मंगलबार, चैत ६, २०८०

‘हाई ! हाई ! कुलमान’ भन्दै सिंगो देश उनैको अघिपछि

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन २१ गते १९:४४

कुलमान घिसिङ

सिंगो देशभित्र कस्तो भैसकेको छ भने छिनभरलाई बिजुली बत्ती गएपनि एकै स्वरमा भनिन्छ—ऊ, कुलमानजी जानूभो । फेरि झिलिक्क बत्ती आउनासाथै भनिन्छ— ऊ, कुलमानजी आउनुभो ।

२४ घण्टामा २० घण्टासम्म लोडसेडिङ हुन थालेको मुलुकमा ५ वर्षअघि एकजना पात्र नेपाल बिद्युत प्राधिकरणको म्यानेजिङ डाइरेक्टर (एमडी) कुर्सीमा बस्नासाथै आश्चर्य हुन थाल्यो । बिद्युत चुवाहट रोकियो । भारतबाट उर्जा किनेरै भएपनि कुर्सीमा बसेको ६ महिनामैं लोडसेडिङ बन्द भयो । हो, तिनै व्यक्ति थिए— ५० वर्षिय कुलमान गुरुङ । कुलमान एक वर्षअघि एमडीको कुर्सीबाट हट्नासाथै फेरि अचम्मै हुन थाल्यो—फेरि दिनहुँजसो तालिकाबिनाको लोडसेडिङ सुरु ।

यहि माथापच्चीका बीच राजनीतिक ‘ह्वील–चेयर’मा नेपाली कांग्रेस आइपुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई एमडीमा ल्याउन लागेको समाचार आउनासाथै बुधबारदेखि उब्जिएको तरंग अझै सेलाएको छैन । यो कस्तो पद्धती र स्थिती होला कि एउटा कुलमानको नाम लिनासाथै सबैतिर सकारात्मक र उर्जामय माहोल बन्ने ?

यस्तो लाग्दै छ, देशमा कुलमान बाहेक जनताको अर्को मान्छे कोही छँदै छैन । अवस्था कस्तोसम्म देखिएको छ भने सामाजिक संजाल प्रयोगकर्ताहरुको आलोचनाको शिकार बनिरहने प्रधानमन्त्री शेरबहादुर देउवा समेत कुलमानलाई नियुक्ती गर्ने निर्देशन दिए लगत्तै उनी समेत सबैका प्रिय बनेका छन । एउटा सामान्य मान्छेले देखाएको आशा र साकारात्मक सोचले यही बेला देश पुरै तरंगित भएको छ ।

रामेछापको दुर्गम भेग बेथानमा जन्मे–हुर्केका कुलमान घिसिङले प्राथमिक तहसम्म मट्टितेलले बल्ने टुकीका भरमा गाउँ मैं पढे । आफ्ना दाजुहरुका साथ लागेर काठमाडौं आएका उनलाई झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरियो ।

एसएलसीपछि कुलमानले अस्कल क्यापसबाट आईएस्सी गरे । अनि छात्रवृत्तिमा भारतको जम्सेदपुर पढ्न गए । सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि ०५१ देखि उनी नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिरे भएका थिए । कुलमानले नेपाली सिप, प्रविधि र लगानीमा चिलिमे जलबिद्युत आयोजना सुरु गराएपछि एक दशकयता उनको हाइहाइ त्यसै बढेको थियो । अझ ५ वर्षपछि एमडी बनेर प्राधिकरण आएपछि सुरु भएको लोडसेडिङमुक्त नेपालको अभियान साकार बनाइछाडे ।

यत्तिको प्रयास र प्रयत्नमा अहिले देशमा बिद्युत चुवाहट झण्डै १७ प्रतिशत छ । कुलमानले आफ्नो ४ वर्षे कार्यकालमा मुलुकमा रहेको ३५ प्रतिशत बिद्युत चुवाहटको स्थितीलाई १६ प्रतिशतमा झारेका थिए । तर, अहिले फेरि लोडसेडिङ र बिद्युत चुवाहटको रफ्तार बढ्दो छ । दिनहुँ बत्ती गैरहने अवस्थालाई हेरेर कतिपयले यसलाई लोडसेडिङको पूर्वाभ्यास ठानेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओली सरकारले २९ माघ ०७७ मा शाक्यलाई बढीमा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछिको स्थितीमा दिनहुँ अध्यारोको पारो भने बढिरहेकै छ । शाक्य केपी ओलीका नातेदार समेत हुन । तर अहिले देउवाले शाक्यलाई कार्यकारी निर्देशकबाट तुरुन्तै विस्थापित गर्न कानुनी अड्चनहरु छन । तथापी प्रधानमन्त्री कार्यालयले केही दिनमा प्रकृया पुरा गरिसक्ने जनाएको छ ।

हो, यहीबेला ‘ऊ, कुलमानजी आउनुभो’ भन्दै सकारात्मक र उर्जाशिल बन्ने मनोकांक्षा लिएर नेपाली जनसाधारण बसिरहेका छन् । सम्भवत यो कुराको टुंगो साउन महिनाभित्रैमा लाग्नेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक