मंगलबार, वैशाख ११, २०८१

सयौं कार्यकर्ताको स्थिति अझै बिजोग : क्रान्तिकारी अग्नी दाँतको ‘माइनर सर्जरी बिज्ञप्ती’ निकालेर आराम गर्दै

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ भदौ ९ गते ८:१३

नेपालमा भएको १० वर्षे माओवादी सशस्त्र क्रान्ती र अग्रगमनकारी आन्दोलनका प्रमुख नाइकेमध्येका एक अग्रज थिए— अग्नीप्रसाद सापकोटा । कतिसम्म भने द्धन्द्धकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका क्रान्तीकारीका नाममा काभ्रे प्रहरीमा किटानी जाहेरी परेको थियो । यसको अर्थ, अग्नी सापकोटाले नेपालको द्धन्द्धकालमा मान्छे मार्ने–बेपत्ता बनाउनेसम्मको भूमिका राम्रैसँग निभाएका थिए भन्ने हो ।

नेकपा माओवादीका स्थायी समिति सदस्य सापकोटा गत वर्ष जनवरीदेखि अझ चर्चामा छाए, जब उनी तत्कालिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख पदका प्रत्यासी बनेर देखा परे । सभामुख जस्तो संवैधानिक पदको प्रत्यासी बनेपछि लोकतन्त्र, प्रतिष्पर्धा र बदलिंदो सामाजिक–आर्थिक परिस्थितीबारे धारणा राख्नुपर्नेमा सापकोटा भने भगौडा लडाकुझैं प्रतिबादको शैलीमा बोलिरहेका हुन्थे—‘म अर्जुन लामालाई चिन्दिन, मैंले अपहरण गरेको छैन, मैंले हत्या पनि गरेको छैन ।’

तर, यथार्थ यो हो कि हत्या गरिएका अर्जुन लामाकी श्रीमतीले सापकोटासहितका तत्कालिन माओवादी लडाकुबिरुद्ध कर्तव्य ज्यानको मुद्धामा दिएको उजुरी रिट अहिले पनि काभ्रे प्रहरीमा छँदैछ । रिटअनुसार सापकोटालाई तत्काल गिरफ्तार गरेर अनुसन्धान अघि बढाइनुपर्ने हो । तर, यसो भएन । अदालतमा सापकोटाबिरुद्ध रिट हाल्ने अर्का अधिवक्ता दिनेश त्रिपाठीले मिडियासामु उदाहरण दिंदै भनिसकेका छन्— पुर्व सभामुख कृष्णबहादुर महरालाई गिरफ्तार गरेर अनुसन्धान गरी मुद्धा चलाउन मिलेको थियो, अहिले अर्को सभामुख सापकोटालाई नमिल्नाको कारण के हो ?’

यसको कारण स्पष्ट छ— तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सह–अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को आशिर्वाद ।

तर, अहिले नेकपा फुटेर धुजाधुजा भएपछि र मानवअधिकार–न्यायिक शुद्धिकरणको कुरा उठेपछि फेरि पहिलेका लडाकु तथा अहिलेका सभामुख सापकोटाको स्थिती हरिबिजोगको बनेको छ । ‘युद्धकालिन माओवादी कमाण्डरजस्तो’ बनेर कहिले दाँतको त कहिले पेटको उपचारमा सभामुख सापकोटा अस्पताल बहानामा हराउन थालेका छन् । एमालेले पार्टीबाट निष्काशन गरेका पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका १४ सांसदको पदमुक्तिबारेको सूचना टाँस्न नचाहेर अस्पताल र क्लिनिक धाइरहेका सापकोटाले यसअघि यस्तै पदमुक्तिमा अर्को बिरोधाभाषको निर्णय गरिसकेका छन् । जस्तो— तत्कालिन जनता समाजबादी पार्टीकी नेतृ सरिता गिरीलाई पनि पार्टीले गरेको कारवाहीअनुसार तत्काल सांसद पदबाट पदमुक्त गराइदिएका थिए । यस्तै, एमाले प्रवेश गरेको भन्दै माओवादीले गरेका प्रतिनिधिसभाका ४ र राष्ट्रिय सभाका १ सांसदलाई सभामुख सापकोटाले एक मिनेटमैं पदमुक्त गरिदिएका थिए ।

‘सभामुखले अब कि त म माओवादीको युद्धकालिन नेता, कमाण्डर र माओवादी कार्यकर्ता हो, सभामुख होइन भन्नुपर्यो । होइन भने त्यही कानूनअनुसार, माओवादीको कारवाही सदर गर्दा एमालेको किन भएन ? कि त एमालेलाई अलग्गै कानून छ भन्नु पर्यो,’एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले मिडियामाझ भनेका छन् ।

यो राजनीतिक भागदौडका माझ मंगलबार एउटा बिज्ञप्ती आयो— संघीय संसद सचिबालयबाट । बिज्ञप्तीको शीर्षक थियो—सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न शीर्षकमा । ‘आज बिहान ११ ४० बजे बीर अस्पतालको डेन्टल बिभागमा सभामुख अग्नी सापकोटाको माइनर ओरल सर्जरी गरिएको छ । सर्जरी गरेर उहाँको दाँयापट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो । सभामुख सापकोटा चिकित्सकको सुझावअनुसार, निवासमा आराम गरिरहनु भएको छ ।’

आश्चर्य लाग्ने कुरा यो छ कि आज पनि युद्धकालिन द्धन्द्ध समाधान र माओवादी जघन्य अपराधको सूचीले सत्य निरुपणको मौका पाइसकेको छैन । अझैपनि सयौं र हजारौं नेपाली नागरिक आफन्त गुमाएको, बालबच्चा मारिएको र सहज जीवनयापनको स्थिती गुमाएर अनागरिक झैं बनेको स्थिती छ— तर त्यही क्रान्तीबाट उदाएका एकजना लडाकु नेता भने आफ्नो एउटा दाँत फुकालिएको बिज्ञप्ती संसद सचिवालयबाट सार्वजनिक गर्न अह्राखटाइ गरिरहेका छन् । शायद यही होला, एकजना गायकले गाएको गीत झैं लाजमर्दो र लज्जास्पद स्थिती—
‘गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो
आफैँ फेरिएछ‘’

तपाइँको प्रतिक्रिया

फेसबुक