शुक्रबार, वैशाख ७, २०८१

मेस्सी, रुँदै रुँदै फ्रान्सेली क्लबमा आबद्द

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २८ गते १२:२९

फोटो क्रेडिट- गेटफूटबलन्युजस्पेन डटकम

अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेस्सीले आफ्नो वर्षौं पुरानो क्लब बार्सिलोनालाई आँसु झार्दै बिदाई गरेर फ्रेन्च क्लबसित जोडिएका छन् । फ्रान्सको राष्ट्रिय फूटबल टिम पारी सँ जेर्मा (पिएसजी) सित दुई वर्षको सम्झौता भएको छ ।

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले एफसी बार्सिलोनामा दुई दशकभन्दा बढी समय बिताएर पीएसजीसँग दुई वर्षको सम्झौता गर्न मंगलबार पेरिस आइपुगेका थिए ।

पीएसजीले एक वक्तव्यमा ३४ वर्षीय अर्जेन्टिना स्टारले २०२३ सम्म तेस्रो सिजनको विकल्प सहित (सम्झौता फेरि बढाउन सकिने बिकल्प) एउटा सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गरेको छ ।

“म पिएसजीमा आबद्द भएर मेरो क्यारियरको एक नयाँ अध्याय शुरू गर्न उत्साहित छु” सम्झौतापछि मेस्सीले पत्रकारहरुसित भने “क्लबको सबै गतिबिधी मेरो फुटबल महत्वाकांक्षासँग मेल खान्छ । मलाई थाहा छ कती प्रतिभाशाली टोली र कोचिंग स्टाफ यहाँ छन् । म क्लब र फ्यानहरुको लागी केहि विशेष बनाउन मद्दत गर्न कटिबद्ध छु ।”

मंगलवार ल बुर्जी विमानस्थलमा आइपुग्दा उनले फ्रान्सेली भाषामा “इसि से पारी (यो पेरिस हो) घोषित एक टी-शर्ट लगाएका थिए । मेस्सीलाई स्वागत गर्न एयरपोर्ट टर्मिनल बाहिर ‘मेसी ! मेसी !! तपाईलाई स्वागत छ’ नारा लगाएका सयौं फ्यनाहरुलाई हात हल्लाउँदै धन्यावाद दिएका थिए । मेस्सीको आगमनपछि पिएसजीले बुधवार पत्रकार सम्मेलन गरेको थियो ।

अर्जेन्टिना र बार्सिलोना दुबैका लागि कीर्तिमानी गोलकर्ता सबै समयका महान फुटबल खेलाडीहरु मध्ये एक मानिन्छन् उनी ।

बालों दोर अर्थात् गोल्डन बलका ६ पटकसम्मका विजेता लियोनेल मेस्सी बार्सेलोना क्लबलाई आइतबार बिदाई गर्दा रोएका थिए । उनले आफ्नो बाल्यकालको टोलीलाई बिदाइ गरेपछि भावुक बनेका थिए । क्लबले ला लिगाको तलब क्याप नियम अनुसार उनलाई राख्न नसक्ने बताउँदै बिदाई गरेपछि उनी रोएका थिए । क्ल्बले उनलाई तिर्न नसक्ने बताएपछि मेस्सीले आफूलाई आफ्नो तलब आधा घटाएर बस्न सहमत हुँदापनि बार्सेलोनाले उनलाई राख्न सकेन र बिदाई गर्‍यो ।

उनले आइतवार भावुक हुँदै पत्रकार सम्मेलनमा बताएका थिए “मलाई थाह छैन अब के भनुँ ।”

मेस्सीले १३ वर्षको उमेरमा क्लबमा सामेल भएपछि बार्सिलोनामा ३५ ट्रफी जितेका थिए । उनको ट्रफीमा चार च्याम्पियन्स लिग र १० ला लिगा उपाधि छन् ।

मेस्सीको आगमनले पीएसजीलाई लिग १ को उपाधि पुनः प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ । गत लिगमा पिएसजीले यो टाईटल लिल क्लबसित हारेको थियो ।

पीएसजीको अग्रपक्ति (फ्रन्ट लाइन) पहिले नै तगडा छ । मेस्सीका पूर्व बार्सिलोना साथी नेईमार र फ्रान्सका चर्चित युवा स्ट्राइकर केलियन एमबाप्पे हाल विश्वकै दुई उत्कृष्ट खेलाडीको रूपमा देखिएका छन् ।

१७ वर्षमा ६८२ गोल गर्न सक्षम बार्सिलोनाका सबै समयका कीर्तिमानी गोलकर्ता मेस्सीको फ्रान्सको राष्ट्रिय फूटबल क्लब (पिएसजी) मा आगमनले क्लबलाई पहिलो पटक च्याम्पियन्स लिग जित्ने महत्वाकांक्षा बढाएको छ ।

पिएसजीले यसअघि रियल म्याड्रिडका अनुभवी स्पेनिस डिफेन्डर सर्जियो रामोस र यूरो २०२० का स्टार मध्येका एक इटालीका गोलकिपर डोनारुम्मालाई यस गर्मीमा आफ्नो सूचीमा थपिसकेको छ।

उनीहरुले लिभरपुलका मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई पनि अनुबन्ध गरेका छन् । डचम्यानलाई आफूतिर ल्याएर बार्सिलोनाको नाकमुनिबाट हानेको छ । र इन्टरमिलान राइट ब्याक खेलाडी अचराफ हाकिमीमा ६ करोड पाउण्ड खर्च गरेका छन् जसले पीएसजीको तर्फबाट लिग डेब्यूमा सप्ताहन्तमा गोल गरे ।

मेस्सीसित पीएसजीले सम्झौतामा कुनै तलबको विवरण सार्वजनिक गरिएको छैन । तर दुइ पक्षबिच वार्ताको ज्ञान भएका एक व्यक्तिले एपीलाई बताए अनुसार मेस्सीले वार्षिक तिन करोड ५० लाख युरो नेट कमाउने छन् ।

पिएसजीले ति खेलाडीलाई त्यति रकम सजिलै तिर्नपनि सक्छ । जुन २०११ देखि पिएसजी क्लब कतार स्पोर्ट्स इन्भेस्टमेन्टको स्वामित्वमा छ । यसमा मध्य पूर्वी राजशाहीको विशाल तेल र ग्यास सम्पत्तीबाट लगानी गरिएको छ ।

मेस्सीले अर्जेन्टिनाको रोसारियोस्थित न्युएलस ओल्ड ब्वाई क्लबबाट आफ्नो क्यारियर शुरु गरेका थिए ।

उनले शनिबार विहानबाटै पिएसजीमा खेल शुरु गर्ने छन् । घरेलु क्लब स्ट्रासबर्ग सित पिएसजीको हुन गैरहेको खेलमा मेस्सीपनि समाहित हुने बताइएको छ । यो खेल हेर्न पार्क दे प्रिन्स स्टेडियममा ४८ हजार दर्शक हुने उल्लेख गरिएको छ ।

(नेपालप्लसको साथमा फ्रंस २४ न्युज, एफपी र रोयटर्स)

तपाइँको प्रतिक्रिया

फेसबुक