शुक्रबार, वैशाख ७, २०८१

अफगानिस्तानको हेरात सहरस्थित संयुक्त राष्ट्र संघको भवनमा आक्रमण, प्रहरी गार्डको मृत्यु

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन १६ गते ११:१७

Image Credit-jnews.com.au

अफगानिस्तानको हेरात शहरस्थित संयुक्त राष्ट्र संघको कम्पाउडमा आक्रमण हुँदा एक प्रहरी गार्ड मारिएका छन् । अफगानिस्तानको पश्चिमी शहरको बाहिरी भागमा सरकारी सेना र तालिबानबीच लडाइँ भईरहेको बेला हेरातस्थित संयुक्त राष्ट्र संघको कम्पाउन्डमा आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिशन (युनामा) ले जारी गरेको एक विज्ञप्तिका अनुसार लडाईको क्रममा हेरातस्थित संयुक्त राष्ट्र संघको मुख्य परिसरमा रकेट प्रणित ग्रेनेड र गोली प्रहारबाट आक्रमण भएको थियो ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघ महासचिवका विशेष प्रतिनिधि डेबोरा लियोन्सले संयुक्त राष्ट्र संघको बिरूद्ध यो आक्रमणको कडा शब्दमा निन्दा गर्ने बताउँदै भनेकि छन् “यस हमलाका अपराधीहरुको पहिचान गरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

युनामाले यो हमला “सरकार विरोधी तत्वहरु” ले गरेको बताएको छ ।

काबुल स्थित युरोपेली संघ (ईयु) को प्रतिनिधिमण्डलले हेरातस्थित संयुक्त राष्ट्र संघको भवनमा भएको आक्रमणमा तालिबानलाई दोषी ठहराएको छ । ईयू प्रतिनिधिमण्डलका प्रमुख राजदूत एन्ड्रियास भोन ब्रान्डले ट्वीट गरेका छन् “तालिबानले अपराधको हिसाब गर्नुपर्छ जुन हामी सबैको बिरूद्ध हमला मानिने छ। यो हमला शान्ति स्थापना, शान्तिवार्ता आदिका लागि दिईएका सबै आश्वासनहरुको बिरुद्ध छ ।”

युनामाका अनुसार संयुक्त राष्ट्र संघको कम्पाउन्ड रहेको क्षेत्रमा तालिबान र सरकारी सेना बीच भारी लडाईको दृश्य देखिएको थियो ।

अमेरिकाले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानको एक बयानमा उक्त हमलाको “कडा निन्दा” गरेको छ ।

मे महिनाको शुरुदेखि नै अफगानिस्तानमा देशभर हिंसा बढेको छ । अमेरिकाको नेतृत्वमा रहेका विदेशी सेनाको अन्तिम फिर्ता शुरू भएपछि तालिबानले व्यापक आक्रमण शुरू गरेका छन् । अब पस्चिमी मुलुकका सबै सेना फिर्ता भएपछि तालिबानले आक्रमणलाई झनै तिब्र पार्ने आँकलन गरिएको छ ।

तालिबान लडाकूहरुले हेरात प्रान्त लगायत देशभरि दर्जनौं जिल्लाहरु कब्जा गरेका छन् । तिनले इरान र तुर्कमेनिस्तानसँग जोडिएका दुई वटा सीमा पार गर्ने क्षेत्रपनि आफ्नो नियन्त्रणमा लिएका छन् ।

शुक्रवार, तालिबान लडाकु र सरकारी सेनाहरु बिच हेरात शहरको बाहिरी भागका प्रान्तीय राजधानीमा भिडन्त भएको थियो । त्यो भिडन्तले हजारौं परिवारहरुलाई आफ्नो क्षेत्रबाट पलायन हुन बाध्य बनाएको छ । अहिले विद्रोहीहरुले आफ्नो आक्रमण र नियन्त्रणलाई झनै कडा पार्दै लगेका छन् ।

सुलिभानले एक वक्तव्यमा अफ्गान सरकार र तालिबानलाई शान्ति वार्ता पुनः सुरु गर्न आग्रह गर्दै भनेका छन् “अफगानिस्तानमा संयुक्त राष्ट्र संघ एक नागरिक इकाई हो जो शान्ति प्रयासको समर्थनमा छ । सबै अफगानहरुको अधिकारलाई बढावा दिन, मानवीय र विकास सहायता प्रदान गर्नमा केन्द्रित छ ।”

