शुक्रबार, वैशाख १४, २०८१

घलेको शेराटन होटल : ८ अर्व रुपैयाँको लागत बढेको बढ्यै

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन २५ गते १८:१५

अष्ट्रेलियाबासी नेपाली अर्बपति शेष घलेको नाम र पहिचान विश्वभरकै नेपालीहरुमाझ फैलिएको छ । गैरआवासिय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका घले अष्ट्रेलियाकै ‘उत्कृष्ट १० धनी’ मध्येमा पर्छन् । उनी आफ्ना योजना र लगानीका हिसाबमा गैर आवासीय अन्य धनाढ्य उपेन्द्र महतो, जीवा लामिछानेभन्दा धेरै अगाडी देखिन्छन् । गैर आवासीय अध्यक्ष भएका बेला श्रमिक उद्धार र सहयोगका निम्ति करोड–करोड रुपैंयाका कोष स्थापना गर्ने घोषणा गर्दै देश–देशावर गरिरहेका हुन्थे । तर, ती कोषबाट कहिंकतै पनि एउटै श्रमिकको उद्धार–सहयोगमा खर्च भएको समाचार भने कहिल्यै आएन । तैपनि घलेले स्थापना गरेका बिभिन्न कोषका समाचारहरु आइरहे ।

अहिले काठमाडौंको मुटु मानिने नारायणहिटी दरबार सामु (ठमेल क्षेत्र)को करिब १४ रोपनी जमिनमा ५ तारे सेराटन होटल (चेन) बनाउन थालेको ५ वर्ष भैसक्यो । प्राइम लोकेसनमा निर्माण सुरु भएको होटलमा २२५ वटा गेस्ट र सुइट रुम रहने र यसमा शतप्रतिशत वैदेशिक लगानी रहने भनिएको थियो । होटलको लागत शुरुमा ८ अर्ब रुपैयाँ अनुमान गरिएपनि निर्माण ढिलाइ र अन्य कारण अहिले नै यसको लागत १५ अर्ब छेउछाउ पुग्ने देखिएको छ । एमआईटी ग्रुप होल्डिङ्सले होटल निर्माणको जिम्मेवारी लिएर २०१९ को अन्त्यदेखि संचालनमा आइसक्ने भनिएकोमा अहिले त निर्माणकार्य समेत ठप्प देखिएको छ । मुश्किलले ४० प्रतिशत मात्रै होटल निर्माण सम्पन्न भएको देखिन्छ ।

अधिकांश शेयर शेष घलेको रहेको भनिएको यो होटलमा अहिले देखी नै काम सुचारु भयो भने पनि यसको निर्माण कार्य पुरा हुन कम्तिमा अझै ३ वर्ष लाग्ने बताइन्छ । तर निर्माण कार्य कहिले देखि शुरु हुन्छ भन्ने कुरा निर्माण कम्पनिले बताएको छैन । ‘राजधानीकै मुटुमा निर्माण हुन लागेको यो होटललाई यस्तो अवस्थामा छोडिंदा राजाधानीलाई नै कुरुप बनाएको छ’- महानगरपालिकाका एक जना कर्मचारी भन्न्छन ।

होटल सञ्चालनमा आएपछि यसबाट नाफा कमाउन १५ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ । होटलको २ तला पार्किङ, बेसमेन्ट, लबी सहित १३ वटा तलामा गेष्टरुम हुने छन । योजना अनुसार होटेलभित्रै रिटेल सपिङ सुविधा लिन सकिनेछ । हेल्थ क्लब, स्विमिङ पुल र फिटनेस सेन्टरको पनि यो होटेलमा सुविधा राख्न लागिएको छ ।

होटलमा विवाह र सभासमारोहका लागि करिब एक हजार सिट क्षमताको सभाकक्ष निर्माण हुँदैछ । त्यसमा तीन वटा मिटिङ, बोर्ड रुम र थप दुई सभाकक्ष पनि निर्माण हुदैं छ ।

देशभरमा अहिले १० वटा पाँचतारे होटेल सञ्चालनमा छन् । बिश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल एण्ड रिसोर्ट वल्डवाइड इंक’ ले सञ्चालन गर्ने विभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । अमेरिकाबाट सुरु भएको स्टारवुड सन् १९६९ बाट सुरु भएको ब्रान्ड हो ।

शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् । स्टारवुडले शेराटन बाहेक अन्य दर्जनौं होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ । शेराटनले शेराटनकै नाममा बिश्वका झण्डै एक सय मुलुकमा होटल सञ्चालन गरिरहेको छ । नेपालमा भने पहिलो पटक शेराटन चेन भित्रिन लागेको हो ।

‘एकातर्फ घलेजीको अन्तर्राष्ट्रिय ब्यापार चेन र योजना मात्रै बनाइरहने सम्पन्न नगर्ने स्वभावको मारमा काठमाडौंको शेराटन पनि परेको देखिन्छ,’होटल एशोसिएसनका एक पुर्व अध्यक्ष भन्छन्—‘अहिले यस्तो प्राइम लोकेसनमा सेराटन होटल बनाइने भन्दै सिमेन्ट–फलामको कंकाल मात्रै उभ्याएर झनै आफ्नो छवि बिगार्ने काम घलेले गर्नुभएको छ । यो चेन होटल नेपालसँग जोडिएको अन्तर्राष्ट्रिय छविको कुरासमेत भएकाले यसरी यत्रो योजना लिएर कहिले भुकम्प र कहिले कोरोनाको नाममा भागेरै हिंडिरहनु शेष घलेको नामले पनि सुहाउने कुरा होइन ।’

तपाइँको प्रतिक्रिया