शुक्रबार, वैशाख १४, २०८१

अष्टलक्ष्मीको इमानजमान पनि देखियो : ‘क्याम्प फेरेर मुख्यमन्त्री’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ भदौ २ गते २०:३०

आजभन्दा ६८ वर्षअघि काठमाडौंकै झोंसेमा जन्मेकी अष्टलक्ष्मी शाक्य नेपालको कम्युनिष्ट पार्टीमा अग्रज, इमान्दार र बौद्धिक नेतृका रुपमा मानिएकै कारण यदाकदा उनलाई राष्ट्रपति पदको ‘उपयुक्त आकांक्षी’ मान्ने गरिएको थियो । तर, राजनीतिक खेल र पक्षधरताका कारण उनी निर्वाचित जनप्रतिनिधि भैकन उपल्लो तहमा पुगेकी थिइनन् । केन्द्रको राजनीतिमा पद र पहुँच सम्भव नहुने देखेर प्रदेशतिर छिरेकी उनी २०७४ सालमा उनी बागमती प्रदेशको सभासद चुनावमा होमिएकी थिइन् ।

प्रदेशमा मुख्यमन्त्री बन्ने धुन र ध्याउन्न लिएर प्रदेश राजनीतिमा लागेकी उनी आफ्नो सपनामा बुधवार मात्रै सफ बनिन्, जब उनले रातारात राजनीतिको गुट बदलेर अर्कै गुटमा पस्ने निधो गरिन् । शाक्य मंगलबार रातीसम्म पनि अर्का बरिष्ठ नेता माधवकुमार नेपालको गुटमा थिइन् । तर,अध्यादेशबाट पार्टी फुट्न सक्ने प्रबन्ध बाहिर आइरहेका बेला अष्टलक्ष्मी भने प्रदेश राजधानी हेटौंडामा संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएर बधाई खाइरहेकी थिइन् । एकाएक नेपाल समूहबाट ओलीपक्षमा लागेकी शाक्य नेपालपक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न बुझाएको केन्द्रीय सदस्यको सूचीमा पर्नै सकिनन् ।

उनको पृष्ठभूमी हेर्दा ०३६ सालमा घर छोडेर कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य बनेकी शाक्यले ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन् । एमालेको अनुशासन आयोगमा लामो समय अध्यक्ष भएका नेता अमृतकुमार बोहरासँग उनको विवाह भएको थियो। बोहरा अहिले एमालेका स्थायी कमिटी सदस्य छन् । उनी नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा तटस्थ बसेका छन् ।

अष्टलक्ष्मी २०५६ सालको आम निर्वाचनमा काठमाडौंबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि पनि उनी संविधानसभा सदस्य बनिन् । उनले बिगतमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री तथा उद्योग, वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । उनले अब करिव डेढ वर्ष मुख्यमन्त्रीको रुपमा बागमती प्रदेश हाँक्ने छिन् । जबकि गुटगत रुपमा उनी अहिले पनि बागमती प्रदेशमा नेपाल–खनाल समूहमा समानान्तर कमिटि संयोजक हुन् ।

केपी ओलीलाई ‘बिचारशूून्य नेता’ भनेर फरक र बिरोधी राय राख्दै आएकी अष्टलक्ष्मी बुधवार ओलीकै सहयोगमा बागमती प्रदेशमा मुख्यमन्त्री बनिन् । अहिलेका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछि केही घन्टाकै अन्तरमा अष्टलक्ष्मी संसदीय दलको नेता र मुख्यमन्त्री बनिन् । ‘सबैले आदर्श र नैतिक मूल्य भएकी महिला भन्ने गरेकोमा अष्टलक्ष्मी रातारात छेपारे बनेको पनि देखियो,’एकजना नेपाल पक्षधर एमाले नेताले भनेका छन्—‘पार्टीपंक्तिमा को सही, को गलत र के ठीक, के बेठीक पनि छुट्याउन मुश्किल परेको अवस्था छ ।’

दल बिभाजनसम्बन्धी अध्यादेश आएकै कारण नेता माधवकुमार नेपालले नेकपा एमाले(समाजवादी) पार्टी निर्वाचन आयोगमा बुधवारै दर्ता गरिसकेका छन् । तर, अहिलेसम्मका पिछलग्गु मानिएका र नेता नेपालका विश्वासपात्र भनिएका योगेश भट्टराई, गोकर्ण बिष्ट, भिम रावलजस्ता नेताहरु अन्तिम घडीमा माधवपक्षमा देखिएका छैनन् । जबकि मिटरब्याजी कान्डका नाइके एवं ओली पक्षका नेता नवराज सिलवालसहित कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी जस्ता सांसद नेपाल पक्षमा लागेका छन् ।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ जुन अहिले सत्तारूढ एमालेसँग छ । त्यसैले प्रदेश प्रमुखले संविधानको धारा १६८ (९१०) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् । तर माधव नेपाल नेतृत्वमा बसेका एमाले समाजवादीमा बाग्मतीका कति सांसद लाग्छन् भन्नेमा धेरै निर्भर हुन्छ ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । माओवादी र कांग्रेसका ४५ सांसद छन् । यदि एमाले समाजवादीमा ११ जना सांसद लाग्ने हो भने शाक्यको मुख्यमन्त्री पद धरापमा पर्नेछ ।

तपाइँको प्रतिक्रिया