शनिबार, असोज २, २०७८

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

नेपालप्लस संवाददाता२०७८ साउन ३२ गते १७:३५

हेरात क्षेत्र, तालिबानका सदस्यहरु मुल्लाहको गढ भित्र मुल्ला नियाजी समूहको नियन्त्रणमा रहेको क्षेत्र । Image Credit- themuslimtimes.info

अफगानिस्तानको सरकार किन तालिवानी बिद्रोहीसित लडेन ? अफगानी सरकार यतिछिट्टै पतन हुँदा बाँकि विश्व त यसैपनि चकित पर्नेनै भयो, स्वयं तालिवानी बिद्रोहीहरुनै आस्चर्यमा परेका छन् । भनिरहेछन् ‘हामीले यति छिट्टै कसरि जित्यौं ?’

अफगानिस्तानमा तालिबानको द्रुत कब्जा युद्धको मैदानमा उनीहरुको बलले मात्रै संभव पारेको होइन । ग्रामीण प्रान्तमा शुरू भएको रणनीति मात्र पनि होइन । बरु अफगानिस्तानको एक कमजोर सेनाको मनोबलको पतनको परिणाम हो ।

अफगानिस्तानको सेना किन लडेन?

अमेरिकाले खर्चेको ८३ अर्ब डलर (आधिकारिक, सार्वजनिक नगरिएको अझ बढि हुनसक्ने) खर्चेर दुई दशकमा अफगान सेनालाई सुसज्जित र प्रशिक्षण दियो । तैपनि धेरै प्रान्तहरुमा सरकारी सेना तालिबान विद्रोहीहरुको सामना गर्न नसकेर तिनको शक्ति बाष्पीकरण भएको देखिन्छ।

अफगानिस्तान सरकारकोलागि तिन लाख भन्दा धेरै कर्मचारी थिए । तिनलाई अत्याधुनिक उपकरणहरुले सुसज्जित पारिएको थियो । तिसित तालिबानसित भएको हतियार भन्दा धेरै उन्नत थियो । तर अफगान सेनाको शक्ति कागजमा भयानक थियो । यथार्थमा उनीहरुमा भ्रष्टाचार थियो । भुक्तानी असन्तुलित थियो । कमजोर नेतृत्व, तालिमको अभाव र वर्षौंदेखि मनोबल गिरेर बसेका सेना थिए ।

ति मरुभूमिमा हराएका जस्ता थिए । सबै चिज पाउँदा मात्रै सामान्य देखिएको थियो । अमेरिकी सरकार निरीक्षकहरुलाई लामो समयदेखि चेतावनी दिईएको थियो ‘स्थिति अस्थिर छ, सामान्य र सहज हुने छैन ।’

कुन्दुज प्रान्तको एक जिल्ला इमाम साहिबमा रहेको सरकारी चौकी तालिबानको बिरूद्ध दुई महिनासम्म लडेर सुरक्षित राखिएको थियो ।

“तर त्यसपछि संसाधन र आपूर्ति छिट्टै घट्यो । अन्तिम दिनहरुमा खाना, पानी र हतियार थिएन” ३८ वर्षीय ताज मोहम्मदले वाल स्ट्रीट जर्नललाई भने । आवस्यक वस्तुको अभावमा सेनाहरुको मनोबल घट्यो । बाँकी सेनाहरु अन्ततः प्रान्तीय राजधानी तर्फ भागे । त्यसको एक हप्तापछि चौकीमा हाकाहाकी प्रवेश गरेर तालिबानले भताभुंग पार्‍यो ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारको फ्रन्ट लाइनमा रहेका सेना, प्रहरीहरुलाई रासनसमेत पुगेको थिएन । उनीहरुलाई दैनिक राशनको लागी ताछेका आलु भरिएको केहि बाक्सा दिइएको थियो ।

कान्दाहार प्रहरीले शहर कमजोर बन्नु अघि ६ देखि १० महिनाको तलबसमेत उनीहरुले पाएका थिएन । यसले गर्दा तालिबानहरुले राखेको प्रस्तावले उनीहरुलाई आकर्षण दिन थालेको थियो । अर्थात् तालिबानीहरुले थोरै दिँदापनि तलबनै नपाउनेहरु तालिबानतिर आकर्षित हुन थालेका थिए ।

तालिबान विद्रोहीले प्रचार र मनोवैज्ञानिक युद्धको साथसाथै धम्की र घूसखोरीबिरुद्द आवाज बुलन्द पारे । जब उनीहरुले एकपछि अर्को शहर कब्जा गर्दै गए केहिले मात्रै बमु, गोली चलाएर हत्या गरे । अन्ततः राजधानी कब्जा गर्न पुगे । तालिबानीले शहर कब्जा गर्दै जाँदा त्यहाँको सरकारी सेनाले खासै प्रतिकार गरेन ।

गत वर्षदेखिनै तालिबान नेताहरूले हतियारको सट्टामा हताश सैनिकहरुलाई पैसा दिन शुरू गरेका थिए । वाशिंगटन पोस्टका अनुसार अफगानिस्तानका अधिकारीहरुद्वारा “युद्धविराम” नामक बैठक र सम्झौताहरुमा जोड दिन थालिएको थियो । अर्को डेढ वर्षसम्म त्यस्ता बैठकहरु जिल्ला स्तरसम्म पुग्यो र त्यसपछि छिटो प्रान्तीय राजधानीहरु सम्म फैलियो । सरकारी सेनाहरुद्वारा वार्ता वार्ता, सम्झौता भन्दै गरिएको योजना आत्मसमर्पणको एक उत्साहजनक श्रृंखलामा समाप्त भयो । तालिबानहरुले बुझे, सरकार, बिदेशी सेनाको बल अब सक्किन थाल्यो, ति गले ।

तैपनि जब ट्रम्प प्रशासनको अन्तिम म्याद १ मे महिनाको लागी सेनाहरु फिर्ता जाने भनेर तय गरीएको थियो त्यो बेलापनि अमेरिकी सरकार र अफगानी सरकार आफ्ना सेनाहरु तालिबान बिरुद्ध लडाई लड्नेछन् भन्नेमा विश्वस्त थिए ।

अफगानिस्तानको सेना लड्दै नलडेकोपनि भनिहाल्न मिल्दैन । अफगानी सेनाले दक्षिणमा लश्कर गह जस्ता केही क्षेत्रमा कडा प्रतिकार गरेको थियो । तर उनीहरु अमेरिकी हवाई हमला वा सैन्य सहयोग बिना तालिबानको सामना गर्दै थिए । तालिबान विद्रोहीहरुको साना तर अत्यधिक उत्प्रेरित समूहहरुसँग सामना गर्न सबै बाहिरि सहयोगमा चलेको सेनालाई सहज भएन । धेरै सैनिक र यहाँसम्म कि सम्पूर्ण साना एकाइहरुमा रहेका सेनाले कि शान्तपूर्ण स्थल खोजेर हिंडे वा आत्मसमर्पण गरे । उनीहरुले इस्लामवादीहरुलाई एक पछि अर्को शहर कब्जा गर्न सुम्पिए जस्तै भयो ।

यसैबीच, अमेरिकी गुप्तचर बिभागको मूल्यांकन अत्यन्तै आशावादी देखियो। अमेरिकी अधिकारीहरुले गत हप्ता अनुमान गरेका थिए- तालिबानले ९० दिन भित्र काबुल कब्जा गर्नसक्छ । तर लगभग ७२ घण्टा पछिनै काबुललाई घुँडा टेकाईयो ।

तालिबानहरुलेपनि यति छिट्टै हमला गरौंला, तिनलाई लखेटौंला, शहरहरु कब्जा गर्दै जाउँला र राजधानीमै पसेर यति सजिलै कब्जा जमाउँदा भन्ने सोचेकै थिएनन् । तालिबानहरुपनि ‘कति चाँडो, यसरि हामीले केहि प्रान्तहरुको नियन्त्रण लिन सक्षम भयौं ? भन्दै आश्चर्यचकित थिए ।

तालिबानको जितमा कसरि अमेरिकाले सहयोग पुर्‍यायो

केहि मानिसहरुले अफगानिस्तान पतन भएकै २० वर्ष भैसकेको मानेका छन् । पश्चिमी राष्ट्हरुलाई भित्र्याएर राष्ट्र निर्माण परियोजना ल्याउनु गलत भनेका छन् । तर अफगानिस्तान सरकारको खास पतन गत साल भएको हो । जब पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १ सम्म अमेरिकी सेना फिर्ता गर्ने विद्रोहीहरुसँग सम्झौता गरे यहिंबाट बिदेशी सेना हारे र अफगानिस्तानपनि पतन भएको सिद्द भयो । अफगानिस्तानका तालिबानीलेपनि ‘अब हाम्ले जित्यौं, जित्छौं’ भन्ने पक्का मेसो पाए ।

तालिबानका लागि यो एउटा संकेत थियो कि झण्डै दुई दशकको युद्ध पछि उनीहरुको जीत आसन्न थियो । अफगानिस्तान सरकारको लागि भने यो एक धोका थियो । यसको मतलब अन्तर्राष्ट्रिय समुदायद्वारा अब उनीहरुलाई आधिकारिक रुपमै त्यागिएको थियो ।

अब बिदेशी सेना भाग्छन् भन्ने जानेपछि तालिबानले सरकारी फौजहरुमाथि आक्रमण झन जारी राखे । तर उनीहरुले पत्रकार र अधिकारकर्मीहरुको लक्षित हत्या गर्न थाले । उनीहरुको उद्देश्य अन्तर्राष्ट्रिय जमातलाई तर्साउन खोज्नु, त्रसित बनाउने डरको वातावरण बढाउनु थियो ताकि सबैले छोडेर भागुन् ।

अब उनीहरुले आफ्नो प्रचार र मनोवैज्ञानिक अपरेसनमा झन ध्यान दिन थाले । तालिबानको विजय अपरिहार्य हुनुपर्छ भनेर अनेक घटनाका धक्का दिए । सैनिकहरु र स्थानीय अधिकारीहरुलाई केहि क्षेत्रहरुमा आफ्ना सन्देशहरु सुनाएर बमबारी गरियो । उनीहरुलाई आत्मसमर्पण गर्न वा तालिबानसँग सहयोग गर्न आग्रह गर्न थालियो ।

तालिबानहरुले धेरैलाई सुरक्षित बाटो प्रदान गर्न थाले । हतियार छोडेर लडाइँ नगर्ने शर्तमा । कतिपय ठाउँमा अनेक शर्त, प्रस्ताव लिएर आदिवासी र गाउँका बृद्धहरुको माध्यमबाट पुगे ।

तालिबान विरोधी योद्धाहरुलाई के भयो?

अफगानिस्तानको सेनाले तालिबानको प्रगतिलाई रोक्न सकेन । अफगानिस्तानका धेरै कुख्यात सैन्य अधिकारी र तस्करहरुले आफ्नो मिलिशिया जुटाए । उनीहरुको यहि कमजोर धरातलमा उभिएर तालिबानले शहरहरुमा आक्रमण गरे । उनीहरुसँग लड्ने वाचा गरे । तर अफगानिस्तान सरकारको बाँच्नसक्ने क्षमतामा आत्मविश्वास गिर्दै गयो । यो युद्धको उद्घोस सरदारहरुको भित्ता भित्तामा लेखिएको थियो । ति त्रसित बन्दै गए । सुरक्षित बस्न थाले । तालिबानहरुले
तिनीहरूका शहरहरू लडाई बिना नै नियन्त्रणमा लिन थाले ।

लामो समयदेखि युद्धरत सेनापति इस्माइल खान, “हेरातको शेर (लायन अफ हेरात)” को रूपमा परिचित थिए । र आफ्नो शहरको उनी अन्तिम आशाको रूपमा देखिएका थिए । त्योपनि तालिबानद्वारा कब्जा गरिको थियो । हेरात गिरे ।

उज्बेकिस्तानका कमाण्डर र पूर्व उपराष्ट्रपति अब्दुल रशिद दोस्तमका साथसाथै सहकर्मी अत्ता मोहम्मद नूर उज्बेकिस्तान पस्नु अघि मजार-ए-शरीफको लडाईमा सामेल भएका थिए । किनकि उनीहरुको मिलिशियाले हामी, हतियार र वर्दी समेत छोडिसकेका थिए ।

तालिबानको रणनीति के थियो?

बिदेशी सेना हुँदाहुँदै तालिबान चुपचाप बाहिरी-भित्री रणनीति बनाइरहेको थियो । क्षेत्रीय राजधानीहरु कब्जा गर्नु अघि बिस्तारै प्रान्तीय ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड कडा पार्दै लगेको थियो ।

सरकारी सेना, अधिकारी, बिदेशी अधिकारीले कथित रूपमा सम्झौता र आत्मसमर्पण ब्यवस्थाको छलफल शुरू गरेका थिए । यो देखेपछि तालिबानले आफ्नो रणनिति कडा र प्रभावकारि पार्दै लगेको थियो, भित्रभित्रै । उनीहरुले प्रहरीहरुमा ब्यक्तिगत सम्पर्क गर्न थालिसकेका थिए । र निम्न स्तरका सरकारी अधिकारीहरु, प्रान्तीय गभर्नर र सरकारका मन्त्रीहरुसम्म पहुँच बनाउन थालिसकेका थिए । यो पहुँच मेमा आफ्नो अन्तिम प्रहार शुरू हुनुभन्दा पहिलेनै फत्ते गरिसकेका थिए । तिनका रणनीतिहरु धेरै प्रभावकारी साबित भए ।

तालिबानले अब जितिन्छ भन्ने लागेपछि रक्तपातपनि कम गर्दै लगेको थियो । तालिबानको काबुलसम्मको अन्तिम मार्चका तस्बिरहरु रक्तरंजित लडाईहरुका थिएनन् । तर तालिबान र सरकारी अधिकारीहरु आरामले बसेका देखिन्थे । किनकि ति अधिकारीहरुले शहर र प्रान्तहरुलाई हस्तान्तरणको औपचारिकता भित्रभित्रै दिएका थिए जुन बिना लडाई तालिबानहरु लिन सफल भैरहेका थिए ।

आइतबारसम्म राष्ट्रपति अशरफ घनी देश छोडेर कथित ताजिकिस्तान गए । उनले अफगानिस्तानलाई एक आधुनिक राज्यमा केन्द्रित सरकार बनाउने भनेर आफ्नो शक्ति देशभरका बिभिन्न प्रान्तहरुमा विस्तार गरेका थिए। तर देशै छोडेर भागेपछि २० वर्षको अन्तर्राष्ट्रिय अभियान आश्चर्यजनक रुपमा अन्त्य भयो ।

तालिबानको आदेश अनुसार धेरै मानिसहरु आफ्नो घरमा लुकेर काबुलभरि बसेका छन् । तर स्थिति तनावपूर्ण भएपनि दोहोरो रक्तपात भैनसकेकोले स्थानियहरु केहि शान्त छन् । शान्त नब्गएरपनि के गर्नु ? तिनको जाने ठाउँ छैन । तालिबानको सत्ता फेरि क्रूर शासनमा फर्किने डरले भाग्न चाहनेहरु हमिद कारजाई अन्तर्राष्ट्रिय बिमानस्थल जाने बाटोमा भीड लाग्यो । त्यहाँ अराजक दृश्यहरु देखिएका छन् । दुबै अफगान र विदेशीहरुको खेल मैदानको रूपमा देखापरेको छ । त्यसको उन्मूलनको लागि एक पटक फेरि त्यहाँका जनता आकुलब्याकुल छन् । संभ भएसम्म त्यो सत्ताको पागलपनबाट बाहिर निस्किन खोजिरहेका छन् ।

(नेपालप्लसको साथमा फ्रंस २४, एएफपी, एपी, द मुस्लिम टाईम्स)

अफगानिस्तानमा कोहि नेपाली हुनुहुन्छ भने नेपालप्लसको फेसबूक पेज वा ईमेलमा सम्पर्कमा आइदिनुहुन अनुरोध छ । त्यस्तै, अफगानिस्तानका केहि समाचार, घटना भएपनि नेपालप्लसमा सम्पर्क गर्नुहोला, गराइदिनुहोला । धन्यावाद !

नेपालप्लस फेसबुक पेजकालागि यहाँ क्लिक गर्नुहोस

नेपालप्लस ट्विटरकालागि यहाँ क्लिक गर्नुहोस
ईमेल  [email protected]

तपाइँको प्रतिक्रिया

फेसबुक