शनिबार, वैशाख १५, २०८१

एनआरएनए केन्द्रिय निर्वाचन : चुनाव जित्न कसको ध्यान कतातिर ?

नेपालप्लस संवाददाता२०७८ साउन ३० गते १३:४०

डा. बद्रि केसी (दब्रे) र कुल आचार्य

यतिखेर प्रवाशमा गज्जबको कुम्भमेला छ । पर्व आएको छ । भ्याईनभ्याई छ । आगामी अक्टोबरमा हुने एनआरएनए केन्द्रिय निर्वाचनकालागि अध्यक्षको उमेदवारी दिएका डा. बद्रि केसी काठमाडौंमा छन् । हरेक दिन नेताका दैला दैला पुगेका छन् । कुनै न कुनै पार्टीको कोहि न कोहि नेतासित भेट हुन्छ । कुरो उहि हुन्छ- आगामी निर्वाचनमा हाम्रो प्यानललाई सहयोग गर्नुपर्‍यो । यस अघि राजनितिक स्तरमा उपल्लो तहका नेतासित खासै पहुँच नभएका केसी यो पटक बेलैमा काठमाडौं बसेर त्यो पहुँच बनाइरहेका छन् ।

अहिलेसम्म आधिकारिक रुपमा अध्यक्षको उमेदवारी नदिएपनि कुल आचार्यको अन्तिम तयारि भैरहेकै छ । महत्वपूर्ण पदका केहि आकांक्षी दोधारमा छन्- कुलको प्यानतिर लागौं कि डा. बद्रि केसीको । कुलको प्यानलतिर लाग्न खोज्नेमध्ये अधिकांशको ध्यान राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसि) तिर देखिएको छ । तिनले हाल भैरहेको निर्वाचन परिणाम हेरेर मुख मिठ्याइरहेका छन् । किनभने एनआरएनए अष्ट्रेलिया, एनआरएनए बेलायत, एनआरएनए अमेरिका जस्ता ठूला, मतका हिसाबले महत्वपूर्ण ठानिएका देशमा कुल आचार्य पक्षले बाजि मारिरहेको छ । यहि देखेर केहि उमेदवारका आकांक्षीहरुमा कुल आचार्य पक्षले केन्द्रिय निर्वाचनमा पनि बाजि मारिहाल्छन् कि भन्ने परेको छ । तर वास्तबिकता भने नितान्त फरक छ ।

झट्ट हेर्दा एनआरएनएमा लाखौं लाख नेपालीको आबद्दता देखिन्छ । तर प्रवाशमा भएका करिब ८० लाख नेपाली मध्ये एनआरएनएमा एक लाख मात्रै सदस्य छन् । एनआरएनएको सदस्य बनेका करिब एक लाख मध्येपनि ७० प्रतिशत भनसुन, अर्कैको सदस्यता शुल्क र कुनै नाता, राजनितिक दलका नेताको आग्रह वा कुनै न कुनै स्वार्थले सदस्य बनिदिएका मात्रै हुन् । एनआरएनएमै रहर, लोकप्रियता र आकर्षणले ति सदस्य बनेका होइनन् । यहि एक लाख एनआरएनएका सदस्य मध्येपनि केन्द्रिय निर्वाचनमा सबैले मतदान गर्न पाउने होइन । ति मध्येबाटपनि छानिएका, चुनिएका सदस्यले मात्रै मतदान गर्न पाउँछन् ।

खासमा भन्ने हो भने एनआरएनएको केन्द्रिय निर्वाचनमा मतदान गर्ने पद्दती नेपालका राजनितिक दलको मधाधिवेशनमा प्रतिनिधी चुनिएजस्तै हो । एनआरएनएले केन्द्रिय मतदाता प्रतिनिधी चुन्ने नियम अलिकति यतिउति बदलेपनि खास मोडेल राजनितिक दलको प्रतिनिधी चुनिने मोडेल समान देखिन्छ ।

राजनितिक पार्टीका महाधिवेशन पार्शद भनिए जस्तै एनआरएनएका हाल पार्षद करिब ३,५०० छन् । कति हुन्छन् त्यसको यकिन अगस्ट १५ पछि हुने छ । ३,५०० देखि ४,००० को हाराहारीमा हुने हो । यि ३,५०० देखि चार हजार पार्षद वा केन्द्रिय मतदाता मध्ये ६५ प्रतिशत पार्षद (मतदाता) गत कार्य समितिले छान्ने हो । त्यो काम फत्ते भैसकेको छ । अर्थात् ३,५०० मतदातामध्ये ६५ प्रतिशतका दरले करिब २,२७५ मतदाताको छनौट भैसकेको छ ।

एनआरएनएको बिगतमा बिभिन्न एनसिसिमा बसेर काम गरिसकेका (एनआरएनएको परिभाषामा महत्वपूर्ण संस्थागत योगदान दिएका) हरु छानिने हुन् ।

बाँकि रहेको ३५ प्रतिशत अर्थात् ३,५०० मतदाता (पार्षद) मध्ये २५ प्रतिशत निर्वाचनबाट छानिन पाउँछन् । अर्थात् ३,५०० मतदाता मध्ये ८७५ जना केन्द्रिय प्रतिनिधी वा मतदाता वा पार्षद अगस्ट अन्तिमसम्म हुने एनसिसीको निर्वाचनबाट निर्वाचित हुन्छन् । अर्थात् एनसिसीको निर्वाचनसँगै २५ प्रतिशतकालागिपनि मतदान भएर एनआरएनए एनसिसीका सदस्यले मतदान गरि आफ्ना केन्द्रिय प्रतिनिधी छान्नुपर्ने हो ।

बाँकि रहेको १० प्रतिशत प्रतिनिधी भन्नु विश्वभरिबाट जम्मा ३५० जना हुन् । एनआरएनको बिभिन्न कालमा अनेक सहयोग दिएका, संस्थागत योगदान गरेका, बिभिन्न आर्थिक सहयोग गरेका मध्येबाट १० प्रतिशतलाई छानेर नव निर्वाचित कार्य समितिले पठाउने हो ।

यसरि हेर्दा, एनआरएनएको केन्द्रिय निर्वाचनमा मतदान गर्ने ६५ प्रतिशत त केन्द्रिय कार्यसमितिले छानिसकेको छ । बाँकि २५ प्रतिशत निर्वाचित भएर आउनुपर्ने केन्द्रिय पार्षदमापनि एनसिसीको निर्वाचन लड्नेहरुले खासै ध्यान दिएका छैनन्, थिएनन् । राष्ट्रिय समन्वय परिषदको निर्वाचन जित्ने ध्याउन्नमा लागेका धेरैले यो रणनिति बुझेकापनि छैनन् । तिनको ध्यान आफ्नो देशको एनआरएनएमा कसरि बिजयी हुने भन्नेमै गएको देखिन्छ । धेरैलाई आफ्नो प्यानलले जितेमा केन्द्रमापनि आफ्नो प्यानल, आफूले चाहेकोलाई जिताउन वा कम्तिमा आफैंले मतदान गर्न पाइन्छ भन्ने भ्रम रहेको छ ।

एनसिसीका बिजयी वा अन्य एनआरएनए सदस्यहरुमा यो भ्रम रहेपनि केन्द्रिय तहका बाठा नेताहरुमा यो भ्रम छैन । अहिले भएको एनसिसीहरुको निर्वाचन गत निर्वाचनमा भन्दा कुल आचार्य पक्षले धेरै बिजयी गरेजस्तो देखिएपनि केन्द्रिय निर्वाचनमा त्यहि खालको प्रभाव नपर्न सक्छ । किनकि केन्द्रिय मतदाताको ६५ प्रतिशत अहिलेको कार्य समितिले छान्न पाउँदैन । बाँकि २५ प्रतिशतको केन्द्रिय प्रतिनिधीका लागि भएको छनौट प्रक्रिया वा मतदानमापनि डा. बद्रि केसी वा कुल आचार्य पक्षकै शतप्रतिशतले जितेका हुँदैनन् । यसमापनि बाँडिएको हुन्छ मत ।

यहि तथ्य बुझेकोले होला, डा. बद्रि केसीको ध्यान अहिलेको एनसिसी निर्वाचनमा खासै गएको देखिन्न । एनसिसीमा जोसुकै आओस् केसीको ध्यान केन्द्रिय प्रतिनिधी को छ भन्नेमा गएको देखिन्छ ।

‘फलानो देशमा कुल आचार्य पक्षले बढार्‍यो’ भन्दै कुल पक्षका समर्थकहरु खुशि भैरहेका बेला केसी पक्षले भने त्यसमा कम महत्व दिएको देखिन्छ । यद्दपि हरेक एनसिसिसीमा आफ्नो पक्षले जित्दा २५ प्रतिशत निर्वाचित भएर आउने र १० प्रतिशत नव निर्वाचित समितिले निर्वाचित गर्ने हुनाले पक्कैपनि आफ्नो पक्षमा केन्द्रिय मतदाताको संख्या बढाउन सकिन्छ नै । तर निर्णायक मतदाता एनसिसीको वर्तामन निर्वाचनले दिने होइन । त्यसैले बद्रि केसी प्यानलको ध्यान एनसिसी निर्वाचनमापनि कडाइका साथ, चलाखिपूर्णढंगले लाग्ने, अरुको ध्यान एनसिसी निर्वाचनमै केन्द्रित गर्ने देखिएको छ । केन्द्रिय निर्वाचन जित्ने मुल ध्यान केन्द्रिय प्रतिनिधीमा दिने र त्यस्ता प्रतिनिधी छानीछानी आफ्नो पक्षमा बनाउने रणनिति देखिन्छ ।

यता कुल आचार्य पक्षकाहरुलेपनि त्यो ६५ प्रतिशत केन्द्रिय प्रतिनिधी छनौटको रणनिति पक्कै नबुझेका छैनन् । तर उनीहरुको ध्यान एनसिसीको निर्वाचन र २५ + १० गरेर आउने ३५ प्रतिशत केन्द्रिय मतदातामा बढि केन्द्रित देखिन्छ ।

कुल आचार्य र डा. बद्रि केसी पक्षको निर्वाचनका अन्य हतकण्डा, अक्किल, योजना, प्रचारको शैली र चुनावी रणनिति त मुख्यरुपमा आउन बाँकिनै छ । तर अहिलेको रणनिति हेर्दा कुल आचार्य पक्षले गत केन्द्रिय निर्वाचनमा भन्दा आफ्नो पकड र प्रभाव बलियो पारेको भन्ने छ ।

यता डा. बद्रि केसी प्यानलको भने शुरुदेखिनै केन्द्रिय प्रतिनिधीमा बढि ध्यान गएकाले निर्वाचन आफ्नो प्यानलेनै जित्नेमा ढुक्क देखिन्छ । तर निर्वाचन कसले जित्छ भन्ने चाहिं अहिले भन्न सकिन्न । किनभने प्रतिनिधी छनौट, उमेदवारको पक्कापक्की, दल र खेमा बदल्ने, मोलमोलाइ गरेर दाम हात पारेपछि उमेदवारी फिर्ता लिने, दल र दलाल किन्ने मुख्य गाडीको ईन्जिन र त्यसलाई हाँक्ने चालकको यकिन हुनै बाँकि छ ।

तपाइँको प्रतिक्रिया