शनिबार, असोज २, २०७८

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

युवराज नयाँघरे२०७८ भदौ १३ गते ०:०३

“चार हजार छन् एकै ठाउँमा !”
“भित्र गएर भेटौँ !”
बिहान झिसमिसेमै हामी उठेर तयार भएका थियौँ । नभन्दै मोती आएर हामीलाई टिपिहाले । याङ्गुन (पहिले रंगुन भनिन्थ्यो) सहरमा उज्यालो निकै ओर्लिसकेको छ ।

गाडीको भीडभाड र हूल बढी हुन्छ भनेर मोतीले हामीलाई बिहानै टिपेका रहेछन् । सात बजेको छ बिहानको । हामी पजुनडौँग टाउनसिपबाट एकोहोरो उत्तर लागेर यो ठाउँमा आइपुगेका छौँ ।

मोतीले हिजै भनेका थिए— “गोरखालीको चिहानमा जानैपर्छ ।”

राती पनि मनमा एउटै प्रश्न उठेको थियो— यति टाढा आएर आफ्नो वीरता देखाउने नेपालीको सम्झना थलोमा पुगेर फर्किंदा आफ्नो हार हुँदैन, बरु जित हुन्छ ।”

नभन्दै मैले सबैलाई हतारो गरेर तयार पारेको थिएँ । त्यसपछि लगातार डेढ घण्टाजस्तो बेगिएर हामी आइपुगेथ्यौँ— अउक्क्यान वार सिमेट्री ।
१९ चैत, याङ्गुन ।

युद्धले मानिस सक्नुभन्दा पनि त्यसले छाडिरहने खिल पीडादायी हुँदो रहेछ । युद्धसँग सम्झनाको खात हुँदो रहेछ । युद्धसँग घाउको तहतह हुँदो रहेछ । पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका यी नेपालीका नामसँग कति धेरै अभाव, कति धेरै अन्योल र कति धेरै अन्धकार थियो होला ! तिनले अभाव, अन्योल र अन्धकारसँगै आफ्नो ज्यान गुमाउनुपर्‍यो ।

मोतीले भित्र जाऊँ भने पनि मैले वरिपरि आँखा लगाएँ— रूख, अनौठो स्तम्भ, फूलका पोथ्रा र सुन्दर बाटाहरू । सबैभन्दा ठूलो, फरक र अलग लाग्यो— चार हजार बलिदानी सेनाको एउटै थलोमा सम्झना । त्यो सम्झनासँग हृदय एकाएक अनौठो र भावुक हुन पुग्दो रहेछ ।

साथीहरू भित्र पसे । मैले मोतीसँग उभिएर केही सोधेँ । सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि बेलायती शासन थियो । त्यही शासनमै जोडिएको एउटा महत्वपूर्ण सैनिक अङ्ग थियो— गोरखा राइफल्स । त्यही गोरखाको वीरगाथासँग यो समाधिस्थल जोडिएको रहेछ । पहिलो र दोस्रो विश्वयुद्धमा संसारका धेरै भूभागमा बेलायती सेना लडेको थियो । त्यो अङ्ग्रेजी सेना एसियामा पनि आफ्नो युद्धकौशल देखाउन आइपुगेको थियो ।

अङ्ग्रेजी सेनाभित्र धेरै नेपाली युवाहरू कार्यरत थिए । उनीहरूले आफ्नो बहादुरी, बल र ऊर्जा खर्चेर बेलायती शासनलाई सघाएका थिए । म्यान्मार पनि त्यसै गरी आइपुगेथे गोरखाली सिपाही ।

०००

सिमेन्टको ठूलो पर्खाल लगाइएको थियो । एउटा सन्नाटा हुने खालको वातावरणभित्र म पसिरहेको छु ।
‘म कस्तो ठाउँमा आइपुगेँ ?’
मैले आफैंसँग प्रश्न गरेँ । मेरो रगतको तातो भुल्का एकाएक चिसो भइरहेथ्यो ।
“साथीहरू जहाँ र जसरी जाऊन्, म चैँ हृदयले चालेको गतिमा पैताला सार्छु ।”
समाधिस्थलमा पसेलगत्तै मैले भनेँ ।

सयौँ बिघामा फैलेको ठूलो बगैँचा छ । फूलैफूलको बारी । चौकुना मिलेको बगैँचामा सिमेन्टका फलेक बिछ्याइएका सुन्दर बाटाहरू छन् ।

पहिलो र दोस्रो विश्वयुद्ध संसारैभरि मच्चियो । यो विश्वयुद्धमा बेलायत कुनै न कुनै रूपमा जोडिएकै थियो । त्यही जोडाइमा गोरखालीहरू पनि परे । धेरै गोरखालीहरू अङ्ग्रेजको सेनामा सेवारत थिए । त्यही क्रममा गोरखालीहरू म्यान्मार आइपुगेका रहेछन् । जापानीसँग नेपाली सैनिकहरू पनि लड्न पुगेछन् ।

अङ्ग्रेजको सैनिक भएर जापानसँग लडेका गोरखाली योद्धाहरूले कति ठाउँमा वीरगति पाए । अन्य जाति पनि थिए । खास गरी म्यान्मारमा ‘गोरखा’ भनेर उच्च सम्मान आजसम्म पाईआएकै छन् नेपालीले ।

म बिस्तारै पाइला सारिरहेको छु । फूलबारीमा घुम्न आउने र नियाल्न आउनेहरूको ठूलै हूल थियो । कोही मादक, कोही उल्लसित त कोही करुण अनुहारका थिए ।

पहिलो र दोस्रो विश्वयुद्धमा बेलायत कुनै न कुनै रूपमा जोडिएकै थियो । त्यही जोडाइमा गोरखालीहरू पनि परे । गोरखालीहरू अङ्ग्रेजको सेनामा सेवारत थिए । त्यही क्रममा गोरखालीहरू म्यान्मार आइपुगेका रहेछन् । जापानीसँग नेपाली सैनिकहरू पनि लड्न पुगेछन् ।

“युद्धले शान्ति खोजेको थियो । शान्तिसँग यस्तै प्रेम गाँसिएको हुन्छ । प्रेम यसरी हातेमालो भएर हिँड्न रुचाउँदो रहेछ ।”

मैले अगाडि फूलबारीमा उभिएका जोडी हेरेर कुरा कथुरेँ । युद्ध निकै चर्केको थियो— पहिलो र दोस्रो । त्यही युद्धमा निकै सैनिक सहिद भएका थिए । ती सबै सैनिकको बलिदानलाई सम्झेर यो समाधिस्थल बनाइएको रहेछ ।

मैले आँखालाई गति दिएँ । मन र पाइलालाई गति दिएँ । मुटुको कम्पनलाई गति दिएँ ।
“बेलायत सरकारले बनाएको यो ।” मोतीका कुरा नि सुनिरहेको छु ।
कानमा उनको सूचनाले एउटा काम गर्छ । आँखाले धेरैभन्दा धेरै कुरा हेरुँ भनेर गति पनि बढाइरहेकै छु ।

“कति मरेका रहेछन् त ?”
“भेटिएका चार हजार । बेपत्ता, हराएका, लुकाएका वा दफनाइएका त कति होलान् अझ !” मोतीले मेरो खसखसलाई थामथुम पारे ।

मूल ढोकामा भित्र बत्ती नबाल्नू भनेर अनुरोधको भाषा लेखिएको थियो । कमनवेल्थबाट ग्रेभ्रान कमिसन लेखिएको सूचनापाटीले अनुशासन सिकाएको थियो । भित्र छिरेलगत्तै ठूलो हरियो चउर थियो । चउरको दायाँबायाँ पामका अत्यन्तै हरिया, कसिला र कलात्मक बोटहरू झाँगिएका थिए । बीचमा पामका बोट । त्यसको दायाँबायाँ हार लगाएर ससाना झुप्प फुलेका फूलहरू थिए । ती उज्याला फूलको छेउमा अत्यन्त भावपूर्ण शिलालेखहरू टाँसिएका थिए । सहादत पाएका योद्धाको शिलालेखमा नाम, उमेर, गण लेखिएको थियो । अनि उसको धर्मअनुसार बलिदानी सेनाको नामसँगै उसलाई धार्मिक सम्मानसमेत दिइएको थियो ।

गोलागोला बुट्यानसँगै अत्यन्तै कलात्मक, रहरलाग्दा र कोमल फूलका चाङ रोजेर युद्धमा ज्यान अर्पेका योद्धाहरूमा श्रद्धा अर्पण गरिएको थियो । मैले तीनचार हार डुलेर योद्धाहरूका नाम र पद पढेँ । ती सबै नेपाली थिए । पढेका ती सबै परिचयले नेपाली संस्कृति, नेपाल देश र नेपाली वीरतासँग नाता जोडिहाल्थ्यो ।

आँखाले नभ्याउने ठूलो समाधिस्थलको माझमा अर्को कलात्मक र भव्य भवन थियो । दुई वटा विशाल खम्बैखम्बाले बनेको समाधिस्थल थियो । दुई वटा उत्तरदक्षिण तानिएका खम्बे लहर थिए । ती माथि जोडिए पनि प्रत्येक खम्बा स्वतन्त्र थिए ।
“किन यसरी बनाइएको होला ?” खसखस पोख्छु ।
‘सरलतामा श्रद्धा । श्रद्धामा उत्ताउलो नहोस् !’ निष्कर्ष सुनायो अर्को मनले ।

१३, १३ वटा खम्बाले तानिएको त्यो बुर्जा उत्तरदक्षिण लमतन्निएको थियो । प्रत्येक खम्बाको माझमा पूरै खुल्ला छ । दुईतीन मान्छे सहजै आउजाउ गर्न सक्छन् । माझमा एउटा गोलाकार मुन्डा छ । दुईतिरबाट आएका खम्बर लहरहरू त्यही माझको गुम्बजमा आएर ठोकिन्छन् । बीचको गुम्बज नाघेर म पूर्वपट्टि गएँ । त्यहाँ लहरे फूलले अर्को शोभा जताततै दिइरहेको देखिन्थ्यो ।

युद्धको घनघोर उकुसमुकुस मेरो छातीमा भरियो । अङ्ग्रेजको पल्टने भएर ज्यान गुमाउनेहरूको नाम यो एकान्तमा टाँसिएको छ । ती नाम पढ्ने यिनका आफन्त कतिलाई यो सूचनासम्म छैन होला । कति नेपालकै कुनाकन्दरामा अझै पर्खिरहेका होलान् । कतिले १२ वर्षपछि खलियो पोलेर सद्गत गरे होलान् ।

पूर्वपट्टि नै अर्को फूलको सुरुङजस्तो सानो खुल्ला टहरो थियो । त्यहाँ मानिसहरू सुस्ताइरहेका देखिन्थे । तस्बिर खिच्ने, अँगालिने र शान्तिको सुस्केरा छाडेर निमग्न भएका लाग्थे । एक ठाउँमा लेखिएको थियो— ‘सन् १९३९—१९४५ यो भूमि जसमा स्मारक खडा गरिएको छ, यो सेना र वायुसेनालाई यहाँ सम्मान गरिएको छ, उनीहरूका लागि बर्मेली नागरिकले यो सम्मान अर्पण गर्दै उपहार प्रदान गरेका हुन् ।’

एउटा अटल श्रद्धा, एउटा गहिरो आदर र एउटा गहकिलो सम्मानजस्ता यी शब्दहरूले बोलेका थिए ।

म पूर्वपट्टि गएर फूलबारीमाझका एकै आकार, रूप र शिलापत्र पढ्न थालेँ ।
‘ॐ भगवते नमः
१००९२ लेन्स नायक रुद्रबहादुर थापा
आठौँ गोरखा राइफल्स
२२ जनवरी १९४३, उमेर २३’
लेखिएको छ ।

त्यसै गरी
‘ॐ भगवते नमः
१०४०० राइफलम्यान
हर्कबहादुर पुन
आठौँ गोरखा राइफल्स
२४ जनवरी १९४५, उमेर २३’
लेखिएको शिलापत्र पढेँ ।

हरेक समाधिको शिलापत्रमा दुई वटा खुकुरी क्रस गरिएको छ । चार हजार यस्तै शिलापत्रमा ठूलो सङ्ख्यामा नेपालीको नाम, थर, पद र उमेर टाँसिएको रहेछ । मैले मन रोकीरोकी ती योद्धाहरूको परिचय पढेँ । यी शिलालेखलाई नेपाली भएर पढ्ने मौका पाएकोमा एउटा गर्बिलो छाती पटकपटक फुल्यो ।

युद्धमा मारिने सानो उमेरको जमाने छेत्रीदेखि गोरे गुरुङसम्मको शिलापत्रलाई हतारमै भए’नि मैले हेरेँ ।

युद्धको घनघोर उकुसमुकुस मेरो छातीमा भरियो । अङ्ग्रेजको पल्टने भएर ज्यान गुमाउनेहरूको नाम यो एकान्तमा टाँसिएको छ । ती नाम पढ्ने यिनका आफन्त कतिलाई यो सूचनासम्म छैन होला । कति नेपालकै कुनाकन्दरामा अझै पर्खिरहेका होलान् । कतिले १२ वर्षपछि खलियो पोलेर सद्गत गरे होलान् । कतिले बलेसीमा बत्ती बालिरहेकै होलान् पल्टने फिर्ला भनेर । कतिले सेतो धागो बाँधेको चिठी नआउन्जेल मरेको नपत्याउने भनेर दोबाटोको छायाको आशामै आफ्ना आँखाको उज्यालो गुमाए होलान् । मैले फूलले झपक्क छोपेका यी साना तामाका लेखोट हेरेँ ।

युद्धले मानिस सक्नुभन्दा पनि त्यसले छाडिरहने खिल पीडादायी हुँदो रहेछ । युद्धसँग सम्झनाको खात हुँदो रहेछ । युद्धसँग घाउको तहतह हुँदो रहेछ । पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका यी नेपालीका नामसँग कति धेरै अभाव, कति धेरै अन्योल र कति धेरै अन्धकार थियो होला ! तिनले अभाव, अन्योल र अन्धकारसँगै आफ्नो ज्यान गुमाउनुपर्‍यो ।

घरमा उज्यालो पुगेन, सबैलाई अँध्यारो नै टाँसिइरह्यो । आमा, पत्नी, छोरीहरूले मनको तस्बिर झन् गाढा बनाए पल्टनेका । बाबु, भाइ र छोराहरूले हृदयको चित्र बिस्तारै पातलो बनाए लाहुरेका ।

मैले म्यान्मारको यो एकान्त धरतीमा गोरखालीका नाम पढेर आफूले आपूम्लाई इतिहाससँग प्रश्न गर्ने मन गरेँ ।

“हामेरको घडी पो चाँडो कुद्छ !” मोतीले बोलिरहँदा समय निकै घर्केको लाग्छ ।
सेतो पोसाकमा सजिएका जोडीहरू बिहे गरेर फोटो खिचिरहेका हुन्थे— स्मारकस्थलको बगैँचामा । तस्बिर खिचिरहेका ती जोडीको अनुहार पटकपटक हेरेँ ।

‘अबको नयाँ पुस्ताले युद्ध नभोगोस् । युद्धकै कारण जीउ गुमाएर ढुङ्गामा लेखिनु नपरोस् ।’ तिनको फोटो खिच्दा आएको झिलिक्कले भनिरहेथ्यो ।

युद्धमा बढी त नेपालीले नै वीरता देखाए । गोरखालीले आफ्नो साहस, शौर्य, चतुरता र बलिदानी बढ्दा देखाएका छन् । मर्नेहरू पनि धेरै त नेपाली नै रहेछन् । आफूलाई युद्धको भुङ्ग्रामा होम्ने पनि बढ्ता त गोरखाली नै रहेछन् ।

गुम्बजतिर आयौँ हामी । घाम चर्केथ्यो । बादलका सेता बुट्टाले यो समाधिस्थलमा शीतल छरेको लागिरहेथ्यो । ‘कुनै गोरखालीको छोरो आएर यहाँ आफोनो बाबु चिन्न आयो होला त ?’

‘कुनै युवती आफ्नो जवान लोग्नेको नाम यहाँ भेटेर धक फुकाएर रोइहोली त ?’
‘कुनै मक्किसकेको हड्डीको बूढो बाउले आफ्नो तन्नेरी छोराको नाम भेट्दा धरधरी आँसु खसालेर छाती हलुङ्ग्यायो होला त ?’

मैले चार हजार योद्धाहरूको सम्झना थलो नाघ्दै मन फत्काएँ । छातीमा उठेका तरङगसँग उत्तर आउने सम्भावना थिएन, आधार थिएन, आशा पनि थिएन ।
अलिक अघि एउटा पङ्क्ति ढोकैमा पढेको थिएँ— ‘तिनीहरूले हाम्रो स्वतन्त्रताका लागि ज्यान दिएका हुन् ।’

मसँग एउटा श्रद्धाको फूलको झुप्पा त्यही भइरहेछ । हामी सबै माझको गोलो गुम्बजमा आइपुग्यौँ । त्यसको वरिपरि अङ्ग्रेजी, हिन्दी, मलेसियाली, उर्दू, सिख भाषामा योद्धाहरूप्रति श्रद्धाभाव लेखिएको छ । तर मन कटक्क भयो— त्यहाँ नेपालीमा लेखिएको छैन ।

युद्धमा बढी त नेपालीले नै वीरता देखाए । गोरखालीले आफ्नो साहस, शौर्य, चतुरता र बलिदानी बढ्दा देखाएका छन् । मर्नेहरू पनि धेरै त नेपाली नै रहेछन् । आफूलाई युद्धको भुङ्ग्रामा होम्ने पनि बढ्ता त गोरखाली नै रहेछन् । तर तिनको नाम, थर, पद र उमेरसँग गरिएको यो हेला, हाँसो र उपेक्षाले एकछिन हृदय खिन्न भयो ।

मर्नेहरू धेरै नेपाली नै । युद्धमा पिल्सिने पल्टने धेरै त गोरखाली नै । तर त्यसको तर मारेर गर्व र गौरव छ अरू भाषामा नै । अरूको भावनामा हामी गोरखालीको खुनपसिना किनार लागेछ !

ती १३, १३ वटा खम्बामा मर्नेहरूका नाम थिए । शिलामा लेखिएका ती जम्मै नाम पढ्दा सिङ्गो नेपालै युद्धमा होमिएको लाग्छ । अनुक्रममा उतारिएका गोरखाली सिपाहीका नाम पढ्दा सिङ्गो गोरखा जाति युद्धमा पसेको लाग्दो रहेछ ।

इतिहासभित्र नेपाल थियो, गोरखा सभ्यता थियो, शासनसत्ता थियो । यी कसैले पनि तिनका लागि बोलेको मैले देखिनँ ।

केही भित्ताहरु फटाफट पढेँ । दिलबहादुर गुरुङ, दीर्घमान गुरुङ, गगनसिंह थापा, गजवीर गुरुङ, हर्कबहादुर बुढाथोकी, हर्कसिंह थापा, हर्कबहादुर थापा, हर्कसिंह गुरुङ, जप्पर घले, शेरसिंह थापा, खडकबहादुर पुन— एउटा भित्तामा लेखिएका नाम । खुबीराम गुरुङ, रणबहादुर आले, मङ्गले थापा, अमर बुढा, गजवीर खत्री, दानवीर थापा, होमे कुमाल, जङ्गे गुरुङ, जितबहादुर लिम्बूका नाम पनि पढेँ मैले ।
जमानसिंह थापा, कलाधर बस्न्यात, जितबहादुर तामाङ, खुबीराम गुरुङ, टेकबहादुर शाहीका नाउँसमेत अगाडिको भित्तामा उतारिएको छ ।

पूर्वपश्चिम, उत्तरदक्षिण चारै कुनामा चिल्ला ढुङ्गामा वीर गोरखालीका नाम कुँदिएका छन् । ती युद्धमा परेर ज्यान अर्पेका नाम । ती युद्धको भुङ्ग्रामा डढेका नाम । ती खुन बगाउँदाबगाउँदै थन्किएका नाम ।

गुम्बजको मास्तिर नीलो अकास थियो । अकासबाट ती योद्धाहरूले आफ्नो नाम पढिरहेका होलान् नि ! अरूको देशमा बेखबर छन् ती वीरका छोराहरू । आफ्नै आँगनमा अपरिचित छन् ती योद्धाका सन्तानहरू ।

म्यान्मारको यो धरतीमा नाम पढिरहँदा मैले भनेँ— “इतिहासले न्याय गर्न सकेन तिमीहरूको खुनपसिनालाई ।”

इतिहासभित्र नेपाल थियो, गोरखा सभ्यता थियो, शासनसत्ता थियो । यी कसैले पनि तिनका लागि बोलेको मैले देखिनँ ।

अपमानले घोचेको मुटु थियो मेरो रङ्गुन फर्किंदा ।

(प्रसिद्ध नियात्राकार नयाँघरेको बहु चर्चित पछिल्लो म्यान्मार–बर्मा भ्रमणमा केन्द्रीत ‘तनक्खा’ कृतिको एक अंश ।)

तपाइँको प्रतिक्रिया

फेसबुक