शनिबार, वैशाख ८, २०८१

शान्ति समाजद्वारा ‘हिमालय बचाउ नदी जोगाउ’ अभियान प्राथमिकतामा राख्न ध्यानाकर्षण

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ भदौ ११ गते १८:५६

मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । संसद सचिवालय सिंहदरबारमा भएको छलफलमा नेपाल राज्यपक्ष भएका मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । साथै बारुदी सुरुङको प्रयोग, भण्डारण तथा ओसारपसार माथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शिघ्र अनुमोदन हुनुपर्नेमा जोड दिइएको छ ।

आजै समाजको प्रतिनिधि मण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि छलफल गरेको छ । राष्ट्रिय सभा सचिवालय सिंहदरबारमा भएको छलफलमा ‘हिमालय बचाउ नदी जोगाउ’ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेकोतर्फ समेत ध्यानाकर्षण गराइएको थियो ।

यसैगरी भदौ ९ गते मन्त्री पम्फा भुसालसँग समस्त नागरिकको उर्जाको अधिकार सुनिश्चित हुने गरि ठोस राष्ट्रिय कार्ययोजना निर्माण गर्न आग्रह गर्दै छलफल गरिएको थियो ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव बन्दना सिंह, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, उमा गौतम संलग्न थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक