बिहीबार, असोज ७, २०७८

कृष्ण तिमी छाँया मै बस

रन्जु पाण्डे / मीनभवन, काठमाडौं२०७८ भदौ १४ गते ०:०१

एक दिन भगवान कृष्ण मेरो सामु यसरी प्रकट भए कि म आश्चर्यमा परें । मन ढक्क फुल्यो, पत्याउन गाह्रो भो । हातखुट्टा गलेर काँम्न थाले । मुख प्याकप्याकती सुक्न थाल्यो । आफूलाई सम्हाल्दै हेरें, देदिब्यमान कृष्ण खडा थिए मेरो सामु । कमलनयन कृष्ण, मुरलीबाज कृष्ण, छलीजस्तो कृष्ण, नजिक जाँदा झन झन टाढा भाग्ने कृष्ण, समात्न खोज्दा फुत्त चिप्लने अनि लम्केका आफ्नै हातको थपडीले मलाई ब्युँझाउने कृष्ण । मलाई थकथक तुल्याउने कि हरे ! म किन ब्युँझिएँ, सपनामा मैले किन समाउन खोजेछु । टाढैबाट हेरेर चित्त बुझाएको भए पनि त हुन्थ्यो नि । हेर त ! बित्थामा ब्युँझिएँ ।

यसो भन्दै विपनाको कल्पनामा पनि आउने उनै कृष्ण । दिनको प्रभातलाई शुभ बनाउने मेरो कृष्ण । जसलाई पाउन म दिनहुँ आरती गर्थें, रातदिन उनैको नामको माला जपिरहन्थें, उसैलाई आज आफ्नो सामु यसरी देख्दा मेरो मन कसरी थामी सक्दोहोस ? म त बौलाही जस्तो थ्याच्च बसेर उनैलाई हेरिरहेकी थिएँ । आफूलाई चिमोटें । ऐया ! होइन रहेछ सपना, यो त बिपना हो । टाउकोमा प्याट्ट हिर्काएँ । हा ! होइन रहेछ कल्पना यो त यथार्थ हो । साँच्चै कृष्ण मेरो अघिल्तिर उभिएको यकिन भो । अनि बल्ल बिस्तारै मैले उनको चरण स्पर्श गरें । मन आह ! तरंगित भयो । वर्षौदेखि खडेरी परेको खेतमा भीषण वर्षा भए जस्तो । आँखाबाट बरबर्ती आँसू झर्न थाले । कृष्णले सुस्तरी मलाई आफ्ना दुबै हातले उठाए । मलाई आफू समिप जोडेर भने “किन यसरी आत्तिएकी ? यी हेर त म तिम्रै कृष्ण हुँ जसलाई सम्झेर तिमी कहिल्यै अघाउन्नौ, रातदिन पूजा गर्छ्यौ । म उही त हो नि जसको जपना गरेर तिमी कहिल्है थाक्दिनौ, हरपल मलाई बोलाइरहन्छ्यौ ।

मैले नसुनेको भन्ने तिमीलाई सधैं लागिरह्यो । मैले नभेटेको गुनासो गरिरह्यौ । धत ! लाटी म तिमीसँगै त थिएँ । छायाँ बनेर तिम्रो हरेक ढुकढुकी छामी रहेकै त थिएँ । अनि हेर त आज म तिम्रै सामु यसरी प्रकट हुँदा तिमी किन यसरी भक्कानिएकी ? मैले भनें, यो मेरो वर्षौं, सदियौं देखिको तिमीप्रतिको श्रद्धाभाव फुटेर छचल्किएको हो । उनले मलाई हेर्दै मुसुमुसु हाँसे अनि बिस्तारै लगेर थुपुक्क बसाएर भने “ल भन, वर माग के चाहिन्छ? “मलाई केहि चाहिन्न प्रभु तिम्रो उपस्थिति नै काफी छ ” मैले झट्ट जवाफ फर्काएँ । किनकी मलाई निमेषभर पनि अल्झिनु थिएन आज । निकैबेर बसेर हामी रमाइला गफ गरिरह्यौं । मन अझै अघाएको थिएन । तर ऊनी “म भोलि आउँछु” भन्दै बिदा भए ।

मन आह ! तरंगित भयो । वर्षौदेखि खडेरी परेको खेतमा भीषण वर्षा भए जस्तो । आँखाबाट बरबर्ती आँसू झर्न थाले । कृष्णले सुस्तरी मलाई आफ्ना दुबै हातले उठाए ।

त्यसपछि कृष्ण दिनहुँजस्तो आउन थाले । आज आए, भोलि आए, पर्सि आए । म सधैं आतुर भएर पर्खन थालें । राम्री भएर, सजिएर उनको बाटो हेर्न थालें । ऊनी सधैं मलाई केही न केही उपहार लिएर आउन थाले । मैले माग्ने कुरा सबै पूरा हुँदै गए । तैपनि उनले मलाई दिनहुँजसो सोधिरहे’ के चाहिन्छ’ भनेर । अब मेरो माग्ने कुरा सबै सकिसकेको थियो ।

अब भने बिस्तारै बिस्तारै मलाई उनको उपस्थिति असहज हुन थाल्यो । मेरो चटारो फेरिन थालेछ कि उनलाई पर्खने समय नै बिर्सन थालें । ओहो ! फेरि कृष्ण आउने बेला भैसक्यो । मनले भन्यो ‘आज एक दिन त नआए पनि हुन्थ्यो’ । तर ऊनी टुप्लुक्क आइपुग्थे । बिस्तारै बिस्तारै मलाई ऊनी आएकोमा मन पर्न छाड्यो । उनको जुन सुन्दर तस्बिर मेरो सपना र कल्पनामा आउँथ्यो अब त्यो तस्बिरले रङ फेर्दै गयो । ऊनी मलाई नराम्रो लाग्न थाल्यो । हिजोका ती कमलनयन आज कालो अनुहारका ट्वाल्ल आँखा भएका छन् जसमा रत्तिभर कामुकता छैन । अब म उनको ब्यवहार देखि वाक्क हुनथालें । र कहिले ऊनीसँग छुट्टिने बेला होला जस्तो हुन थाल्यो ।

अचानक यस्तो दिन आयो कि ऊनी आउने समयनै नाँघि सकेछ । मैले त भुसुक्कै बिर्सेछु । म बेग्लै गोरखधन्दामा यति व्यस्त भएछु कि मलाई ऊनी आउने समयको हेक्का नै रहेनछ । ऊनी आएनछन् । ‘ठिकै भयो आज आएनन् भोलि आइहाल्छन् नि’ भन्यो मनले । खोइ किन हो अलिकति सहजता महसुस भयो । भोलिपल्ट पनि आएनन् । पर्सिपल्ट पनि आएनन् । आज, भोलि, पर्सि अहँ ऊनी आएनन्, आउँदै आएनन्, पटक्कै आएनन् ।

त्यसपछि म उनलाई पर्खन थालें । तर ऊनी कहिल्यै आएनन्, बिलकुलै आएनन् । अब म फेरि सम्झन थालें उनलाई । मनमा उही पुरानो मेरो प्रीय कृष्णको सुन्दर अनि कामुक छविले भरिपुर्ण अनुहार ल्याउन खोजें । तर अब त्यो पनि आएन किनकि हिजो मैले उनलाई घरी घरी भेटेर, वरिपरि पाएर, अघाउन्जेल देखेर, ऊनीसँगको पटक पटकको सामिप्यताले त्यसलाई बेग्लै स्वादको पो बनाइसकेछ यद्यपि मेरो पर्खाइमा ऊनीप्रति उस्तै अनुराग भने थियो । म पर्खी नै रहें, हरेक दिन उहि समयमा मेरो कृष्ण आउने बाटो हेरिनै रहें आज, भोलि, फेरि आज अनि भोलि । तर अहँ ऊनी आएनन् । अब भने म नराम्ररी भासिएँ । झसंग भएँ ।

म कहालिएर रुन थाले, आफैंलाई कोस्न थाले । रुँदारुँदा सुन्निएर धमिलिएका मेरा आँखाले धेरै दिनपछि फेरि एउटा दृश्य देख्यो, मेरो कृष्ण मेरो खुशी, मेरो प्राण मेरो अगाडि मुसुमुसु हाँस्दै उभिएका छन् ।

मलाई खिन्नता बोध हुन थाल्यो कि किन मैले उनलाई प्रत्यक्ष देख्न लालयित भएँ, किन मैले उनलाई छहारी मै सुन्दर बनाएर राखिरहिन । यसरी किन मैले उनलाई आफैं सँग सार्बजनिक गरे ? मलाई एकदम पश्चाताप भयो किनकि उनको अनुपस्थितिमा आउने मिठा मिठा कल्पना नै मेरा उर्जा रहेछन् । बेलाबेलामा आफै मात्र सम्झेर भोग गर्ने मेरो मात्र थियो त्यो सुन्दरता अनि मात्र सुन्दर भाव, जस्तो कल्पना गर्यो त्यस्तै रुप । आज मलाई थकथक लागिरहेछ । आज म पटक्कै खुसी छैन । हे भगवान ! यो मैले के गरें, मैले आफ्नो खुसीलाई आफ्नै हातले हत्या गरें ।

छायाँ बनी उनको हरपलको उपस्थितिलाई मैले बुझ्नै सकिनछु । त्यसले दिने खुसीलाई नाँप्नै सकिनछु । म कहालिएर रुन थाले, आफैंलाई कोस्न थाले । रुँदारुँदा सुन्निएर धमिलिएका मेरा आँखाले धेरै दिनपछि फेरि एउटा दृश्य देख्यो, मेरो कृष्ण मेरो खुशी, मेरो प्राण मेरो अगाडि मुसुमुसु हाँस्दै उभिएका छन् । झल्याँस्स ब्युझिएँ । आँखा खोलेर हेरें, ओहो ! घाम त झलमल्ल लागिसकेछ । उठ्न ढिला पो भैसकेछु । आज त कृष्ण जन्मष्टमी हो नि । नुहाई धुवाइ गरेर कृष्णको पूजा गर्नु छ । म आफ्नो फिँजारिएको कपाललाई मसक्क पोको पारी जुरो भित्र घुसार्दै खाटबाट ओर्लन्छु र नित्य कर्ममा लाग्छु ।

तपाइँको प्रतिक्रिया

फेसबुक