बिहीबार, वैशाख १३, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

डाउनटाउन विश्वविद्यालयमा महाकवि देवकोटा (जसको सम्पूर्ण श्रेय कवि नव सापकोटालाई जान्छ)

डा. गोबिन्द राज भट्टराई२०७८ भदौ १२ गते १:१३

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

यसपल्टको आसाम यात्रा अति विशिष्ट उद्देश्यले निर्देशित छ । एउटा महनीय कार्य सम्पादन गर्ने उद्देश्यले म आसामको राजधानी गुवाहाटी आइपुगेको छु । मेरा साथमा उनै प्रिय शिष्य बलराम अधिकारी छन् । विगत वर्षदिनदेखि खटेर स्रष्टा नवसापकोटाले एउटा ऐतिहासिक दिनको प्रतीक्षा गरिरहनु भएको छ । हामीलाई पनि प्रतीक्षा गराइरहनुभएको छ । त्यो विशेष दिन आज आएको छ । भोलि सन् २०१५ जनवरी १० का दिन गुवाहाटीको डाउनटाउन युनिभर्सिटिमा एउटा विशेष कार्यक्रम सम्पन्न हुनेवाला छ । त्यो कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा बारेका दुईवटा कार्यपत्रको प्रस्तुति र तीमाथि आसामका तीनवटा विश्वविद्यालयका विज्ञजनहरूबाट छलफल टिप्पणी आदि प्रस्तुत हुनेछन् ।

महाकवि देवकोटाको महानतालाई अंग्रेजी भाषाको माध्यम गरेर भारतवर्षमा ल्याइएको यो प्रथम प्रयत्न हो । अघि उहाँले तास्कन्दमा पाठ गरेको उहाँको आफ्नै विचारपत्र अंग्रेजी भाषामा उपलब्ध छ । तर युरोप, अमेरिका, अष्ट्रेलिया आदि महादेशमा छरिएर नेपाली जातिहरू अनेक ठाउँ पुगेतापनि, प्रत्येक वर्ष महाकवि विषयक कार्यक्रमहरू पालना गरिने भए तापनि, उहाँलाई चिनाउने गरी एउटा ठूलो बौद्धिक समाजलाई आह्वान गरेर सम्बोधन गरिएको यो प्रथम अवसर हो ।

त्यसो त नवसापकोटाज्यूको प्रयत्नमा गुवाहाटी आसामको माली गाउँमा पर्ने एउटा ठाउँको नाम नै देवकोटा नगर राखिएको देखेपछि मैले महाकवि आफैँले लेखेका अथवा उहाँमाथि अरुले लेखेका विशेष कृतिहरू उहाँको लागि उपहारस्वरूप त्यहाँ लगिदिएँ । मालीगाउँस्थित देवकोटा नगरको पुस्तकालयमा अंग्रेजी भाषामा मुनामदन, नेपाली भिजन्स नेपाली ड्रिम्स, बापुजी, लुनाटिक एण्ड अदर पोएम्स अफ लक्ष्मीप्रसाद देवकोटा जस्ता अंग्रेजी प्रकाशनहरू पुगेका छन् । नवदाइको महाकविप्रतिको अगाध प्रेम र श्रद्धा अनि देवकोटा नगरमा महाकविको सालिक लगायत अन्यकुराहरूको स्थापनामा एक बिरानो वस्तीमा उहाँले कत्रो प्रयत्न गर्नुभयो होला । कसरी जनमत अथवा आवश्यक साधन स्रोत जुटाउनु भयो होला त्यो सम्झेर उहाँप्रतिको श्रद्धाले मेरो पनि मन भरिएको छ ।

