मंगलबार, चैत ६, २०८०

फ्रान्समा कोरोनाको स्थिति ‘नाजुक र अनिस्चित’, अस्पताल भर्ना हुनेको संख्या बढेको बढ्यै

नेपालप्लस संवाददाता / पेरिस२०७८ साउन १८ गते २१:५३

फ्रान्समा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या बढ्दै जाँदा स्थिति ‘नाजुक र अनिश्चित’ बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । फ्रँस २४ न्युजका अनुसार कोरोना भाईरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेहरुको संख्या फेरि बढ्दै गएको छ ।

अस्पतालमा भर्ना भएका कोरोना भाईरस संक्रमित बिरामी र गम्भिर अवस्थाको उपचार कक्ष (क्रिटिकल केयर) मा रहेका बिरामीहरुको संख्या आइतबार अस्पतालमा ७, ५०० भन्दा बढी पुगेको छ । यो अवस्थाले फ्रान्समा कोरोना भाईरसको अवस्था गम्भिर देखिएको भनाई स्वास्थ्य अधिकारीहरुको छ ।

कोरोना भाईरसको डेल्टा भेरियन्ट (भारतीय उत्परिवर्तित भनेर पहिलेदेखि चिनिएको) फैलिने क्रम जारी रहेपछि फ्रान्सका अस्पतालहरुमा दबाब बढिरहेको छ ।

स्वास्थ्य अधिकारीहरुको रिपोर्ट अनुसार आइतबार (अगस्त १) मा अस्पतालमा ७,५८१ बिरामीहरु भर्ना थिए ।

फ्रान्सको सामाजिक सेवा विभागको आँकडा अनुसार आइतवार २४ घण्टामा ३१२ नयाँ विरामी अस्पताल भर्ना भएका छन् ।

यस सप्ताहन्तमा वेस्ट फ्रान्स मेडियासित भएको एक साक्षात्कारमा स्वास्थ्य मन्त्री ओलिभियर भेरँले स्थिति धेरै नाजुक र अनिश्चित रहेको बताएका थिए ।

अस्पतालमा कोविड बिरामीहरुको संख्या शनिबार ७,४०९ थियो र गत आइतबार ६,८४३ थियो।

सबैभन्दा गम्भीर बिरामीहरुलाई भर्ना गरिने क्रिटिकल केयर सेवाहरूमा पनि ब्यापक बृद्धि भैरहेको छ । आइतवार ति कक्षमा १,१३७ बिरामीहरु थिए । २४ घण्टामा ६९ बिरामी भर्ना भएका थिए । तर शनिवार १,०९९ जना थिए भने त्यसभन्दा अघिल्लो हप्ता अस्पताल भर्ना हुनेको संख्या ८८६ थियो । यसले फ्रान्समा कोरोनाका बिरामीहरु हप्तै पिच्छे बढ्दै गएको देखाउँछ ।

फ्रान्सको सार्वजनिक स्वास्थ्य सेवा बिभागका अनुसार आइतवार संक्रमितको संख्या १९ हजार ६ सय थियो । शनिवार भने २३ हजार चार सय ७१ थियो । अघिल्लो आइतवार संक्रमितको संख्या १६ हजार एक सय ६७ थियो । तर संक्रमणको दर भने हाल चार दशमलव तिन प्रतिशतले स्थिर रहेको भनाई अधिकारीहरुको छ ।

यस रोगबाट २४ घन्टामा अस्पतालमै १८ जनाको मृत्यु भएको छ । महामारीको शुरुवात पछि अस्पतालमा मृत्यु भएका ८५ हजार चार सय दुई सहित कूल मृतकको संख्या एक लाख ११ हजार नौ सय १६ जना भैसकेको छ ।

खोपको सन्दर्भमा हालसम्म चार करोड २५ लाख ९२ हजार ४७ जनाले कम्तिमा एक मात्रा लगाएका छन् । यो भनेको कुल जनसंख्याको ६३ थोप्लो २ प्रतिशत हो । दोस्रो अर्थात् पूर्ण डोज पाउनेको संख्या ३ करोड ५४ लाख ७२ हजार एक सय ३९ जना छन् । अर्थात् कुल जनसंख्याको ५२ थोप्लो ६ प्रतिशत हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक