मंगलबार, चैत ६, २०८०

एनआरएनए बेलायतको मतदान सक्किनासाथ लफडा शुरु, परिणाम घोषणा नहुने आशंका

एनआरएनए बेलायतको मतदान सक्किनासाथ लफडा शुरु, परिणाम घोषणा नहुने आशंका

नेपालप्लस संवाददाता / लन्डन २०७८ साउन २१ गते १४:२६

एनआरएनए बेलायतको अध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राई। फोटो स्रोत- राईको फेसबुक

एनआरएन बेलायतमा मंगलबार मतदान सकिएपनि चुनावको परिणाम घोषणा नहुने आशंका बढेर गएको छ । चुनाव गराउन जिम्मा दिएको कम्पनी, भेण्डर च्वाइस भोटिंगले बिहीबार रिजल्ट दिने जनाएपनि चुनावको परिणामबारे लफडा शुरु भैसकेको छ ।

अन्तिम नतिजा आउनु केहि घण्टा अगाडी बुधबार राती एक पत्रकार सम्मेलन गरी अध्यक्षकी प्रत्यासी, रोजिना प्रधान राईले एक हजार मत फर्जी परेको दावी गरेकी छिन । उनले चुनाव गराउन जिम्मा दिइएको ब्रिटिश कम्पनी च्वाइस भोटिङले निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा एक हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको जानकारीमा आएको बताइन् ।

फर्जी मतकै आधारमा निर्वाचन परिणाम घोषणा गरिए कानूनी उपचार खोज्ने चेतावनी दिंदै उनले भनिन- ‘म चुनाव जित्नेमा विश्वस्त छु । तर गैरकानूनी मत बदर हुनुपर्छ भन्ने मेरो अडान हो’ ।

तर निर्वाचन समितीले भने एक हजार फर्जी मत परेको भनिएको भेन्डरको पत्र सार्वजनिक गरेको छैन । निर्वाचन समितिका एक सदस्यले आफूहरुले भेन्डरको ड्राफ्ट पाएको बताउँदै भने “त्यसमा करिब एक हजार मत एउटै ईमेलबाट खसालिएको भनिएको छ । तथापी समितिले यसको आधिकारिकता सार्वजनिक गरेको छैन ।”

बुधवार राती आश्चर्यजनक रुपमा भएको अध्यक्षकी प्रत्याशी रेजिना प्रधान राईको पत्रकार सम्मेलनले बेलायतको राष्ट्रिय परिषद निर्वाचनलाई झन रहस्यमयी बनाएको छ । भेन्डर च्वाइसले निर्वाचन समितीलाई पठाएको फर्जी मत परेको भनिएको पत्रका बारेमा रेजिना प्रधानले कसरी थाहा पाइन ?

प्राप्त जानकारी अनुसार भेन्डरको पत्र प्राप्त गरेपछी निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलले नै रेजिना प्रधानलाई उनले चुनाव हारेको जानकारी गराएका थिए । त्यस अनुरुप नै उनले एनआरएनए महासचिव डा हेमराज शर्मासँग छलफल गरेर पत्रकार सम्मेलन गरेकी थिइन । उम्मेदवार प्रधान महासचिव हेम राज शर्मा तथा आइसीसी सदस्य राम शरण सिम्खडा निकट मानिन्छिन ।

एनआरएनका एक अभियन्ता भन्छन- यदि रेजिना राईले चुनाव हार्ने स्थिती भयो भने निर्वाचन समितिले परिणाम घोषणा गर्न अझै समय लगाउने छ । निर्वाचन समितिका पछिल्ला कृयाकलाप हेर्दा उसलाई विश्वास गर्नसक्ने अवस्था भने छैन । नत्र गोप्य भनिएको र कतै सार्वजनिक नभएको पत्रका बारेमा रेजिना राईलाई मात्रा कसरी थाहा भयो ? र, निर्वाचन समितिले गर्नुपर्ने पत्रकार सम्मेलन अथवा दिनुपर्ने जानकारी राइ आँफैले दिन किन तम्सिइन ? अर्कोतिर भोटिङ कम्पनिले पठाएका पत्र समातेर बसेको निर्वाचन समितिले चार दिन अघि भएको निर्वाचनमा अहिलेसम्म कती मत खस्यो भनेर समेत भनेको छैन ।

यसैबीच बेलायतस्थित सामाजिक संस्था तथा अगुवाहरुले निर्वाचन समितिसँग अब थप ढिला नगरी चुनाव परिणाम सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले कसैको दबाब र प्रभावमा नपरी ब्रिटिश कम्पनीले उपलब्ध गराएको रिजल्ट घोषणा गर्न पनि निर्वाचन समितिलाई सुझाव दिएका छन् ।

निर्वाचनको मतपरिणाम आउन ढिलाई भएको भन्दै व्यापक जनगुनासो आइरहँदा बुधवार एक विज्ञप्ति निकाल्दै निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कँडेलले निर्वाचन समितिद्वारा ‘च्वाइस भोटिङ’ कम्पनीसँग गरिएको करार सम्झौता अनुरुप नै प्रक्रिया अघि बढिरहेको बताएका छन् ।

अनलाइन मतदान प्रक्रिया पारदर्शी भए नभएको सम्पूर्ण प्रक्रियाबारे बेलायती सरकारको मान्यताप्राप्त स्वतन्त्र निकायको प्रत्यक्ष सहभागिता र अनुगमनमा वैधानिक पर्यवेक्षण भइरहको पनि कँडेलले जानकारी दिए । तर उनले भेन्डरको पत्र बारे किही खुलाएका छैनन ।

तपाइँको प्रतिक्रिया

फेसबुक