शनिबार, असोज २, २०७८

प्यारपूर्ण समयका सबै अंशमा जोडिएका हाम्रा गौरव !

युवराज नयाँघरे२०७८ भदौ २ गते १७:५३

राष्ट्रकवि माधव घिमिरेका कवितालाई मैले सधैँ सुक्तिमय आधारमा पढेँ । ती पढिरहँदा स्वर संसारको माधुर्य र मिठासले आलोकित भइरहेँ ।

कविताले दिने ठूलो आनन्दी भनेको विम्ब, सन्देश र शिल्प जति हो– चित्र र भावनाको रङ अर्को विशाल संसार हो । राष्ट्रकविका कविताहरुले यी सबै पक्षलाई स्नेहवत् रुपमा सुम्सुमाएको अनुभूत हुन्छ ।

‘कविताको शक्ति यति बलशाली !’ रचना पढिरहँदा सधैँ मनमा खेलिरहने खुलदुली हो यो । यो रहरिँदो चेतनामा कविवरप्रति अगाध प्रेम र सम्मान, श्रद्धा र आदर, मान र भरपत्यारको शब्द उद्वेलित भइरहन्छ ।

‘बन जीवन्त मानिस’ पढेदेखि नै कविवर प्रतिको श्रद्धा, सम्मान र सप्रेममा मैले कमी गरिनँ । उल्टै थपिएर गयो । त्यो थपाइमा कविता र कविवरको समान यात्रा ठान्छु म ।

कविवरसँग पनि यी सबै तथ्य परै रहे भन्दिनँ म । तर उनको कवित्व र रचनाकारितामा माथि तोकिएका असंगत, असम्मत र अस्पष्टताहरु वर आएनन्, परपरै बसे । कविवरको गीति, काव्य वा फुटकर कविता लेखनको उचाइसँग हार खाएको मैले कहिल्यै देखिनँ ।

जीवन एउटा समयको दुवै गति हो । ओल्लो किनार वा पल्लो किनार, घाम वा छायाँ, उज्यालो र अँध्यारो अर्थात् उन्नति वा अवनतिका सग्ला र मसिना चरित्रसँग जीवन जोडिएकै हुन्छ । कवितासँग शास्त्रास्त्र गर्ने कला र क्षमता घिमिरेले पाएको लाग्छ । उनको कविता र शैल्पिक चेतना औधी मोहक लाग्छ । गीति संसारमा सधैँ नेपाली मौलिक अनुहार र आभासँग उनले मेलमिलाप गरे । त्यो मेलमिलापले हाम्रो गीत, कविता र काव्यको आकाश सधैँ सङ्लो रह्यो, निर्मल रह्यो, चहकिलो रह्यो ।

०००

कपुरधाराको त्यो घर जहाँ निकै खेप गएको छु म । कविवरका ती कविता– जसलाई मैले अनेक भाव र भंगिमा बुझेर पढेको छु । ती कविवर– निकै भेटघाट गरेर आफूलाई सधैँ ऊर्जा, उत्साह र उल्लसित बनाएर फर्केको छु ।

गौरी पढेर पनि भक्कानिएको क्षण, मालती मंगले हेरेर परेली पुछेका दिन, राष्ट्रनिर्माता पढेर जोसिएको क्षण, किन्नर–किन्नरी पढेर पग्लिएको दिन वा आफ्नै बाँसुरी आफ्नै गीत पढेर तरङ्गिएको साँझ सबै प्यारा लाग्छन् । ती प्यारपूर्ण समयका सबै अंशमा जोडिए राष्ट्रकवि घिमिरे ।

निस भएर सिर्जनशीलतामा सम्हालिइरहनु औधी ठूलो कुरा हो । सम्हालिनुभित्र धेरै पक्षले रेखदेख गरेको हुन्छ । कोही कता फुस्कन्छन्, कोही कता बाँधिन्छन्, कोही कता टन्किन्छन् वा कोही कता खुकुलिएर जान्छन् । कविवरका हरेक रचनामा गहकिलो र कसिलो, गहन र सुगठित पक्षले सँगालेको अनुभूत हुन्छ ।

प्रज्ञा प्रतिष्ठानको एउटा भव्य कोठामा कविवरसँग भेटेको रिमरिमे सम्झना छ– चालीस साल लगत्तै । अनि त्यसयताको समयमा कविवरसँगको आत्मीयता र आशीर्वादमा जोडिएको छु म । तिनको हार्दिकता र मायामा उही व्यवहार छ, बोली छ, भावना छ, भाषा पनि छ उस्तै ।

०००

कविवरलाई राष्ट्रकवि सम्मान दिलाउन अनेक कार्य र गतिविधिहरु भए । त्यसपछि मनग्गे कार्यहरु बने, बनाइए र सार्थक पनि ती भए । त्यसको नतिजा भयो– कविवरलाई राष्ट्रकै अग्रपंक्तिमा राखेर मानभाउ गरियो । उनको कदर जीवितमै गरिनुपर्छ भनेर प्रयत्नहरु गरिए धेरै ।

जीवन र जगतका हरेक सगर निहालेर यिनै पंक्ति बोलिरहँदा हृदयमा अर्कै आनन्दी र उमंग आउँछ । एउटा बिछट्टै हर्ष र खुसी पग्लिन्छ । रचनाले दिने उन्माद र रस भनेकै त्यही होला ।

कविवरलाई श्रद्धा गरेर होटेल ब्लु स्टारमा २०५१ सालमा गरिएथ्यो– अभिनन्दन । त्यो सम्मान र अर्चना ऐतिहासिक हुनुपर्छ । देशकै विराट् लेखन र साधकहरुको उपस्थिति थियो त्यो बेला । म सेतो लुगा लाएर दुःखमा थिएँ । आमाको वार्षिकी बोकेर घरमै थन्के पनि मनले नमानेर त्यहाँ पुगेको थिएँ ।

कविवरलाई एउटा फूलको गुच्छा किनेर दीर्घायु, सिर्जनशीलता र समृद्धिको शुभकामना दिएको थिएँ ।

०००
राष्ट्रकविको श्रद्धामा यिनको कोसिस आफैँ गाँसिएर आउने नाम हुन्– फूल र पराग जस्तो, सुवास र पुष्प जस्तो ।

कविवरमा हामी सबैको प्रणाम छ । जीवनमा सधैँ जितिरहने, नेतृत्व लिइरहने, विजयी भइरहने, समुन्नत भइरहने, जनमनमा रहिरहने नाम भयो– कविवरको लेखन र जीवनयात्रा । अरुको लागि पनि त्यो अनुकरणीय चरित्र बनोस् । मेरो समयका मानक र प्रिय कविवरमा प्रणाम छ !

कविवरलाई भेट्दा पनि उनका हरेक काव्य गुञ्जनले छेकारो मारेको लागिरहन्छ । वैशाख कविताका गहकिला हरफहरु गुनगुनाइरहँदा कविवरको ख्याल स्वतः आउँछ–
‘आई कैले पनि नसकिने, चैत वैशाख मेरा
लाई कैले पनि नसकिने प्रीति नौलाख मेरा ।’
००

तपाइँको प्रतिक्रिया

फेसबुक