बिहीबार, वैशाख १३, २०८१

बहु बन्दुकको चेपुवामा अफगानिस्तान : अफगानी भविष्य फेरी अँध्यारोतिरै ?

कृष्ण कँडेल२०७८ भदौ १ गते १७:२१

यतिखेर विश्वको ध्यान अफगानिस्तानमा केन्द्रित छ । अमेरिकी नेतृत्वको बहुराष्ट्रीय सेनाले अफगानिस्तान छाड्ने घोषणा गरेसँगै अफ़गानी जनताहरूमा अब फेरी अँध्यारो युगको आगमन हुने हो कि ? भन्ने आशंकाले डेरा जमाउने जमर्को गर्दै थियो । अन्ततः तालीबानीहरूले अफगानिस्तानको निर्वाचित सत्तालाई क़ब्ज़ा गरिछाडे ।

अमेरिका लगायत बहुराष्ट्रीय सेनाको बहिर्गमन सँगसँगै २० वर्ष पछी तालीवानीहरू पुन: सत्तामा फर्के । तालीवानीहरूको विगत राम्रो छैन । उनिहरू सत्तामा हुँदा अफ़गानी जनताको धार्मिक, सांस्कृतिक, राजनितीक सबै अधिकार कुन्ठित थिए । ईश्लामिक अतिवाद हावी थियो । त्यही अतीवादको अन्त्य र अफग़ानी जनताको संरक्षण हेतु भन्दै अमेरिकी नेतृत्वको बहुराष्ट्रीय सेनाको परेड दुईदशकसम्म चलिरह्यो । तर अफग़ानी जनता अशान्तिको भूंग्रोमा पिल्सीरहे । दुई बन्दुक अझ भनौं बहु बन्दुकको चेपुवामा परिपरिरहे । महिला वालवालीका लगायत हजारौं मानिसहरू देश छाड्न बाध्य भए । यही अगस्त १६ मा निर्वाचित राष्ट्रपति असरफ घानी देश छाडेर उजवेकिस्तान पलायन भए । एकदिन अघी घानीले अफ़ग़ानिस्तान स्थित अमेरिकी दुतावासमा शरण लिएका थिए ।

२० वर्षसम्म रहँदा बस्दा पनि बहुराष्ट्रीय सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्व वहाल गर्न सकेन । आख़िर अमेरिकी नेतृत्वको सेना कुन प्रयोजनको लागी त्यहाँ पसेको थियो ? समयकाल सँगै वास्तविकता उजागर हुँदै जाला । तालीवान ईतर अफग़ानी नेताहरूले आफ्नो देशको समस्या आफैं किन समाधान गर्न सकेनन् ? के उनीहरू केवल विदेशीहरूको ईशारामा नाचीरहे ? वा भ्रष्टाचारमा चुरलुम्म डुबिरहे ? वा उनिहरूमा राजनितीक ईच्छा शक्तिनै पलाएन ?

अमेरिकी नेतृत्वको सेना सन् २००१ मा अफगानिस्तान प्रवेश गरेयता विगत २० वर्षमा २,३१२ अमेरिकी सेना मारिएको र करिव २० हजार सेना घाईते भएको बताईन्छ । सुरक्षाविज्ञहरू भन्छन् ‘यो युद्ध अमेरिकाको लागि निकै ख़र्चीलो सावित भयो र अपेक्षाकृत परिणाम पनि आउन सकेन ।

विभिन्न अध्ययनले बताए अनुसार अफग़ान द्वन्द्वका कारण ५० हजार भन्दा बढ़ी सर्वसाधारण र सत्तरीहजार भन्दा बढ़ी सुरक्षाकर्मी मारिएका छन् । देश छाडेर शरण खोज्नेहरूको एकीन विवरण अझै आउन सकेको छैन् ।

अफगान युद्धमा अमेरिका, वेलायत र अष्ट्रेलीया लगायतका देशहरू एकातिर र रूस चिन लगायतका देशहरू दुई कित्तामा विभक्त थिए । यस अर्थमा शक्तिशाली भनिने देशहरूका आआफ्ना स्वार्थ थिए । वर्तमानमा पनि छन् । तिनै शक्तिशाली देशका आ-आफ्ना रणनितीक स्वार्थका कारण अफगान जनताका आधारभूत मानव अधिकार र स्वतन्त्रता फेरी धरापमा परेको छ । २० वर्ष अघी तालीवानीहरू सत्ताच्युत भएपछीका दिनहरूमा अफगानिस्तानका जनताहरूको जीवनशैलीमा आमुल परिवर्तन आएको थियो । खासगरी अफगान महिलाहरू स्वतन्त्रताको स्वाद चाख्दै थिए ।

अगस्त १६ मा तालीवानीहरूले राजधानी कावुल क़ब्ज़ा गरेपछी अब अफगानी जनताको भविष्य फेरी अँध्यारो युगतिर फर्केको हो त ? भन्ने यक्ष प्रश्न तेर्सिएको छ ।

हामिद कारजाई हुँदै असरफ घानीसम्म आईपुग्दा अफगान सरकारले सुशासन, पुनर्निर्माण भ्रष्टाचार नियन्त्रण र युवा पु्स्तालाई गरिखानदिने वातावरण बनाउन नसकेकै कारण तालीवानीहरू फेरी सत्ताकब्जा गर्न सफल देखिए । तालीवानीहरू कति टिक्छन् त्यो भने हेर्न बाँकी छ ।

तालीवानीहरूको पुनरागमनले अफगानी जनताहरू भयभीत छन् । यही अगस्त १६ मा प्रकाशित बेलायती अखवार गार्डियनले विश्वविघालय पढ्ने एक महिलालाई हवाला दिंदै लेख्छ – स्वतन्त्रताको अन्त्य भयो । के अब हामी फेरी “बुर्क़ा“ कै युगमा फर्कनपर्ने भयो त ? एक रातमा चारवटा लोग्नेसँग सुत्नुपर्ने ? अब हामी कहाँ जाने ? “

अमेरिकी राष्ट्रपति जे वाईडेनले तालीवानीहरूले राजधानी कावुल क़ब्ज़ा गरेपछी कुनै औपचारिक स्टेटमेन्ट जारी गरेनन् । तर तत्कालीन सत्तामा रहेकाहरू हुतीहारा हुन् भन्ने अभिव्यक्ति भने दिए । बेलायती प्रधानमन्त्री वोरिस जोनसनले एउटा टेलीभिजन अन्तरवार्तामा भनेका छन् – अन्तर्राष्ट्रीय आतंकवादीलाई हामीले समर्थन गर्नेछैनौं ।”

यसैबिच रूस र चिनीया अघिकारीहरूले अफगानिस्तानको स्थायित्व एवम् शान्तिका लागी अब बन्ने सरकारसँग हातेमालो गर्न सकिने संकेत दिएका छन् ।

अफगानिस्तानको द्वन्द्वको बाछीटा एशिया र खासगरी दक्षिण एशियाली देशहरूमा प्रत्यक्ष पर्ने देखिन्छ । विशेषत नेपाल, भारत, पाकिस्तान र चिनमा यसको प्रत्यक्ष असर पर्नेछ ।

अफगानिस्तानमा कार्यरत नेपाली, स्वयम् अफगानी जनता र विश्वका विभिन्न देशबाट कामको खोजीमा त्यहाँ पुगेका जनताको जीवन रक्षाको लागी विश्व समुदायको ध्यान त्यहाँ आकृष्ट हुनै पर्दछ । यो तत्कालको आवस्यकता हो । यसैगरी संयुक्त राष्ट्रसंघले त्यहाँ मानवीय संकट हुननदिन प्रभावकारी भूमिका निर्वाह गर्नै पर्दछ । अन्यथा मानवताको घाउ चर्कीरहनेछ ।

कँडेलको अघिल्लो लेखपनि हेर्ने कि ?

मानवता रोएको म्यानमार र सैनिक सत्ता

तपाइँको प्रतिक्रिया