शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए जर्मनी बिरुद्द जर्मनीका बिभिन्न अदालतमा मुद्दा ?

नेपालप्लस संवाददाता२०७८ साउन ३१ गते २३:१५

गैर आवाशिय नेपाली संघ (एनआरएनए) जर्मनीको नव निर्वाचित समिति बिरुद्द जर्मनीको बिभिन्न अदालतमा मुद्दा परेको नेपालको राजनितिक पार्टीका जर्मनीस्थित भात्री संगठनहरुले जनाएका छन् ।

प्रवासी नेपाली एकता मंच जर्मनी, नेपाली जनसम्पर्क समिति जर्मनी, नेपाली जन प्रगतिशील मंच जर्मनी र प्रवासी नेपाली एकता समाज जर्मनीले आज संयुक्त प्रेस बक्तब्य (लेख्नुपर्ने प्रेस बिज्ञप्ती हो) जारि गर्दै यो रहस्य खोलेका हुन् ।

उनीहरुले आज जारि गरेको प्रेस बिज्ञप्तीमा ‘गत ३१ जुलाईमा भएको एनआरएनए जर्मनीको निर्वाचन धाँधली र फर्जीमत प्रयोग गरि अनलाईन प्राविधिलाई दुरुपयोग गरेर निर्वाचित कठपुतली नेतृत्वका सबै क्रियाकलाप पुर्णले बहिस्कार गरौं’ भन्दै आव्हान गरेका छन् ।

प्रेस बिज्ञप्तीमा भनिएको छ ‘जर्मनी भरि छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु आबद्ध विभिन्न संघसंस्थाहरु लगायत अग्रज तथा बुद्धिजीवीहरुको असहमति र असमर्थन हुँदाहुँदै पनि एनआरएनए जर्मनीको नेतृत्वले अबैधानिक कार्य गर्न प्रेरित भइ पक्षपात र पूर्वाग्रह तवरमा आईसीसी प्रतिनिधिको छनोट गरेको छ ।’

‘एनआरएनए जर्मनीको २०२१-२०२३ कार्यकालको निर्वाचन नै विवादित भएकोले निष्पक्ष छानबिन र न्यायकाे माग गर्दै जर्मनीका विभिन्न अदालतहरुमा मुद्धाहरु परेका छन्’ बिज्ञप्तीमा खुलाईएको छ ।

अदालतबाट फैसला नआउन्जेल कानुनतः एनआरएनए जर्मनीको अभियानमा कुनैपनि गतिविधि गर्न छुट नभएकोसमेत बिज्ञप्तीमा दाबी गरिएको छ ।

उनीहरुले ६५ प्रतिशत आइसिसी प्रतिनिधि छनौटमा देखा परेका पूर्वाग्रही र मनपरी तन्त्रले संस्थाको गरिमामय छविलाई धब्बा लगाई दिएकोसमेत उल्लेख गरेका छन् ।

२५ प्रतिशत प्रतिनिधिहरुको लागि आजको आजै निर्वाचन गर्ने निर्णय कुनैपनि हालतमा स्वीकार्य नहुने भनाई संस्थाका प्रतिनिधीहरुले उल्लेख गर्दै बिज्ञप्तीमा भनेका छन् ‘यस्तो निर्वाचन जर्मनीको कानुन बिपरित र एनआरएनएको बिधान बिपरित छ । गैरकानुनी र अबैधानिक रुपमा कुनै संस्था चलाउनु पनि दण्डनिय हुन्छ ।”

‘निर्वाचन आयोग बिना यो चुनाव कसले गराउँदै छ ? प्रश्न गर्दै भनिएको छ ‘यो सबै जर्मनी निवासी आम नेपालीहरुको चासोको विषय पनि हो । यो कसले ? केका लागि ? किन ? र कसरी यो निर्वाचन एनआरएनए जर्मनीले गर्दै छ भन्ने करिव १६ सय साधारण सदस्यहरुलाई कुनै जानकारी पनि छैन । मुठ्ठी भरका व्यक्तिको स्वार्थको लागि कठपुतली नेतृत्वले निर्वाचन आयोगबिना प्रतिनिधिको निर्वाचन गर्दै छ । आधिकारीक रुपमा निर्वाचन आयोग खै ? यसको कुनै आधिकारिक जानकारीबिना निर्वाचन कसरी सम्भव छ ?’

अनलाइनमा सदस्यताको मतलब नबुझ्ने कयौं नेपालीहरु जर्मनीमा बसोबास गर्दै आएकाले तिनलाई कसरी अनलाइन भोट दिने भन्ने पूर्व जानकारी दिन एनआरएनए जर्मनी असक्षम देखिएको आरोप बिज्ञप्ती मार्फत् लगाइएको छ ।

पहिले नै प्रतिनिधिहरुको नामलिस्ट तयार गरिसकेकोले देखावटीको लागि निर्वाचन हुँदै गरेको स्पष्ठ देखिएकोले जसको शक्ति उसको भक्ति भने झैँ एनआरएनए जर्मनी धनाढ्यवर्गको एउटा निजी क्लब बन्दै गइरहेको भनाईसमेत उनीहरुको छ ।

एनआरएनए जर्मनीको लागि ठूलो योगदान र समर्पण गरेका धेरै अग्रज तथा अभियन्ताहरुको मेहनतले निर्माण भएको संस्थाको गरिमा अस्ताउँदै गएकोमा दुख लागेको बताउँदै ‘स्वार्थ सिद्ध गर्न विभिन्न चलखेल र षड्यन्त्रकारी तिकडमबाजिका फोहोरी खेल पबित्र संस्थामा तुरुन्त बन्द गर्न’ खबरदारि गर्ने जनाएका छन् ।

अदालतको फैसलालाई पर्खिरहेकाले वर्तमान एनआरएनए जर्मनीले संस्थागत कुनै पनि गतिविधि नगर्न यसै बिज्ञप्तीबाट चेतावनीका साथ अनुरोध गरेका छन् ।

उनीहरुले जर्मनीका सबै संघसंस्था र नेपालीहरुलाई ‘एकताबद्ध भएर स्वेच्छाचारी तवरले चल्न खोज्ने वर्तमान एनआरएनए जर्मनीलाई खबरदारी गर्दै भण्डाफोर गर्न’ हार्दिक अपिल समेत गरेका छन् ।

प्रेस बिज्ञप्ती जारि गर्नेमा चन्द्रकान्त आचार्य-अध्यक्ष, प्रवासी नेपाली एकता मंच जर्मनी; शिखर खड्का- अध्यक्ष, नेपाली जनसम्पर्क समिति जर्मनी; शम्भु प्रसाद पोख्रेल-अध्यक्ष, नेपाली जनप्रगतिशील मंच जर्मनी र विजय शाही-अध्यक्ष, प्रवासी नेपाली एकता समाज जर्मनी छन् ।

तपाइँको प्रतिक्रिया