नव दाइकै प्रवन्धमा हामीलाई पल्टनबजारस्थित एउटा राम्रो लजमा पुगेर बिसायो । हातमुख धोएर नजिकै एक होटलमा चियापान गर्‍यौं । त्यसपछि उहाँले बिदा माग्नुभयो, हामी आफ्नो आवासम चढ्यौँ । भोलिपल्ट बिहानै पल्टनबजारबाट पाखा निस्कियौँ; भनेको मोडमा प्रतीक्षामा उभियौँ । वाहक गाडीहरू तयार भएर त्यहीँ आएका थिए । त्यहाँदेखि निकै टाढा पानीखेती भन्ने ठाउँको डाउनटाउन भन्ने विश्वविद्यालयमा पुग्दा सारा परिवेश सजाइएको थियो । विश्वविद्यालयका कुलपति स्वयमं, अन्य अध्यापक, कर्मचारीवर्ग र विद्यार्थी स्वागतार्थीहरू वरिपरि हुनुहुन्थ्यो । चिया नास्ता इत्यादि सम्पन्न गरेर हामी हलमा भेला भयौँ ।

आदिकवि भानुभक्त आचार्यद्वारा अध्यात्म रामायणको अनुवाद (उपसिर्जना) गरेपछि आधुनिककालीन नेपाली साहित्यको आरम्भ भयो । ती आदिकविको भर्खरै दुईसयौँ जन्म शताब्दी मनाइएको छ । यसै कारणले नै उनलाई प्रथम कवि अर्थात् आदिकवि भन्ने गरिन्छ । तर साँच्चै भन्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय रूपले सर्वाधिक महान् कविमा गणना हुन्छ ।

आसामका टाढाटाढा दूरदराजका गाउँशहरदेखि मणिपुर तथा शिलाङदेखिका नेपाली भाषा साहित्यप्रेमी स्रष्टाहरू महाकविका भक्तहरूले हल भरिएको थियो । सिक्किमदेखि गएका सिके श्रेष्ठ र उनको सांस्कृतिक टोली तत्पर थियो । कृष्ण भुजेल र अरू युवा पुस्ताका जातिप्रेमीहरू स्वागतार्थ उभिएका थिए । यता सिक्किम दार्जीलिङदेखिका, बनारसदेखिका स्रष्टा विद्वान् विदुषीहरूसँग भेट भयो र अलिकति हर्षको आदानप्रदान गर्‍यौँ । त्यति मात्र हो । निकै जना अनेपाली भाषी आसामका विद्वानहरूको पनि उपस्थिति थियो ।

मैले यो दिनको लागि भनी धेरै महिना लगाएर गहिरो अध्ययन गरी एक कार्यपत्र तयार गरेको थिएँ । जसको शीर्षक थियो— महाकवि लक्ष्मीप्रसाद देवकोटाका काव्यिक सिर्जनाहरूमा लेखिएको अमर सन्देश : मानव जातिको मुक्ति र मर्यादा ।

तीनसय जति सहभागी स्रोता दर्शक आदिले हल भरिएपछि कुलपति तथा अन्य विशिष्ट गणबाट विशेष गरी सयपत्री सङ्कृत्यकला संगमको तर्फबाट श्री नवसापकोटाले सहित भएर धूप बत्ती गरी अनेक मन्त्रोच्चारणसाथ सभाको शुभारम्भ भयो । त्यसपछि शुरुमा सिक्किमका सांस्कृतिक मण्डलीले केही झल्का नाटक जातीय स्वाभिमानका कुरा प्रदर्शन गर्‍यो अनि हाम्रो प्रस्तुतिको पालो आयो ।

म शुरुमा परेको थिएँ । एउटा लामो कार्यपत्र छ १८ पृष्ठको । एक घण्टा पूरा समय थियो । त्यसकारणले गर्दा मैले बिस्तारै पाठ गर्दै बेलाबेला व्याख्या गर्दै डिजिटल माध्यममा समेत प्रदर्शन गर्दै प्रस्तुत गरेँ । मलाई एक किसिमको ठूलो गौरव बोध भएको थियो— नेपाली जातिका एक महान् नक्षत्रलाई भारतीय आकाशमा अलिकति भए पनि प्रक्षेपण गर्न सकियो भन्ने भाव लिएर म अघि बढेँ । उक्त कार्यपत्रको नेपाली अनुवाद त धेरै लामो छ त्यसको सार निम्नानुसार रहेको छ :

आदिकवि भानुभक्त आचार्यद्वारा अध्यात्म रामायणको अनुवाद (उपसिर्जना) गरेपछि आधुनिककालीन नेपाली साहित्यको आरम्भ भयो । ती आदिकविको भर्खरै दुईसयौँ जन्म शताब्दी मनाइएको छ । यसै कारणले नै उनलाई प्रथम कवि अर्थात् आदिकवि भन्ने गरिन्छ । तर साँच्चै भन्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय रूपले सर्वाधिक महान् कविमा गणना हुन्छ । उनले सिर्जना गरेर, अरुका कृतिबाट पुनः सिर्जना गरेर अथवा अनुवाद गरेर छोटो जीवनकालमा आश्चर्य लाग्ने गुणात्मकताले भरिएका विविध विधाका कृतिहरू निकाले । उनी एउटा द्रष्टा कवि देवकोटाले अनेक दुःखकष्ट यातना खपे । वास्तवमा ती दिनका अधिकांश बौद्धिकहरूको जीवन लीला त्यस्तै थियो । ती दिनहरूमा नेपाल क्रूर शासकहरूद्वारा सताइएको थियो र वास्तवमा सम्पूर्ण भारतवर्ष नै स्वतन्त्रताको लागि संघर्ष गरिरहेको थियो ।

महाकवि देशभित्रको असह्य यातनाबाट बच्नको निमित्त सन् १९४७ देखि दुई वर्षसम्म निर्वासित भएर भारतको वनारसमा बसे । तर बस्नुमात्र होइन त्यस अवधिमा अकल्पनीय रूपका अनेक कृति रचे । ऐतिहासिक रूपले हेर्दा यो एउटा अन्धकार युग थियो । यस युगले नै स्वतन्त्रता र दासत्वको बीचमा संघर्ष भएको देख्यो । प्रकाश र अन्धकारको बीचमा लडाइँ भएको देख्यो । तर स्वतन्त्रताको उच्च मूल्य प्राप्ति गर्नको निमित्त लडाइँ गर्ने शक्तिशाली साधन भन्नु नै त्यसबेलाको साहित्य मात्र हो ।

महाकवि देवकोटाले आफ्नो सम्पूर्ण जीवन अज्ञानी र अशिक्षित नागरिकहरूलाई पेलेर राख्ने शासनतन्त्रको अत्याचारविरुद्ध लड्दैमा व्यतीत गरे । तर उनी दुई दुईवटा सिद्धान्तले प्रभावित थिए— मानवतावाद र स्वतन्त्रता । वास्तवमा उनको निमित्त नेपालको र भारतको भूमिबीचमा कुनै विभाजन थिएन किनभने हामीले दुवैतिर उही अथवा एकै आध्यात्मिक अतीतबाट बनिएको वर्तमान भोगिरहेका छौँ । त्यसैकारणले गर्दा उनले कालीदासका गीत गाए, सावित्री सत्यवान लेखे, महाराणा प्रताप पृथ्वीराज चौहान र बापु नामक काव्यकृतिहरूको रचना गरे ।

यस कार्यपत्रमा महाकविले कसरी मानव गौरव (मर्यादा) लाई पुनस्र्थापित गर्ने प्रयत्न गरे भन्ने कुरा संक्षेपमा प्रस्तुत गर्न चाहन्छु । उनले कसरी सुदूर अतीतको गीत गाए र हाम्रो आर्यावर्तको प्राचीन गीतलाई एकचित्त भएर श्रवण गरे । त्यो अभिभाज्य देवताहरूको क्रीडा भूमिको उनले महिमा गान गरे । यो देवभूमि उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा कन्या लङ्कासम्म फैलिएको थियो । अझ यी क्रान्तिकारी कविको महान् उद्देश्य र उत्साहमा आफ्नो समयको पीडाको गान र त्यसबाट अशिक्षित जनसमुदायलाई मुक्ति दिलाउने उद्देश्य रहेको थियो । उनको सम्पूर्ण सन्देश नै शाकुन्तल, सुलोचना, महाराणाप्रताप, प्रमिथस लगायतका एक दर्जन महान काव्यहरूमा प्रस्तुत छ ।

देवकोटाको प्रथम कविता सोह्र वर्षको उमेरमा सन् १९३४ को गोर्खापत्र दैनिकमा प्रकाशित भएको थियो । त्यसबेलादेखि नै देवकोटाले आफ्नो सिर्जनालाई निरन्तर गरे र ४९ वर्षको उमेरमा देह त्याग गरे ।

एक अमर प्रतिभा

लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९–१९५९) एक मध्यम वर्गीय परन्तु सुशिक्षित ब्राह्मण परिवारमा नेपालको राजधानी काठमाडौँमा जन्मिएका थिए । उनले त्यहाँ खुलेको दरबार हाइस्कूलबाट म्याट्रिक परीक्षा पास गरे । दरबार हाइस्कूल देशभरिमा एक मात्र अंग्रेजी विद्यालय थियो । काठमाडौँकै त्रिचन्द्र कलेजबाट बी।ए। परीक्षा उत्तिर्ण गरी भारतको पट्ना विश्वविद्यालयबाट उनले बी एल परीक्षा उत्तीर्ण गरे ।

पन्ध्रै वर्षको उमेरमा विवाह बन्धनममा गाँसिए तापनि उनले आफ्नो अध्ययनलाई निरन्तर राखे । त्यो समयको पारिवारिक संस्कारका विपरीत अनि समयको आह्वानका विपरीत उनको शिक्षा पद्धति पुरानो संस्कृत शैली र माध्यमबाट एक विचलन थियो । त्यसैले गर्दा उनका लेखनमा पूर्वीय र पाश्चात्यबीच, प्राचीन र नवीनबीच एउटा चिन्ता र तनाव तथा सन्तुलनको प्रयत्न पनि रहेको पाइन्छ । उनको प्रथम कविता सोह्र वर्षको उमेरमा सन् १९३४ को गोर्खापत्र दैनिकमा प्रकाशित भएको थियो । त्यसबेलादेखि नै देवकोटाले आफ्नो सिर्जनालाई निरन्तर गरे र ४९ वर्षको उमेरमा देह त्याग गरे ।

महान् कवि देवकोटा बाँचेको युगलाई विज्ञहरुको भारतीय महारथीहरू पन्त, प्रसाद, निरालाका युगसँग (अर्थात् तीनैजनाको प्रतिभाको योग जत्रै भनी) तुलना गरेर । बीसौँ शताब्दीका भारतीय साहित्यका महान् कविहरू । तुलनात्मक रूपले हेर्दा त्यसबेलाको नेपाल निरङकुश तन्त्रद्वारा शासित थियो । निरङ्कुश शासक राणाहरूले जनतालाई पूर्णरूपले अधिकार वञ्चित गरेका थिए र जनतालाई एक शताब्दीभन्दा बढी समयदेखि अन्धकारमा बन्धक बनाएका थिए । त्यसो त भारतवर्षले पनि स्वतन्त्रता गुमाएको थियो । तथापि त्यहाँका नारिकहरले सहज रूपले शिक्षा आर्जन गर्न पाउँथे । उनीहरू स्वतन्त्र, सचेत र बढी शिक्षित पनि थिए । नेपालमा शिक्षाको आरम्भ नै थिएन ।

महाकविका सम्पूर्ण रचनालाई एक स्वतन्त्रता सेनानीको चिर निद्राबाट जनतालाई ब्यूँझाउने अथक प्रयासको रूपमा लिनुपर्दछ । यो केवल राजनीतिक कुरा थिएन, समग्रता थियो । यो राजनीतिक सांस्कृतिक र सर्वाेपरि ता सम्पूर्ण दार्शनिक तवरले ब्यूँझाइको आवश्यकता थियो। यो अन्तर्हृदयबाट ब्यूँझनु पर्ने समय थियो । त्यो युगले त्यस्तो आह्वान गरेको थियो र साहित्यिक कानले त्यो आह्वान सुन्ने महाकवि मात्र थिए ।
महाकविले नेपाली भाषा अनुवाद परिषद भन्ने संस्थामा सन् १९४३ देखि जागिर खान थाले । त्यसको अर्काेवर्ष त्रिचन्द्र कलेजमा लेक्चररको रूपमा नियुक्त भए । त्यसपछि नेपाली साहित्य परिषद्को अध्यक्ष भए । त्यसबेलासम्ममा भारत वर्ष स्वतन्त्र भयो र नेपालमा पनि यसको प्रभाव पर्‍यो । त्यसले सचेत नागरिकहरूलाई भित्रैदेखि झकझक्यायो । नयाँ समयको लागि साहित्यिक आह्वान गर्ने हुँदा देवकोटा स्वयं पनि शासकहरूको विरुद्धमा लागे । उनलाई देशद्रोही बनेको आरोप लाग्यो । तर उनले गरेको त्रुटि के मात्र थियो भने उनीहरूले काठमाडौँमा एउटा पुस्तकालय खोल्न चाहेका थिए । त्यो काण्ड इतिहासमा पुस्तकालय पर्व नामले प्रसिद्ध छ ।

निरङ्कुश शासक राणाहरूले जनतालाई पूर्णरूपले अधिकार वञ्चित गरेका थिए र जनतालाई एक शताब्दीभन्दा बढी समयदेखि अन्धकारमा बन्धक बनाएका थिए ।

गर्दा गर्दै सन् १९४६ देखि देशभित्रको राजनीतिक अस्थिरता अत्यन्तै तीव्र भएर गयो र उनी वनारसमा निर्वासित जीवन बिताउन बाध्य भएका थिए । त्यहीँ उनलाई युगवाणी भन्ने नेपाली कांग्रेसको मुखपत्रको सम्पादक नियुुक्त गरियो । त्यसैबेलामा नेपाल सरकारले उनलाई जागिर मुक्त गरिदियो अनि उनको घर सम्पत्ति पनि जफत गरिदियो । दुई वर्षपछि उनी नेपाल फर्के । तर वनारसमा हुँदा पनि उनले तीव्र रूपले सिर्जना गरेका थिए । त्यसबेलाका जनताको कठोर परिस्थितिलाई चित्रित गर्ने राणा शासकहरूको ज्यादती प्रस्तुत गर्ने एक शक्तिशाली कविताको शीर्षक हो ‘पहाडी पुकार’ । यस कविताले जनतामा विद्रोही चेतना भरेर उचाल्दछ ।

अनेक जनधनको त्याग र बलिदानले नेपालमा सन् १९५१ मा ठूलो क्रान्ति उत्पन्न गर्‍यो । समय पनि त्यसको निमित्त परिपक्व भइसकेको थियो । त्यही आन्दोलनले जनताको स्वतन्त्रताको घोषणा गर्‍यो । त्यसपछि एउटा नयाँ सरकार गठन गरियो । पुरानो शासन व्यवस्था उन्मूलन गरियो । देवकोटाले ती दिनमा अत्यन्तै ठूलो उथलपुथलको अनुभव गरे । उनका कतिपय महान् गीति कविताहरूले ती दिनका परिस्थितिहरूलाई प्रतिविम्बित गर्दछन् । जस्तै हुरीको गीत, प्रभुजी मलाई भेडो बनाऊ, वर्षा, शाहजहाँको इच्छा, पागल इत्यादि । देवकोटाभित्रको क्रान्तिकारी स्रष्टाले यी कवितामा आफ्नो आवाज दिएको छ । उनीलाई ‘पागल’ भएको ठानी भारतको राँची अस्पतालमा पनि लगियो उपचारका लागि । तर वास्तवमा उनलाई पागल भन्ने यो जगत नै पागल थियो । बरु उनले एक असांसारिक भएर एक प्रकारको उन्मादले छोपेको स्थितिमा अदम्य उत्साहको अनुभव गरेका थिए । यति आश्चर्यजनक रूपले जसलेगर्दा उनलाई जगतले पागल भन्यो । उनलाई यो थाहा छ । त्यसैले गर्दा उनले एउटा पागल शीर्षकको कविता लेखे । तर आफूलाई पागल स्वीकारे जस्तो गरेपनि जगतलाई उल्टै पागल देखे जस्तै :
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
वासनालाई संवाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, लकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादुगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, अल्झिएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ— एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकवटा एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छाै
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी संलन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसेको उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

उनलाई युगवाणी भन्ने नेपाली कांग्रेसको मुखपत्रको सम्पादक नियुुक्त गरियो । त्यसैबेलामा नेपाल सरकारले उनलाई जागिर मुक्त गरिदियो अनि उनको घर सम्पत्ति पनि जफत गरिदियो । दुई वर्षपछि उनी नेपाल फर्के ।

पालग लगायतका अन्य यस्ता किसिमका कविताहरूको अनुवाद गरी उसबेलाको इन्द्रेणी नामक साहित्यिक पत्रिकामा प्रकाशित गरिएका थिए । हालै आएर सन् २००९ मा पद्म देवकोटाले द ल्युनाटिक एण्ड अदर पोएम्स शीर्षकमा ३० वटा ती कविता संग्रह गरी प्रकाशित गरेका छन् । यस संकलनका सम्पादक महाकविकै विद्वान् सुपुत्र प्राध्यापक पद्म देवकोटाले प्रस्ट पारेका छन्— महाकवि स्वयं नेपाली कवितालाई अंग्रेजी भाषामा अनुवाद गरी विश्वसमक्ष चिनाउन कति उत्सुक थिए । महाकविले “एउटा अन्तर्राष्ट्रिय भाषामा सञ्चार स्थापित गर्नु कति आवश्यक छ” भन्ने कुरा रुमानियाको चौथो विश्व युवा महोत्सवको अवसरमा रुमानिया जाँदा प्रकट गरेका छन् । त्यो कुरालाई पछि दिल्ली र तास्कन्दका भ्रमणमा पनि जोड दिएका छन् । वास्तवमा उनी अंग्रेजी भाषा समेत एउटा कविको लागि अपर्याप्त होला जस्तो मान्दथे ।

देवकोटाले नेपाल एकेडेमी र नेपालको पहिलो विश्वविद्यालयको (त्रि.वि.) स्थापनामा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनलाई देशमा साहित्यिक र प्राज्ञिक वातावरण निर्माण गर्नमा अनेक वर्ष लागे । तर क्यान्सर जस्तो असाध्य रोगले उनको जीवनलाई धम्क्यायो । उनी सिर्जनाको वेगले लेख्ने, जीविकाको लागि ट्युशन गर्ने काममा दिनका २० घण्टा काम गर्दथे यद्यपि उनी पद्मकन्या क्याम्पसमा अंग्रेजी भाषाका लेक्चरलमा नियुक्त भएका थिए । त्यसैगरी नवगठित नेपाल प्रज्ञा–प्रतिष्ठानका पनि सदस्य बनेका थिए । त्यसपछि शिक्षा मन्त्री पनि बनाइए परन्तु एक अति संवेदनशील व्यक्तिको लागि ती खपिनसक्ना स्थिति थिए । प्रत्येक घटना क्षणिक जस्तै भए । त्यसबेलासम्ममा उनले दुई पुत्र एक पुत्री गुमाइसकेका थिए । ती सब परिस्थितिले विक्षिप्त उनलाई अविवेकी जन पागल ठान्दथे ।

यही दशकमा एउटा कवि र बौद्धिकको रूपमा उनी चीन गए, माओत्सेतुङलाई भेट्टाए । प्रथम एशियाली लेखक सम्मेलनमा भाग लिन दिल्ली गए । अफ्रो एशियाली लेखक सम्मेलनमा भाग लिन सन् १९५७ मा रुसको तास्कन्द पुगे । चीनमा दुई महीना बसे । मस्को अस्पतालमा २८ दिन बसे उपचारको क्रममा । तर निरन्तर धुम्रपानमा लत बसेका कविको स्वास्थ्य झन् क्षीण हुँदै आयो । अन्त्यमा उनी कलकत्ता पुगे । तर उनलाई केहीले पनि बचाउन सकेन । त्यसको केही महीना पछि पशिुपतिनाथ मन्दिरको नजिकै रहेको बाग्मती आर्यघाटमा प्राण त्याग गरे ।

तपाइँको प्रतिक्रिया