शनिबार, असोज २, २०७८

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

युवराज नयाँघरे२०७८ साउन ३१ गते ५:०१

माझ घट्टले मध्य दिउँसो विदा गर्‍यो । मेरै करकापले हिँड्ने भए अरु साथीहरु नि । आइसकेपछि यो फेरो मारौँ भनेरै मैले करबल गरेँ । अनि तीन घोडामा झोलाझाम्टा कोचेपछि रारालाई हात हल्लायौँ हामीले ।

धर्मराज रोकाया, वीर बहादुर विक र रमेश रोकायाले घोडा खेदे । दीपकबहादुर बूढा, रोमनाथ ज्ञवाली र नयाँघरेलाई खेद्ने भए हेमराज रोकायाले ।

सेरी बिसौना पुग्दा खोलाको कलकल थियो । रारा तालबाट कुलकुलाएको पानी यहीँ आएर मिसिएको थियो । पारि थियो झ्याम्म वन । सानो गोरेटो यहीँ आएर ढुङ्गा मिसिएको फराकिलो बाटो भयो ।

‘यो बाटोमा हिँड्ने हो भने जुत्ता हैन, एक घन्टामै पैतालाले माटो खान थाल्छ !’
बूढाले ज्ञान बाँडेर छेउछेउ हिँड्न थाले । पश्चिमतिर थियो उकालो बाटो ।
पाटनहरु मज्जाले देखा पर्न थाले । वन माझमा फराकिला चौरहरु । घोडाका बगाल थिए खर्कनका कुना–कुनामा । खोल्सा र वनको माझमा लम्किरहेका छौँ । लेकको बाटो नजाने भएपछि हामी पश्चिमी तेर्पे र खोँचको बाटोमा हुर्दुराएका यसरी । आँखै अत्तालिने अनौठा–अनौठा अक्करे भीर देखिन्छन् दायाँबायाँ ।

महिषमाडौँ नाघेपछि ओरालो आयो । अनौठा झ्याउ उम्रेका वन बीचको बाटो छ । रसिलो तेर्पे किनार छ । ओस परेर जमेको छ ठाउँ ठाउँको पानी ।
‘यो चिनाभूत !’ हेमराज चिनाउँछन् ।

जङ्गलको लडाइँमा कामरेड साहसी नाउँ पाएका रामबहादुरले भने— ‘अहिलेका उपराष्ट्रपति मेरा साथी थिए रुकुम हान्दा !’

राराको पानी खत्याड खोला भएर बगिरहेको छ । वारिपारि अक्करे, डरलाग्दा ढुङ्गाका काप र ओडार देखिन्छन् । वनका पात खसेर बाटोले धराप थापेको छ जताततै ।
‘मह र सिमी बाटोमा छरिन्छन् कि !’ घोडा अगाडि लाग्दा ज्ञवालीको चिन्ता सुन्छु ।

‘मेरा ताता लुगा पानीमा चोबलिन्छन् कि !’ डर छ मेरो । खोला वारिपारि फड्के भएर तरिरहेका छौँ । पानीमाथि तैरिएका पहेँला पात हरिया लहरा हेरेर मन पुग्छ कहाँ–कहाँ ।

‘घुच्ची च्याउ मास्तिर पाइन्छ !’ भीरमाथि गएका गोरेटा देखाएर हेमराज बोलिरहेका छन् । सँगै कुदेको छ खोला । भुँवरीले उसलाई अलमलाउन खोजे पनि हाम्रा पाइला सुन्ने बित्तिक्कै पानी बगिहाल्थ्यो ।

लगत्तै आयो जेउड्या कपालको पाखो । भिरालो पखेरामा खच्चडका बथान थिए । तल जुम्लाबाट सामान लादिएको त्यो बथान हुम्लासम्म पुग्दो रहेछ ।

वारिपारि अनौठा–अनौठा चारवटा गुफा थिए । साना–ठूला अचम्म–अचम्मका ती ओडारमा भेडा, गोरु राखिएका थिए । धेरै हिउँ पर्दा त वरपरका गाउँलेहरु जेउड्याकै गुफासम्म आइपुग्छन् रे ।

बाटो ओरालो, तेर्पे र ढुङ्गेनी छ । मान्छेका हुल गमगढी गएर जानलाई लम्केका भेटिन्थे । पहरा र गोरेटाले सँगै तुजुग देखाएका लाग्थे । हेर्दाखेरि आँखा समेत गल्ने भीरमा मानिस हिँडेका गोरेटा देख्ता मैले धेरै चोटि अचम्मले जिब्रो टोकेँ ।

सङ्लो खोलो सँग–सँगै थियो । पहेँला लेकाली पात खसेर अनौठा रुप र आकार सजाएका थिए । तिरतिरे पुगिएछ । जाडो जित्ने हैरानी र स्वाँस्वाँले आँखा तर्न थालेको छ ।

थेप्चीको नूनखार पुगेर थकाइ मार्‍यौँ । ढाडमा हलुका झोला थियो । त्यै झोला नि कता मिल्काऊँ भइरहेथ्यो । यहाँ भेडालाई नुन खुवाइँदो रहेछ ।

यो अनकन्टार लेकमा हाम्रा आशाहरु बाँच्दै र मर्दै गरिरहे । स्याँठले उमारेका आँसुले धमिलिएका आँखाले लेकका पाटन, खोँच र भीर पढिरहेथेँ म…..पढिरहेथेँ म…..कर्णाली निहालिरहेथेँ… निहालिरहेथेँ… ।

अचम्मका गुफा र चट्टानका आँखाले प्रश्नमाथि प्रश्न गरिरहेका छन् । तर म अरु जिज्ञासामा जेलिएर पाइला लम्काइरहेछु । जङ्गलमा ओखरका बोट थिए । बाटामा भेटिएका ती पुरै रित्ता, उराठ र नाङ्गा थिए । दुई डाँडाको चेप एकदमै सेपिलो र अँध्यारो देखिन्थ्यो ।

गुफा, पखेरा र भीरसँगै कालाम्मे पहाडले हामीलाई तानिरहे, हामी पनि डोर्रिरह्यौँ लगातार ।

दैत चूडापछि पाडी पुग्यौँ । सेनाको टुकडी बस्ने छाप्रा द्वन्द्वको बेला लडाकुले भत्कएका रहेछन् यहाँ । झ्याम्म जङ्गल फेरि टुप्लुकियो । पाडीमै दुई घर भेटिए । टहरो अगिल्तिर सिमी केलाइरहेकी एउटी बुलाकी लाएकी पातलीले भनेकी थिइन्— ‘हके जानु, नहके नजानु !’ ‘सके जानु, नसके नजानु’ भनेर उनले हेमराजलाई बाटोको विकटताबारे सुझाएकी रहिछिन् ।

फड्के तरेपछि अघि बड्किएका घोडावालहरु भेटिए । ‘बड्डा, अँध्यारोमा मुस्किल पर्छ । जति सक्छौ अहिल्यै खुट्टा तन्काऊ !’ रमेशले झस्काए हामीलाई ।

तलै आएको हुनुपर्छ घाम । पहाड, खोँच र अक्करे डाँडाले त्यसको इशारा दिइसकेको छ । कुदिरहेको पानीमा छायाँ गाढा भएको देखेर घामबारे मैले अनुमान लगाएँ ।
खोलो पर–पर गयो । पाटनका वनबाट एक्कासि खसीबाख्रा र तीनचार भोटे कुकुर हाम्रासामु टुप्लुकिए ।

‘कताबाट ल्याका होऊ ?’
बूढाले सोध्दा गोठालाले डराई–डराई पाखामा चराएको, अब गोठतिर लगेको भनेर उकालिए ।

गजेडा नाघ्दा अँध्यारियो दिन । मनमा एक खालको भय थियो— उकालोमा गाह्रो पर्ला कि ! रात परेपछि मेरा त डेगै चल्दैनन् । जाडो र पसिनाको निचोरनाचोरमा परेको छु म । अक्करे भीरको फेद, कम्मर र टुप्पोमा दगुरादगुर गर्दैछौँ । ढुङ्गाका अनौठा खात । रुखका हाँगाबाट छेकिन बाँकी आकास हेर्छु ।

‘हिउँको भरै छैन !’ बूढाले सम्झाउन खोज्दै छन् । बाटो छ यस्तो । झन् हिउँ परे के गति होला ! मनमा एक पत्रे हिउँको फुसफुसे तह ओर्लिन्छ ।

न्याउल्या खोला भेटिएपछि दक्षिणतिर लाग्यौँ हामी । अब बाटो फेरियो । अघिदेखि दगुर्दै आएको गोरेटो खत्याडतिर हुत्तियो । हामी खोला छेउको अक्करे ढुङ्गालाई समातेर वेगियौँ ।

रुखका जराले बाटो अल्मलाउँछन् । बडे–बडे चट्टानले अलमल्ल पार्छन् । पतकरले छक्याउँछन् । खोलाले रनभुल्ल पार्छन् । झन् बर्खाको पहिरोले गर्दा बाटोलाई स्वात्तै निल्दो रहेछ ।

‘के विघ्न ककारो भीर !’ ज्ञवालीलाई स्वाँ–स्वाँ बढ्यो । बूढा थामिए । मैले कलकल पानीले ओठ दलेँ । निलिहाल्ने आँट गरिनँ ।

‘हो, कर्णाली त कर्णाली नै रहेछ !’ मैले अघि नाघेर आएको ओडारछेउको भीरको छायाँलाई आँखाबाट मनमा राख्दै फुसफुसाएँ । अरु साथीहरु पनि मौन भएर मेरा बोलीलाई सघाए ।

न्याउल्या खोलाको बाटो ज्यादै अप्ठ्यारो, ढुङ्गेनी र ज्याद्रो थियो । ककारो भीर, ठूला–ठूला चुच्चे चट्टान र पहिरिएर तेर्सिएका रुखले बाटो हो–होइन ठम्याउनै मुस्किल पर्थ्यो ।

जङ्गलै–जङ्गलको माझमा खोला कराएको सुन्दा अचम्म लाग्थ्यो । सुसाएको खोलाको कलकलमा मनको ढुकढुकी मिसिँदा झन् अनौठो र आफू कहाँ छु जस्तो लागिरहन्थ्यो घरी–घरी ।

डोब पहिल्याएर हिँडिरहेका छौँ हामी । खच्चड हिँडेको डोब चिन्नै गाह्रो भएको छ मलाई । खोला वारि –पारि हिँडेका छौँ । बेला–बेलामा अलमलिन पुग्छौँ । तर हेमराजले ‘बड्डा यै हो’ भनेर अड्डी लिएपछि हाम्रा गोडा थामिन पाउँदैनन् ।

मान्छेले खनेर हैन, हिँडेरै बनेको जस्तो छ यो बाटो । कतै माटो खनेको, सम्याएको, ढुङ्गा छापेको, लहरा फाँडफूँड गरेको वा पहराको भीर खोस्रेको छैन कुनै मान्छेले । मानिस लगातार हिँडेरै बनेको लाग्छ यो गोरेटो ।

रुखका जराले बाटो अल्मलाउँछन् । बडे–बडे चट्टानले अलमल्ल पार्छन् । पतकरले छक्याउँछन् । खोलाले रनभुल्ल पार्छन् । झन् बर्खाको पहिरोले गर्दा बाटोलाई स्वात्तै निल्दो रहेछ ।

अबडे–खबडे ढुङ्गा र जतासुकै तेर्सिएको पहरोले हिँड्नलाई औधी सकसमा पार्‍यो । भीरको भित्तो छाम्दै जाँदा खुट्टा स्वात्त–स्वात्त चिप्लिरहेका छन् । टेकेको ठाउँमा ढुङ्गा अडिए पो ! हुनसम्म गाह्रो भो मलाई त !

बाटोमा काठ चिरान गरेको देखियो । अलिक पर बाख्रा र भेडाका बथान धपाइरहेका एक जोडी बूढा–बूढी थिए । बूढीले पाठो बोकेकी थिइन् । थाप्लामा दाउराको भारी थियो । देब्रे हातले भर्खरै ब्याएको बाख्रोलाई डोर्‍याएकी थिइन् । माया पनि कत्ति कुराको !

मलाई त्यतिखेर भक्कानिएर लडीबडी गरुँ–गरुँ लाग्यो । मलाई त्यो बेला सारा जिउ छोडेर भेडाकै बगालमा हेलिउँ–हेलिउँ झैं लाग्यो ।

लगातार खोलैखोलाको बाटो गइरहेका छौँ । गर्जना छ खोलाको । अँध्यारोको पाइलाले हामीलाई भेटुम्ला –भेटुम्ला गरिरहेको छ ।

‘बाटो त ठीक छ नि ?’ मैले बूढा र रोकायालाई यत्ति कुरा सोधेँ धेरै चोटि ।
‘बड्डा, हामीले बाटो बिराएका छैनौँ । नडराऊ !’ तिनको उत्तर यै थियो ।

खोलैखोला नाघिरहँदा अकास पनि हेर्दैछु । जाडोले ठुङ मारिरहेको छ । तर हिउँ परिहाले यो अनकन्टार जङ्गलमा के पो होला गतिगरास ! यै तिखो सुइराले मनमा घोचिन छोडेको छैन । अनि पो अकाससँग आँखा जुधाजुध भएको धेरै खेप ।

बाटो उकालिने बेलामा ठूलो पानीघट्ट टुप्लुकियो । घट्टभित्र दुई–तीन भुराभुरी आगोको रापमाथि रोटा पोल्दै थिए । तिनका बाबुआमा पिठो पिन्दै थिए ।

‘यतै बस्न्या हुन् ?’ अँध्यारो छाप्रोबाट लोग्नेमान्छे बोले ।
‘नाइँ !’ हेमराजले उत्तर दिए । हामी ठाडै उकालो लाग्यौँ । अलिक माथि पुगेपछि उनी आए । हामीले बाउँडिएका गोडा बिसायौँ ।

ओहो, बाटो कहालिलाग्ने पो छ त । पाइलै घिसार्न महाभारत । म त थुचुक्क थुचुक्क बसेँ । खुइय–खुइय भए सबैका ज्यान । पसिनै निक्ले त्यस्तो जाडोमा नि ! अप्ठ्यारो न अप्ठ्यारो रहेछ घट्ट माथिको बाटो । आफू त मरेर आइयो— अब घोडा पो के गरी आइपुग्लान् ? हुन पनि दुई घण्टा अघिदेखि घोडा पछाडि परेका थिए । खोला, भीर, जरैसँग उखेलिएर तेर्सिएका रुखले महा–गाह्रो छ बाटो ।

जाडोले ठुङ मारिरहेको छ । तर हिउँ परिहाले यो अनकन्टार जङ्गलमा के पो होला गतिगरास ! यै तिखो सुइराले मनमा घोचिन छोडेको छैन । अनि पो अकाससँग आँखा जुधाजुध भएको धेरै खेप ।

पाँच–सात घण्टाको बाटो धाएर गाउँलेहरु घट्ट जाँदा रहेछन् । अनि तीन–चार दिनसम्म त्यहीँ बसेर मकै पिनेर घर फर्किंदा रहेछन् । कर्णबहादुर र गोरीकला बूढा थिए पिठो पिन्नेहरु । तिनको अत्यासलाग्दो पीडा, दुःख र अभावले छाती दर्फरायो मेरो ।

उकाली झन् घुमाउरो, तेर्पे र ढुङ्गेनी थियो । आपट्टे ठूला रुख र तिनका गाजेमाजे जरामा हाम्रा खुट्टा अड्किन्थे । अँध्यारोमा खोलैखोला, ठूलाठूला चट्टान र लहराको अल्झोबिल्झोले पाइला घिस्रिन हम्मे–हम्मे हुन्थे । त्यसमाथि झमक्कै अँध्यारो ।

‘ओडार खोज्नु कि उज्यालोको व्यवस्था गर्नु !’ मैले हिँड्नै नसक्ने हविगत पोखेँ रोकायालाई । उनले जुनकीरीजस्तो पिलपिले हाते बत्ती थमाए मेरा हातमा । मैलै ती तन्नेरीलाई हजार बार कृतज्ञता पोखेँ ।

‘यो रिन म तिर्न सक्तिनँ !’मैले धेरै खेप भनेँ ।
‘बड्डा !’ ती आफैं विनयी थिए ।

मेरो कृतज्ञतामा दीपक, रोमनाथको पनि भाव गाँसिएको थियो अवश्यै । ती मुस्काएरै सही थापिरहेका थिए ।

अघिसम्म म पछाडि, अब भएँ अगाडि–अगाडि । उज्यालो भएपछि त खुट्टा भइहाले नि चक्र । घुर्र–घुर्र गुड्न पो थाले ।

बिसाउँदै, थाक्दै र लम्कँदै । फेरि लम्कँदै, थाक्दै र बिसाउँदै । चिसा चुच्चा ढुङ्गामा थ्याच्च बसिन्थ्यो । खोलाको चिसो पानी घुटुक्क पिउँदै स्वाँ–स्वाँलाई दबाएर हामी हिँडिरहन्थ्यौँ ।

निकै माथि पुगेपछि म कराएँ— ‘ए रमेश, ए धर्मराज !’छैन, कुनै उत्तर छैन । घोडाको चालचुल छैन । कुनै आवाज छैन । कुनै सङ्केत छैन । कुनै ध्वनि छैन । घोडाको घण्टी बजेकोसम्म सुनिएन ।

‘बड्डाको आवाजै छैन !’ हेमराजले मेरो जबरजस्ती आवाज सुनेरै भने ।

लौखा, खोलाको चिसो पानीले त बित्यासै पारेछ । ज्ञवाली पनि त्यै मारमा परेका छन् ! उनकै बाटोमा म पनि ? रोकायाले निकै चिच्याए । अँहँ, कुनै उत्तर आएन । घना अन्धकारमा छौँ दीपक, ज्ञवाली र म । अनकन्टार जङ्गल । पहाडको ताँती छ दक्षिणतिर । तल मनै सिरिङ्गिने खोँच छ । रुख–रुखले मित लगाएका छन् । कुम–कुम जोडेका छन् पहाडले । अँगालो हालेर पहाडको छायाँले पहाडलाई अँठ्याएको देखिन्छ ।

‘जुम्ला र मुगुको सिमानामा हिँडिरहेका छौँ !’ हेमराजको बोली सुन्छु ।
उस्तै छ सबैतिर । उही पहाड, उही खोँच । उही भीर, उही अक्कर । उही चेप, उही आपट्टे । अनि उही दुःख, उही बिजोग ।

हाते बत्ती फारो गरी–गरी बालिरहेको छु । यो नभएमा म एक पाइला नि हिँड्न सक्तिनँ । थकाइ मार्दा झ्याप्प मार्छु बत्ती । अँध्यारोमा सासले बाटो देखाएर हामीलाई नजिक पारिरहन्छ … पारिरहन्छ ।

कुनै चरोमुसो छैन । घना रात छ । लेकाली सिरेटोले सबै सिताङ्गे छौँ । बाटोमा तुसारोले ढुङ्गा चिप्लिन थालेका छन् । ओठ थर्थराएर बाक्के वन्द भएको लाग्दै छ ।

बेला–बेलामा ससाना गोरेटा आएर हाम्रा बाटामा मिसिन्छन् । ठूला–ठूला ढुङ्गा तेर्सिएर बाटो मोडिन्छ । एकाध रुखहरु बाटोमा ठिङ्ङ उभिएर सतर्क नि गराउँछन् ।
‘हामी माथि डाँडामा पुग्यौँ । जाउँ कि कुरौँ !’ तलको अँध्यारोमा कताकति मिलिक्क बत्ती देखिएपछि हेमराज कराए ।
‘आयौँ–आयौँ हामी पनि !’ उत्तर वीरबहादुरको थियो ।
थकाइ मारुन्जेलमा घोडा आएर हामीलाई जितिहाले । उकालोमा फटाफट हिँड्ने घोडालाई हामीले के जित्नु !

भोक थियो, थकाइ थियो, तिर्खा थियो । ठूलो कुरा, अँध्यारोले सबै कुरा ढाकेर अल्मलाएको थियो हामीलाई । थुरथुर जाडोले अनुहारमा झापट हान्न छोडेन । जतिबेलै उसलाई हामीले हात जोडिरहनु पर्‍यो ।

निकै माथि पुगेपछि बाटो फराकिलो भएर पश्चिमतिर गयो । उत्तरपट्टि बत्ती झिलमिलाएको पनि देखियो । कुकुरहरु आन्द्रा चुँडिने गरी भुक्न थाले ।

‘घोडालाई दाना खोज्छौँ । आउँदै गर्नु है !’ घोडा–खेदुवासँगै सबै लम्किहाले ।
वाल्ल पर्‍यौँ हामी तीन जना— यो भेगबारे पुरै बेखवर मनुवा ।

ठाडै उकालोपछि ढुङ्गेनी गारा, बारबेर, बाटोमा कागजका टुक्राटाक्री बाक्लै भेटिए ।
कुकुर लगातार भुकेपछि थाहा भयो— बस्ती पसेछौँ हामी ।

‘काँ हो यो ?’ घर अगिल्तिर पुगेपछि बूढा बोले ।
‘तली चाकपडे !’ अँध्यारोमा अनुहार नदेखे पनि बोली सुनियो ।

निकै लम्केपछि बाटो दक्षिणको आँगनमा हामी पस्यौँ । अँगेनामा आगो ठोसिरहेका मानसिंह बूढाको घरमा हामी पसेका रहेछौँ । अगेना वरपर उनका छोराछोरी भुइँमै सुतिरहेका थिए । रोटा पोलिरहेका पतिपत्नीका अनुहारमा अभाव, गरीबी र दुःखको झन् बाक्लो थियो अँध्यारो । तिनले दिएको तातो पानी खाएर मैले बोली खुलाएँ ।

‘तमी गोठ, चौड, सुर्का भएर याँ आयौ !’ उनैले हामी हिँडेको बाटोका नाम बताए । मैले जुत्तासँगै आगो तापेँ । तर कान, नाक र निधारमा थियो भयानक चिसोको लालीपाउडर ।

‘बाटोले बोलायो बड्डा !’ दीपकले हामीलाई बाटोको अँध्यारोतिर डाके । किनभने पुग्नुपर्ने र बास बस्नुपर्ने बन्दोबस्त यहाँ नभएको सुनियो ।

पर जङ्गलमा कराएको ‘हिक्मत’ बोलिरहने चराको आवाजसँगै ‘हिम्मत’ बटुलेर हामी पश्चिमी लेक भएर दक्षिणतिर मोडियौँ ।

जाडो त बल्ल पो जर्खरिएर उठ्यो । अघिसम्म पिलपिले बत्ती समातेको मेरो हात त औँला चलाउनै नसकिने गरी कक्रक्क भयो । तल पनि जाँदैन, माथि पनि सर्दैन । ठडिएको ठडिएकै । यति धेरै चिसो भयो कि— आँखाबाट आँसु बग्यो तरक्कै ।

‘पचास पाठा छन् ।’ मानसिंहले अघि भनेको जाक्ना भए यो लेकमा मलाई कति सजिलो हुन्थ्यो । मैले स्वाँ–स्वाँ हुँदै गर्दा साथीहरुलाई रहर सुनाएँ । अँध्यारोमा ती हाँसे ।

‘पाल्त्या’ पाल्न गाह्रो भयो । जुम्ला आएको गाडीले ‘जाक्ना’ हटाएको गुनासो उनले गरेका थिए । भारी बोक्ने बोकालाई जाक्ना र बाख्रालाई पाल्त्या भनिँदो रैछ ।

हामी तल कि माथि भएर लेकाली चुलीतिर लम्कन भने छोडेनौँ । तल वनतिर पिलपिले उज्यालो देख्ता बाटो बिराइयो कि जस्तो लागिरहन्थ्यो । तर लेकको उचाइ र बाटोको रुप हेर्दा हामी ठीकै छौँ जस्तो पनि लागिरहेको छ ।

‘अघिकै गोठमा बस्नुपर्ने । गल्ती गरियो कि !’ मैले मुस्किलले ओठसम्म आएको बोली बाहिर ल्याएँ । बूढा चुपचाप हिँडिरहे । ज्ञवाली पनि लम्किरहे । कुनै चरोमुसो छैन । घना रात छ । लेकाली सिरेटोले सबै सिताङ्गे छौँ । बाटोमा तुसारोले ढुङ्गा चिप्लिन थालेका छन् । ओठ थर्थराएर बाक्के वन्द भएको लाग्दै छ । औँला कठ्याङ्ग्रिएर सबै चुँडिएलान् जस्तो भइसक्यो ।

‘नाकको टोप्रो भुइँमै खस्छ कि !’ फुसफुसाइरहेको छु म त ।

निकै माथि पुगेपछि जूनको उज्यालोमा लमतन्ने पाटनहरु देखिए । पश्चिम–दक्षिण फैलेका चरनमा कुनै बिरुवा थिएनन् । खर्कमा कुनै पोथ्रा थिएनन् । आँखाले देखेसम्मका फराकिला पाटन देखेर मन एक छिन भए पनि उज्यालियो ।

हामी औधी लेकमा पुगेछौँ । तल कता–कता बत्ती पिलपिलायो । अगाडि गएका घोडा–खेदुवाहरु हाम्रो उद्धार गर्न आएका हुन कि भन्ने लाग्यो । तर ती झुल्किने र हराउने भइरह्यो ।

यो अनकन्टार लेकमा हाम्रा आशाहरु बाँच्दै र मर्दै गरिरहे । स्याँठले उमारेका आँसुले धमिलिएका आँखाले लेकका पाटन, खोँच र भीर पढिरहेथेँ म…..पढिरहेथेँ म…..कर्णाली निहालिरहेथेँ… निहालिरहेथेँ… ।

घन्टौँ लम्केपछि खोला छेउको गढतीर हामी झर्‍यौँ । अग्ला–अग्ला थाप्ले चुलीहरु सँगै थिए डोर्रिएका । पाटन र फराकिला पाखा भएर हामी हिँडिरह्यौँ । बाटो अब केही चिनिने र थाहा पाउने गरी सामुन्ने आयो ।

बिस्तारै गोठ र बारीहरु देखिन थाले । गरामा परालका रास टुप्लुकिए । बार लाएका भेडीगोठहरु भेटिए ।

‘बाटो भुलिएनछ !’ बूढाले जितेको खुशीमा भने ।
ए, यो त त्यही न्याउल्या खोलाको मुहान पो रहेछ— जसलाई हामीले दिनभरि जसो साथी बनाएर हिँडेका थियौँ । पानी रसाएको धापिलो खोल्सो निकै छिचोलेपछि तीन–चार टहरा टुप्लुकिए ।

‘बड्डा, यतै है !’ एउटा छाप्रोबाट रमेश कराए । त्यै बोली पछ्याएर पस्यौँ । काठैकाठको त्यो छाप्रोको अगेनोमा आगोको दन्कुट राप थियो ।

हेमराजका चिनारु रामबहादुर बूढाले जुम्ला भएर मुगु जाने बटुवालाई भातपानीको जोहो गरिदिँदा रहेछन् । हामी पनि उनकै भान्सामा थियौँ । दश बजेको छ रातिको । यो ठाउँ रहेछ— छोटे डाब ।

अगेनामा घुस्रिएर नौघण्टे लम्काइ म ख्याल गरिरहेको थिएँ । कर्णालीको यो आपट्टे संसारलाई बित्ता–बित्ता नापिरहेथेँ । चुलोमा भात छड्किँदै थियो । उनको सानो छोराले बूढालाई सघाइरहेको थियो । हामी तातोपानी पिइरहेका थियौँ ।

जङ्गलको लडाइँमा कामरेड साहसी नाउँ पाएका रामबहादुरले भने— ‘अहिलेका उपराष्ट्रपति मेरा साथी थिए रुकुम हान्दा !’

कालिकोट, दाङ, कैलाली, बर्दियामा लडेका तिनले भने— ‘एल एम जी–एक्काइस थान, जिपि एम जी–एक थान, एट टु वान–एक थान, एस एम जी–एक थान, इन्सास–बहत्तर थान, एस एल आर–एकासी थान कब्जा गरेको थिएँ !’

भात पाक्यो । हामी अगेनो वरिपरि थियौँ । ‘लड्नसम्म लडियो !’ उनले भात हाल्दै भने ।

सबैजना भात खान थाले । अगेनोमा थपिएको दाउराले आगोको झिल्का झिल्ल उड्यो । यतिखेर सबैका अनुहार देखिए । उनले मलाई चोतीको तरकारी थप्दै भने— ‘आकाशबाट खसेजस्तो लाग्दैछ !’

खुलेको ढोकाबाट ह्वार्र चिसो आयो । सानो केटोले ढोका ढप्कायो । लगत्तै आएर बाबुको काखमा ऊ घुस्रियो । मलाई उनले दाल थपिदिएर भने— ‘सबै नेपाली रैछन् !’
म एकदमै चकित, विस्मित र पुलकित भइरहेको छु । अनौठो लम्काइपछि भेटिएको अचम्मको मानिस ।

कामरेड साहसीले आधा रातमा ढोका लगाउँदै भने— ‘छोटे डाबको जाडोले निल्छ है । लुगा राम्रोसँग खाप्नु !’
लेकाली ठिहीले निन्द्रा भगाइरहेथ्यो आँखाबाट !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक