शुक्रबार, चैत १६, २०८०

उपन्यास अंश- यानासँग तीन महिना

खगेन्द्र भट्टराई२०७८ साउन २० गते १८:४३

लेखक खगेन्द्र भट्टराई

‘हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ’ भनेझैँ भयो मेरो जीवनमा । दिउँसोदेखि सुरु भएको काम रातको १२ बजे सकियो । आफ्नो सवारी हुनेहरु आ–आफ्ना बाटा लागे । मेरो भने विहान पाँच बजेको रेल पर्खनु बाहेक कुनै उपाय थिएन । शनिबारको रात थियो । र त्यसदिन म मेलवर्न प्रदर्शनी केन्द्रमा काम गरिरहेको थिएँ ।

‘तिमी कता जाने ?’ यानाले पछाडिबाट सोधी । म भने बिस्तारै गेटतिर जाँदै थिएँ । नजिकैको क्राउन क्यासिनोमा पनि जान सकिन्थ्यो । सहजै रात कट्न सक्थ्यो । तर मेरा वर्किङ बुटसँग क्यासिनोमा छिर्न बर्जित थियो ।

‘म …. म स्टेसनतिर जान्छु । त्यतै घु्म्छु । सायद केही खानुपनि पर्ला । अनि विहानैको रेल समात्छु ।’

‘त्यसोभए हामी डाउनटाउन पवतिर जाने । तिमी जानेभए हिँड ।’ उसले प्रस्ताव राखी । उसँग एडी र म्याथ्यु पनि थिए । म साथ पाउँदा खुसी भएँ र तुरुन्तै भनेँ, ‘ल ल जाऊँ ।’ हो त्यहीँबाट सुरु भए मेरा हजारौँ माइल यात्राका प्रथम पाइला ।

मैले यानासँग काम गरेको धेरै पनि भएको थिएन । म सप्ताहन्तका दुई दिनमात्र प्रदर्शनीसम्बन्धी काम गर्थें र याना पाएसम्म काम गर्थी । ऊ जर्मनीबाट घु्म्न आएकी यात्री थिई । उजस्ता धेरै साथीहरु त्यो कम्पनीमा काम गर्थे । काम गर्ने र पैसा कमाएर घु्म्ने ‘ब्यागप्याकर’ का कथा सुन्दा मेरो मन उ्रत्साहित हुन्थ्यो । तर हामीजस्ता गरिब मुलुकका मानिसलाई वर्क भिसा दिइँदैन । यानासँग भेट भएको दिन नै उसको र मेरो गहिरो मित्रता भएको थियो । ऊ काम गर्थी, घु्म्थी र अझ फुर्सद भए हप्ताको एक दुई पल्ट एउटा आर्ट ग्यालरीमा स्वयंसेवकको काम पनि गर्थी ।

‘जीवन जगत बुझ्नु, अंग्रजी सिक्नु र आफ्नो रुचिको विषयमा अलिकति ज्ञान हासिल गर्नु मेरो उद्देश्य हो । सबैका आआफ्नै रुचि हुन्छन् ।’ उसले भनी ।

म्याथ्यु आयरल्याण्डबाट आएको झोले यात्री थियो । ऊ पनि काम गर्थ्यो, घुम्थ्यो र फुर्सदमा ‘ट्रिपल जे एफ एम’ मा स्वयंसेवकको काम गर्थ्यो । उसकी प्रेमिका जुलिया चाहिँ सुत्न र घुम्न मात्र रुचाउँथी ।

एडी जर्मनीबाट आएको यात्री थियो । ऊ भन्थ्यो, कि उसको फिजियोथेरापि पेसाबाट दिक्क भएर ऊ हिँडेको थियो । त्यसमध्येमा एडी र याना सिधै आफ्नो देशबाट आएर मेलवर्नमा करिब छ महिनादेखि बसेका थिए । म्याथ्यु र उसकी केटी जुलिया भने न्युजिलेण्डमा एक वर्ष बसेर त्यता लागेका रहेछन् ।

हामी लर्खराउँदै फ्लिन्डर्स स्ट्रिट पुग्यौँ । त्यहाँ केही लफङ्गाहरु गीत गाउँदै डुल्दै थिए । कोही गर्भदेखिको बल निकालेर अति अशिष्ट शब्दमा गाली गर्दै फुत्फुति उफ्रिदै थिए । हामी एलिजाबेथ स्ट्रिटबाट कोलिनतिर मोडिनै लाग्दा पछाडिबाट सुसेली हालेर कसैले बोलायो । ‘ओहो पछाडि त जुडी, कायल र जेफ पो रहेछन् । ती सबै पनि ब्याकप्याकर नै थिए । भोलिपल्ट काममा बिहानै जानुपर्ने चिन्ता थिएन । त्यसैले म पनि निष्फिक्री भएर उनीहरुसँग हो मा हो मिलाएर हिँडिरहेको थिएँ ।

तर समस्या पैसाको थियो । मसँग खल्तीमा दश डलर भन्दा थिएन । ‘यिनीहरुले कता लगेर जाक्नेहुन्’ भन्ने पीर थियो । अर्को समूहलाई पर्खिने क्रममा एडीले पुरानो जोन डेन्भरको गीतमा सुसेली हाल्यो– कन्ट्री रोड, टेक मि होम, टु द प्लेस आइ बिलोङ् …..

त्यति त मलाई पनि आउँथ्यो । मैले पनि सुसेली थपेँ । यानाले शब्द हाली र दुवै हात फैलाएर हावामा लहरिन थाली । म भने अलि संकोच मान्दै थिएँ । गाडीहरु छेउछाउमा बत्तिरहेका थिए । फाट्टफुट्ट मानिसहरु पनि हिँडिरहेका थिए । यानाले एडी र मेरो हात समाती र हामी पनि लिम्बूहरुले धान नाचेको भाकामा उसैगरि लहरिन थाल्यौँ ।

त्यतिन्जेलमा अरु तीनजना पनि आइपुगेका थिए । ठूलो स्वरमा कन्ट्री रोड गाउँदै हामी पवभित्र छिर्‍यौँ ।

लामो सुरुङ्गजस्तो पवको भित्रपट्टि चुरोट र वियरको गन्ध व्याप्त थियो । धाराबाट थापेर वियर पिउनुपर्ने ठाउँमा लर्खराएर भरिएको गिलास पनि उठाउन नसक्ने भइसकेका जँड्याहाहरु प्रसस्तै थिए ।

‘तिमी के लिने ?’ यानाले सोधी । उसका हातमा बडेमानको दुईमाने ग्लास थियो ।  खासमा त्यस्ता ठाउँमा के के पाइन्छ र के खानुपर्छ भन्ने कुराको हेक्का मलाई थिएन ।

‘म वियर खान्छु ।’ मैले वियर खाएजस्तो गर्ने र रात कटाउने एउटा सुरक्षित उपाय होला भन्ने ठानेर भनेँ ।

‘कस्तो ? स्कुनअ ? मिडिज ?’ म फसादमा पर्नै लागेको थिएँ । तर म्याथ्यु छेउमा आयो र भन्न लाग्यो, ‘जगकै पाँच डलर, स्कुनअर तीन, मिडिज दुई डलर । यसमाथि फ्रि चिप्स ।’

मैले कुरो बुझिहालेँ । त्यसपछि काउन्टरमा पैसा बुझाएर एउटा दुईमाना जाने स्कुनअ लिएँ । अरुका पछिपछि गएर धारा खोलेँ र साथीहरु भएतिर कुनाको टेबलमा गएँ । हाम्रो अगाडिको टेबलमा एउटा बडेमानको शरीर भएको तिघ्रे बसेको थियो । जगबाट पानी खन्याएझैँ गरी ऊ पिउँदै थियो । मातेर रमरमे भएका केही अधबैंसे र ठिटाठिटी पछाडिपट्टिको खुला ठाउँमा नाच्दै थिए ।

वियरका सुर्कासँगै एकले अर्काको योजनाबारेमा सोध्न थाले । कसैको पनि खास योजना थिएन । जुडि भने चिडियाखाना जाने विचारमा रहिछ । अरुको सुत्ने योजना थियो । मैले ‘सपिङ गर्नुछ’ भनेँ । त्यसपछि यानाले भनी,‘म भोलि फिलिप आइल्याण्ड जान्छु ।’ मैले बल्ल दुई सुर्का खाएको हुँदो हुँ, सबैका ग्लास रित्ता भइसकेछन् । ती त तिर्खाएका उँटजस्ता पो रहेछन् ।

त्यसपछि तिनीहरु आफ्ना ग्लास लिएर पालैपालो भर्न जान थाले । त्यसपछि उनीहरु आआफ्ना रुचिका कुरामा लागे । मेरो सामुन्नेमा याना थिई । उसलाई मैले सोधेँ, ‘फिलिप आइल्याण्डमा सार्वजनिक यातायात जान्छ ?’

‘अहँ, मैले त कार भाडामा लिएर जाने निधो गरेकी छु । मेरा फ्याट पार्टनर म्याथ्यु, जुलिया र एडी अस्ति गइसके ।’ उसले भनी ।

‘ओहो, अप्ठ्यारो पो रहेछ । सार्वजनिक यातायात नहुँदा ।’

‘जानेभए म तिम्रो ड्राइभर भइदिन्छु । नो प्रोब्लम ।’ बियरले रन्किएका गालामाथि आँखा नचाउँदै दुवै हातले निष्फिक्री भाव प्रकट गर्दै उसले भनी ।

‘अरु पनि कोही छ कि ? तिमी एक्लै ?’ मैले सोधेँ ।

‘म मात्र । एक्लै पनि हिँड्न मजा मान्छु । तर तिमी जानेभए अझ मजा आउला ।’

मेरो ग्लासको चौथाइ पनि सकिएको थिएन । तर ऊ भने तेस्रोपटक ग्लास भर्न उठी । याना म जत्तिकै छ फुट अग्ली र तेइस वर्षकी थिई । ऊ बलिइ पनि थिई । सँगै काम गर्दा ऊ केटाहरु बराबर काम गर्थी र ट्रकमाथि चढेर सामान लोड अनलोड गर्थी । सेतो रंगको कपाल भएकी गोरी यानाको अनुहारभरि भुत्ला थिए । निकै लामा लामा कलिला कुखुराका चल्लाका रौँजस्ता भुत्लाले भने उसका हात, पाखुरा र अनुहार ढाकेको थियो । उसका अनुहारसँग मैले मेरो कुनै लिनुदिनु थिएन । उसलाई मैले भनिपनि सकेको थिएँ, ‘म विवाहित मान्छे हो र हाम्रो बच्चा पनि छ ।’

‘फिलिप आइल्याण्डमा संसारकै साना पेन्गुइन देख्न पाइन्छ । र बाटोमा अन्य ठाउँ पनि देखिन्छ । खास खर्च हुँदैन । बेलुका फर्किहालिन्छ ।’ ऊ परैबाट बखान गर्दै, बियर सुर्क्याउँदै मतिर आउँदै थिई ।

‘तिमीलाई म बियर किनिदिऊँ ?’ अलि पर बसेको घिच्रा र पाखुरामा ट्याटु गरेको मुन्द्रे यानाको छेउमा आएर सोध्यो ।

‘भैगो, मेरो साथी छ ।’ यानाले शिष्ट भएर मतिर देखाउँदै भनी । त्यो मुन्द्रे काँध उचाल्दै गयो ।

‘बेश्यालय जाने पैसा पनि नभएको रन्डो ।’ उसले भनी । मैले केही प्रतिक्रिया जनाइनँ । म कसरी फिलिप आइल्याण्ड जाने भन्ने चिन्तामा थिएँ ।

‘हेर याना, घुम्न त मलाई पनि मनपर्छ । तर भाग्य भन्नु कि दुर्भाग्य, म परेँ नेपाली । यसरी निष्फिक्री भएर हिँड्नु, कमाउनु, घुम्नु मेरो कल्पना बाहिरको कुरा हो । त्यसमाथि कलेजमा पढ्न आएकी श्रीमतीको खर्च र बच्चाको खर्च जुटाउनु मेरो पहिलो कर्तव्य हो ‘ मैले गम्भीरताकासाथ  भनेँ ।

‘यो त आँटको कुरा हो साथी । अष्ट्रेलियाभरि घुम्न त कसले छेक्छ र तिमीलाई ? त्यसमाथि काम गर्दै अरुतिर जाने हो भने सायद उपाय निक्लेला ।’

‘त्यो त हो । तर खतरा त मोल्नुपर्छ नि । होइन ?’

‘जीवनमा एकैठाउँमा बस्नु, एउटै कुरा खानु, एकै प्रकारका मानिससँग बोल्नु, एउटै रहनसहनमा रमाउनु…… के हामी जनावर हो र ? मान्छे भएर सोच न । खानु, लाउनु, कमाउनु, थुपार्नु र चिहानमा जानु पनि जिन्दगी हो र ?’ ओहो, याना त पक्का दार्शनिक जस्तो गरेर बोल्न थाली ।

क्रमश : दोस्रो भाग अर्को बुधवार

तपाइँको प्रतिक्रिया