मंगलबार, वैशाख ११, २०८१

परराष्ट्रमा राजदूत हुने होडबाजी, ‘विदेशमा रहेका सहसचिवहरु मन्त्रालय फर्कदैं’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन २८ गते १८:५४

तस्विरमा सहसचिव भरतकुमार रेग्मी (देब्रे) र घनश्याम भन्डारी ।

देशको अन्तर्राष्ट्रिय तहमा रहने सम्बन्ध र कुटनीतिक सम्पर्कका निम्ति मूख्य केन्द्रमा रहेको परराष्ट्र मन्त्रालयभित्र दैनिक के कामकारवाही हुन्छ होला ? के दार्चुलामा ज्यान गुमाएका जयसिंह धामीका बारेमा यसको कारक र कारण मानिने भारत सरकारका प्रतिनिधि राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाएर सोधपुछ गर्यो ? के इपीजी रिपोर्टको बेहाल स्थितीबारेमा कतै कुरा चुहायो होला ? महाकाली नदी पुरिने गरी भारतले सडक बनाउदा वा चीनले हुम्लामा सिमावर्ती भूभागमिच्ने काम गर्दा परराष्ट्र कहींकतै बोलेको छ ? थाहा छैन।

तर, सेवासुविधा लिने र कुटनीतिक मान–सम्मानको पद हात पार्न भने परराष्ट्र मन्त्रालयमा हानथाप हुने गरेको उदाहरण अहिले पनि हेर्न सकिन्छ ।

पूर्ववर्ती ओली सरकारले गरेको ११ राजदूतको सिफारिश खारेज भएपछि र ओमान, जापान, बहराइनजस्ता मुलुकबाट राजदूतलाई तत्कालै फर्काईने भएकाले डेढ दर्जनभन्दा बढी राजदूतको खाँचोपर्ने देखेर बाहिरी मुलुकमा रहेका परराष्ट्रका सहसचिवहरु पनि हानथाप गर्दैं घर फर्कन थालेका छन् ।

यो क्रममा राजदूत बन्ने पालो कुरेरै बस्नेमा भारतबाट एक वर्षअघि फर्केर आएका सहसचिव भरतकुमार रेग्मी ढुकुवा बनेर मन्त्रालय बसिरहेका छन् । पूर्व मुख्य सचिव एवं हाल बेलायतका लागि राजदूत लोकदर्शन रेग्मी आफ्ना नातेदार परेको घुर्की लगाएरै पनि भतकुमार राजदूत बनिछाड्ने ध्याउन्नमा छन् ।

यसैगरी, अर्का सहसचिव घनश्याम भण्डारी हालै न्यूयोर्कको नेपाली मिसनबाट आफ्नो ४ वर्षे कार्यकालमा २ वर्ष पनि पुरा नगरी घर फर्केका छन् ।

मन्त्रालयमा आएर बढी समय काम गरेको आधारमा राजदूत सिफारिशमा पर्न सकिने भएकाले खाइपाइको कुटनीतिक नियोगको जागिर छाडेर पनि परराष्ट्र फर्कने गरेका हुन् ।

सरकारले भारतमा रहेका राजदूत निलाम्बर आचार्य र चीनका महेन्द्रबहादुर पाण्डेलाई पनि कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै फिर्ता बोलाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार, दिल्लस्थित राजदूत आचार्यले आफू निकटका केही साथीभाइलाई आफ्नै बिदाइको ‘चिया पार्टी’ दिन थालिसकेका छन् ।

तपाइँको प्रतिक्रिया