शनिबार, वैशाख ८, २०८१

‘नदीमाथिको तुइन काट्ने मोदी’, महाकालीमा डुब्ने देउवा

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन १९ गते ९:३२

तुइनको यो फोटो सांकेतिकरुपमा मात्रै राखिएको हो । फोटो साभार- अनलाईननेपाल डट कम

पुर्ववर्ती ओली सरकारले नेपालको नयाँ नक्शाको घोषणा र चुच्चे नक्साको भूगोल निर्माण गरेकै जिल्ला दार्चुलामा एउटा आततायी र अमानवीय घटना भएको आज ५ दिन भैसकेको छ । गत शुक्रबार (साउन १५) मा भारतीय सुरक्षा निकाय (एसएसबी) ले तुइन काटिदिएपछि महाकालीमा खसेर बेपत्ता ३३ वर्षीय जयसिंह धामीका कारण सिंगो देश ‘स्तब्ध’ छ ।

तैपनि आश्चर्य यो छ कि नेपाल सरकार, सरकारका गृह मन्त्री र परराष्ट्र मन्त्रालय अझै यो विषयमा मौन छ । सोमबार राष्ट्रिय सभामा उभिएर गृह मन्त्री बालकृष्ण खाँडले भन्न भ्याएका छन्— अनुसन्धान जारी छ, सरकार अहिले केही बोल्दैन । अअतर् र्राष्ट्रिय तहमैं ‘फौजदारी अपराध’ सरह मानिने यो भारतीय हेपाहा र मिचाहा प्रवृत्तिका बारेमा त्यही सुदुर पश्चिम भेगलाई प्रतिनिधित्व गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा पनि बोल्न चाहिरहकै छैनन् । सिंगो राज्य पद्धतीलाई लाज लाग्नेगरी ब्यास गाउपालिका–२, मालगाउँका जयसिंह धामीको कुशको शव बनाएर सोमबार अन्तिम संस्कार गरिएपछि पनि सरकार भने भनिरहेकै छ— नेपाल–भारत बीचको सम्बन्धमा खलल पार्ने गरी कुनै प्रकारको समाचार प्रकाशित नगरिदिन अनुरोध छ ।

बरु ब्यास गाउपालिकाकै पदाधिकारी र स्थानीयबासीले भारतीय ज्यादतीबारे बोलिरहेका भएपनि सरकार भने ‘मौनप्राय’ छ । यस्तो अमानबीय घटनामा पनि १० दिनको म्याद राखेर छानविन कमिटि बनाइनु र मृतक जयसिंहका परिवारलाई अझैसम्म क्षतीपुर्ती नदिइनुले देउवा सरकारको बाध्यता स्पष्ट बनेको देखिन्छ ।

मालघाटस्थित घटनास्थल पुगेका व्यास–३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले उक्त घटनाबाट स्थानीयमा त्रास बढेको भन्दै एसएसबीको ज्यादतीबारेमा खुलेरै बोल्न थालिसकेका छन् । बरु जयसिंह धामीका आफन्तले भारत, पिथौरागढको पागला प्रहरी चौकीमा तुइन काट्ने एसएसबीविरुद्ध निवेदन दिएर केही ‘साहसिक’ बन्ने आँट गरेका छन् ।

व्यास गाउँपालिकाका प्रवक्ता धीरन बुढाथोकीले भारतीय सुरक्षा निकायका जिम्मेवार सुरक्षाकर्मीबाट भएको घटनाले मानवअधिकारको ठाडो उल्लंघन भएको जनाउँदै ‘नदी तरिरहेकै बेला तुइन काटेर निर्दोष व्यक्तिको हत्या गरेकाले यो कार्य अन्तर्राष्ट्रिय फौजदारी अपराध भएको’ भनेर सार्वजनिक रुपमा बोल्ने आँट देखाएका छन् ।

ब्यास–१ का एकजना शिक्षकले यो अपराध कुनै एउटा एएसबी वा एउटा नागरिक जयसिंहका बारेमा मात्रै नभएर बरु यो ‘भारतीय प्रधानमन्त्री मोदी र नेपालका समकक्षी देउवा’ बीचको कुरा भएको बताए । ‘सिधै भन्न सक्नुपर्छ— हाम्रो महाकालीमा राखिएको तुइन भारतीय प्रधानमन्त्री मोदीले काटिदिएका हुन्, त्यो तुइनमा पारी तर्न खोज्ने र डुब्ने प्रधानमन्त्री देउवा हुन्’,सुरक्षा खतराकै कारण नाम नखोलीकन ती शिक्षकले नेपालप्लससँग भने ।

काठमाडौं केन्द्रमा भने सरकारले दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरणमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । तर, यो टोली घटना भएको ५ दिन बितिसक्दा पनि दार्चुला पुग्न सकेको छैन । छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

विगतमा यस्ता घटनामा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गर्ने र दिल्लीस्थित नेपाली दूतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षण गराउने चलन थियो । यसपटक दार्चुला र सीमावर्ती भारतीय धार्चुलाका प्रमुख जिल्ला अधिकारीको तहमा मात्रै पत्राचार र संवादमा सीमित भएको छ ।

जयसिंहको मृत्युकै प्रकरणमा नेपाल सरकारसगै दिल्लीमा रहेको दूतावासको अस्तित्व पनि अहिले संकटमा परेको देखिन्छ । दिल्लीस्थित राजदूत निलाम्बर आचार्य ‘भूमिगत’ झैं छन् । न उनी कसैको फोन सम्पर्कमा छन्, न दूतावासले बिज्ञप्ती जारी गर्न सकेको छ । ‘देउवा सरकार बनेको १ महिनामैं सत्ता त्याग गर्नुपर्ने पो हो कि भन्ने भय फैलिएको छ, यसकारण पनि भारतका बिरुद्ध वा भारतसँग बोल्न सक्ने स्थिती देखिएको छैन,’परराष्ट्र मन्त्रालयमा भारत शाखा हेर्ने एकजना अधिकृतले भने—बरु भारतसँगको परनिर्भरता र आत्मसमर्पण कायमैं राख्ने अवस्था देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक