शनिबार, असोज २, २०७८

रोसीका हजार छाल

युवराज नयाँघरे२०७८ साउन १७ गते ०:०९

वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा ! विचित्र हुन्छ कहिलेकाँही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला—अचम्मैले घुमघाम गर्न पुगिन्छ ।

हो, २०६८ सालको पहिलो दिन रोसी किनारमा थिएँ म । वर्षौं नभेटिएका मित्र पदमराज जोशीले एकाबिहानै खबर गरे, आज भकुन्डेबेसीबाट तल ओर्लनै पर्छ ।

धेरै अघिदेखि त्यतातिर जान पाए हुन्थ्यो भनेर मनले बुरुकबुरुक गरिरहेको बेलामा जोशीको खबरले खरबारीमा आगो लाएजस्तो भइहाल्यो । सोचीसम्झनतिर समय लगाइनँ । घरायसी झ्याउलातिर अल्मलिनँ । अनि म कुम्लो बोकेर झटारिएथेँ त्यता ।

दिउँसोको मधुरो घाम, चिसो सिर्सिर । पातलो तुँवालो फैलेको थियो फाँटभरि । भर्खरै बनिरहेको र बेतोडले हुर्दुराइरहेको बाटो दगुरिरहेथ्यो बर्दिबास पुग्न । त्यस वरपरका हुनसम्म चर्केर किनबेच भएका जग्गामा उभिइरहेका मान्छेका उदास अनुहार भेटिन्थे खुबैखुबै । कुन बेलाका घुन, यो बेला भइरहेथे नम्बरी सुन—यी बारीका पाटा ।

पुग्नु थियो कात्तिकेमुनिको मङ्गलटार । ‘बिस्तारै जाऔँ । घुमीघुमी पुगौँ !’ मैले भनेँ ।

हतारिएर पुग्दा खुट्टा मात्र पुग्लान्, पुग्दैन मन त । मनले नटेकेको ठाउँ, के ठाउँ ! के पुगाइ, के बुझाइ ! के हेराइ, के देखाइ !

‘कुनै समय दशौँ जनालाई जङ्गली तन्नेरीका तुजुगले एकै चिहान पारेथे !’ हामीसँगै चिया सुर्काइरहेका केदार आचार्यले सुनाए द्वन्द्वका पीरा कथा । उनीसँग घर व्यवहारका कुरा भए धेरैधेरै । बन्दुकका चेपुवामा परेका अरु निकै धुकधुकी थिए त्यहाँ ।

‘आँगनमा सुकाएका बदाम खाँदा भाउजूले वचन लाइथिन् । त्यै बेलादेखि मैले इख लिएँ र अगाडि बढेँ !’

एक माउको दूधबाट व्यवसाय सुरु गरेर अहिले करोडौँको धन यसमै आर्जन गरिरहेका आचार्यले भने—‘दुःख अहिले नि छ । त्यो बेला, अंश पाइयो सगोलको घर । भाग पर्‍यो ठूलो खँड्कुलो । अब त्यसमा कसरी पकाउनु, लोग्नेस्वास्नीलाई मात्र ?’

कहालिलाग्दो जीवनका खुइ्यय सुनिरहेछु । अनि हामी सडकसामु ठडिएका उनका घर हेर्दै ओरालो लागेथ्यौँ । खुल्ला आकाशमुनि रमाइरहेथ्यो भकुन्डेबेसी । वीपी राजमार्ग हुइँकिरहेथ्यो रोसी भेट्न तलतल । फाँट, खोँच, खरिखुन्नै डाँडाहरु र चारै दिशा ठडिएका थुम्काहरुले मन तानिरहेथे, आँखा लोभिइरहेथे र खुट्टा जमजमाइरहेथे ।

वनपाखा सुक्खा भएर के भो, तिनका हृदय फुलेका थिए लछप्पै । भीरकान्ला उराठ भएर के भो, तिनका मन मगमगिएका थिए हुनसम्म । खोँच र थुम्का सुनसान भएर के भो, तिनका आँखामा भरिभराउ थियो जीवनको महक ।

चौकीडाँडा, कटुन्जेपछि थकाइ मार्‍यौँ लासकोटमा । भेट भयो रोसीसँग । कल्कलाइरहेको रोसी खोला सङ्लो पानी वरिपरिका थुम्कामा थिए गहुँका लहलह । गरैपिच्छेका बालीले बुट्टैबुट्टा सजाउँथे, चित्रजस्ता । हरियो देखेर मनै भयो हरियो ।

सडकछेउ भेटिएका सार्कीमान तामाङसँग केही शब्दका अर्थ सिकेँ मैले । ‘मामा अर्थात् आस्याङ । माइजू अर्थात् आङी । म्हेन्दो भनेको फूल । रो भनेको साथी ।’  सार्कीमानले सिकाएका अरु शब्द टिप्न सकिनँ ।

रोसीको कलकलले सङ्लियो मन । साना, रहरलाग्दा छाल थिए रोसीभरि । कञ्चन खोलो पहाडी पिँध भएर तराईतिर वेगवान् थियो एकोहोरो । खोलामा सङ्लो पानी थियो । त्यो सङ्लोले छेउछाउमा उमारेछ हरियोपरियो । पानीको रसिलो र मलिलो तह देखियो मज्जाले ।

चारसेफाँट नाँघेर पुग्यौँ गिम्दी । दुबैतिर थिए एकोहोरो उराठलाग्दा डाँडाहरु । पातला बस्ती परेलीसँग ठोक्किएर बेपत्तिन्थे । डाँडा र चेपको चुम्बन थियो निकै चर्को । आकाशको गिज्ज्याइजस्तो, धर्तीको लोप्पा खुवाइजस्तो—वरपरका थुम्कामा एक बुट्यान देखिन्न्थ्यो । कुनै बिरुवाको एकथोपा छाँयासम्म सल्बलाएको थिएन । अँह, थिएन ।

मास्तिरको नीलो आकाशको सुन्दरताले तान्थ्यो मन पटकपटक । नीलाम्मे सगरको भित्री दहमा मन त छप्लाङछुप्लुङ ।

‘पहिलापहिला यो ठाउँले खुबै बदनामी कमाएथ्यो ।’
‘कसरी ?’
‘साहूले आसामीसँग रिन तिर्न भन्दा—पख न, छोराले रोसी कुरेर लुक्न सकोस् भन्थे रे !’
‘मतलब ?’
‘ओखलढुङ्गा, रामेछाप, सिन्धुली, धनकुटा, सोलुखुम्बु जाने पुरानो बाटो यै हो । अनि लुटमार खुबै हुन्थ्यो रे यता ।’
‘अनि ?’
‘अनि लुटेराहरु लैनो कि बर्केनो भन्थे रे !’
‘ए, ए !’
‘लुकेर बसेकाहरुले लैनो–लैनो भनेपछि ढुकेर बसेकाले लुट्थे रे !’ पुराना हैरानीका कुरा सुन्दै त्यै बाटो गइरहेछौँ हामी । नार्के पुगिएछ । घामले दिनभरि फैलाएका पखेटा खुम्चाएछ सरक्क । खोँचमा थुप्रिएको अँध्यारो बामे सर्दै बाहिरिन थाल्यो सुस्तरी…..सुस्तरी ।

मैले वरिपरिका सुक्खा डाँडाहरु हेरेँ । ‘यतिखेर क्यै नभए नि अलिकपछि सत्ती बयरका घारी उम्रिन्छन् यी पाखामा !’ सार्कीमानले अघि भनेको सम्झेँ ।

तलबाट अथाह पहाडी नदी मिसिएर निकै रसमय र ऊर्जामय भएर गइरहेछ रोसी । कुलुकुलु बगिरहेका त्यसका किनारमा लहलह हरिया चारपाँच पाते मकैले सिँगारिएको छ धर्ती ।

‘उभिएर, यो हरियाली आँखालाई पिउन दिने कि ?’
‘भइहाल्छ नि !’ मेरो प्रस्ताव माने जोशीले ।

कलकल नदी । चकमन्न डाँडाहरु । चुपचाप खेतहरु । ठिङ्ग रुखपात । शान्त आकाश । बिघ्न बिनाका दुई रात । अशान्त मन थिए रोसी किनारका । मान्छेका मन थिए शान्त ।

हामी पिन्थलीदेखि चिउरीबाससम्म लम्क्यौँ बिस्तारै । बेलुका ज्यान बिसाउन मात्र पुग्नु थियो । क्यै थिएन अरु बित्तो । बाटबाटामा रुखका बुट्यान, ढिस्काढिस्की, ढुङ्गाका थुप्रामा युवायुवतीका जोडी देखिन्थे निकै । वनपाखा सुक्खा भएर के भो, तिनका हृदय फुलेका थिए लछप्पै । भीरकान्ला उराठ भएर के भो, तिनका मन मगमगिएका थिए हुनसम्म । खोँच र थुम्का सुनसान भएर के भो, तिनका आँखामा भरिभराउ थियो जीवनको महक ।

चिउरीबासमा भेटिए कामीसिङ । उनी आफ्ना ‘रो’ हरुसँग भन्दै थिए—‘छोराहरुलाई सम्झाएर आएको बेँसीबाट । अर्काको खेतमा धान हरियो हुँदा आफ्नो पनि खेत हरियै हुनुपर्छ । अर्काको घरमा गाई हुँदा आफ्नो घरमा पनि घिउ नटुटेकै जाती । यो त गाउँको परम्परा हो । यो थिती रहिरहे, दुःख हुँदैन । यो विधि नमान्दा दुःखले घर घेर्छ !’ ठूलो शिक्षा थियो मेरा लागि पनि यो ।

झमक्क साँझमा पुग्यौँ मङ्गलटार । म वरपर ठडिएर बसेका डाँडाहरुसँग भोलिको उज्यालोमा बातचित मार्न पसारिएँ छिट्टै । चिसोचिसो रात थियो । वरिपरिका डाँडा र खोँचमा अनेक खालका चराले फन्को मार्थे, आवाज उराल्थे र पखेटा फटफटाउँथे ।

रातभरि सुसाइरह्यो रोसी । उसको अविराम स्वाँऽऽऽ ले मन सबै धोइयो मेरो । उसको कलकलले मेरा छातीमा थिग्रिएका फोहोर बगायो । उसको सङ्गीतले मेरा कानमा थुप्रिएका कसरमसर बढारेर लग्यो सिनित्तै ।

उत्ताउली छैन रोसी । नखर्माउली छैन रोसी । झर्कलीफर्कली बानी चैँ उसमा छ रे धेरथोर !

आवाजको उपचार गरेँ मैले । साँझ, मध्य रात, झिसमिसे बिहान, मध्य दिन—सबै खाले समयमा रोसी हेरेँ, पढेँ र उसका गतिपति निहालेँ । परिवर्तन, दर्शन र ज्ञानका तहतहमा उभ्याउन सकेँ आफूलाई ।

दुई गते बिहानै हामी उक्लियौँ कात्तिकेतिर । बाटामा मङ्गल जनविजय उच्च माध्यमिक विद्यालयको चकमन्न चौर थियो । खहरे खोलाले जताततै बनाएका बाटा, बगर र बालुवाका रास नाघी पसिना बगायौँ हामीले ।

घामले वरपरका चुलीहरु मनोयोगले पुछपाछ गरिरहेथ्यो । गहुँ फलिरहेका तरेली खेतमा देखिन्थ्यो रङको नौलो थपथाप । उत्तरभन्दा दक्षिणतिरका डाँडाहरु देखिन्थे केही हरियापरिया । परपरका बस्तीमा देखिन्थ्यो जीवनको सिलिङबिलिङ ।

मैले पारिको कालधारा डाँडा हेर्दै सोधेँ—‘यताको जिन्दगी के कस्तो छ ?’
‘अभाव बढ्ता छ, राजनीति सबभन्दा सम्पन्न छ !’
‘ओहो !’
‘शिक्षा बामे सर्दै छ । विकाश मरणासन्न छ !’
‘च्व,च्व !’

सिलिङबिलिङ रुखपातले वन मन्त्रालय, वन मन्त्री, वन रक्षक र वनजङ्गललाई पारिरहेथे उल्लीबिल्ली । एकाध चिउरी, जामुन र काफलका झ्याम्म रुखले तिनको इज्जत जोगाइरहेथे ।

थुम्काथुम्कामा केही छरछार भएका बस्तीको गरीबी र दुखाइ आउँछन् मेरा आँखासम्म । तिनका चोट पढ्न खोजिरहेको छु म ।

अघि बाटामा तेल पिँध्न गएकी तामाङ्नीलाई मैले सोधेथेँ—‘आङी, कतिखेर घर फिर्नु हुन्छ?’
‘आधा दिन जान, आधा दिन आउँन !’
अनि यो तोरी बेची तेल किने हुन्न र ?’
‘हामी खाट्टी खान्छम्, खाट्टी बाच्छम् सार !’
उसले ‘सर’ लाई सार भनेकी थिई ।

यतातिर तामाङहरुको बसोबास छ बढ्ता । यो सरल र हार्दिक जातिलाई राजनीतिका पुङमाङे कुराले खुब रगत तताएको रै’छ आजभोलि । गाउँका सरस ओठमा पनि घोकाइएका र जबरजस्ती लादिएका शब्दले राम्रै ठाउँ पाएको बेस्सरी पाइरहेको थिएँ म । निकै खल्बलिएछ समाज त ।

उकालो, तर्पे र समथर भएर पुगियो—थाक्ले पाखो । सिलिङबिलिङ रुखपातले वन मन्त्रालय, वन मन्त्री, वन रक्षक र वनजङ्गललाई पारिरहेथे उल्लीबिल्ली । एकाध चिउरी, जामुन र काफलका झ्याम्म रुखले तिनको इज्जत जोगाइरहेथे । नत्र पुरै डाँडो थियो, ठुटैठुटाले भरिभराउ ।

अघिल्लो दिन साँझमा भुवन थापा मगरसँग जिन्दगीका निकै आँत खोलियो । तीन दशकभन्दा बढी समय दुनियाँलाई पढाएर पनि आफ्नो जीवनबारे पढ्न नसकेका थापाले भनेथे—‘घुँडे चुली, भुमे चुली, थाप्ले चुली, कलोन चुली, बजरदेउ चुली यताका विख्यात चुली परे ।’

‘यी चुली छेउछाउको जनजीवन, कृषि, व्यवसाय र संस्कृति विचित्र–विचित्रको छ !’ उनले तीस वर्षदेखि पढ्न नसकेको सभ्यतालाई बाह्रचौध घन्टामा म कसरी पढूँला !

उकालैमा थियो विन्ध्यावासिनी प्राथमिक विध्यालय । चौरमा केही कराँते, जुडो खेलिरहेका तरुनातरुनी इँटा, ढुङ्गा फोर्दै जवानी बलियो पारिरहेका थिए । उता तल रोसी तीरका बस्तीमा हाँसो व्यायाम गरेर सिङ्गै बिहान पारिरहेथे खलबल । जेहोस्, तन र मन सबै स्वस्थ पार्न जुटिरहेथे । गाउँमा नयाँ गतिशीलता भेटेँ मैले । दिनभरि वरपर डुल्दै बिताइयो ।

काल्ढुङ्गाबाट आएका एक हुल युवती पात टिपेर डोका थाप्लामा लिई आइरहेथे—‘ए म्हेन्दो, कसका लागि यो पात ?’
‘साथीको बिहेका लागि टपरी चाहियो नि ! पात लिएर आ’का !’
‘आफ्ना लागि पो खोज्नुपर्ने ?’
‘तपैँलाई थाहा रै’न छ । आफ्ना लागि अर्काले गर्छन्, अर्काका लागि आफूले गर्नुपर्छ नि !’
‘हो र ?’
‘लोग्ने चाहियो भनेर आइमाईले निधारमा लेखेर हिँडेको देखेको छ, सार ?’
‘त्यो त छैन !’
‘बाआमाले त्यो बुझेर खोजिदिन्छन् !’

हल्लहल्ल हाँस्तै ती उक्लिए वाल्टिङतिर । गाउँबाट आएका ती सरल युवतीमा कुनै बनिबनाउ जीवन छैन । छ त हार्दिकता छ, सरसता छ, निष्कपटता छ । कात्तिकेमुनिको हाँसोले वरपरका चुली फड्किए ।

साँझमा फेरि बरालिएँ रोसीछेउका खेततिर । भोलिपल्ट लाक्पाल गाउँतिर एकाबिहानै उक्ल्यौँ पदमराज र म । ढुङ्गेनी उकालोले पसिनै छुटायो । पूर्वतिर वेगिइरहेको रोसीको सुन्दरता टाँसिन्थ्यो आँखामा । उत्तरतिरका बाँदर चिप्लिने भीर थिए । तिनै भीरमा नि मान्छेका घर हजारौँ वर्षदेखि रहिरहेकै देखिन्थे । सयौँ वर्षदेखि जीवनले दाँती र मुङ्ग्री गरिरहेथ्यो यो आपट्टे भीरमा । टुप्पोमा बनेका झुप्राको शान कति हो कति !

पानी नभएर खेत, पाखा र गरा थिए उराठलाग्दा । काम गर्ने तरुनीहरु सहर पसेथे । पाखुरा बजार्ने तरुनाहरु विदेश लर्किसकेथे । बस्तीमा थिए त ससाना केटाकेटी र ओछ्यान परेका बूढीहरु । अनि काल कुरेका बूढाहरु ।

मैले गुम्बाछेउ फिरफिराइरहेका कपडाका ध्वजा हेर्दै भनेँ—‘आम्दानी त खेतीपाती मात्रै होला है, यताको ?’
‘हो, आकाशे खेती !’
‘अझ, अल्छीले घर गरेको छ यता । धेरै बस्तीमा साग रोपिन्न, फलपूम्ल भेटिन्न !’
‘कोदो, फापर, राजमा, बोडी उमार्‍यो । आलु उमार्न चैँ बिर्सदैँनन् । हो, गाईबस्तु भने मज्जाले पाल्छन् !’ यी सबै बेहोरा सुनाए मित्रले ।

मैले गरीबी, दुःख, अभाव र समस्याले बेस्सरी पैताला फुटाएका अनुहार एक पटक उभ्याए मनमा । देशभरि धेरै ठाउँमा ती ओठ र परेली थिए नै । अहिले झन् खिइएका र पुर्लुक्क ढल्न आँटेका ज्यानका लस्कर देखिए ।

तामाङहरु ‘वाला’ भन्दा रहेछन् युवा, तन्नेरीलाई । केटाहरु जसलाई पनि डाक्नुपर्दा भनिहाल्थे, वाला । मलाई मीठो लाग्यो सम्बोधन ।

एउटा किशोर झोलामा भेला पार्दै थियो सालको चोप ।
‘यसको के काम, वाला ?’ मैले सोधेँ ।
‘धामीले भन्या, यसको धुप हाले मेरी स्वास्नीले बच्चा सजिलै पाउँछे रे !’ उसले मतिर हेर्दै नहेरी भन्यो ।

लौ, अन्धविश्वासको योभन्दा अन्तिम उदाहरण के हुन सक्छ ? देशले शिक्षामा लगाएको करोडौँको रकमको उपहास थियो यो । देशले चेतनामा लगाएको अर्बौं रकमको हाँसो थियो । देशले सूचनामा लगाएको खरबौं रकमको गिल्ला थियो यो ।

जिउँका तिउँ थियो अज्ञानता यो पाखामा । थाक्ले थुम्काबाट मास्तिर हेर्दा देखिन्थे छाप र वाल्टिङ ।

थापाले भनेकै सम्झेँ मैले—‘मङ्गलटार, छाप र वाल्टिङका घरानियाँले चल्यो । अहिले यी आफ्नै गोठका गोरुले हानेर ढलेका हलीजस्ता भएका छन् ।’

समयलाई नचिन्नुको पीडा रोसी वरपर पनि रै’छ । मैले यसरी नै बुझेँ ।
‘आस्याङ, खेत खन्दै ?’ गुम्बा तलका एक बूढालाई मैले सोधेँ ।
‘के फल्छ र ? माटाका डल्ला चिम्टोदै, खाँदै !’ नैराश्य बोले तिनले ।

पानी नभएर खेत, पाखा र गरा थिए उराठलाग्दा । काम गर्ने तरुनीहरु सहर पसेथे । पाखुरा बजार्ने तरुनाहरु विदेश लर्किसकेथे । बस्तीमा थिए त ससाना केटाकेटी र ओछ्यान परेका बूढीहरु । अनि काल कुरेका बूढाहरु ।

मैले रोसीको सुन्दरता निकै निहालेँ । सुनकोसी र रोसीको माझमा अभिशप्त जीवन बाँचिरहेको तिमाल थुम्का पनि हेरें । सधैंको काकाकुल जीवन बाँच्न सकिन्छ कसरी ? तिमाल डाँडामा पानीका लागि घन्टौँ समय खर्चने आइमाईहरु पनि भेटेँ ।

आँखाका परेली समेत सेतै फुलेकी एउटी वृद्दाले सिलाबरे गाग्री किन्दै गरेकी थिइन् ।
उनले आफ्नो खड्कुलो मासेर दुईवटा गाग्री किन्दै बोलेको सुनेँ—‘यो थोत्री नसक्दै, अर्को मास्ने सम्पत्ति खोजिहाल्नु पर्छ !’

कुरो रहेछ यस्तो— पानीको धेरै दुःख हुने तिमालमा चाँडचाँडै कुँच्चिदा रहेछन् । अनि आफ्ना गोडधुवाका सामान मास्दै आइमाईहरुले खरिद गर्दा रहेछन् गाग्री । यी वृद्दासँग सबै सिद्दिइयो रे—माइतीले दिएका गोडधुवाका सामानहरु !

दुई दिनभरि रोसीवरपर घुमेँ म । आधा कमेरो र आधा रातमाटेले लिपेर सजाइएका घर हेर्दै मनको घर हेर्दै मनको चकमन्नता भत्काउँथेँ म । घर अगिल्तिरका आँगनमा भएका मकैका सुली हेर्दै आँखामा सन्तोष भर्थें म ।

हाँसो पोखियो बेस्सरी । गाउँको हाँसोमा त्यति धेरै राजनीतिको भाला, खुँडा र तरबार भित्रिइसकेको थिएन ।

रोसीको कलकल कुदिरहेथ्यो, वेगिइरहेथ्यो, हेलिइरहेथ्यो । किन यी डाँडाहरुमा रुख नरोपिएको होला ? किन नाङ्गा डाँडालाई हामी मृत्योन्मुख बनाइरहेछौँ ? किन यी पाखाहरु झन् उराठलाग्दा बनाइरहेछौँ ? मैले अरुसँग सोध्ने साहस गरिनँ । केवल प्रश्न थियो आफैंमा ।

घामले आफ्नो शक्ति लगाएर यी डाँडाहरुका चट्टान बालुवा बनाइरहेथ्यो, बालुवालाई पर–पर उडाइरहेथ्यो । अनि जीवनमा सङ्कटको रातो बत्ती बलिरहेथ्यो । धुलिसात् ……..धुलाम्मे……धुलो……हुँदै थियो जीवन !

एक बिहान कात्तिकेमुनि चिया खान बसियो ।
‘चिया खाउँ है त !’
‘हवस् !’

निकै बेरसम्म चिया आएन । एकदमै कडा खार आयो, खुर्सानी भुटेको । आँखा पोले । नाक रसाए । धावा बोल्यो पटकपटक हाच्छ्यिुँले ।
‘चिया भुटेको हो कि, रो ?’ एकजना तामाङ बूढाले भने ।
पसल्नीले थामथुम पारिन्—‘त्यत्तिकै खाको चिया, के चिया !’
उनले खाना र चिया एकसाथ पकाउन थालेको देखियो । हाँसो पोखियो बेस्सरी । गाउँको हाँसोमा त्यति धेरै राजनीतिको भाला, खुँडा र तरबार भित्रिइसकेको थिएन ।

मैले अघिल्लै दिन कात्तिकेको थुम्कोबाट सिन्धुली, काभ्रे र रामेछापका अरु गाउँ निहालेको थिएँ । एकलासका ती गाउँमा अल्मलिएको धमिलो खुशी देखिन्थ्यो कताकति !

इतिहास, समय र देशमा यी ठाउँले आफूलाई उभ्याएका छन् कतैकतै । धर्तीका यी फग्लेटाले नेपाली मनका कुनै कुनाकाप्चामा आफूलाई दगुराएका छन् । शासनका कुनै आवाजमा आफूलाई टेकाएका छन् यी ठाउँहरुले ।

म फेरि रोसीका कलकलमा मन धुन्छु । एकोहोरो सुलुलु गइरहेथ्यो राजमार्ग । एकनासले बगिरहेथ्यो रोसीको रसिलो पानी । हावा, पानी, घाम र खेतको चिनाजानी हो पुरानो । यी एकालाप भएर बटारिएका देखिन्थे रोसीका किनारमा ।

कलकल नदी । चकमन्न डाँडाहरु । चुपचाप खेतहरु । ठिङ्ग रुखपात । शान्त आकाश । बिघ्न बिनाका दुई रात । अशान्त मन थिए रोसी किनारका । मान्छेका मन थिए शान्त ।

तीन दिन बसेर चौथो दिनको मध्यान्हमा बिदा भएँ म मङ्गलटारबाट । झोलाभरि राजमा बोडी कोचेर जोशीले भनेका थिए—‘तपाईंको मन त अघायो होला, घरका साना नानीहरु त त्यो मनबाट सन्तुष्ट हुँदैनन् नि !’

हो, मलाई तिनले राम्रै पढेको मानेँ । मेरा छातीभरि पहाडी रोसी उत्ताउलिएर छङछङाइरहेथ्यो, सल्बलाइरहेथ्यो र गडगडाइरहेथ्यो । छालमा धोइएको मन बोकेर फर्किएँ म ।
रोसी बगिरहेछ मेरो नसाभरि !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक