शनिबार, वैशाख १५, २०८१

हामी : निगुरोको खरानी चाहनेहरु

पदम गौतम२०७८ भदौ ८ गते १२:०५

मेरा साथी डा. टङ्क उप्रेतीको एउटा कवितामा अत्यन्तै सशक्त बिम्ब छ–निगुरोको खरानी । निगुरो अर्थात् पहिला सिधै जाने र पछि निगुरमुन्टी भएर टेढिने एउटा वनस्पती । उसको स्वभाव अन्तिम ठाउँमा पुगेर झुक्ने । प्रिय कविले त्यही निगुरोको सर्वनास चाहेका छन्, त्यो डढेर खरानी भएको हेर्ने उनको इच्छा छ ।

उप्रेतीको यो कविताको किताब आरोहण, गुरुकुलमा विमोचन गरिएपछि हामी केही लेखकहरुले यो सशक्त बिम्बका विषयमा बहश गरेका थियौं । हाम्रो सार थियो–हो, वास्तवमा हाम्रो नेतृत्व निगुरो नै हो र त्यसको खरानी नभइकन हामीले आफ्नै सपनाको ऐँठनबाट मुक्ति पाउँदैनौं । देशले नयाँ कुरा पाउनका लागि निगुरोलाई खरानीमा परिणत गर्नै पर्छ भन्नेमा हामीमा दुबिधा थिएन ।

त्यो समयमा भर्खरै लोकतन्त्र भनिने व्यवस्थाको नयाँ स्वरुपका विषयमा बहश भइरहेको थियो । हामी देशको सर्वोच्च आसन राजाको ठाउँमा जनताका छोराछोरी, सुध्रिएका संसदवादी दल अनि हतियारबिहीन माओवादी देख्न चाहन्थ्यौं । राजनीति त्यही दिशामा हिँड्ला कि भन्ने हाम्रो आशा र अपेक्षा थियो । हामीले सोच्यौं–अब निगुरोको खरानी बन्ने दिन आए । तर, हाम्रो व्यवस्थाको बाटो बर्खायाममा जनता चिप्लिएर लडी मर्ने खालको मात्र भयो ।

नयाँ व्यवस्थाको बाटो बनाइँदै गर्दा नागरिकको नाम लिइए पनि शासनसत्तामा पुगेका, मत पाएका दलहरु तानाशाह बन्दै गए । राज्यदोहन यतिसम्म बढ्यो कि नयाँ पुस्तालाई पनि राजनीति भनेको समाज परिवर्तनका लागि नभएर सत्ताकब्जा र मोजमस्तीका लागि मात्र भएको सन्देश संस्थागत गरियो । फलतः विचारको राजनीति मात्र गर्न खोज्नेहरु नयाँ पुराना सबै पार्टीबाट पाखा लाग्दै गए । राजनीतिको केन्द्रबिन्दुमा सत्ता र राज्यस्रोतको दोहनलाई राखियो । दलहरु जनतासम्म पुग्ने समय चुनावदेखि चुनावसम्म मात्र भयो । दलहरुको बार्गेनिङ् देश र जनताका विषयका मुद्दामा नभएर सोझै लेनदेनमा केन्द्रित भयो । मुलुकका लागि पुरानो व्यवस्थाबाट नयाँ व्यवस्थासम्म आइपुग्दाको संक्रमणकाल द्वन्द्वको समयभन्दा कम पीडादायी रहेन । त्यही संक्रमणकालमा एक प्रभावशाली नेताले त यतिसम्म भने, ‘त्यो फलाना पार्टीले आन्दोलनका नाममा बितण्डा मच्चाइरहेको छ । एक अरब जति कुनै कोषबाट मिलाएर दिएमा ऊ चुप लाग्छ ।’

शान्तिप्रक्रिया र नयाँ संविधान बनेपछि धेरैजसो विकृति पाखा लाग्ने ठूलै अपेक्षा थियो । तर, त्यो समयदेखि लगातार उनै पार्टीका उनै नेता उस्तै निर्धक्कताका साथ सत्तासीन छन् । राज्यस्रोतको जथाभावी दोहन गर्ने अर्थात् जनताका भाषामा भन्नुपर्दा देश लुट्ने काम सामान्य थियो, छ र रहिरहने देखिन्छ ।

सामान्य घटनाका रुपमा ती नेताले गरेको यो दाबी गलत पनि थियो होला । तर त्यसले हाम्रो राज्यको स्रोतलाई कति सहजै दुरुपयोग गरिन्छ भन्ने कुराको चाहिँ गजब उदाहरण हो । यो भनाइले राज्यस्रोतको गलत प्रयोगको कहालीलाग्दो संकेत गरेको विषयमा त्यो समयमा खासै चर्चा भएन । शान्तिप्रक्रिया र नयाँ संविधान बनेपछि धेरैजसो विकृति पाखा लाग्ने ठूलै अपेक्षा थियो । तर, त्यो समयदेखि लगातार उनै पार्टीका उनै नेता उस्तै निर्धक्कताका साथ सत्तासीन छन् । राज्यस्रोतको जथाभावी दोहन गर्ने अर्थात् जनताका भाषामा भन्नुपर्दा देश लुट्ने काम सामान्य थियो, छ र रहिरहने देखिन्छ ।

जुलियो नामको एउटा क्युबाली साथी थियो । बसाइ र काम गराइका कारण उससँग दुई वर्ष दैनिक जसो भेट भइरह्यो । कम्युनिष्ट शासन मन नपरेर देश छाडी विश्वमानव बन्न हिँडेको बताउने जुलियोको अन्य अमेरिकी भन्दा चिन्तन र व्यवहार फरक थियो । राजनीतिक चेतना भएका विदेशीसँग म अलिक रमाउने, ऊ पनि राजनीतिक गफ गर्न मन पराउने । हामी चाँडै घुलमिल पनि भयौं र नेपाली पाराले अहिले नेपालमा देखिएका केही बुद्धिजीवीजस्तो अमिवादेखि ब्रम्हाण्डको फैलावटसम्म हामी गफ गर्न थाल्यौं । उसलाई नेपालका राजनीतिमा राज्य सञ्चालक र जनता बिचको दूरी कहिल्यै नघटेको मैले बताइसकेको थिएँ ।

एक रात काम सकेपछि पार्कमा सुस्ताउँदै हामी गफिइरहेका थियौं । उसले मलाई सोध्यो, ‘तिम्रो देशका निकै युवा यो शहरमा देख्छु । सबैले पुरानाबाट दिक्क भएर नयाँ पार्टी निर्माणमा योगदान गरिरहेका होलान् । कि युवाहरुले पुरानै पार्टीमा हस्तक्षेप गरिरहेका छन् ?’

मेरो जवाफ नसुनी उसले रातभर खुल्ने बारबाट दुईवटा बियर ल्यायो । त्यति नै बेला मलाई देखेर एक नेपाली युवक पार्कतिर छिरे । उनी फारो एयरपोर्टमा पार्टीका बरिष्ठ नेता तथा पूर्वमन्त्रीलाई रिसिभ गरी होटलमा राखिदिएर फर्किँदै रहेछन् । पटक पटक नेताले देश बिगारेको बताउँदै उनी विद्यार्थी संगठनमा चन्दा दिन सक्ने र बालुवा तस्करी गर्न सक्नेलाई पार्टीले बढी माया गरेकोले पढ्दापढ्दै देश छोडेको बताउने गर्थे । उनले डाटा अन गरेर फेसबुकमा नेतालाई खादा ओढाएको तस्वीर पनि हाल्न भ्याइहाले । भाइले जुलियो र मैले गरेको कुराकानीको पृष्ठभूमि नबुझ्नेगरी मैले एक जना पूर्वमन्त्री युरोप भ्रमणमा आएको र उसले स्वागत गरेर होटलमा राखेको बताइदिएँ । जुलियोले मतिर फर्केर हाँस्दै एकपल्ट जिससको नाम लियो, अनौठो मान्दै । मैले जुलियोलाई उसको प्रश्नको जवाफ दिनै परेन । बरु उसले त्यस दिनपछिका भेटमा गरिब अनि पठित जनताको एउटा तप्का नलागेसम्म केही परिवर्तन हुँदैन भन्दै दक्षिण अमेरिकाका बिभिन्न देशको उदाहरण दिन थाल्यो । क्युवाली नागरिक भएर उसले भोगेर व्याख्या गरेको कम्युनिष्ट सरकारको स्वादका विषयमा अर्को सन्दर्भमा कतै लेख्नेछु ।

नियालेर हेर्ने हो भने हाम्रो राजनीति, धर्मशास्त्रका पाना र हिन्दी फिल्महरुले नेपालीको मानसिकतालाई निकै नमज्जासँग अतिवादी बनाइदिएको देखिन्छ । हिन्दी फिल्म (कथित मूलधारका नेपालीसमेत्) ले समाजमा हरेक मान्छेलाई कि त नायक कि त खलनायकको पक्षमा देखाइदिएको हुन्छ । हरेक फिल्ममा उही चरित्र र भाष्यको कथा सुन्दा र पढ्दा दर्शकले लामो समयसम्म समाजमा साँच्चै महान् र अत्यन्तै खराब बाहेक अरु मान्छे नै देख्दैन । धर्मशास्त्रका कथाहरुले कि त राम कि त रावण चरित्र मात्र संसारमा अस्तित्वमा रहेको सिकाउँछ । अझ अघि बढेर निकै गाह्रो समयमा मानव जातिको कल्याणका लागि भगवान प्रकट हुने र भगवानले हेर्ने भ्रम जगाइदिन्छ । यही शैलीको चिन्तन राजनीतिले पनि विकसित गरिरहेको हुन्छ । राजनीतिक क्षेत्रमा संगठित हज्जारौं युवाहरुले आफ्नो चिन्तन र सोच अतिवादी कोणबाट नै निर्माण गरेका हुन्छन् । हरेक पटक पार्टी विभाजन र त्यस समयमा उग्र समर्थन या बिरोधमा उत्रिने झुण्ड हेरे यसको उदाहरण खोज्न अन्यत्र जानु पर्दैन । भनिन्छ, मान्छे निर्दोष रुप लिएर जन्मिन्छ तर उसलाई दिइएको संस्कार र शिक्षाले उसको व्यक्तित्व तयार हुँदै जान्छ । धार्मिक कथा र फिल्मी कथा सुन्दै अलिकति राजनीतिक वातावरण पनि पाएको एउटा युवा कस्तो भएर निस्कन्छ त ? धेरैजसो पठितहरुको व्यवहारले यो विषयमा सोच्न बाध्य गराउँछ ।

वर्तमान अवस्थाका पार्टी र यिनै नेतृत्वले देशमा केही सकारात्मक काम हुँदैन । अझ एकाध युवाहरुको प्रयासलाई छाडेर हेर्ने हो भने असफल भइसकेको पहिलो पुस्ता जत्तिको त्याग गर्नसमेत् यो पुस्ता सक्दैन ।

नेपालमा रहँदा राजनीति नगरे पनि मूलधारको मिडियामा काम गरेका कारण सधैं घटनाक्रमसँग अपडेटेड भइरहनु पर्थ्यो । यसर्थ, चाहेर या नचाहेर पनि राजनीतिक वुषयमा कुराकानी र विश्लेषण भइरहन्थे । विदेश आएपछि परिचयका क्रममा पूर्वपत्रकार भन्ने सुनेपछि यता बस्ने धेरै नेपाली साथीभाइले मसँग ताजा र ससाना राजनीतिक घटना अनि भविष्यका विषयमा प्रश्न गर्छन्, जसमा मलाई वास्तै हुँदैन ।

धेरैजसो नेपालीलाई थाहा छ, वर्तमान अवस्थाका पार्टी र यिनै नेतृत्वले देशमा केही सकारात्मक काम हुँदैन । अझ एकाध युवाहरुको प्रयासलाई छाडेर हेर्ने हो भने असफल भइसकेको पहिलो पुस्ता जत्तिको त्याग गर्नसमेत् यो पुस्ता सक्दैन । केवल पार्टीभित्रको गुट समायोजनमा यो समूहले आफ्नो अस्तित्त्व र भूमिकालाई मात्र केन्द्रबिन्दुमा राखेर निर्णय गर्छ । विदेश बस्ने युवाहरु यो विषयमा पनि प्रष्ट छन् । तर, धेरैजसोले उही भगवान या हिन्दी फिल्मी शैलीमा नेतृत्व परिवर्तनको चाहना राख्छन् ।

यसको एउटा उदाहरण, मसँग भेट भइरहने र दैनिक जसो सम्पर्क भइरहने एक जना भाइ छन् । उनी काठमाडौंमा ‘पार्टटाइम’ कलेज पढाएर निजी स्कुल पनि चलाउँथे । मसँग नेपालमै परिचित यी भाइ अहिले यतै युरोपतिर छन् । पोर्चुगल आएर कार्ड बनाएपछि उनी सेन्जेनअन्तर्गतका बिभिन्न देशमा घुम्दै, काम गर्दै बस्छन् । उनी हरेक पटक अब केही दिनमा राजा फर्किने, रवि लामिछाने प्रधानमन्त्री बन्ने, कुलमान घिसिङ् ऊर्जा मन्त्री बन्ने, अहिलेका सबै नेता चाँडै जेल जानेलगायतका विषयमा लेखिरहन्थे, बोलिरहन्थे । उनको नेपालमा कतै ठूलै सम्पर्क भएर त्यसलाई भजाउँने सोच र क्षमता पनि देखिँदैन । नेपालमै मास्टर्सको पढाइ सकेर आफैं पनि केही गरेको मान्छेलाई चेतनाहीन, अनुभवहीन भन्न पनि मिलेन । मैले धेरै पटक उनलाई फकाउँदै उनका कुरा सुनेँ र अन्तिममा एउटा निश्कर्ष निकालेँ । त्यो के भने नेपाल राज्यको शक्ति, राज्य सञ्चालकहरुका व्यवहारदेखि मूलधारका कुनै वस्तुमा पनि उनको विश्वास रहेनछ ।

देशमा उनले आफन्त र साथीभाइलाई फोन गरेर बुझ्दा हरेकले विश्वास गर्ने युट्युब र फेसबुकका समाचार मात्रै हुन् । उनलाई देशबाट आफ्ना मान्छेले शेयर गरेका र पठाएका सामग्री हेर्दा सबै सत्य लाग्दोरहेछ । उनको हेराइमा युट्युबमा दैनिक अन्तर्वार्ता दिने विद्वानहरु सबैभन्दा बढी बुझेका र आधिकारिक हुन् । मूलधारमा आउने लोकतन्त्रको पद्दति, समस्या र अभ्यासका उतारचढावका कथाले उनलाई नछुँदो रहेछ । र, अझ अर्को कुरा मूलधार नै फेसबुक, युट्युब र बार्दली डट कमलाई मानेपछि उनले हरेक बिषयलाई बुझने दृष्टिकोण पनि त्यही अनुसार हुने नै भयो । राज्यले चिन्ने र गन्ने भनिएका देशका राजनीति, प्रशासन, मिडिया, बुद्धिजीवी र आम जनमानसमा अलिक अगुवा भएकाहरु सबैमाथि उनको अविश्वास रहेछ । यो अवस्थामा उनले आफैंलाई भ्रममा राख्दा आनन्द आउने बाटो रोजेछन् । अर्थात्, जे सुन्दा मजा लाग्थ्यो र मनमा दबेका कुराका नजिकका विषय भेट्थे, त्यसैमा उनले विश्वास गरेका रहेछन् । मैले दर्जनौं पटक कुराकानी गरेर सम्झाएपछि अब भने उनले कुनै घटना बाहेकका विषयमा समाचार हेर्न छाडेका छन् । अचेल फुर्सदमा उनी इतिहास र गीतसंगीतका सामग्रीमा रमाउन थालेका छन् । अस्तिको सप्ताहान्तको छुट्टीमा उनले नेपाली मिडियाकर्मीबाट एउटा गम्भीर र लगभग असम्भव अपेक्षा गरे । भने, ‘अरु कुरा त सुध्रिन सकेन नै, मिडियाकर्मीहरु पार्टीका कोठे बैठक र बदमासीलाई जहिलेसम्म मुख्य समाचार बनाइरहन्छन्, म त्यस दिनसम्म दुर्घटना बाहेकका अन्य समाचार पढ्दिनँ ।’

उनको यो अपेक्षा सानो जस्तो लागे पनि त्यो कुनै समयमा यथार्थमा परिणत भएमा त्यसले निगुरोको खरानी बनाउने सपनालाई पक्कै मद्दत गर्नेछ । किनभने निगुरोको अगाडि आफैं निगुरो बनेर तिनलाई चढाइरहने भनेको आम नागरिक हैनन्, पठित समुदाय नै हुन् । सँगै बिडम्बना ! त्यो शिक्षित समुदायले साथ नदिएसम्म निगुरोको खरानी अवस्था देख्न संभव पनि छैन ।

अन्त्यमा विश्वभर छरिएका शिक्षित भनिएका अनि आफू बाहेक सबैले सादा जीवन र अनुशासन, नियममा बस्नुपर्ने सोचमा रहेकाहरुलाई महान लेखक मनु ब्राजाकीको गजलको यो एक शेर अर्पण गर्न चाहन्छु ।

लुटिँदैछ देश मेरो राष्ट्रगीत गाउनेबाट

दौरा सुरुवाल ढाका टोपी मिलाएर लाउनेबाट ।

तपाइँको प्रतिक्रिया