मंगलबार, वैशाख ११, २०८१

मन्तरेको पानीले कोरोना चट !

ददि सापकोटा२०७८ भदौ ६ गते ६:५२

कुर्सीमा टुसुक्क बस्नासाथ एक्याथ्रिनले सोधीन ‘ए अँ खोप लगायौ ?’

‘लगायौं ।’

ल बर्बाद बर्बादै भयो ।

‘किन ? ‘
खोपले बर्बादै पार्छ ।

‘कसरि बर्बाद पार्छ ?’

कस्तो कस्तो रोग निकाल्दो रैछ । कति मान्छेलाई समस्या परेको छ ।

‘हो र ? कस्तो समस्या ?’

रोग लागेकालाई पुरै गाँज्दै जाने रैछ । अनेक अनेक खाले रोग निकाल्ने रैछ । गम्भिर रोगका बिरामीलाई झन असर पार्ने रैछ । ओहो सुई लगाउनुहुन्थेन ।

‘ओहो त्यस्तो पो ? थाह थिएन हामीलाई त’ मैले झनै उत्सुक भएर सोधें ।

‘यो सारा ब्यापार हो । कोरोना कोरोना भन्दै औषधी बेच्ने । सेनिटाईजर बेच्ने । खोप बेच्ने । उपचारका नाममा अनेक बेच्ने । सबै राजनितिज्ञहरुले, प्रयोगशालाहरुले पैसा कमाउने । कोरोना भनेर हुँदै नभएको, नचाहिने अनेक रसायनिक चिज घोलेर हान्दिने र मान्छेलाई नपुंशक बनाउने । रोगी बनाएर औषधी बेचेर, कमिशन लिएर खाने ।’

‘ओहो त्यस्तो हो र ? त्यसो भए त डाक्टरहरुले पनि खोप लगाएका छन् । तिनले जानि जानि लगाएका ?’

तिनीहरु अनुसन्धानकर्मी होइनन् । थाह नभएर लगाएका । हल्लाका पछि लागेका ।

क्राथ्रिन र मेरो छलफलमा लुईस र जेनीपनि मिसिए । उनीहरुपनि जिल परेर क्राथ्रिनका कुरा सुने । तर एक्कैछिनमा लुईलाई उकुसमुकुस भएजस्तो देखियो । उनले मुख खोल्न थाले –

‘यो प्रविधी, विकास, उपचार सबै बिज्ञानसित संवन्धित कुरा हो । बिज्ञानको विकासमा विश्वाश नगर्ने हो भने त हामी ढुंगेयुगमा फर्किनुपर्छ । यो सारा हामीले उपभोग गरेका सेवा, सुविधा, प्रविधीनै बिज्ञानका देन हुन् । यो खोपपनि बैज्ञानिक आविष्कार हो । यसलाई बिश्वास नगरेर कहाँ हुन्छ ? हाम्रो त सबै परिवारले लगायौं । ‘

क्राथ्रिन सहमत भईनन् लुइसित । सबै कुरा बिज्ञानसम्मत हुँदैनन् । अहिलेका शासक, नेता, ब्यापारीहरु जसरिपनि पैसा कमाउन तल्लिन छन् । यो तिनैले विकास गरेका हुन् पैसा कमाउन । खोप ल्याएर फेरि झन धेरै कमाउन खोजेका हुन् । मैले लगाएकि छैन । मेरी आमा, सानीमा, भतिजी, मेरा थुप्रै साथीले लगाएका छैनन् ।

उनको कुरा सुनेर लुई र जेनी हाँसे । म हाँसिन । किनकि मलाई क्याथ्रिनका कुरा अझै सुन्न मन थियो चाख दिएर ।

जेनीको पालो शुरु भयो । उनले खोपका पक्षमा आफ्ना तर्क पेश गर्न थालिन्- खोप लगाएपछि बिरामी, कोरोनाको संक्रमण घटेको देखिएको छ । खोप लगाएकाहरु कम बिरामी भएका छन् । संसारले खोप लगाउन खोजिरहेको छ । राष्ट्रपती, प्रधानमन्त्री, डाक्टरहरुले धमाधम खोप लगाइरहेका छन् । आफैं मर्ने, आफैंलाई असर गर्ने भए कहाँ डाक्टरहरुले कोरोना खोप लगाउने थिए ! उनीहरुलाई आफ्नो जिन्दगीको माया हुन्न र ?

हामीले जतिसुकै बिज्ञान र प्रविधी, खोपका पक्षमा कुरा गरेपनि क्राथ्रिन त्यसलाई पत्याउने पक्षमा देखिईनन् । हामीले खोपको विषयलाई किनारा लगाउन खोज्यौं ।

तर खोप नलगाएकालाई कफीसप, रेस्टुरेन्ट, विमान, सार्वजनिक अन्य यातायातमा प्रवेश नदिने भएपछि धेरैले बाध्य भएर खोप लगाउन खोजेको कुरा सुनाईन् । र सरकारले बलजफ्ती जनता मार्न खोजेको आरोपपनि लगाइन् ।

उनको आफ्नै गाडी भएकाले बस, रेल नचढ्दापनि चलेकै छ । टाढा अजन नपरेकाले विमान चाहिएन । होटेल, रेस्टुरेन्ट जान परे एन्तिजेन टेस्ट गर्‍यो । सित्तैमा गरिदिन्छ फार्मेसीहरुमा । त्यो देखाएपछि होटेल, कफीसपमा जान पाइन्छ । यसरिनै चलिरहेको छ ।

००००००००

करिब एक घण्टा पर लियों शहरको काँठमा रहेको लुई र जेनीको घरबाट हामी फर्कियौं साँझ ।

‘सुत्नु अघि चिया खाने की ?’ क्याथ्रिनले निन्द्रा छिटो जगाउने चिया बनाईन् । चियासँगै फेरि त्यहि खोपको प्रसंग झिकिन् उनले ।

‘खोप नलगाएको भए हुने । मसित विशेष औषधी थियो ।’

‘हो र के थियो त्यस्तो ?’

‘ठूलो, प्रसिद्द तिब्बती लामाले मन्तरेको (फूमन्तर) पानी थियो । कर्मापा लामाले मन्तरेको त्यो पानी खायो भने कोरोनासोरोना केहि लाग्दैन । मलाई लामाबाट मन्तरेको एक बोत्तल पानी आएको छ । अब त्यो पानीमा अरु पानी मिसाएर लामाका शिष्य, ध्यान बस्ने, योग गर्ने, कोरोनाको खोप नलगाएकाहरुलाई बाँड्ने हो ।’

कर्मापा लामाले मन्तरेको पानी

‘ए त्यो पानीले ठिक हुन्छ भनेका छन् लामाले ?’

कर्मापाले त्यो मन्तरेकोनै कोरोना नलाग्नकालागि हो । कोरोनाको औषधी हो ।

‘त्यो त गज्जब रैछ । मैलेपनि लान्छु नी त्यो पानी उसो भए ।’

खोप लगाउनेहरुले लामाले मन्तरेको पानीमा बिश्वाश गर्दैनन् ।

‘अरुले नगरेपनि म गर्छु नी’ उनलाई खुशि पार्न मैले फुर्क्याइदिएँ ।

हुन्छ उसो भए, म लामाले पठाएको पानीमा अर्को पानी मिसाएर एक बोत्तल तिम्रोलागि तयार पारिदिउँला ।

मैले भनें ‘यस्तो पानी त ठूला ठूला ड्रममा मिसाएर सबैलाई बाँड्नुपर्ने । लामाले फुकेकै पानीले कोरोना नलाग्ने भए कोरोनाको असर झेल्नु पर्थेन । खर्चपनि हुन्थेन । त्यसको ‘साईड इफेक्ट’पनि ब्यहोर्नु पर्थेन । किन तिमीले यो पानी हाजारौं लाखौंलाई बाँड्दिनौ ? फ्रान्सभरिका मान्छेजति सबैलाई यहि पानी बाँडे त कोरोनानै लाग्थेन, खोप लगाउनुनै पर्थेन ।’

‘मन्तर, लामाको झारफुकमा जसले बिश्वाश गर्छन् उसलाई यो पानीले काम गर्छ । जसले विश्वास गर्दैन उसलाई काम गर्दैन । किनकि यो भनेको ईश्वरिय शक्ति, भगवानको बरदान, आशिर्वाद लिएर आएको कुरा हो । अर्को कुरा यो फुकेको पानीको डाक्टरी प्रमाण हुन्न । डाक्टरी प्रमाण नभएपछि बाँड्न पाइन्न कोरोना रोक्छ भनेर । त्यो प्रमाण नभएपछि मान्छेले विश्वासपनि गर्दैनन् । किनकि मान्छेहरु कागजी प्रमाणमा धेरै विश्वाश गर्छन् ।’

ए उसो भए म चाहिं लैजान्छु । यो पानी फेरि अर्को पानीमा मिसाएर खान्छु । पत्याउनेलाई मपनि दिन्छु ।

००००००००००००००००
अर्को दिन बिहानै लियों शहरबाट हिँड्नु थियो । झोलासोला कसियो । हिँड्ने बेला पानी झण्डै भुलेको । ‘ए ए साँच्ची, मन्तरेको पानी भुलिएछ ।’

उनले सानो बोत्तल ल्याएर दिईन । बोत्तलमा १७ नंबर छ । अर्थात् म अघि मन्तरेको पानी लैजाने १६ जना रहेछन् क्यारे । बोत्तलमा हस्तलिखित अक्षरले “लो बेनीत (मन्तरेको पानी) लेखिएको छ ।’

००००००००००००००००००००

करिब ६ घण्टाको यात्रापछि घर आइपुगियो । मूल ढोकामै अरबी मूलका दम्पती भेट भए । देख्नासाथ भने ‘हाम्रोमा चिया खान जाम । कत्ति पटक निम्ता गरिसकें कहिल्यै मान्नुहुन्न ।’

‘हस’ भनेर गईयो चिया खान । सोफामा टुसुक्क बस्नासाथ बुढीले सोधिन् ‘खोप त लाउनुभाको छैन नी ?!’

‘यिनीहरु खोपका बिरोगी हुन् । अर्थात् खोपको त्रास छ । अति धार्मिक, अन्धविश्वाशी हुन् भन्ने पहिल्यै थाह थियो । त्यसैले ‘लगाएको छैन’ भनियो ।

‘हे भगवान धन्न लगाउनुभाको रैनछ । हे भगवान बच्नु भो । मेरो ईश्वर जोगाइदिनु भो ! हे ईश्वर तपाई महान हुनुहुन्छ ! खोप लगाएको भए बर्बादै हुने, बर्बादै, खत्तमै हुने, उफ् हे ईश्वर बचायौ !’

‘हो र ? खोप नलगाएर बचियो है ? ओहो !’

हो नी ! खोप लगायो भने त जो बिरामी छ त्यो तिन महिनामै मर्छ । जसलाई रोग छैन उसलाई रोग लाग्छ । पुरुषको शुक्रकिटहरु सबै सुक्छन् । काम गर्दैन । महिलालाई त पुरै बाँझो बनाइदिन्छ ।

‘उनैको अगाडि हाँसोको खित्का छुट्न लाग्या छ । तर त्यस्तो गम्भिर भएर बताइरहेका बेला हाँस्दा पक्कै हेपेको, अविश्वास गरेको थाह हुन्छ । यहि सोचेर हाँसोलाई बडेमानका किला रोपेर दबाईयो ।

उनीहरु खोप नलगाएको भ्रममा खुशि भए । तर आफूलाइ निकै सकस भैरहेको छ । ‘यिनलाई कोरोना रैछ भने सर्ने भो’ भन्ने त्रासले गाँजिराख्यो ।

चिया खाएर कोठामा केहिबेर पल्टिएर सोचें ‘मैले ढाँट्न हुन्थेन ।’
अर्को मनले भन्यो ‘मैले ढाँटेर ठिक गरें । यो ढाँटले कसैलाई बिगारेको छैन । चरचर्ती उफ्रेर ‘तिम्रा कुरा झुटा हुन्’ भनेको भएपनि झनै समस्या हल हुन्थेन बरु तिनको मनमा चोट पुग्थ्यो । अनाहकमा शत्रुता बढ्दो हो । यति धेरै प्रचारप्रसार, चिकित्सकले बुझाउन नसकेको खोपको कुरो मैले बुझाउनपनि सक्थिन । जे गरें सहि गरें ।

अहिलेपनि हेर्छु, टेबलमा कम्प्युटरकै सामुन्ने ‘फुमन्तर पानीको बोत्तल’ ठडिएकै छ । फाल्नपनि मनले मान्दैन । पिउनपनि विश्वास लाग्दैन । तर हरेक पटक यो पानीको बोत्तल देख्दा, छिनछिनमै आँखा पर्दा छुमन्तर पानी र ति अरबी दम्पतीलाई सम्झिन्छु । लामाले के मन्तर हाले होलान् भन्ने जिज्ञासा लाग्छ । जति सम्झियो उति हाँसो लाग्छ । रपनि यो पानीको बोत्तल झन प्रिय लाग्छ । किनकि यसले मलाई घरिघरि मुसुक्क मुसुक्क त बनाउँछ ।

[email protected]

तपाइँको प्रतिक्रिया