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघको “शान्ति र स्थायित्व प्राप्त गर्ने प्रयासमा अफगानिस्तानको सरकार र जनतालाई सहयोग गर्ने प्रतिबद्धता” दोहोर्याएका छन् ।

लडाकुहरुले आफ्नो आक्रमण विदेशी कूटनीतिज्ञहरुलाई लक्षित नगर्ने बताउँदै आएका छन् । तर उनीहरुले पहिले नै अन्तर्राष्ट्रिय आचार संहिता, नियम कानुनको उल्ल्घंन गरेको भनाई अधिकारीहरुको छ ।

इस्लामवादी कट्टरपन्थीहरुले सन् १९९६ मा काबुललाई नियन्त्रणमा लिई कब्जा गर्दा उनीहरु संयुक्त राष्ट्र संघ परिसरमा प्रवेश गरेर देशका पूर्व नेता नजीबुल्लाह अहमदजईलाई अपहरण गरेका थिए । पछि उनलाई लडाकुहरुले निर्दयतापूर्वक यातना दिएर हत्या गरेका थिए ।

‘जनता त्रसित’

विगत दुई दिनदेखि विद्रोही र सरकारी फौजबिच अफगानिस्तानको तेस्रो घना बासिन्दा भएको तेस्रो ठूलो शहर हेरातको बाहिरी भागमा झडप भैरहेको छ ।

एएफपी समाचार संस्थाका एक संवाददाताका अनुसार तालिबान र अफगान सेनाहरु शुक्रवार शहर र हवाई अड्डा जाने बाटोमा लडाइँ गरिरहेका थिए । स्थानिय बासिन्दाहरुले नजिकैको इन्जिल र गुजारा जिल्लाहरुमा दुइ पक्षबिच झडप भएको बताएका छन् ।

“त्यहाँका मानिसहरु डराएका छन्” गुजाराबाट शहर भागेका अब्दुल रब अन्सारीले भने ।

हेरातमा आश्रय खोज्न पुगेका मोहम्मद अल्लाहयारले भने “लडाई ब्यापकरुपमा भैरहेको छ । तर उनीहरुले अहिलेसम्म गुजारा जिल्ला कब्जा गरेका छैनन् ।”

अफगान सेनाहरु, अनुभवी योद्धा र तालिबान विरोधी कमाण्डर इस्माइल खानको सेना हालैका दिनहरुमा शहर आसपास तैनाथ गरिएको छ ।

खान पहिले सन् १९८० को दशकमा सोभियत कब्जा गर्ने सेनाहरु र त्यसपछि सन् १९९० को दशकमा आफ्नो कट्टर शासनको दौरानमा तालिबानसँग लडेका थिए । उनले विद्रोहीहरुसँग लड्नको लागि उनीहरुले हालको महीनामा गरेको आश्चर्यजनक प्रगतिको सामना गर्ने वाचा गरेका छन् ।

बिहीवारदेखि दक्षिणी प्रान्त हेलमन्द र कान्दाहारमा पनि लडाइँ चलिरहेको छ । हेलमान्डमा तालिबानले बिहीवार प्रान्तीय राजधानी लश्कर गाहमा धेरै दिशाबाट आक्रमण गरेको स्थानीय प्रहरी अधिकारी दाउद शाहले बताए ।

शाहका अनुसार विद्रोहीले प्रहरी चौकीलाई निशाना बनाएका थिए । तर पछि अफगानिस्तानको वायुसेनाले गरेको हवाई हमला पछि उनीहरु पछि हटन बाध्य भएका थिए ।

कन्दाहार प्रान्तमा पछिल्लो २४ घण्टामा भएको झडपमा कम्तीमा ३३ जना घाइते भएको अस्पताल अधिकारीहरुले बताएका छन् ।

एक ट्वीटमा युनामाले मारिएका नागरिकहरुको विश्वसनीय रिपोर्टको हवाला दिँदै कान्दाहार शहर र वरपर बढ्दो हिंसाको बारेमा चिन्ता व्यक्त गरेको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक