मंगलबार, मंसिर २१, २०७८

राजनितिक पार्टी टुक्रिए भनेर किन बेक्कारको रुवाबासी ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ भदौ ५ गते १७:००

ओली सरकार हुँदै शेरबहादुर देउवाको सरकारसम्म आइपुग्दा ४० बाट २० प्रतिशतमा झरेको अध्यादेशको सर्वत्र चर्चा छ । अध्यादेशले दिर्घकालिन रुपमा कस्तो असर पार्छ भन्ने कुरा बिस्तारै सतहमा आउँदै जाला । अहिलेलाई भने माधव नेपालको अध्यक्ष हुने इच्छा पुरा भएको छ । तर माधव नेपालको अध्यक्ष हुने तुष्टी, पुष्पकमल दाहालको केपी ओलीसँग बदला लिने आकंक्षा र शेरबहादुर देउवाको राज गर्ने लालच अध्यादेश मार्फत पटाक्षेप भएको छ ।

सारमा भन्ने हो भने यो अध्यादेशले दिर्घकालिन रुपमा देशलाई केही असर पार्ने छैन । जस्तो कि एमाले भन्ने पार्टी विभाजन भएर देशको प्रगतिमा कस्तो बिघ्न बाधा आउला ? अथवा एमाले भन्ने पार्टी जुटीरहँदा देशले उन्नतिको फड्को कहाँँसम्म मारेको थियो ? यि दुई प्रश्नले ३२ वर्ष यतादेखीको नेपाली राजनीतिको सम्पूर्ण उत्तर भन्छन ।

कुनै बेला गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवाको चरम इगोले ईतिहास बोकेको भनिएको नेपाली कांग्रेस पार्टी फुट्यो । धेरै कांग्रेसीजनलाई लाग्यो, अब सबै सकियो । तर त्यस्तो थिएन । देशमा के नै थियो र सकिनका लागि । नेपाली कांग्रेस सत्तामा रहुन्जेल देश र जनताका लागि के गरेको थियो र के सकियो । गिरिजा प्रसाद कोइराला देखी शेरबहादुर देउवा र ढुण्डीराज शास्त्री अनी चिरन्जिवी वाग्लेसम्म आइपुग्दा पारिवारिक र ब्यक्तिगत स्वार्थ बाहेक अरु क्यै भएको थियो भने कसैले फेहरिस्त राख्दा हुन्छ । त्यसकारण नेपाली कांग्रेस विभाजन भएर देशले न केही पायो न केही गुमायो । फाईदा र नोक्सानका हिसाबकिताव गिरिजा प्रसाद र शेरबहादुरले बाँडफाँड गरे । फेरी कुनै विशेष कुरामा स्वार्थ मिल्यो उनिहरु पुन: जोडिए ।

नेपाली कांग्रेस जोडिंदा देशले एशियाली मापदण्ड पार गर्‍यो भनेर छलफल गर्न पाइएन । के भयो त ? फेरी उनिहरुकै परिवार, आफन्त, नातागोताकाबिचमा सुविधा साझेदारी भयो । जनताले केही पाएनन् । राष्ट्रियता, समाजबाद र प्रजातन्त्रको अलाप बोकेर हिंडेको यो पार्टीले आफ्ना कुनैपनि नारामा सिन्कोसम्म हल्लाएन । गिरिजा प्रसाद र शेरबहादुरको द्वन्द मरणोपरान्त चलिरह्यो ।

शेरबहादुर नभए ओली हुन्छन । ओली नभए माधव नेपाल हुन्छन् । यिनी पनि नभए प्रचन्ड हुन्छन् । यो चक्र घुम्दै फिर्दै त्यहिं पुगेर रोकिन्छ । तर यिनका समाजवादका परिभाषा परिवार अथवा एउटा सानो झुण्डमा केन्द्रित छ ।

एमाले पार्टी फुट्यो । कार्यकर्ता चरम ध्रुविकरण भए । पार्टी फुट्यो भनेर कोकोहोलो हाल्नेहरु पनि हजारौं थिए । चौराहामा बसेर देश सकियो, कम्युनिष्ट आन्दोलनको अन्त्य भयो भन्नेहरु पनि थिए । तर एमाले फुटेर देशलाई कतै केही फरक परेन । देशमा कम्युनिष्ट आन्दोलन सकियो भनेर भन्नेहरुले एउटा कुरा कहिल्यै बुझेनन । देशमा कम्युनिष्ट आन्दोलन कहाँँ थियो ? कहिले थियो र यो अन्त्य हुने ! नेपालमा न त कुनै कम्युनिष्ट आन्दोलनलाई कसैले लिएर हिडिको थियो कुनै नेताले यसको दर्शनलाई बोकेको छ । समाजबाद र कम्युनिष्ट आन्दोलनका नाममा जती पनि प्रचार र दलिलहरु छन ति फगत सत्ता स्वार्थमा केन्द्रित छन, ब्यक्तिगत सोचले अभिप्रेरित छन । तीनले देश र जनताका लागि केही गर्छन् भन्नु काल्पनिक ईन्द्र राज्यको कथा सुन्नु जस्तै हो ।

अहिले पनि उस्तै छ- एउटा पक्ष माधव नेपालले पार्टी विभाजन गरेकोमा शोक मनाइरहेको छ । शोकको कुनै सिमाना हुँदैन, कुनै उचाइ हुँदैन । माधव कुमार नेपाल चाहन्छन यो शोक ब्यापक फैलियोस, अनन्त उँचाइसम्म पुगोस । शोक जती फैलियो त्यती माधव नेपाललाई फाईदा छ । तर देश र जनता निरपेक्ष छन । न एमाले नफुड्दा कुनै फाईदा भएको थियो न यो पार्टी फुटेर कुनै फाईदा हुन्छ ।

माधव नेपालले चाहेको भए देश र जनताका पक्षमा काम गर्न एमाले पार्टी भित्र कसैले रोकेको थिएन । उनी पार्टीको सर्वोच्च पदमा पुगेकै हुन । देशको प्रधानमन्त्री भएकै हुन । फेरि देशलाई उन्नतिको बाटोमा लैजान कसले रोकेको थियो र नयाँँ पार्टी चाहियो ! नेपालले नयाँ पार्टीका सन्दर्भमा भनेका छन- एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।

आफ्नो देशमा जिन्दगी जिउने सबै बाटाहरु बन्द भएपछी बडेमानको एउटा वर्ग आफ्ना लत्ता कपडा बाँधेर दुई छाकको जोहो गर्न मुग्लान पस्छ । विगत ३२ वर्ष देखि शेरबहादुर देउवा, माधव नेपाल र केपी ओलीको समाजवादले उत्पादन गरेको तस्वीर यहि हो ।

नेपाली राजनीतिमा उदेक लाग्दो पक्ष भनेको के हो भने हरेक पटक नेताहरुले जनता सँगबाट अपेक्षा गर्ने, हरेक कुरा जनताबाटै खोज्ने । जनताले उनिहरुलाई सिंहाशनमा पुर्‍याउनुपर्ने ! अनी जनताका अपेक्षाका कुरा खोइ त कमरेड ! विगत दुई वर्ष देखी देश कुनै न कुनै झमेलामा छ । कहिले अध्यादेशको चक्करमा परेको छ, कहिले मध्यावदिको झमेलामा छ । देउवाहरु ओछ्यानमा पल्टिएर मसिना दुला खोजिरहेका हुन्छन् जहाँँबाट टाउको निकालेर फेरी तिनै जनतालाई भ्रम बाँड्न सकियोस । यो यिनिहरु मिलेर बनाएको चक्र हो । शेरबहादुर नभए ओली हुन्छन । ओली नभए माधव नेपाल हुन्छन् । यिनी पनि नभए प्रचन्ड हुन्छन् । यो चक्र घुम्दै फिर्दै त्यहिं पुगेर रोकिन्छ । तर यिनका समाजवादका परिभाषा परिवार अथवा एउटा सानो झुण्डमा केन्द्रित छ । सबैसँग समाजबादका देश बदल्ने नारा छन पहिल्यै देखि ।

अहिले माधव नेपाल थपिएका छन् नयाँँ समाजवादिका रुपमा । तर तपाईंहरुलाई थाह छ समाजबादी नाराहरुको जगमा उभिएका पार्टीहरुले ‘रुल’ गरेको यो देशमा एक लिटर खाने तेलको मुल्य ३ सय ५० रुपैयाँ पर्छ । मट्टितेलको मुल्यको कुरै नगरौं ।

आफ्नो देशमा जिन्दगी जिउने सबै बाटाहरु बन्द भएपछी बडेमानको एउटा वर्ग आफ्ना लत्ता कपडा बाँधेर दुई छाकको जोहो गर्न मुग्लान पस्छ । विगत ३२ वर्ष देखि शेरबहादुर देउवा, माधव नेपाल र केपी ओलीको समाजवादले उत्पादन गरेको तस्वीर यहि हो । तथापी कुनै पार्टी टुक्रियो भनेर रुवाबासी गर्न कत्ती पनि जरुरी किन छैन भने यिनिहरु नटुक्रिंदा, एक भएर बसिरहँदा देश र जनताका लागि के गरेका थिए । त्यसैले यिनिहरुका फुट र जुटले देशमा कुनै तात्विक असर पार्ने छैन । स्वार्थ र भागबन्डा मिल्यो भने फेरी एक हुन्छन् । लेनदेन पद र पैसाको मात्र हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक