शनिबार, असोज २, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

फ्रान्सेली साहित्य र नोबेल पुरस्कार प्रसङ्ग

डा. गोबिन्द राज भट्टराई२०७८ साउन ३० गते ०:५८

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

अघिल्लो पालि पनि यस्तै राजधानी एक्सप्रेस परेको थियो । दिल्ली महानगरीदेखिको बतास बोकेर आउने राजधानीको वातानुकूलित शयन यानमा चढ्नु कति आनन्दको कुरा हुन्छ । यसको आनन्द र ढुक्कबारे मैले यात्रा अनुभवमा बयान गरेकै छु । सन् २०१३ को खण्डमा रेलमा चढेर गुवाहाटी शीर्षकमा त्यो प्रस्तुत छ ।

हरेक यात्रामा म एक दुई कृति बोक्ने गर्छु । यसपालि काठमाडौँबाट यात्रा आरम्भ गर्दै बाटाका लागि तीन कृति बोकेको थिएँ— डा. शान्ति थापाको मोहिनी डटकम, नयाँदेवीको युगसन्धि र प्याट्रिक मोदियानोको द सर्च वारेन्ट । नित्यको यात्रामा मेरा साथमा एकदुई महत्वपूर्ण कृति भएझैँ यसपालि प्याट्रिक मोदियानोको द सर्च वारेन्ट थियो । पातलो, केवल ११७ पृष्ठको कुनै कृति नोबेल पुरस्कारसम्म पुग्नसक्छ भन्ने सम्झिँदा अश्चर्य लाग्छ । परन्तु जोर्गे सेमप्रुनले यसलाई एक ‘अपवादात्मक पुस्तक’ भन्ने अलङ्कार त्यसै दिएका होइन रहेछन् । डोरा बु्रडर नामकी एक यहूदी कुलकी कन्या १४ वर्षको उमरमा हराएपछिको खोजी र तिनको उत्खननमा आधारित यो कृति मैले आजसम्म पढेमध्येको अद्वितीय हो । यस्तो शैली लेखकीय कला–अन्तरप्रेरणाको आविष्कार ईश्वरले पनि गर्न नसक्ला भन्ने ठान्दछु ।

प्याट्रिक मोदियानोले यसवर्षको नोबेल पुरस्कार प्राप्त गर्नासाथ लुनाका सम्पादक रणेन्द्र श्रेष्ठले मलाई आग्रह गरे— यो अङ्कका लागि सरले एउटा लेख यसपालिको नोबेल लरेटमाथि लेखिदिनोस् । मलाई यो एक चुनौती लाग्यो र सहजरूपमा स्वीकार गरेँ । यस बाध्यताले गर्दा मलाई एक विश्ववन्द्य सर्जक (र उनका कृति) का बारेमा केही अध्ययन गर्न कर लाग्नेछ । यस्तै गरेर नै मैले वर्ष–वर्षका नोबेल लरेट पढ्दै आएको छु, जस्तै ह्यारोल्ड पिन्टर (अंग्रेजी २००५), ओर्हान् पामुक (तुर्की २००६), डोरिस लेसिङ (अंग्रेजी २००७), जँ–मेरी गुस्ताफ लेक्लेजिओ (फ्रान्सेली २००८), हर्टा म्युलर (जर्मन २००९), मारियो भार्गास लोसा (स्प्यानिस २०१०), ट्रान्स्ट्रोमर (स्वेडिस २०११), मो यान (चिनियाँ २०१२), एलिस मुनरो (अंग्रेजी २०१३), प्याट्रिक मोदियानो (फ्रान्सेली २०१४) ।

साहित्य भन्नु नै मानव मुक्तिको गीत र प्रार्थना हो । यसले मानवको उच्चत्तर चेतनाको गीत गाउँछ; त्यस्तो चेतनालाई छुने र त्यसको उत्थान गर्ने तत्व भन्नु नै साहित्य हो । तर अधिनायकवादीका निमित्त सत्ता सबैथोक हो, साहित्य त क्यै होइन, प्रचार सामग्री मात्र ।

यस्ता महानतम स्रष्टाका कृति पठनले हामीसँग भएको परिमित ज्ञानसँग त्यसको तुलना गर्दा उत्पन्न हुन जाने विस्मयबोध र हीनत्व खप्नु त छँदै छ, त्यसमाथि त्यसले विश्वसाहित्यको यात्रा कहाँ पुग्दै छ र कता जाँदै रहेछ भन्ने ज्ञानचक्षु पनि खुल्दछ । सो कुरा एउटा सानो प्राप्ति होइन । त्यसबेला चाहिँ म आफूसँग भएको अंग्रेजी चक्षुलाई धन्य भन्छु । म मात्र किन धन्य भनौँ आफूलाई ?

यो हिउँदमा स्टुआर्ट सीमकृत पोस्टमोडर्निजम एन्ड फिलसफी शीर्षक लामो रचनाको पनि अनुवाद गरेँ । यो पनि फ्रेन्चबाट गरिएको अंग्रेजी अनुवाद थियो भने यसपल्टको द सर्च वारेन्ट पनि सिधै फ्रान्सेलीबाट आएको होइन, त्यसको अंग्रेजी अनुवाद हो । यसरी हेर्दा प्रत्येक भाषा तर्ने एक साँघु आवश्यक भएको युग छ अहिले । यतिखेर सबैजसो अंग्रेजी साँघुबाटै वारपार गर्दैछौँ । अनुवाद अनन्तसम्म नभत्किने साँघु रहेछ ।
यस्तो एउटा साँघु नभएको भए म केले वारपार गर्न सक्थेँ हुँला ? नत्र प्याट्रिक मोदियानो पेरिस शहरको तटवाहिनी ती सिआन गंगा तरेर यहाँसम्म आउन कसरी सक्थे होला ? म पनि गंगावारिबाटै टुलुटुलु उनलाई हेरिरहेको हुन्थेँ । अथवा यस्ता व्यक्ति चिन्नै नसकेर व्यर्थमै जंगलको बाटो दौडिरहेका हुन्थे ।

हे मोदियानो ! वारिबाट हेर्दा तिम्रो धुमिल आकृतिजस्तो मात्र देख्थेँ हुँला, तिमी पनि मलाई त्यस्तै मानव आकृति वा पत्थरको बीच भेद गर्न नसकी विमूढ अवस्थामा हुन्थ्यौ होला । अनुवादको दर्पणबाट तिम्रो मुहार देख्न पाउँदा म आनन्दले उत्तेजित हुन्छु । त्यस्तै आनन्दले होला पुलको बीचमा बसेर तिमी हाँसेको त्यो मुहार तिम्रै हो भनी म ठहर गर्न सक्छु । हामी मानव रहेछौँ भन्ने ठहर गर्न यति नै पर्याप्त छ नत्र त्यो सीमाभन्दा पारिको आकृतिलाई कसरी मैले छुट्याउन सक्थेँ हुँला ।

अघि नेपालको एक अत्युच्च स्तरीय जर्नल भृकुटीको आरम्भ अङ्क (२०६४ पौष–फागुन अङ्क १, वर्ष १) का लागि आधुनिक फ्रान्सेली दर्शन, कला र साहित्यले विश्वलाई देखाएको बाटो (पृ. १७–३८) शीर्षक रचना तयार गरेको थिएँ मैले । त्यसबेलाको सीमित ज्ञान पनि मैले अंग्रेजीबाटै लिएको थिएँ— हिस्ट्री फ फ्रेन्च लिट्रेचर शीर्षक कृतिबाट । परन्तु त्यसरी पाँच वर्षअघिसम्म पनि त्यहाँ नाम नआएका मोदियानो अचानक कसरी नोबेल बगानमा फुल्न पुगे होलान् ? मलाई आश्चर्य लाग्छ । तर यो पारदर्शी ऐनामा नउभिएसम्म, अनुवादमा नपसेसम्म कसरी अन्यत्रले देखिने भइन्थ्यो होला र ? त्यसैले लुनाका लागि प्याट्रिक मोदियानोः २०१४ का नोबेल (साहित्य) पुरस्कार विजेता शीर्षक रचना तयार गर्दा पनि मैले यो गौरव र आश्चर्यलाई यथावत् राख्न सकेँ ।

फ्रान्सेली स्रष्टा प्याट्रिक मोदियानोले सन् २०१४ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेको सुन्दा हामीलाई अत्यधिक हर्ष लाग्नु स्वाभाविकै हो । फ्रान्स साहित्य, कला, दर्शन र चिन्तनका विविध विधामा विश्वमै नाम चलेको भूमि हो । आधुनिक विश्वमा यसको स्थान झन् उच्च छ ।

साहित्यतर्फका प्रथम नोबेल पुरस्कार विजयी स्रष्टा नै फ्रान्सेली आख्यानकार सली प्रुधोम (१९०१) हुन् भने यताका ११४ वर्षमा फ्रान्सले १५ जना नोबेल (साहित्य) पुरस्कार विजेता जन्माइसकेको छ । त्यस दृष्टिले हेर्दा त अघिल्ला वर्षहरूमा चिनियाँ स्रष्टा मो यानले अथवा त्यसभन्दा अघि तुर्की स्रष्टा ओर्हान पामुकले पाउनु ठूलो कुरा थियो । यी साहित्यिक रूपले छेलिएका राष्ट्र उदाउन थालेका प्रमाण हुन् । त्यसरी पहिलो पल्ट पाउने राष्ट्र पनि धेरै छन्, अझ कहिल्यै नपाउने राष्ट्र (नेपालजस्ता) झन् धेरै छन् । परन्तु फ्रान्सले सुदूर अतीतदेखि साहित्यकलामा गरेको योगदान कमाएको प्रशंसा देख्ता यसले नोबेल पुरस्कार प्राप्त गरेको बेला हामी त्यत्तिकै प्रसन्न हुन्छौँ ।

अनुवादको दर्पणबाट तिम्रो मुहार देख्न पाउँदा म आनन्दले उत्तेजित हुन्छु । त्यस्तै आनन्दले होला पुलको बीचमा बसेर तिमी हाँसेको त्यो मुहार तिम्रै हो भनी म ठहर गर्न सक्छु ।

यसभन्दा पाँच वर्षअघिको नोबेल साहित्य पुरस्कार पनि फ्रान्सलाई नै प्राप्त भएको थियो— गद्यकार जँ— मेरि गुस्ताफ क्लेजिओले प्राप्त गरे । फ्रान्सेली नोबेल लरेट्समध्ये सन् २००० को साहित्य पुरस्कार चिनियाँ मूलका निर्वासित नागरिक गाओ शिन्जियाङले प्राप्त गरे । आफ्नै सरकारले गरेको १९७९ को निरङ्कुश तियानमेन स्क्वायर काण्डको विरोध गर्दा उनी निर्वासित भए । त्यसअघि पनि चीनमा स्वतन्त्रताको माग गर्दा गाओ देशद्रोहीमा गनिए र सरकारको अत्याचारबाट बच्न उनी फ्रान्सको शरणमा पुगे ।

यसरी एक्काइसौँ शताब्दी लागेपछि पनि राज्य आतङ्कको बर्बरता खप्नुपर्ने दिनको अन्त्य भएको छैन । यस्ता धेरै मुलुक छन् । वैचारिक स्वतन्त्रताको पक्ष लिएको अपराधमा शिन्जियाङले स्वदेशको नागरिकता त्यागी फ्रान्सेली नागरिकता ग्रहण गरे । वैचारिक स्वतन्त्रताका लागि स्रष्टा कलाकारले गरेको बलिदानी सङ्घर्षको मूल्याङ्कन हामीजस्ता मुक्त (हुन लागेको) समाजमा बस्नेहरूले प्रशंसा गरेनौँ भने अरू कसले गर्ला ? किनकि अझै धेरै मुलुकमा बर्बरता बाँकी छ । त्यहाँ निरङ्कुशता सञ्चालित छन् । नेपाल पनि त्यसको धङधङीमै छ । यहाँका पत्रकार निर्भय छैनन् । भयको शासनमा मानिस आफूलाई स्वतन्त्र ठान्न सक्तैन ।

फ्रान्सका शरणार्थी बन्न पुगेका शिन्जियाङ एक बहुमुखी प्रतिभा थिए । आख्यानकार, कवि, नाटककार एवम् चिन्तक शिन्जियाङले त्यहीँको नागरिकता लिएर त्यहीँबाटै नोबेल पुरस्कार प्राप्त गरेका थिए । यस्ता दृष्टान्त अरू पनि छन्— जोजेफ ब्रोड्स्की, इभान बुनिन, अलेक्जान्डर सोल्झेनित्सिन जस्ता स्रष्टाले रुसको अत्याचारबाट उम्की फ्रान्स, अमेरिका, बेलायत आदिको शरण लिँदै प्राण जोगाए । त्यहीँ बसेर निरन्तर सिर्जना गर्दै नोबेल पुरस्कार लिए । ती देशले कत्रो क्षति बेहोर्नुपर्‍यो, कसरी कहिल्यै नमेटिने कलङ्क खपिरहनुपर्ने भयो ।

साहित्य भन्नु नै मानव मुक्तिको गीत र प्रार्थना हो । यसले मानवको उच्चत्तर चेतनाको गीत गाउँछ; त्यस्तो चेतनालाई छुने र त्यसको उत्थान गर्ने तत्व भन्नु नै साहित्य हो । तर अधिनायकवादीका निमित्त सत्ता सबैथोक हो, साहित्य त क्यै होइन, प्रचार सामग्री मात्र ।

फ्रान्सेली नोबेल लरेट्स्मध्ये सलि प्रुधोम, रोमा रोल्याँ, क्लड सिमन र सात्र्र त नेपाली पाठ्यक्रममा राखिएका अर्थात् अत्यधिक पढिएका विद्वान् स्रष्टा, चिन्तक हुन् । त्यसैगरी सात्र्रको निर्भीकता र उनको व्यक्ति सर्वाेच्चताप्रतिको आग्रह र आस्था अतुलनीय छ । उनले १९६४ का लागि प्रदान गरिएको नोबेल पुरस्कार लिन अस्वीकार गरे । उनले यस अघिका सबै पुरस्कार अस्वीकार गर्दै आएका थिए । यहाँसम्म कि हेन्री किसिन्जरसँग संयुक्त रूपले प्रदान गरिएको नोबेल शान्ति पुरस्कार पनि अस्वीकार गरेका थिए । उनी सबै प्रकारका सरकारी वा पदीय सम्मान र पदकको विरोध गर्दै आएका थिए । त्यस्तो निष्ठा बोकेको स्रष्टा फेरि कहाँ जन्मेला ? हाम्रोमा अनेक छलप्रपञ्चमा अडिएका पुरस्कारका सेवाहरूको गति हेरौँ । जस्तो सुकै हिलामा गाडिएको होस् त्यसलाई दाँतले च्यापेर निकाल्ने र पुरस्कार भनेपछि पचाउन सक्ने हिजो थिए । आज झन् बढ्दै छन् ।

फ्रान्सले कलासाहित्यमा विजय गर्दा यो मन आनन्दित हुने अनेक कारण छन् । ती के हुन् भने अघिका भिक्टोर ह्युगो, बाल्जाक र बेके नपढ्ने को होला ? यिनका मास्टरपिसहरू अनेकौँ विश्वविद्यालयमा छन् । नेपालीमै हेरौँ, आजभन्दा ४७ वर्षअघि हन्चब्याक्ट अफ नोट्रेड्याम (अंग्रेजी अनुवाद) लाई नाट्रिड्यामको कुम्भे शीर्षकमा सुब्बा ऋद्धिबहादुर मल्लले नेपालीमा अनुवाद गर्नुभयो र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गर्‍यो । नेपालमा अनुवाद साहित्यको महत्व राम्ररी स्थापित नभई नेपाली साहित्यले आधुनिक कालमा प्रवेश गर्ने बित्तिकै यो विश्वसाहित्यको महान् कृतिको सुब्बा मल्लले नेपालीमा अनुवाद गर्नुभयो । उहाँले सो कृति अनुवाद गर्नुपर्ने तर्क दिँदा धेरै कुरामा प्रकाश पार्नुभएको छ- नेपाली साहित्यका उपन्यास–पाठक, जगत्प्रसिद्ध औपन्यासिक–सम्राट् भिक्टर ह्युगोका कृतिहरूबाट अपरिचित छैनन् । तर उनका कृतिहरू हाम्रो नेपाली भाषामा आजसम्म अनूदित भएको देखा परेको छैन । ह्युगोका पुस्तकहरूका अनुवादहरूको माग संसारका प्रत्येक सभ्य भाषामा छ । अंग्रेजीमा त ह्युगोका अनेक पुस्तकहरूका अनुवाद प्रकाशित भएका छन् । यो उनको नाट्रिड्याम–डी–प्यारी भन्ने पुस्तकको अनुवाद हो । यस पुस्तकका अनेक अनुवाद भइसकेका छन् । नेपाली भाषामा पनि यस पुस्तकको परिचय होओस् भन्नाका निमित्त पाठकहरूका सामुन्ने ल्याउने धृष्टता गरिएको छ (अनुवादकको कलम नाट्रिड्यामको कुम्भे) ।

हाम्रोमा अनेक छलप्रपञ्चमा अडिएका पुरस्कारका सेवाहरूको गति हेरौँ । जस्तो सुकै हिलामा गाडिएको होस् त्यसलाई दाँतले च्यापेर निकाल्ने र पुरस्कार भनेपछि पचाउन सक्ने हिजो थिए । आज झन् बढ्दै छन् ।

अरू पनि स्रष्टा छन्— सिमन दी बुभाको सेकेन्ड सेक्स (नेपालीमा महिला) लगायतका धेरै फ्रान्सेली कृति नेपालीमा छन् । अझै आउनैपर्नेको सूची लामो छ । मोलिअरका कृति छन्; (यतिखेर काठमाडौँको शिल्पी थिएटरमा उनको नाटक तारतुफ को मञ्चन भइरहेको छ ।) पछि कामुका प्रायः सबै कृति स्ट्रेन्जर, द फल, मिथ अफ सिसिफस र बेकेको वेटिङ फर गोदो सबै अनूदित छन् । नेपालीमा फ्रान्सेली साहित्यको रस भित्रसम्म पसेको छ । त्यतातिर खासगरी बौद्धिक वर्ग तानिएको छ र अस्तित्ववादीको उपस्थिति हरेक वार्तामा आउँछ ।

विचार र शैली दुवै गुणमा फ्रान्स अग्रणी छ । त्यसैगरी गुस्ताफ फ्लुबेरकी अमर पात्र मादाम बोभारीबाट विश्वकै स्रष्टा प्रभावित छन् । हाम्रै लैनसिंह बाङ्देल, शंकर लामिछाने, वी.पी. कोइराला, धुव्रचन्द्र गौतमहरूले यस्ता क्लासिक (फ्रान्सेली) कृतिको बारम्बार बयान गरेका छन् । प्रशंसा गरेका छन् । आख्यान वा साहित्यवाददेखि प्रयोगवाद हुँदै अस्तित्ववादसम्म सिकाउने फ्रान्सेली चिन्तक र स्रष्टाप्रति हामीले श्रद्धाले शिर निहुराउनुपर्छ । अझ फ्रान्सेली कलाको यथार्थ रूप लैनसिंह वाङदेलबाट नेपाल आएको छ । मैले आफ्नो उत्तरआधुनिक विमर्श (२०६४) शीर्षक ग्रन्थमा एउटा लामो रचना (आधुनिक फ्रान्सेली दर्शन कला र साहित्यले विश्वलाई देखाएको बाटो) भित्र यस्ता कुराको चर्चा गरेको छु । यसै सन्दर्भमा फ्रान्सेलीबाट आएका यसपालि (२०१४) का नोबेल लरेट प्याट्रिक मोदियानोको विशेषता केकस्तो होला ? भन्ने विषयमा यसपछि आउने शीर्षकमा सङ्क्षिप्त चर्चा गर्न चाहन्छु ।

क्रमश : अर्को शनिवार

तपाइँको प्रतिक्रिया

फेसबुक