बिहीबार, चैत १५, २०८०

एनआरएनए केन्द्रिय निर्वाचन : स्वतन्त्र भोट भन्दा पार्टी कार्यकर्ता र किनेको भोट निर्णायक

नेपालप्लस संवाददाता २०७८ साउन २८ गते १७:५२

गैर आवाशिय नेपाली संघ (एनआरएनए) केन्द्रिय तहको निर्वाचनका लागि झट्ट हेर्दा भोटका लागि मान्छे फकाउने, आफ्ना एजेन्डाहरु स्थापित गर्ने जस्तो देखिन्छ । बिगतको कार्यकालमा गरेको मूल्यांकनले झन प्रभाव पार्नुपर्ने हो । तर वास्तबिकरुपमा एनआरएनएको केन्द्रिय निर्वाचन न त एजेण्डा गतिला भएर जित्छ न स्वतन्त्र भोटले जिताउँछ । न त आफूले अघि सारेका एजेण्डा पुरा नै गर्नुपर्छ । सुन्दा तितो लाग्नसक्छ, तर एनआरएनएको निर्वाचन जित्न कि त हुलकाहुल मतदाताको मत किन्न सक्नुपर्छ । कि त बिभिन्न राजनितिक दलका कार्यकर्ताको मत सोहोर्न सक्नुपर्छ ।

त्यसो त, लगभग ८० लाख नेपाली हाल प्रवाशमा छन् । ति मध्ये ७० लाख नेपालीको प्रतिनिधित्व एनआरएनएले सरकारी ब्याख्या अनुसार गर्छ । तर एनआरएनएमा १० प्रतिशत नेपालीकोपनि प्रत्यक्ष संलग्नता छैन । बिदेशमा बस्ने ७० लाख नेपाली मध्ये हाल एनआरएनएको सदस्य बन्ने नेपालीको संख्या एक लाखको हाराहारीमा मात्रै छ । यहि एक लाख सदस्य संख्यालेनै प्रवाशका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गरेको डंका पिटिन्छ ।

यो एक लाख सदस्य मध्येपनि  सबैले आगामी एनआरएनएको केन्द्रिय निर्वाचनमा मतदान गर्न पाउँदैनन् । केन्द्रिय निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या तिन हजार पाँच सयको हाराहारीमा मात्रै छ ।  यिनै तिन हजार पाँच सयले प्रवाशका ७० लाख नेपालीको प्रतिनिधित्व गर्ने भनेर बुझिन्छ, अर्थ्याइन्छ ।

केन्द्रिय निर्वाचनमा एकदम धेरै मतदाता हुने भनिएको, भयंकर राजनिति हुने, ठूलो भिड जम्मा हुने भनिएका देश अमेरिका, बेलायत, अष्ट्रेलिया हुन् । तिन सय मतदाता हुने देश एकदमै महत्वपूर्ण भोट बैंक, राजनितिको केन्द्र मानिन्छ । तिन सय मतदाता हुनेमा अमेरिका, बेलायत र अष्ट्रेलिया हुन् । यि देशमा करिब तिन सय देखि चार सयको बिचमा मतदाता छन् । यो संख्या बढि हुनसक्थ्यो । तर यि देशमा बसेका १० प्रतिशत नेपालीपनि एनआरएनएको सदस्य छैनन् । जति सदस्य छन् तिनैबाट केन्द्रिय मतदाता छानिने हुनाले मतदाता संख्या कम छ । त्यसपछि जापान र कोरियामा बस्ने नेपालीको संख्या बढि छ । तर धेरै नेपाली छन् भनिएका जापान र कोरियामापनि मतदाता संख्या भनेको एक एक सय वा बढीमा डेढ सयको हाराहारीमा हो ।

मुखले मध्यपूर्वमा धेरै नेपाली छन् भनिन्छ । अधिकांश श्रमिक, मजदूरहरु मध्यपूर्वमै छन् । तर यहाँ एनआरएनए सदस्य बनाउने भनेको पार्टीका जनवर्गिय संगठन, ठेकदार, दलाल र अझ खासगरि मेनपावरका दलालले हो । मध्यपूर्वमा लगभग ७०० मतदाताको हाराहारी छ ।

अफ्रिकाको सिंगो महादेशका नेपालीको मतदाता एक सयको हाराहारीमा छ । बाँकि मतदाता पोर्चुगल, बेल्जियम, ईटाली, स्पेन, जर्मनी गरेर युरोपेली मुलुकका छन् । खासमा एनआरएनएको केन्द्रिय निर्वाचनमा जित वा हार बनाउने प्रमुख मत भनेको युरोपकै हो ।

मध्यपूर्वका श्रमिक, मजदूरहरुलाई खासमा यो निर्वाचनको उति महत्व र प्राथमिकतापनि होइन । किनकि निस्चित समयमा नेपाली पासपोर्ट बोकेर मजदुरी गर्न गएका हुन्छन् । तिनलाई बैदेशिक लगानी, दोहोरो नागरिकता आदिसित उति सरोकारपनि हुन्न ।

बरु यो निर्वाचन अक्टोबर महिना अर्थात् नेपालमा दशैं र तिहारको सम्मुख पर्ने हुनाले धेरै मजदूर, श्रमिक नेपाली आफ्नो घर जान चाहन्छन् । हो यिनै मजदूरी गर्ने नेपालीलाई काठमाडौंसम्म जाते आते विमान खर्च, घरसम्म पुग्ने भाडा र काठमाडौंमा बस्दाको खर्च दिएर दलाल, मेनपावरका सन्चालनकर्ता र पार्टीका नेताले नेपाल लैजान्छन् । मजदूरहरुलाई नेत्रित्व छनौटमा खासै सरोकार नहुनाले जसले खर्च दिन्छ उसैलाई त्योपनि दलाल र नेताको निर्देशनमा दाम लिएर मतदान गर्छन् ।

मध्यपूर्वमा नेपाली कांग्रेस, नेकपा एमाले (दुबै समुह), माओवादी, जनता समाजवादी, राप्रपा र नेकपा बिप्लब समुहसम्मका केहि दलालकालागि एनआरएनए निर्वाचन ठूलो पर्व र अवशर बनिदिन्छ । तिनले ‘मेरा यति भोटर छन्, यति पैसा स्थानिय नेता, केन्द्रिय नेतालाई दिनुपर्छ” भन्दै बार्गेनिङ गर्छन् । उमेदवारहरुबाट दाम असुलेर मत बेच्छन् । अझ यि दलालहरु मध्येपनि कतिपयले त ‘मेरा यति मतदाता छन्’ भन्दै उमेदवारी घोषणा गर्ने र अन्तिममा ‘यति रकम दिए उमेदवारी फिर्ता लिन्छु’ भन्दै उमेदवारी झिकेबापतसमेत दाम लिएर दोहोरो तरिकाले कमाउँछन् ।

यसरि उमेदवारी घोषणा गरेर रकम हात पार्ने र अन्तिममा दाम असुलेर आफ्नो उमेदवारी फिर्ता लिनेमा बेल्जियम, पोर्चुगल, जर्मनी, अमेरिका, बेलायत, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, मलेशिया र ओमानका केहि एनआरएनए अभियन्ताको नाम चर्चित छ । यो पटकको निर्वाचनमापनि बेल्जियम, ओमान, पोर्चुगलका ति चर्चितले आफ्नो नाम उमेदवारकारुपमा सार्वजनिक गरिसकेका छन् ।

यस बाहेक पार्टीका केन्द्रिय नेताहरुलाई खुशि बनाउन, किन्नपनि चर्को दाम खर्च हुन्छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी आदि दलका केन्द्रिय र प्रभावशाली नेतालाई ‘मेरो पक्षमा मतदान गर्न निर्देशन गरिदिनुस्, सहयोग गरिदिनुस्, यति दाम दिन्छु’ भनेरसमेत लेनदेन हुन्छ । यस्तो लेनदेन सिधै गर्न सकिन्न । पार्टीका साना खाले नेतामार्फत फत्ते गरिने हुँदा केन्द्रिय, बरिष्ठ तहका नेताका विश्वाशिला छोटे नेताहरुले समेत यो निर्वाचनबाट आर्थिक लाभ लिन्छन् । त्यहि लेनदेन र पार्टीका केहि कार्यकर्तालाई कुनै पदसमेत दिने सहमतिमा दामसमेत असुलेर केन्द्रिय नेताहरुले एनआरएनएका उमेदवारहरुसित लेनदेनसहितको सहमति गर्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक