शनिबार, वैशाख ८, २०८१

एनआरएनए केन्द्रिय निर्वाचनका भित्रि खेल : दुबै पक्ष पार्टिगत भागबण्डा मिलाउन तानातान

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन २६ गते ११:१२

एनआरएनए केन्द्रिय निर्वाचनको गर्मागर्मी चल्दै गर्दा एनआरएनए युकेको निर्वाचन भैरहेको थियो । गत साता यो निर्वाचन केन्द्रमा रह्यो । यतिनै मतदाता भएका अन्य देशको निर्वाचनको चर्चा र गर्मागर्मी उति भएन । त्यसको एउटै कारण छ – एनआरएनएका पूर्व केन्द्रिय अध्यक्ष शेष घलेको स्पष्ट भनाई भन्दै बाहिर आएको प्रसंग । “कुलजी, तपाईले आफ्नै देश (युके) को निर्वाचनमै जित्न सक्नुभएन भने तपाईलाई आगामी केन्द्रिय निर्वाचनमा समर्थन गर्न सकिन्न । जित्नुभयो भने तपाईलाई समर्थन गर्छौं ।”

शेष घलेको यहि निर्णयले गर्दापनि एनआरएनए बेलायतको निर्वाचनले धेरै चर्चा पायो । अनेक खेल देखिए । एक पक्षले कुल पक्षलाई हराउन सम्पूर्ण शक्ति र अक्किल, उपाय प्रयोग गरेर लाग्यो । कुल पक्ष युकेको निर्वाचनलाई जिवनमरणको रुपमा लिएर लाग्यो । नभन्दै कुल पक्षले जित्यो । त्यसलगत्तै एनआरएनएको केन्द्रिय निर्वाचनको माहोलनै बदलिने भयो । अगस्ट १५ लगत्तै आफ्नो पूर्ण टिम पूर्णरुपमा घोषणा गर्ने मनशायले कुल आचार्यले केन्द्रिय अध्यक्षमा उमेदवारी दिने निर्णय गरे । यद्दपी उनको उमेदवारी आधिकारिकरुपमा बाहिर आइसकेको त छैन । तर उनले अध्यक्षमा उठ्ने तयारि भने लामै समयदेखि गर्दै आएका हुन् र हाल त्यसलाई आन्तरिक रुपमा पक्का गरेर माहोल बनाउन दौडिरहेका छन् ।

अहिले एनआरएनएको आगामी केन्द्रिय निर्वाचनकालागि पार्टी, नेता, उमेदवार, पैसो, मतदाता, अभियन्ताहरु तानातानको भित्रि खेल रफ्तारमा चलिरहेको छ । त्यो खेलमा कुशल खेलाडीका रुपमा स्थापित हुन एनआरएनएका केहि नेताहरु काठमाडौंमा दौडादौड गरिरहेका छन् ।

निर्वाचनमा समर्थन बटुल्न पुगेका डा बदि केसी नेता प्रचण्ड र रामकुमारी झाँक्रीसित

एनआरएनएका केहि अभियन्ता चुनावी माहौल बनाउन काठमाडौंमा छन् । त्यसमध्ये कतिपयले लुकिलुकि नेताका दैला चहारिरहेकापनि छन् । तर महासचिव डा बद्री केसीले भने गत साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहालल (प्रचण्ड) र नेकपा एमाले माधव नेपाल समूहका प्रभावशाली नेतृ राम कुमारी झाँक्रीलाई भेटे । सामाजिक सन्जालमा केसीले यि दुई नेतालाई भेटेको फोटोसहित टाँसेका छन् । उनले भूतपूर्व गोरखा सैनिकका समस्या, बिदेशी लगानी, एनआरएनएलाई नेपाली नागरिकताको निरन्तरताका विषयमा छलफल भएको उल्लेख गरेपनि त्यो सहि देखिन्न । किनभने एक त उनले उठाएका यि विषय एनआरएनए केन्द्रिय तहबाट उठाउने हो र जुन पटक पटक उठिसकेको विषय हो । केन्द्रिय तहबाट यि मुद्दा कुमार पन्तको नेत्रित्वमा प्रधानमन्त्रीलाई भेटेरै प्रस्तुत गरेको विषय बाहिरिएलगत्तै केसीले एनआरएनए मुद्दाकालागि भेटघाट गरेको भन्ने विषय युक्तिसंगत देखिन्न । अर्को कुरा, एनआरएनएको नेतृत्व तहबाट नितिगत रुपमै यस्तो भेघाटको कुनै निर्णय भएको थिएन । चुनावी मुखमा एनआरएनएको अध्यक्ष पदका उमेदवारले गएर नेताहरु भेट्नु निर्वाचनकालागि पार्टीगत समर्थनकै लागि हो भन्ने स्पष्ठ हुन्छ ।

निर्वाचनकालागि पार्टिगत छलफल र समर्थनको प्रयास त कुल आचार्यलेपनि गरिरहेकै छन् । कुल आचार्य पक्षले सकेसम्म नेकपा एमाले माधव नेपाल पक्ष, नेपाली कांग्रेस, डा बाबुराम भट्टराईको जनता समाजवादी पार्टी, राप्रपासम्मलाई मिलाएर पद बाँडफाँड गर्दै जाने तयारि गरिरहेका छन् । यहि तयारि अनुरुप पार्टीका कार्यकर्ता मार्फत राजनितिक पार्टी र नेताहरुसित बाक्लो छलफल भैरहेको छ । यद्दपि यि छलफलहरु सार्वजनिकरुपमा तात्कालकालागि बाहिरिएका छैनन् ।

सत्तारुढ गठबन्धनकै रुपमा एनआरएनए निर्वाचनकोपनि भागबण्डा र गठबन्धन मिलाउन सके यो पटक निर्वाचन आफ्नो पक्षमा जित्न सकिने आँकलन कुल आचार्य पक्षको छ । उता केसी पक्षले आचार्य पक्षको यहि आँकलन बुझेर सकेसम्म छिट्टै राजनितिक सहमति लिइहालौं भन्ने पक्षमा देखिएको हो । त्यहि अनुसार राम कुमारी झाँक्री र प्रचण्डलाई केसीले भेटघाट गरेका हुन् ।

कसको प्यानलमा को ?

एनआरएनए राष्ट्रिय परिषदहरुको निर्वाचन यहि अगस्टको १५ सम्ममा पुरा गरिसक्नुपर्छ । त्यो परिणामले केन्द्रिय मतदाताको सबै देशको संख्यापनि स्पष्ठ हुन्छ । त्यसैले केन्द्रिय निर्वाचनकालागि यहि मतसंख्या कुरेर बसिरहेका छन्, कुल आचार्य र बद्री केसी पक्ष । अहिले दुबै पक्षका उमेदवारको छानबिन गर्ने, पार्टीका तर्फबाट पद दाबी गर्ने र टोली बनाउने, नेता फकाउने र तान्ने काम भैरहेको छ ।

हालसम्म अध्यक्षमा बद्री केसीले खुलेरै अध्यक्षमा उमेदवारी घोषणा गरे । कुल आचार्यले आधिकारिक रुपमा घोषणा नगरेपनि अध्यक्षमा उठ्ने पक्का छ । उनी आफ्नो प्यानल बनाउने तयारिमा छन् । कुल पक्षका तर्फबाट मसचिवमा अमेरिका निवाशी डा. केशब पौडेल छन् । उपाध्यक्षमा पहिले महासचिवमा डा. हेमराज शर्मासित पराजित जानकी गुरुङको नाम अगाडि सारिएको छ । क्षेत्रिय, पार्टिगत, जातियरुपमा समाबेशी बनाउन कुल पक्ष भित्रभित्रै लागेको छ । शेष घलेका निकट हालका उपाध्यक्ष सोनाम लामाले अध्यक्षको पद दाबी गरेपनि बार्गेनिङकालागि जस्तो देखिन्छ । उनले आफू अध्यक्षमा उठ्ने, नत्र आफ्नो पक्षको एक जनालाई उपाध्यक्ष दिनुपर्ने माग राखेको सोनाम पक्षको भनाई छ ।

हालसम्म घोषणा गरिएका दुई पक्षमा डा. बद्रि केसी पक्षको उमेदवारी धेरै पदमा खुलिसकेको छ । उपाध्यक्षमा जापानका शालिन अभियन्ता हालका कोषाध्यक्ष महेश श्रेष्ठ उमेदवार छन् । महासचिवमा अमेरिका निवाशी अर्का प्रभावशाली गौरी राज जोशीले घोषणा गरिसकेका छन् । बद्री केसी पक्षका प्रमुख खेलाडी डा. हेमराज शर्माको बरिष्ठ उपाध्यक्षमा उमेदवारी पक्का जस्तै छ । सचिवमा यो पक्षबाट बेल्जियमका बिवादास्पद गंगाधर गौतमले घोषणा गरिसकेका छन् । सचिवमा उमेदवारी घोषणा गरेलगत्तै उनले प्रभावशाली एनआरएनए अभियन्ताहरुसित फोन रिंगाउन थालिसकेका छन्, भोट माग्दै । एमाले खेमा त्यसमापनि केपी ओली पक्षका कट्टर राम शरण सिम्खडाले सचिव पदमा उमेदवारी घोषणा गरिसकेका छन् । केपी ओली पक्षको सहमति र समर्थन जुटाउने सिम्खडाको जिम्मामा छ ।

उता एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष लोक प्रसाद दहालपनि डा. बद्रि केसीकै पक्षबाट कोषाध्यक्ष पदको उमेदवारी घोषणा गर्ने अन्तिम तयारिमा छन् । एनआरएनए बेल्जियमको निर्वाचनलाई आफ्नो पक्षमा पार्न सफल भएको दाबी घुमाउरोपाराले सिद्द गर्दै आफू माओवादी पक्षका तर्फबाट केन्द्रिय कोषाध्यक्षमा उमेदवार बन्न पाउनुपर्ने दाबी लोक दहालको देखिएको छ ।

धेरैले बेवास्ता गरेजस्तो देखिएपनि एनआरएनए अफ्रिकाको मत निर्णाक भैदिनसक्छ । किनकि एनआरएनए अफ्रिका क्षेत्र यस्तो हो जुन सामाजिक कामका हिसाबले यो क्षेत्र अग्रणी छ । यहाँ बिवाद नगण्य छ । यो क्षेत्रबाट आउने कम्तिमा सय देखि १५० मत एक छापे पर्ने संभावना छ । किनकि एनआरएनए अफ्रिका यति संगठित छ कि तिनले सामुहिक जे निर्णय गर्छन् बिना बिवाद त्यहिं मतदान गर्छन् । तर हालसम्म यो क्षेत्रबाट उमेदवारका रुपमा कोहि अघि सरेको छैन ।

अगस्ट १५ पछि एनआरएनए अफ्रिकालेपनि कम्तिमा एक जना साझा उमेदवार बनाउने रणनिति लिएको छ । एनआरएनए अभियानका एक सुस्त देखिने हस्ती हिकमत थापा एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापा उमेदवारी बन्नुपर्ने मनशायमा छन् । रोशन थापाले एनआरएनए केन्द्रिय युवा उपाध्यक्ष पदमा उमेदवारी दिन सक्छन् । अर्थात् सचिव वा उपाध्यक्ष पदमापनि उनको उमेदवारी पर्न सक्छ । रोशन थापा अघि नसरेमा हिकमत थापा आफैं अगाढि सरेर एक प्रमुख पदमा उमेदवारी दिनसक्ने प्रबल संभावना छ । तर हालसम्म एनआरएनए अफ्रिका ‘पर्ख र हेर, बुझेर एक प्यानलतिर लाग’ को अवस्थामा परिस्थितिको आँकलन गर्दै बसेको छ ।

शेर बहादुर देउवा पस्चिम क्षेत्र डँडेलधुराका भएकालेपनि पस्चिम क्षेत्रकै हिकमत थापाको निकटता प्रधानमन्त्री देउवासित सोचिएभन्दा बढि छ । यो केन्द्रिय निर्वाचनमा हिकमत थापाले प्रधानमन्त्री तहबाट समर्थन पाउनसक्ने संभावनापनि उत्तिकै छ ।

पूर्व अध्यक्षहरु को कसका पक्षमा ?

एनआरएनएको अभियानमा सबैभन्दा प्रभावशाली भनेका जीवा लामिछाने र शेष घलेनै हुन् । एनआरएनएका मुख्य डिजाईनकर्ता, बिजय पराजयको प्रमुख चाबीपनि यि दुईसित छ । यिनको समर्थन कसले पाउँछ त्यसले जित्ने हार्ने प्रमुख कारण बन्छ ।

‘जीवा लामिछानेको जसलाई समर्थन हुन्छ त्यसको बिरुद्दमा शेष घले उत्रिन्छन्’ एनआरएनए केन्द्रिय निर्वाचनकालागि यसै भनिन्छ । त्यसैले हाल जीवा लामिछाने डा. बद्रि केसीको समर्थनमा देखिएकाले शेष घलेको समर्थन कुल आचार्यलाई हुने पक्का देखिएको छ । भनिए अनुसार शेष घलेले कुल आचार्यको प्यानललाई समर्थन दिईसकेका छन् । शेष घलेको समर्थन बटुलिसकेकाले कुल आचार्य हाल प्यानल बनाउन ब्यस्त छन् ।

यि दुई पछिका प्रभावकारिमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो हुन् । उनले खुलेरै कसैको समर्थन गरेको नदेखिएपनि डा. बद्रि केसीलाई आन्तरिक रुपमा समर्थन गरेका छन् । अर्को पाटोपनि छ, जीवा लामिछानेले जसलाई समर्थन् गर्छन् महतोको समर्थन प्राय त्यतै रहन्छ । लामिछानेको समर्थन डा. बद्रि केसीलाई भएकालेपनि महतोको समर्थन केसीलाईनै हुन्छ ।

त्यसपछिको प्रभाव बर्तमान अध्यक्ष कुमार पन्तको छ । कुमार पन्त खासै खर्च नगरिकनै, राजनितिको फोहोरि खेल नखेलीकनै सर्वसम्मत रुपमा अध्यक्ष हुन पाए दोस्रो कार्यकाल नेत्रित्व गर्ने मनशायमा थिए । त्यो अवस्था स्रिजना भए आफैं बन्ने नत्र डा. बद्रि केसीलाई समर्थन गर्ने देखिएको छ । जसले जे भनेपनि पन्तको एमालेमा राम्रै प्रभाव छ । उनले कांग्रेस पक्षमापनि राम्रो प्रभाव बनाएका छन् ।

एनआरएनएका पूर्व अध्यक्ष भवन भट्ट र देवमान हिराचनको प्रभाव खासै छैन । भट्टको प्रभावले थोरै राप्रपा समर्थकको मत तान्न सक्छ । हिराचन एनआरएनए अभियानमा पछिल्लो समय डटेर नलागेको र भट्टको कार्यकाल सबैभन्दा असफल मानिएकालेपनि प्रभाव नजमेको हो ।  हिराचन र भट्ट दुबैको समर्थन भने कुल आचार्यलाईनै हुने देखिएको छ । तर भट्टले खुलेर कतै समर्थन दिएका छैनन् । केसी पक्षलेपनि भट्टले आफ्नो पक्षलाई समर्थन गर्ने लगभग विश्वास गरेर बसेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक