बिहीबार, चैत १५, २०८०

कमरेड ‘जय नेपाल’

सरोज बराल २०७८ साउन १६ गते १३:११

सामान्यत: हामीहरु एकअर्कालाई भेट्दा हाम्रो परम्परा अनुसारको अभिवादन गर्ने गर्दछौं । यसरी परम्परागत तबरले गरिने अभिवादन हाम्रो राजनैतिकवृत्तमा बर्जित जत्तिकै छ । कसैले अभिवादन गरेकै आधारमा कुन पार्टीको हो भन्ने जानकारी हुने गरेको छ । कसैले “जय नेपाल” भन्यो भने त्यो काँग्रेस, “लालसलाम” भने त्यो कुनै न कुनै कम्युनिस्ट पार्टीको, जय मधेस वा जय मातृभुमी भन्नेहरु कुनै मधेसवादी दलको, “जय देश” भन्नेहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको भन्ने लाग्दछ ।

मधेसवादीहरुले जय मधेस वा जय मातृभुमी भन्नू भनेको आफ्नो क्षेत्रको जय होस् भनिएको होला । यो सामान्य हो । र नेपालको एउटा मात्र क्षेत्रको जय भनिएको बुझिन्छ । त्यस्तै जय लिम्बुवान भन्ने अभिवादनले पनि नेपालकै एउटा क्षेत्रको प्रतिनिधित्व गर्दछ । त्यस्तै जय देशले कुन देशको प्रतिनिधित्व गर्दछ भन्ने प्रष्ट पार्दैन । समग्र आफ्नो देशको जयकार यस्ता अरुकुनै पार्टीको अभिवादनले प्रतिनिधित्व गर्दैन ।

जुनसुकै पनि कम्युनिस्ट पार्टीका समर्थकहरु एकअर्कालाई भेटघाट हुँदा होस् या कुनै कार्यक्रममा सम्बोधन अन्त्यगर्दा “लाल सलाम” भन्ने गर्दछन् । लाल शब्दको अर्थ रातो र रातो रङ्ग क्रान्तिको रङ भन्ने गरिन्छ । त्यसकारण आफ्नो सहयोद्धा साथीहरुलाई लालसलाम भन्ने गरिएको होला । यो मेरो अनुमान मात्र हो । सलाम भनेको हातलाई खुल्ला गरेर हात निधार नजिकै लगेर गरिने अभिवादन हो । यो सेना, प्रहरीहरु जस्तो तालिमप्राप्त समुहले आफुभन्दा माथिल्लो ओहोदामा रहेका अफिसरहरुलाई अभिवादन गर्न प्रयोग गरिने शब्द हो जसलाई अँग्रेजीमा स्याल्युट भनिन्छ ।

नेपाल प्रहरीले ‘जय नेपाल’ भन्न थाल्नुमा नेपाली कांग्रेसकै प्रभाव परेको जस्तो लाग्छ । २००७ को क्रान्ती पछि नेपाली कांग्रेसको मुक्तिसेना र केही राणाहरु संलग्न भएर नेपाल प्रहरीको स्थापना भएको रहेछ ।

तर मैले देखेको छु, कम्युनिस्टहरुले मुठ्ठी उचालेर लालसलाम भन्ने गरेको ? किन होला ? हुन त म आफैपनि कम्युनिस्ट समर्थक भएर हिंडें, यो पार्टीको सदस्य नबने पनि । तर कहिल्यै लालसलाम भनेको सम्झना छैन । हात जोडेर नमस्कार वा अभिवादन भन्ने गरेको सम्झना छ । मलाई लालसलाम भन्न कहिल्यै रहर लागेन । संकोच नै लाग्ने गर्दथ्यो । एकैछिन सम्झनुस् त, मुठ्ठी अर्थात मुड्की उचालेर सलामको अभिवादन कत्तिको सुहाउँछ होला ? अर्को कसैलाई कुट्न मुड्की उठाएको जस्तो लाग्दैन र ?

नेपाली कांग्रेसका मानिसहरुले ‘जय नेपाल’ भनेको सुन्नुभन्दा पहिले नेपाल प्रहरीले अफिसरहरुलाई सलाम गर्दा जय नेपाल भन्ने गरेको सुनेको थिएँ । पछि नेपाली कांग्रेसका मानिसहरुले एकआपसमा अभिवादन गर्दा जय नेपाल भन्ने गरेको सुन्न थालियो । प्रहरीले जस्तै ‘के जय नेपाल भनेको होला’ जस्तो लाग्दथ्यो । तर बुझ्दै जाँदा नेपालको हित होस्, भलो होस् भनेर पो जय नेपाल भन्ने गरेको रहेछ भन्ने थाहा भयो । देशको सच्चा सपुतले जय नेपाल भन्नू साँच्चै सुहाउँदिलो अभिवादन रहेछ भन्ने लाग्न थाल्यो ।

नेपाली काँग्रेसले जय नेपाल शब्दले अभिवादन गर्ने भएपनि उनीहरूको शासन कालमा नेपालको जय हुने कुनै कामहरु भएजस्तो त लाग्दैन । व्यक्तिगद जय हुने कामहरु भए । संस्थागत भ्रष्टाचारको शुरुवात नेपाली काँग्रेसले नै शुरु गर्‍यो । तर पनि नेपालको जय होस् भन्ने शब्दलाई उसले छोडेन र अरुलाई सुनाइ रह्यो । अब हामी सबैले नै नेपालको जय होस् भन्न किन नसक्ने ?

नेपाल प्रहरीले ‘जय नेपाल’ भन्न थाल्नुमा नेपाली कांग्रेसकै प्रभाव परेको जस्तो लाग्छ । २००७ को क्रान्ती पछि नेपाली कांग्रेसको मुक्तिसेना र केही राणाहरु संलग्न भएर नेपाल प्रहरीको स्थापना भएको रहेछ । तोरण शम्सेर पहिलो आइजिपी भए पनि उनी एक महिना पनि आइजिपी रहेनन् । नरशम्सेर आइजिपी भएपनि दोश्रो बरियतामा रहेका ज्ञानबहादुर याक्थुम्बा (जि.बि. याक्थुम्बा) जो मुक्तिसेनाको कमाण्डर पनि थिए । उनैको प्रभावले पनि होला ।

भारत स्वतन्त्र भएपछि भारतिय नेताहरुले जय हिन्द भन्ने गरेको पाइन्छ । भारतको स्वतन्त्रता संग्राममा सहभागी भएका नेपाली कांग्रेसका योद्धाहरुले नेपालको सम्बन्धमा जय नेपाल भन्नू आश्चर्य पनि भएन ।

नेपाल राजनैतिक दलहरूमा चल्तीमा रहेका केही अभिवादन गर्ने शब्दहरु जय नेपाल, लाल सलाम, जय मातृभुमी, जय देश । यस्तो लाग्छ यहाँ अभिवादनका लागि पनि गाईजात्रा छ । अझ जय लिम्बुवान, जय मधेस, जय मगरात जस्ता पनि सुन्न पाइन्छ ।

नेपाली कांग्रेसले भन्ने गरेको ‘जय नेपाल’ शब्दको शुरुवात सबैभन्दा पहिले नेपाल प्रजा परिषदका नेता जो पछि १९९७ को असफल विद्रोहपछि राणा सरकारले मृत्युदण्ड दिएका सहिद शुक्रराज शास्त्रीले प्रयोग गरेका थिए । त्यसकारण सबैले बुझ्नुपर्छ यो नेपाली कांग्रेसको पेवा शब्द होइन । नेपालको पहिलो राजनैतिक पार्टीका सदस्य र नेपालको सहिदबाट शुरु गरिएको अभिवादन “जय नेपाल” सबैको लागि सुहाउँदो अभिवादन हो ।

एक अर्को पार्टीको अभिवादन गरिने शब्द अरुले उच्चारण गर्नै नहुने र गरेमा आफू त्यही पार्टीको भइने जस्तो गरिन्छ आजकाल हाम्रो नेपालमा । नेपाल राजनैतिक दलहरूमा चल्तीमा रहेका केही अभिवादन गर्ने शब्दहरु जय नेपाल, लाल सलाम, जय मातृभुमी, जय देश । यस्तो लाग्छ यहाँ अभिवादनका लागि पनि गाईजात्रा छ । अझ जय लिम्बुवान, जय मधेस, जय मगरात जस्ता पनि सुन्न पाइन्छ । लिम्बुवान, मगरात, मधेस जस्ता क्षेत्रहरु नेपालकै अविभाज्य क्षेत्रहरु हुन् । यसलाई आत्मसात गरेर भारतमा भारतियहरुले जय हिन्द भनेजस्तै सबै नेपालीहरुले एउटै अभिवादन किन नगर्ने ? त्यसका लागि जय नेपाल जस्तो सबै नेपालीका लागि मिल्ने अभिवादन अर्को पक्कै छैन ।

अब सबै राजनैतिक दलहरुको गोलमेच सम्मेलन गरिकन सबैलाई सहज हुनेगरी र कुनै एकदलको मात्र पेवा जस्तो “जय नेपाल” लाई सिमित नराखौं । यसलाई सबैले अझ सरकारी र राजनैतिक सम्बोधनमा प्रयोग गरिने अभिवादन नै जय नेपाल किन नबनाउने ?

साथीहरु जय नेपाल, मित्रों जय नेपाल, कमरेड जय नेपाल भन्ने गर्न हामी नसक्ने ? यस कुरामा हामी सबैले सहमती जनाए कसो होला ? आआफ्नो परम्परा अनुसार अभिवादन गर्दा नमस्कार, आदाव, ज्वजोलोप्पा, सेवारो, फ्याफुल्ला जस्ता शब्दहरु छँदैछन् नि । राजनैतिक अभिवादन गर्न जय नेपाल र सरकारी अभिभावदन गर्न जय नेपाल बाहेक अरु कुनै उपयुक्त छ भने त्यसको पनि खोजी गरौं र त्यसलाई सर्वस्विकार्य बनाउँ ।

एउटा भारतीयले हामी संलग्न भएको कार्यक्रममा जय हिन्द भन्छ शानले । तर त्यहाँ हामी त्यस्तै शानले ‘जय नेपाल’ भन्न किन सक्दैनौं ? संयुक्त राष्ट्र संघमा भारतीय प्रतिनिधिले ‘जय हिन्द’ भन्न सक्छ, हामीले ‘जय नेपाल’ भन्न किन नसकेको ?

तपाइँको प्रतिक्रिया

फेसबुक