै थियो तापनि यता भने भर्खरै यस रूपमा भर्खर पसेको हो । यसले अनेक शास्त्रलाई छुने रहेछ— एक त यस विषयलाई इतिहासमा फिँजाउनु पर्‍यो । किनभने सबै कर्म त इतिहासमै छन् । मानवले आफ्ना कृत्यलाई स्मृतिमा चिरायु राख्ने प्रयत्न गर्दछ । ती प्रयत्नलाई ऊभित्र चिरायु रहने आकाङ्क्षा राख्नुपर्‍यो, यी कुरा स्मृतिविज्ञानका अनेक क्षेत्रमा अध्ययन गरिन्छ ।

वास्तवमा स्मृतिविज्ञान विविध सङ्घर्षले युक्त छ । व्यापक छ । आइफेल टावर होस् वा मिस्रको पिरामिड, भीमसेन स्तम्भ वा कुतुब मिनार वा रामायण, महाभारत वा अश्वमेधयज्ञ प्रत्येक वस्तु र कर्म अनि हाम्रा संस्कारमा चलेका व्यवहार स्मृतिले अनि स्मृतिकै लागि जीवित छन् । आफू त्यस्ता वस्तु वा कार्यसरह जीवित रहनेछु भन्ने अकाङ्क्षा लिएर तिनको निर्माण भएको छ । एकप्रकार सम्पूर्ण सभ्यताको निर्माणलाई यही मनोकाङ्क्षाले उत्प्रेरित गरेको छ ।

यस्तो तर्क एउटा साधारण वा सामान्य ज्ञानको तर्क हो । यसको मूल ज्ञान कहाँबाट शुरु भयो । कसरी अन्य प्रशाखा जन्मिए भन्ने कुरा त अनेक शास्त्रद्वारा साधित छ । सबै स्मृति ता व्यक्तिमा होइन, समूहमा जीवित हुन्छ । व्यक्ति मर्दै जान्छ । तर सारा व्यक्तिका कर्महरू समाजमा नै सरेर लामो समयसम्म रहिरहन्छन् । धेरै पछि ती विस्मृतिमा पसे पनि फेरि अवशेषमा, किंवदन्तीमा, मिथकमा र विश्वासमा भए पनि रहिरहन्छन् ।

मञ्जुश्रीले काठमाडौँ उपत्यका बनाएको कहिले हो भन्न सकिन्न । तर त्यो एक सत्यतथ्यझैँ कुरा मिथक भएर स्मृतिबाट स्मृतिमा सरिरहेको छ । एक व्यक्तिले आफ्नो जीवनकालमा धेरै भन्न भ्याउँदैन । सबै सम्झिन सक्तैन । तर समाजले हजारौँ वर्षदेखिको स्मृतिलाई जोगाउँदै ल्याइदिन्छ । हस्तान्तरण गरिरहन्छ । प्रत्येक व्यक्तिले त्यही स्मृतिभण्डारबाट सिक्ने गर्दछ । यसलाई सामूहिक स्मृति (कलेक्टिभ मेमोरी) भनिन्छ । स्मृतिविज्ञानको पुष्टि त मानवकर्मले र उसको प्रवृत्तिले प्रमाणित गरेकै छ । परन्तु त्यसकै सैद्धान्तिक पुष्टि र प्रशाखा निर्माण चाहिँ बीसौँ शताब्दीको अन्त्यतिर आरम्भ भयो । त्यसको सबै व्याख्या म पछि गर्नेछु । किनकि यतिसम्म पुग्नलाई मेरो एक महीनाको जो समर्पण छ त्यसको म अवश्य उल्लेख गर्नेछु ।

हजारौँ वर्षअघिदेखि गरिएका मानव कृत्यको स्थापत्यमा, कलामा, साहित्यमा र संस्मरणमा भएका कर्मको मानिसले यो समयमा अर्थ लगाउँदै छ— त्यसैले नयाँ ज्ञानमार्ग खोल्दै छ । संसार कति जटिल र अगम्य रहेछ भन्ने लाग्दछ र ऊ निरन्तर नयाँ द्वार खोल्दै छ ।

दुई वर्षअघि कोरियाको हाङकुक विश्वविद्यालयमा यस्तै भयो— त्यहाँ लक्षयण–विज्ञान (semiosis) विषयमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यहाँ म त्यस्तै एक नवीन कार्यपत्र लिएर पुगेको थिएँ । यसपालिको शिलाङमा म त्यही सम्झँदै छु । ज्ञानहरू कति तीव्र गतिमा अघि बढ्दै छन् । पीठो, चिनी, नून, मसला र अरू बेसहरू सबै खाद्य तत्वहरू उनै छन् । तर केके मिलाउँदा कस्ता नवीन पदार्थ पाक्छन् ठीक त्यस्तै रहेछ ज्ञानको प्रस्फुटन पनि । हजारौँ वर्षअघिदेखि गरिएका मानव कृत्यको स्थापत्यमा, कलामा, साहित्यमा र संस्मरणमा भएका कर्मको मानिसले यो समयमा अर्थ लगाउँदै छ— त्यसैले नयाँ ज्ञानमार्ग खोल्दै छ । संसार कति जटिल र अगम्य रहेछ भन्ने लाग्दछ र ऊ निरन्तर नयाँ द्वार खोल्दै छ । यसलाई नित्य नवीन पार्दैछ ।

थाइल्यान्डको एक यात्रामा रम्भाइ वार्नी विश्वविद्यालयले हामीलाई एक सांस्कृतिक कार्यक्रम प्रदर्शनमा पुर्‍यायो । पताया नजिक समुद्री तटको सुन्दर मनोरञ्जन स्थलको एउटा नाचघरमा तेस्रो लिङ्गीहरूको नृत्य, गायन आदिको प्रस्तुति थियो । त्यहाँ नै उनीहरूले हाम्रा अर्धनारीश्वरको मूर्तिकला राखेका थिए । त्यो कुरा हाम्रै अतीतमा थियो । सुषुप्त एवम् जीवनको अर्कै अर्थ बोकिरहेको मानव स्वभावको विश्वप्रवृत्ति त्यस पक्षलाई विकसित गर्दै आज तेस्रो लिङ्गी, उठेका छन् । आफ्नो पहिचान मागेका छन् । तिनका कर्मबाट साहित्यमा सन्दिग्ध सिद्धान्त (क्वीअर थ्योरी) सम्म जन्मेको छ । त्यसका लागि (मोराशको उपन्यास सलिजो हेर्दा थाहा हुन्छ ।) भएकै कुराको पुनराविष्कार मात्र रहेछ हाम्रो नयाँ ज्ञान ।

यस विषयमा पछि चर्चा गर्नेछु । आज त यसपालिको शिलाङ यात्रालाई यहिं अन्त्य गर्न चाहन्छु । पुस्तकको शीर्षक शिलाङ, तेजपुर, गुुवाहाटी भनिए पनि यसपल्टको यात्रा तेजपुर नपुग्दै टुङ्गियो । (४ नोवेम्वर २०१३ क दिन दमक झापाबाट आरम्भ भएको यात्रा १० दिन पश्चात १४ नोवेम्वरका दिन दमक आएर टुङ्गियो)

क्रमश:

अर्को अंक आगामी शनिवार प्रकाशित हुने छ ।

तपाइँको प्रतिक्रिया