मंगलबार, चैत ६, २०८०

फ्रान्सेली समुदायमा मट्यांग्रा र गुलेलीको महाप्रलय

ददि सापकोटा२०७८ साउन २० गते २०:५८

गत आइतवार फ्रान्सको नेपाली समुदायमा महाप्रलय भयो । अपरान्ह पाँच बजेसम्म कुनै संकेत देखिएको थिएन, त्यो प्रलयको । तर साँझ ६ बजेबाट अकस्मात ठूलो हुण्डरी चल्यो । हुरिबतास र ठूलो गर्जन आयो । त्यो गर्जनले केहि मान्छेका मनका बाँधलाई हल्लाइदियो । मोटाएको भ्रममा रहेका तर सुन्निएकाहरुको दम्भलाई भत्काईदियो । त्यसदिन आएको घनघोर वर्षाले एक थोपा पानी कुरेर बसिरहेकाहरुको चुनावी खेतखेत, गरागरामा भने डुब्नेगरि सिँचाई गरिदियो ।

त्यस दिन फ्रान्समा ‘हे नारन’ को निर्वाचन भैरहेको थियो । संस्थापन पक्षको चुरिफुरी, शान र हुण्डरी चर्कै थियो । यो चुरिफुरि चार वर्षसम्म मोटाएको भ्रममा फुलेर बसेको थियो । भन्नेले भनेका थिए, ‘तिमीहरु मोटाएका होइनौ । रोग लागेर फुलेका हौ । उपचार गर । मोटाएको भ्रम पाल्दापाल्दै रोग झ्याम्मिन्छ एक दिन, औषधीमुलोले कामै गर्दैन।’

अहँ सुन्निएकाहरुले टेरेनन् । ‘हामीनै डाक्टर । हामीनै झाँक्री । हामीनै झारफुकका जान्नेसुन्ने । हामीनै अब्बल । हामी सर्बज्ञाता । हामी समाजका माथिल्ला श्रेणीका, हाम्ले नजान्ने केहि हुन्छ ?’

नभन्दै सुन्निएको रोगको किटान आइतवार करिब सात बजेतिर भयो । अनलाईन मार्फत भएको भोटिङले भनिदियो ‘ए राजा, हे महाराज, हे चौरासीकोटे देवता, हे सर्वश्रेष्ठ तिमी मोटाएका थिएनौ । सुन्निएका थियौ । अब ढिलो भयो, रोगको उपचार छैन । यो दम्भ, यो अहं, यो दादागिरी, यो मपाइत्व, यो कुटिलता, त्यो सान, ति वैमानीहरुको उपचार छैन ।’ ति सबै दम्भहरु क्षणभरमै झरमझुरुम भए । गर्ल्यामगुर्लुम्मै ढले । अहंताको त्यो पोखरीको पानी क्षणभरमै सलल बग्दै टुकुचाको नालीमा बग्यो । हेर्दाहेर्दै ढलमा मिसियो । जागा बसेर निदाएको स्वाङ पारिरहेको आशनको पर्दाफासपनि भयो ।

‘हामीनै डाक्टर । हामीनै झाँक्री । हामीनै झारफुकका जान्नेसुन्ने । हामीनै अब्बल । हामी सर्बज्ञाता । हामी समाजका माथिल्ला श्रेणीका, हाम्ले नजान्ने केहि हुन्छ ?’

एक घण्टा अघिसम्मको चमक धमक, शान, बिहान चम्किँदै गरेको घाम जस्तो अनुहार लज्जावती झारझैं बन्यो । केहिबेर अघिसम्म गडगडाउँदै उर्लिएको खहरेपनि चप्र्याकचुप्रुक सुक्यो । दुनियाँ बगाइदिन्छु भन्दै जोरिखोज्दै हलभित्र दौडिरहेको खहरे सुकेर कमिला हिँड्ने भयो । ओंठमुख सुके । दिमाख सन्सनायो । आँझा लोलाए । हे बिधाता ! के सोचेको थिएँ यो भयो के ? क्षणभरमै निर्वाचन भैरहेको हल स्तब्ध बन्यो ।

त्यसो त, यो महाप्रलयको रामकहानी क्षणभरमा मौलाएको थिएन । यो अहंताको टुसोपनि तत्कालै पलाएको थिएन । चार वर्ष अघि रोपिएका दानालाई भरपुर मलजल गरिएको थियो । त्यो मलजल गर्ने किसानको दफ्फानै थियो । पालैपालो मल छर्ने, एकपछि अर्कोले पानी वर्षाइरहने ।

तिनका केहि कृषी इन्जिनियरले उन्नत प्रकृतिको प्रविधी सिकाईरहे । इन्जिनियरले जे सिकायो किसानले त्यसै गरे । ‘उहाँ अब्बल दर्जाको इन्जिनियर । उहाँ यो पृथ्वीलोकको मात्रै नभएर मंगल ग्रहमासमेत हराभरा पार्न सक्ने उच्चकोटीको कृषीबिद ! ति कृषीबिदले जे जे निर्देशन दिए निर्देशनको औंलो नुघ्न नपाउँदै पुरा गरिरहे । तिनले त्यो पालना गरिरहे । किनभने कृषीबिदको अक्किलले चार वर्षसम्म हालीमुहाली चलाईरहेको थियो । तर जमाना फेरिन्छ । माटोको प्रकृति फेरिन्छ । हावापानी बदलिन्छ । मान्छेको सोचमा परिपक्कता आउँछ । एक न एक दिन ‘मोटाएको होइन रैछ, सुन्निएको पो रैछ’ भन्नेपनि जगतले बुझ्छ भन्ने हेक्का पाउँछ । समयानुकुल पद्दती, सिप, ज्ञान र तौरतरिका बदल्न नसक्ने कृषीबिदको उपादेयता सक्किन्छ भन्ने यथार्थतालाई दम्भले थिचिरह्यो, उठ्नै दिएन । त्यसैको परिणाम देखियो ।

चार वर्षसम्म चलेको संस्थागत शिकार र रामराज्यको कहानीपनि निकै रोचक थियो । फ्रान्सको नारान रामराज्य खासमा एउटा गुलेलीमा चलेको थियो । एउटा गुलेलीका चार वटा मट्यांग्रा थिए । ति मट्यांग्रा माटो डल्लो पारेर बनेका थिए । गुलेलीनै नभएको युगमा पहिलो पटक अकस्मात देखिएको गुलेली जस्तो देखापर्‍यो त्यो अब्बल देखिनेनै भयो । गुलेलीमा माटाका मट्यांग्रा हाल्दै शिकार गर्दै गरियो । तर चार वर्षसम्म चलाएको चलायै गरेको गुलेली मक्किईसकेको थियो ।

यि चार वर्षमा गुलेली फेर्नुपर्ने थियो । आधुनिक गुलेली बजारमा आईसकेका थिए । पुरानो मोडेलको गुलेली त्योपनि माटोको मट्यांग्रा । काम लाग्दैन भन्ने हेक्का गुलेलीबाजेलाई भएन । मट्यांग्रा त मट्यांग्रा भए, गुलेलीलेनै अब्बल देखेपछि मट्यांग्राको के टाउको दुखाई । मट्यांग्रालेपनि भनिरह्यो ‘गुलेली बाजे, हामी अब्बल मट्यांग्रा हौं । हामी रहुन्जेल तपाईको के चिन्ता ? जस्तो भन्नुहुन्छ, जसलाई भन्नुहुन्छ, जतिखेर जहाँ भन्नुहुन्छ हामी तपाईको निर्देशन पाउनासाथ गुलेलीमा बसेर हानिन तयार छौं । तपाईको गुलेलीमा नारिन तम्तयार छौं, हे प्रभु चिन्ता नलिनुस् ! हाम्रो भरोसा गर्नुस् ।’

गुलेलीलाईपनि लाग्यो ‘अरे यार भक्त हुनु त मेरा मट्यांग्रा जस्ता । कुनै लेखो गर्नु नपर्ने । कुनै फेरबदल गर्नै नपर्ने । जतिखेरपनि तयार मट्यांग्रा हुँदाहुँदै मेरो के टाउको दुखाई ?’ तर समय, परिस्थिति, यो चराचर जगत बुझ्न नसकेका गुलेली र मट्यांग्राको एकै दिन सत्यानाश भयो ।

यो सत्यानाश हुनु पहिले ‘राजा, तिम्रो गुलेली फेर । प्रभु तिम्रा मट्यांग्रा समयानुकुल पार । धातुका मट्यांग्राको जमानामा माटाका मट्यांग्राको काम छैन । प्रभु ! गुलेली बाजे ! तिम्रो गुलेली धेरै पुरानो भो त्योपनि फेर ।’ सुझाव दिने अनेक थिए ।

केहि साहसी, सिप र ज्ञान भएका केहि मट्यांग्राहरुले गुलेली बाजेलाई भने ‘अब युग सुहाउँदो बन्नुपर्छ । अब प्रविधी सुहाउँदो बन्नै पर्छ । युग, बिचार, जमाना, समय, हावापानी सारा समयसँगै बदलिँदा त्यहि अनुकुल बन्नुपर्छ ।

तर उल्टै गुलेलीबाजेले त्यस्तो सल्लाह दिनेलाई न्याँके ‘केरे ? कोहोस ममाथि औंलो उठाउने ? को होस मेरा मट्यांग्रामाथि खोट लगाउने ? कोहोस तँ कि मेरो सर्वश्रेष्ठतामाथि औंलो उचाल्ने ?’

गुलेलीनै नभएको युगमा पहिलो पटक अकस्मात देखिएको गुलेली जस्तो देखापर्‍यो त्यो अब्बल देखिनेनै भयो ।

गुलेलीबाजेले आफ्ना मट्यांग्राहरु जम्मा पारे । सुझाव सल्लाह दिनेमाथि उल्टो गुलेली चलाए । मट्यांग्राहरुले धमाधम गुलेलीको अन्तर्वार्ता लिएर सारा जगतलाई देखाए । गुलेलीबाजेको अहं, दम्भ, मनपरी, कुटिल चालको आलोचना गर्ने बाहिरी जगतसम्मलाई खेद्ने पराक्रम गरे । गुलेली र मट्यांग्राको फोस्रो एकताको दम्भ देखाए । गुलेलीप्रतिको भक्तिभाव सुनाए । र भने ‘सारा जगत यो गुलेली र यि चार मट्यांग्राको विश्वासमा छ । यि चार मट्यांग्राका वरिपरि चुपचाप सहि ठोक्ने अर्काथरी मसिना मट्यांग्रा दर्जनौं छन् । यसलाई अविस्वाश गर्नेलाई घोक्रेठ्याक लगाउ ।’

गुलेली बाजे र सक्रिय चार मट्यांग्रा जागे । जगेडामा राखिएका केहि मट्यांग्रा चुपचाप बसिरहे । गुलेलीबाजे र चार मट्यांग्राको भक्ति, शक्ति, शान, मान, अहं र चुरिफुरीले जगेडा मट्यांग्राकोपनि मुख मिठ्ठियो । र्‍याल काढ्दै ति चुपचाप बसिरहे ‘हाम्रोपनि एक दिन त्यो गुलेलीमा चढेर शिकार गर्ने दिन आउँछ ।’ किनभने गुलेलीबाजेले एकदिन भनेका थिए ‘पद चाहिने मान्छे पद दिनेकहाँ पो आउनुपर्छ । तिर्खा लाग्नेले खोला खोज्दै पो धाउनुपर्छ ।’ अर्थात् गुलेलीमा चढेर शिकार गर्न मन छ भने मट्यांग्रो गुलेली खोज्दै धाउँनुपर्छ । गुलेली मट्यांग्रो खोज्दै हिँड्दैन, मट्यांग्राको के दुख ?’ जगेडा मट्यांग्राले झलझली सम्झिए ।

तर यो चार वर्षमा केहि मट्यांग्रा यस्ता देखिए । तिनले प्राचिनकालको गुलेली मन पराएनन् । आधुनिक युगमा केको रबरको गुलेली ? धातुका मट्यांग्राको जमानामा किन माटोका गुलेली ? तिनले बिद्रोह गर्दै भने ‘हामी तिम्रो यो दम्भ तोड्छौं । हामी अब शिकार गर्नै परे गुलेली होइन आधुनिक युग सुहाउँदो हतियार चलाउँछौं ।

उनीहरुले शिकारका नियम सुनाए । गुलेली चलाउनेलेपनि मान्नुपर्ने लिखत देखाए । बिधी र बिधानको स्मरण गराए । नियम र कानुन पालना गर्नुपर्ने अड्डि कसे । त्यसलाई पालना गर्न कानुनका ढोका चहारे । गुलेलीबाजेकापनि बाजेसम्म पुगे । मट्यांग्राका सामुहिक नेत्रित्वकर्ता, नितिनियम निर्माणकर्ताकहाँ पुगे ।

माथिबाट हुकुम भयो ‘गुलेली चलाउनेकापनि नियम छन् । मट्यांग्रा हान्नेपनि तौरतरिका छन् । तिनलाई मान्नै पर्छ । जबर्जस्ति गुलेली चलाए तिमीले मारेको शिकार मान्य हुने छैन । तिम्रा मट्यांग्राहरु समानुकुल पार । नितिनियममा उल्लेख गरिएजस्ता मट्यांग्रा छान । कुनै मट्यांग्रालाई च्याप्ने र केहि मट्यांग्रालाई धपाउने, लखेत्ने गर्न पाइन्न ।’

भन्न त गुलेलीबाजेले ‘हस’ भने । तर शिकारका बेला उनले कुनै नियम नमानी गुलेली चलाउन छोडेनन् । मट्यांग्राहरु बाजेले जे निर्देशन दिए त्यहि पछ्याइरहे । टोली छान्ने बेलापनि एउटा मट्यांग्रोले भन्यो ‘हामी यति शक्तिशाली छौं कि कुनै कसैको, कुनै माथिल्लो निकायको निर्देशन मान्दैनौं । हामी मट्यांग्रा त के हामी मट्यांग्रा मध्ये जुन मट्यांग्रोको लौरी ठड्याएर हामी गुपचुप भएपनि यो सारा जगतले मतदान गर्छ र हामी यो समाजका सर्वश्रेष्ठ मट्यांग्रा ठहरिन्छौं ।’

हाम्रा बिरुद्द उत्रिनेका कपाल उखल्नु । ओंठ च्यातिदिनु । जिब्रो थुतिदिनु । अनेक खोटका रंगरोगन भरेर समाजभरि बाढी बगाइदिनु । हाम्रा बिरुद्द एक लाईन जसले कोर्छ पेज भरिका बिज्ञप्ती निकालेर हायलकायल पार्नु ।

एक दिन गुलेलीबाजेले मट्यांग्राहरुको रातभरि बैठक डाकेर निर्देशन दिए -यो संस्थाको सदस्यता सकेसम्म माटाका मट्यांग्राहरुलाई मात्रै दिनु । जगतको आँखामा छारो हाल्न थोथ्थोरै धातुका मट्यांग्रापनि समेटेर सदस्यता दिनु र सारा जगत समेटेझैं गर्नु । अनि निर्वाचन प्रजातान्त्रिक ढंगले गर्ने भन्दै दिनदिनै तिमी मट्यांग्राहरुले रगट्नु । भित्रभित्रै राजनितिको ढोलपनि पिट्नु । तर चुनाव गराउने समितिमा बाहिरका धातुका मट्यांग्राको एउटापनि उपस्थिति हुन नदिनु । संस्था उभिने धरतीमा आफ्नो गुनगान गाउनु । यति गरेम र उति गरेम भनेर कामको फेहरिस्त सुनाउनु । कामनै देखाउनुपर्ने होइन । हाम्रा बिरुद्द उत्रिनेका कपाल उखल्नु । ओंठ च्यातिदिनु । जिब्रो थुतिदिनु । अनेक खोटका रंगरोगन भरेर समाजभरि बाढी बगाइदिनु । हाम्रा बिरुद्द एक लाईन जसले कोर्छ पेज भरिका बिज्ञप्ती निकालेर हायलकायल पार्नु ।

जयगान गाउँदै स्विकारे मट्यांग्राहरुले । तिनले रुखका टुप्पामा पुगेरपनि हकारे । जमिनमुनि खोस्रिएरपनि दकारे । पानी मुनि पौडिएरपनि सरापे । हिमालका अन्दराकुन्दरा पुगेरैपनि लखेटे । देवीदेवता सबै भाकेर गाली गरे । उल्टो, सुल्टो, दायाँबायाँ, आकाश पाताल, मुसाका दुल्का र भँगेरा बस्ने खोपी सबै कोण चहारे, छिद्र छिद्रबाट खेद्न खोजे ।

यो सारा पराक्रम देखेको जगत आजित भयो । यो लोकमा हिँड्न नसकिने हुन लाग्यो । बोल्न नपाउने हुनलाग्यो । चार चार वर्षसम्म भद्रगोल, गाली र बेइज्जति । झैझगडा र पोलापोल । आडम्बर र वैमनस्यता । किचलो र भद्रगोल । यो सारा देखेर आजित बनेकाहरुले भक्तिको गाथा गाउने मट्यांग्रा र जंगबहादुरलाईपनि माथ गर्ने हुकुमी शैलीको गुलेली शासनबिरुद्द मतदान गरिदिए ।

जब आधुनिक जमानाको कम्प्युटर भनिने मेशिनले मतदानको नतिजा फ्याट्टै देखायो तब गुलेली बाजे र मट्यांग्राहरुको एकैसाथ जिब्रो लरबरियो । मट्यांग्रा र तिनका हाकिमबिच मुखामुख भयो । टाउको हनहनी भयो । आँखामा कसैले जिरे खुर्सानीको बोरा खन्याइदिएझैं पोल्न थाल्यो । कपालका रौं रौं हल्लिएझैं भए । हातले मेसो पाएन । गोडाले भर दिएनन् । घाँटी सुक्यो । आँखै अगाडिको विशाल समुद्र एकाएक हेर्दाहेर्दै सुक्यो । उक्लिँदा उक्लिँदैको पहाड एक्कासि सम्म भयो । पानी छम्कौं छम्कौं जस्तो भयो । बरफले नुहाउँनुहाउँ लाग्यो । के भयो के भयो !

अकस्मात आँखा अगाडि जंगबहादुर खडा भए । भने ‘केटा हो मेरो शासनको अन्त्य भयो । समिक्षा गर । प्रायस्चित गर । समयानुकुल बदलिन सिक । भ्रम नपाल । केटा हो, माटाका मट्यांग्रा र प्राचिन गुलेली दुबैको काम रहेनछ । बुझ !’

तपाइँको प्रतिक्रिया

फेसबुक