बिहीबार, वैशाख १३, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

प्याट्रिक मोदियानो : २०१४ को नोबेल पुरस्कार सम्मान

डा. गोबिन्द राज भट्टराई२०७८ भदौ ५ गते ५:०७

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

फ्रान्सेली आख्यानकार जाँ प्याट्रिक मोदियानोको जन्म १९४५ मा भएको थियो । उनले यसअघि २०१२ को अस्ट्रिअन स्टेट प्राइज फर लिट्रेचर लगायतका अन्य पुरस्कार प्राप्त गरेका थिए । यहूदी मूलका हुनाले मोदियानोका पितालाई दोस्रो विश्वयुद्धकालमा बाँच्न मुस्किल परेको थियो । मोदियानोको बाल्यकाल पनि अनेक दुःखकष्टले घेरिएको थियो । उनका ती दिनहरू आफ्नी हजुरआमाको काखमा बितेका थिए । पछि प्रभावशाली लेखिका केनौसित विवाह भएपछि उनैले पतिलाई सिर्जनाको संसार चिनाइन् ।

उनले शुरुमा युद्धको होलोकस्ट (सर्वनाश) बारे आख्यान लेखे । उनका अधिकांश आख्यानले प्यारिस शहरको अतीत र वर्तमान छुन्छन् । उनका अरू उपन्यास भावात्मक उन्मादको स्थितिमा पुगेर लेखिएका छन् । एक अल्पसंख्यक, परित्यक्त नागरिक भएकाले र आफ्नो मूलभूमि छोड्दै हिँड्नु पर्दा यायावरीय अतीतस्मृति बोकेको उनको परिवार भएकाले उनी आफ्ना आख्यानमा बारम्बार पहिचान र अतीतभूमि (उत्पत्तिस्थल) को चिन्तामा हुन्छन्— आफ्ना कृतिमा उनले त्यही कुरा लेखेका छन् । आफ्ना वंशका साठी लाख स्वजनलाई हिटलरको क्रुरताले समाप्त पारिदिएको हुनाले युरोपका यहूदीको जीवन कत्रो सन्त्रास, सन्ताप, व्यथा र रिक्तताले भरिएको थियो होला, अनुमान गर्न सकिन्छ । तर संसारमा अधिकांश बौद्धिक, वैज्ञानिक, स्रष्टा चिन्तक–लेखक जति यहूदी जातिमै जन्म लिएका छन् ।

केही अघिसम्म मोदियानो फ्रान्स बाहिर त्यति नचिनिएका स्रष्टा थिए । उनका कृतिमध्ये मिसिङ पर्सन, हनिमुन, डोरा ब्रुडर : द सर्च वारेन्ट जस्ता आख्यान (अनुवाद) अंग्रेजीमा पनि प्रकाशित छन् । सबै सिर्जनामा विद्यमान लेखनको जादूले उनी अघि पुगेका हुन् । उनको डोरा ब्रुडरमा आफ्नै पिताजीले भोगेको नाजी आतङ्क छ । दुई दर्जनभन्दा बढी कृतिका लेखक मोदियानोका सिर्जनामा दोस्रो विश्वयुद्धको सर्वनाश (होलोकस्ट) र नाजी आतङ्कवादको त्रासदी छ । ‘हराएको मान्छे’ (मिसिङ पर्सन) को प्रधान पात्र स्मृतिलोप (एम्नेसिया) को बिरामीले ग्रस्त छ । ऊ पोलेनेसियासम्मको यात्रा गरेर आफ्नो अतीत पत्ता लगाउन र जोड्न चाहन्छ । यस आख्यानले मानिसको कदापि अन्त्य नहुने पहिचानको तृष्णा र त्यसको खोजीयात्रा देखाउँछ । यस जगतमा मानिसको यात्रा ‘बालुवामा हाम्रा पदचाप एकैछिन मात्र रहन्छन् अनि मेटिन्छन्’ भन्नु जस्तै छ ।

वास्तवमा सम्पूर्ण युरोप नै हिटलरको नाजी आतङ्क–भूमि थियो । जर्मनीमा मात्र मारेनन्, अन्यत्रका पनि यहूदी जातिलाई ठूलो सास्ती दिए । अझ एकपल्ट हिटलरले फ्रान्सै कब्जा गर्‍यो । ती दिनमा नाजीहरूले पेरिस शहरमा लुकिरहेका यहूदीहरूलाई कति कष्ट दिए त्यसको बयान गर्नु असम्भव छ ।

अर्काे उनको आख्यान ‘अन्धकारबाट’ (आउट अफ डार्क) मा उनको आफ्नै गुप्त प्रकृतिको प्रेम–क्रिडाको चित्र छ । १९६० तिर वास्तवमा लेखक–पात्रको एक रहस्यमयी युवतीसित प्रेम चलेको थियो । पन्ध्र वर्षपश्चात् उनीहरूको सम्बन्ध टुट्छ । फेरि निकै पछि ती भेट हुन्छन् तर युवतीले आफ्नो नाम बदलेकी छ र अतीतमा उनीहरूको कहिल्यै भेट नभएको दाबी गर्छे । यो सपनाजस्तो उपन्यासमा के सत्य हो र के सत्य होइन भन्ने कुरा छुट्याउनै गाह्रो पर्दछ । यो मोदियानोको विशेष शैली हो । यसले उनको कारुणिकताले भिजेको गद्यको विशेषता प्रस्तुत गर्दछ ।

विश्वभरि यहूदीको कष्ट देखेर द सर्च वारेन्ट शीर्षक आख्यान लेखी त्यसमा पनि एक यहूदी कन्याको सङ्कटको चित्रण गरेका छन् । वास्तवमा सम्पूर्ण युरोप नै हिटलरको नाजी आतङ्क–भूमि थियो । जर्मनीमा मात्र मारेनन्, अन्यत्रका पनि यहूदी जातिलाई ठूलो सास्ती दिए । अझ एकपल्ट हिटलरले फ्रान्सै कब्जा गर्‍यो । ती दिनमा नाजीहरूले पेरिस शहरमा लुकिरहेका यहूदीहरूलाई कति कष्ट दिए त्यसको बयान गर्नु असम्भव छ । प्रस्तुत उपन्यास त्यही दुर्दान्त कथाको प्रतीकात्मक प्रस्तुति हो, त्यसको वृत्तान्त हो ।

प्याट्रिक मोदियानोले त्यही अतीतस्मृतिलाई मूल शक्तिका रूपमा स्थापित गरी यो आख्यान पनि लेखेका छन् । उनले प्रयोग गरेको टेक्निक हेर्दा आख्यान लेखकलाई ठूलो प्रेरणा मिल्दछ । उनी टेक्निकका एक मास्टर हुन् । नोबेल कमिटीले यस विशेषताको उल्लेख गरेको छ । बाल साहित्यका समेत स्रष्टा मोदियानोका केही उपन्यास (मिला त्रिस्ति, रिङ रोड्स : अ नोभेल; हनिमुन, अ ट्रेस अव् सालिस आदि) अंग्रेजीमा पनि अनूदित छन् ।

उनको कुनै निश्चित कृतिलाई भन्दा पनि (नोबेलको नियम अनुसार) उनको योगदानको समग्रतालाई पुरस्कृत गरिएको हो । उनले पुरस्कार पाउनुअघि विशेष प्रसिद्ध मिसिङ पर्सनका जम्मा २४०० प्रति मात्र बिकेका थिए । पुरस्कार पाउनासाथ द सर्च वारेन्ट, साथै अन्य उपन्यास ह्वात्तै लाखौँ–करोडौँ पुगे होलान् । कारण मोदियानोका धेरै कृति अंग्रेजीमा गएका थिएनन् । अनि उनी विश्वले नचिनेका आफ्नै भाषामा मात्र सीमित स्रष्टा थिए । यसपालि जापानी स्रष्टा हारुकी मुराकामी, केन्याली स्रष्टा नुगिवा थिङ अथवा अमेरिकी सङ्गीतकार बब डाइलन, अमेरिकी उपन्यासकार फिलिप रोथ आदिको पालो आउला भन्ने अनुमान थियो । तर मोदियानोलाई स्वेडिस एकेडेमीले स्मृति–कलाको विचित्र प्रयोगका निमित यो पुरस्कार प्रदान गर्‍यो जुन कलाले र साहसले उनले मानव नियतिको सूक्ष्म र अगम्य लेखान्त पत्ता लगाए भनिएको छ । उनले एक शताब्दीपश्चात् पेरिस शहरको स्मृति लेखे, जसरी एक शताब्दीअघि प्राउस्टले लेखेका थिए । त्यसै कारणले गर्दा मोदियानोलाई ‘मार्सल प्राउस्ट अव् आवर टाइम’ (हाम्रो समयका मार्सल प्राउस्ट) भनिन्छ ।

यस्ता मोदियानोलाई किन हाम्रा युगका ‘मार्सल प्राउस्ट’ भनियो त्यसको अलिकति चर्चा गरौँ । प्राउस्टको (१३ भोलुममा प्रकाशित) ‘अतीतको सम्झना’ रिमेम्बरिङ थिङ्ज् अफ दि पास्ट शीर्षक ३०,००० पृष्ठको उपन्यास (१९१३) एक विश्वप्रसिद्ध कृति हो । चेतनप्रवाह शैलीमा लिखित यो कृति आंशिक रूपले लेखककै अनि आफ्नो शहरकै आत्मजीवनीको छाया हो । पेरिस शहरको भव्यतामै उनी थिए; परिवार खानदानी थियो । परन्तु आफू यहूदी हुनाका साथै समलिङ्गीसमेत भएकाले उनी एक आउटसाइडर थिए । एक परित्यक्त । त्यसैले उनको जातीय अतीत भत्केजस्तो हुन पुग्यो । त्यही अतृप्ति र असन्तुष्टिमा उनले लेखे ।

प्राउस्ट र मोदियानो दुवै यहूदी स्रष्टा, दुवैले बाल्यकालको स्मृति अवशेषलाई जोड्दै एक विशेष शैलीमा त्यसको पुनर्निर्माण गरेका छन् । मूलतः यो प्राउस्टको शैली हो । त्यो जगतका त्यसरी खेल्न अभ्यस्त सिद्धहस्त स्रष्टाहरू भएकैले मोदियानोको प्राउस्टसित तुलना गरिएको हो । यतिखेर म मोदियानोलाई समस्त नेपाली स्रष्टा पाठकका तर्फबाट बधार्ई अर्पण गर्दछु ।

त्यसप्रकार लुनाका निमित्त रचना तयार गरिन्जेल पनि मेरो मनमा मोदियानोको आकृति अधूरो थियो । अहिले हेरे–देखेका अनुभूति जोडेर त्यति लेखेको मात्र थिएँ । परन्तु यता आसाम यात्रा आरम्भ हुने अघिल्लो दिन म ठूलो तृष्णा लिएर जमलस्थित मण्डला बुक्ससम्म पुगेँ । त्यहाँ माधवजीलाई भेटिनँ तथापि उनकी पुत्री मार्फत् प्याट्रिक मोदियानोकृत द सर्च वारेन्ट फेला पारेर अति आनन्दले एकपल्ट नाचेँ । कृतिको कलेबर देख्ता दि आउटसाइडरको सम्झना भयो— त्यत्रै, त्यस्तै साधारण लाग्ने पत्याइनसक्नु । यस्तोले पनि नोबेल पुरस्कार ल्याउने रहेछ नि ! तर मानिसको मूल्याङ्कन शरीरले हुने भए संसारमा कति फरक पर्थ्यो होला । धन्य, यहाँ कला, चेतना र आविष्कारको शक्तिले स्थान पाएकै छ ।

उनको परिवार हिटलरको पालादेखि खेदिँदै, पोल्यान्ड, अल्जिेरिया हुँदै फ्रान्स आएर अर्धभूमिगत बाँचेको थियो । यस कृतिले हिटलरले ६० लाख यहूदीको नृशंस हत्या गरेपछि पनि अरू कति पुस्ता भयमा बाँचे या कत्रो कष्टले को मरे त्यो देखाउँछ ।

तर पुस्तकलाई आकृतिले होइन हृदयको गहिराइले नापिँदो रहेछ । फेरि सिर्जनाको तपस्या पूरा भएपछि र स्रष्टाले त्यसको अतल गहिराइ छुन थालेपछि मात्र यस्तो विश्वसम्मान प्राप्त हुँदो रहेछ । अघिदेखिको सिर्जनायात्रा कति गहिरो छ, कहाँ पुगेको छ, त्यसले कलाजगत्लाई के नौलो दिन्छ— सारा मूल्याङ्कन गरेर मात्रै उनलाई यस्तो यशकीर्तिको रत्नमाला पहिराइन्छ । धन्य छ, मोदियानो तिमी अचानक विश्ववन्द्य पात्र बनेका होइनौ ।

अनि मैले बिस्तारै प्रवेश गरेँ । मोदियानोबारेका सूचनालाई छेउकुनाबाट उघार्दै द सर्च वारेन्ट भित्रै प्रवेश गरेँ । आसाम यात्राको क्रममा दमक बसाइका दुई दिन त्यसैमा समर्पित गरेको थिएँ । अनेक प्रकारका कृति फ्रान्सेली सन्दर्भ— परोक्ष सङ्केतले गर्दा वृम्तिका सबै पाटा उघ्रेनन् होला तर यसको सारतत्व खिच्न कठिनाइ परेन र त्यसैले म यस्तो निर्णयमा पुगेँ— कृति पढिसकेपछि यसका ब्लर्बको अर्काे प्रसङ्गको अर्थ लाग्ने भयो, ‘एकदिन लेखकका आँखा तलको सूचनामा परे : उचाइ १५५ मि, गोलो मुहारकी खैरा–फुस्रा आँखा गरेकी, फुस्रो स्पोस्र्ट्स ज्याकेट लगाएकी, कलेजी पुलोभर र नेभी ब्लू स्कर्ट लगाएकी, ह्याट र जिम सुज लगाएकी १५ वर्षे डोरा ब्रुडर नामक युवती हराएकी छन् । फेला परेमा ४१ ब्युलभार्ड रोड ओरानो, प्यारिसमा खबर गरिदिनुहोला ।

यो सूचना प्यारिस स्क्वायरको डिसेम्बर १९४१ को अङ्कमा प्रकाशित थियो । ती कन्या एउटा कन्भेन्ट विद्यालयबाट हराएकी थिइन् । जर्मनीले प्यारिस आक्रमणका समयमा ती कन्यालाई कब्जामा लिएको (राखेको) थियो । पक्कै पनि उनी कुनै चिसो रातमा त्यहाँबाट भागिहोलिन्, त्यसबेला जर्मनी आक्रमणले उग्र रूप लिएको थियो । आफ्नै भाग्यले ठेल्दै लाँदा लेखकलाई लाग्छ— ती कन्याका बारेमा पत्ता लगाउनुपर्‍यो । खोज्दाखोज्दा अन्वेषण गर्दागर्दा अन्त्यमा उनले ती कन्याको नाम देश निकाला गरिएका यहूदीहरूका सूचीमा देखे । सन् १९४२ मा त्यो सूचीमा ती कन्याको नाम देखेपछि अलिअलि अंशमा टुक्राटुक्रा सूचना खोज्दै, थुनामा, ठानामा, निकालामा, अस्पतालमा, भगुवा यहूदीको समूहमा खोज्दैखोज्दै गए । मान्छे हराएका छन्, मारिएका छन्, बेपत्ता छन्, मानव इतिहास मेटिएको अभित्रासक घटना छ ।

मोदियानोले एक दशक लामो अन्वेषण खोजी गर्छन् जसमा दृश्य, श्रव्य, ध्वन्यात्मक प्रमाण खोज्दै जर्मनीले कब्जा गरेर यहूदीलाई सताएको पेरिसको सन्त्रास फेला पार्छन् । त्यसरी डोरा ब्रुडरको भाग्य, दुर्भाग्य र अन्त्य पत्ता लगाउँदा कथा टुङ्गिन्छ । यो भयङ्कर अत्याचारको कथा उद्घाटित हुन्छ । वास्तवमा यो मोदियानोकै परिवारको कथा थियो कारण उनको परिवार हिटलरको पालादेखि खेदिँदै, पोल्यान्ड, अल्जिेरिया हुँदै फ्रान्स आएर अर्धभूमिगत बाँचेको थियो । यस कृतिले हिटलरले ६० लाख यहूदीको नृशंस हत्या गरेपछि पनि अरू कति पुस्ता भयमा बाँचे या कत्रो कष्टले को मरे त्यो देखाउँछ । यो पढ्दा वी.पी.को हिटलर र यहूदीको सम्झना हुन्छ ।

कला उठ्न दशकौं होइन, शताब्दीऔँ लाग्ने रहेछ । समग्र सभ्यता नै उठेपछि त्यसको एक तत्व ‘साहित्य’ उठ्छ, एक्लै ता के हुन्छ र ?

त्यसपछि म अर्काे ससानो उपन्यास कृतिमा प्रवेश गरेँ । त्यो थियो नयाँदेवीको युगसन्धि । नयाँदेवीसँग भेट भएको सम्झिन्नँ परन्तु उनका पति जयगाउँ आसामका जयनारायण लुइँटेललाई भेटेको हुँ । सन् २००९ को अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रथम अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (वासिङ्टन) मा हामी सँगै थियौँ । उनै जयनारायणमार्फत हो कि मलाई नयाँदेवीको युगसन्धि शीर्षक कृति प्राप्त भएको थियो । त्यसो त मलाई स्वयम् जयनारायणकै अद्र्धविराम पनि प्राप्त भएको थियो । परन्तु मैले सम्झेँ आसामको यात्रामा आउँदा यतैका नारीस्रष्टालाई नै अध्ययन गर्नुपर्‍यो । त्यसैले नयाँदेवीको युगसन्धि रोजेको थिएँ ।

युगसन्धि हेर्दा नवीन प्रयत्नजस्तो छ । अन्धकारबाट भर्खर प्रकाशमा निस्कन खोज्दा आँखा तिर्मिराएका पात्रले लेखेजस्तो देखिन्छ । अन्य विकसित स्थानका नरनारीको स्थिति र सम्बन्ध भिन्न छ भने हाम्रा नरनारी अझ कसरी अन्धविश्वास र अशिक्षाका विविध बन्धनले जेलिएका छन् भन्ने देखाउँछ । यही यात्रामा शान्ति थापाको मोहिनी डटकम पनि पढेर सकेँ । नयाँदेवीको युगसन्धिले नेपाली नारीको अन्धकार युग देखाउँछ । यसले रुद्रराज पाण्डेका पालाका नारी पात्र प्रस्तुत गर्दछ । यहाँ साउँअक्षर सिक्नलाई पनि नेपाली नारीलाई मुस्किल छ । यो आसामको चित्र हो भने अर्काे कृति मोहिनी डटकममा नारी अलिक नयाँ र आधुनिक छन्, विचार अलिक फरक छ र प्रविधिले प्रवेश गरेको छ । यो नेपाली आख्यानलेखनका सोच र शैलीको नजिक छ तर स्थानीय रंगले गर्दा भिन्न छ । अझै भनेजति नजिक छैन ।

यसप्रकारले गुवाहाटी पुग्नुअघिका चारदिनमा मैले तीन कृति सकेँ । एउटा फ्रान्सेली पुरुषको, दुईवटा असमेली (नेपाली) नारीका, तीनैवटा समकालीन आख्यान । यी तीनमा ठूलो पार्थक्य छ । उता विश्वसाहित्यका उपन्यासको रचना हुन थालेको मुलुकको एक नमूना, यता नेपाली साहित्यको उपन्यास रचना गर्न थाल्ने पहिलो पुस्ताको प्रयत्न र दोस्रो पुस्ताको उपलब्धि ।

हिँड्ने अघिल्लो दिन दमकको सप्तरंगीमा अन्तर्वार्ता लिँदै भाइ गिरिराजले एउटा प्रश्न पनि थपेका थिए— सर, नेपाली साहित्य र विश्वसाहित्यबीचको दूरी कति होला ?

उत्तरमा म बोलेको थिएँ— नेपाली पाठकहरू अनुमान गर्छन्— यो कुराको अन्तिम निर्णय गोविन्दराज भट्टराईले गरिदेला र सारांशमा अब विश्वसाहित्य एक टाँगाले भेट्ने ठाउँमा छ भनिदेला । यस्तो भ्रान्तिले हामीलाई उठेर उता दृष्टि लगाउँदै एक दुई पाइला सार्ने शक्ति दिँदै छ । बस त्यत्ति मात्र । हामी धेरै टाढा छौँ । उनीहरू पर्वतको शिखरमा देखिन्छन्, त्यहाँबाट हेर्दा हामी धेरै तल फेदीको खोँचमा छौँ । कला उठ्न दशकौं होइन, शताब्दीऔँ लाग्ने रहेछ । समग्र सभ्यता नै उठेपछि त्यसको एक तत्व ‘साहित्य’ उठ्छ, एक्लै ता के हुन्छ र ?

सिर्जना भनेको आफ्नो मनले ठानेको ज्ञान र अज्ञान भावले छहारीमुनि बसेर यसैको शीतलतामा रमाउनु मात्र रहेछ । यसैको त्रासमा खुम्चिनु रहेछ ।

भोलिपल्ट हामी बंगालको उत्तर एनजेपीमा रेल चढ्यौँ । बोल्दै, बात गर्दै, खाँदै र रमाउँदै गुवाहाटीतिर लाग्यौँ । त्यसरी आफैँसँग संवाद गर्दै हिँड्दा बेलुका मालीगाउँ पुगियो । यो काठमाडौँको होइन, उता गुवाहाटीको । अब गुवाहाटी स्टेशन आउनै लाग्यो भन्ने भएपछि नरनारी उठ्न थाले, खुम्चेका कपडा मिलाउन थाले । झिटीगुन्टा गन्ती गर्न थाले । आठ घण्टा लामो विश्रामस्थल छोड्ने समय आएको छ । माथि बसेका बंगाली बाबु, तल बसेकी तिनकी धर्मपत्नी र पर्तिर एक पुत्रीसँग कस्तो मीठो सङ्गत थियो । एकछिन भए पनि अझै लामो सङ्गत भइरहोस् भन्ने चाहनाले मन भरिएको थियो ।

यता डोरा बु्रडर हराएर भनौँ आख्यानिक कल्पनाभित्र फ्रान्सको महान् नगरीमा यी यहूदी कन्या अस्पष्ट र अदृश्य भएझैँ यी बंगालीपुत्री पनि हराउँछिन् होला नि । बु्रडरकै उमेरकी यी विद्यालय छात्रा भर्खर कक्षा नौमा पुगेकी छन् तर पाठको चिन्ताले एउटा ठूलो पुस्तक साथ नछोडी बसेकी बंगाली पुत्रीलाई बाबुआमासँग एक्लै रिसिएको र घुक्र्याएको कति सुहाएको थियो । अब ती हामीलाई छोडेर फर्किन्नन् होला, गुवाहाटीको महानगरमा कतै हराउँछिन् होला । संसार यस्तै छ, क्षणिक विलोपहरूको अनुभव गर्दागर्दै लामो विलोप वा वियोग खप्नसक्ने हुनुपर्ने रहेछ । डोरा ब्रुडरप्रतिको माया गहिरो भएर आएको छ ।

हामीले आआफ्ना झोला–ब्याग उतार्‍यौँ, मानिसको अकल्पनीय घुइँचोमा पुगेर मिसियौँ । एउटा अबोध फेरि एक्लिएको सचेतताले आत्तिएको बालकजस्तो बलरामसितको यात्रामा छु । उनको मनमा उत्पन्न आश्चर्य र भयमिश्रित भावमा सर्वत्र कौतूहल छ, जिज्ञासा छ, म कतै हराएँ भने यो संसारमा कहाँ हराउँछु होला भन्ने भयभाव पनि छ । यो उनको प्रथम यात्रा, रेल टेकेदेखि नै; यो अपरिचित संस्कृतिले उनलाई आश्चर्यचकित पारेको छ । यो मानवसागरमा फ्रान्समा हराएकी आज मेरा बलराम नै डोरा बु्रडरजसरी हराउने हुन् कि ! मलाई ठूलो पीर छ ।

प्रत्येक वस्तु, कृत्य वा दृश्य नवीन छन्, अपरिचित छन् । अचानक आएका यी नवीनताहरूलाई व्यवस्थित गर्ने स्थान छैनन् । रेलकै गतिमा हार लागेर उभिएका नवीनताहरूका पङ्क्ति छन् तर बलराम बिस्तारै शब्दहीन हुँदैछन्— बसेर खिच्नु कि, उभिएर खिच्न थाल्नु कि यो मेमोरी कार्ड हठात् भरिन लागेको छ फेरि प्रत्येक पललाई यथावत् सजाएर राखिरहूँ जस्तो पनि भएको छ । अलिक अघि रेलभित्रै ल्याएका खानाका परिकार बिर्सिइने हो कि ? चिया स्न्याक्स बोक्ने ती नौला बर्तन, ससाना प्याकेट आदिका आकार–प्रकार रंग भुलिने हो कि; माथि चढेर सुत्ने, तल ओर्लिने शयनका आंशिक चित्र धूमिल हुने हुन् कि ? घाम अस्ताउने समयमा उनले मलाई भने— सर आज मलाई अचम्म भएको छ । एक नवजात शिशुले पहिलो पल्ट देखेसुनेका कुराहरू यथावत् मनमा राख्तैराख्तै जान्न सक्ने भएपछि ठूलो भएपछि सम्झिने हो भने उसलाई त्यो संसार कस्तो लाग्थ्यो होला । मलाई आज त्यस्तै भएको छ । म नवजात शिशु छु र प्रत्येक पल नवीन छ, यथासम्भव प्रत्येक वस्तुलाई स्मृति आँगनमा मेटिन नदिई समेटी राखाँै जस्तो भएको छ मलाई ।

चार दशक अघि पहिलोपल्ट रेल देख्ता मुगलानका ठूले र सुतारलाई त्यस्तै भएको थियो । बलराम पनि त्यस्तै हुने हुन् कि ! यो मेरो मनको भय मिश्रित आश्चर्य थियो परन्तु मैले आफ्ना पात्र (सुतार र ठूले) लाई अबोध बनाई आफ्नो अबोधता उताबाट प्रस्तुत गराएको थिएँ । यसरी सिर्जना भनेको आफ्नो मनले ठानेको ज्ञान र अज्ञान भावले छहारीमुनि बसेर यसैको शीतलतामा रमाउनु मात्र रहेछ । यसैको त्रासमा खुम्चिनु रहेछ । स्रष्टाले चाहिँ ती कुरा अर्कै प्रतिपात्रहरू सिर्जना गरी उसैलाई भारी बोकाउँदा रहेछौँ । बलराम आज अर्काे पात्र नजन्माई आफैँ त्यो भारी बोक्तैछन्, त्यो प्रकट गर्दैछन् । बयालीस वर्षपछि म आफ्नै पासमा अर्काे सुतार हर्ष र आश्चर्यले अवाक भएको क्षण देख्तै छु । यस्तो अवोध हृदयमा लाग्ने छाप पहिलोपल्ट मात्र हो । फेरि दोहोरिएपछि त यही कुरा ज्ञानमा परिणत भइसकेको हुनेछ । त्यसले प्रथम आनन्दलाई पनि समाप्त गरिसकेको हुनेछ ।

मालसामान बाहिर निकाल्यौँ । आश्चर्यले भुइँमा बसिरहेका यात्रीका गोलामा, छेउमै पुगेर बिसायौँ अनि फोन लगायौँ । उता छेउमै प्लेटफार्म बाहिर उहाँ प्रतीक्षामा हुनुहुन्थ्यो । उहाँ अर्थात् आदरणीय अग्रज नवसापकोटा । उहाँ नजिक आउनु भयो । उहाँ बाबुराम नामक एक युवाका साथमा हुनुहुन्थ्यो । अब ढुक्क भयौँ । यसपछिका क्षणहरू आतिथ्यले र अभिभावकत्वले भरिएकाजस्ता हुने भए । हस्तगत नहुन्जेल मनभित्रको एक कुनालाई अलिकति भयले पनि छोपिरहेकै थियो ।

यसरी हामी पनि कुनै नोबेल पुरस्कार विजयी (वा अविजयी) कृतिमा उल्लेख भएका कुनै पात्रझैं भएर गुवाहाटी पुग्यौं— बलराम र म । त्यो दिन थियो— २४ पौष, २०७१ ।

तपाइँको प्रतिक्रिया