बिहीबार, वैशाख १३, २०८१

एनआरएनएमा आफ्नो भोट बढाउन विधानविपरीत नयाँ सदस्य थपेको थप्यै ? केन्द्रीय समितिमा उजुरी

नेपालप्लस संवाददाता / बेलायत२०७८ भदौ १३ गते १७:५८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने निर्वाचनको पूर्व सन्ध्यामा केही एनसीसीहरुले विधानविपरीत आफ्ना मतदाता बढाउन नयाँ सदस्यहरू थपिरहेको भन्दै केन्द्रीय समितिमा उजुरी परेको छ ।

गैर आवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्य तथा ११ आइसिसी सदस्यहरुले केन्द्रीय अध्यक्ष कुमार पन्तलाई छुट्टाछुट्टै पत्र लेख्दै निर्वाचनको घोषणा भैसकेपछि पनि विधान विपरीत सदस्य तथा प्रतिनिधिहरू थपिएको जनाउँदै विधान विपरितका यस्ता कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

‘संघको संशोधित विधान विपरीत ३० जुलाइ २०२१ पछि पनि केही एनसिसीहरूले नयाँ सदस्य बनाइरहेको भन्ने थाहा हुन आएको छ’ उनीहरूले पत्रमा भनेका छन् ।

उनिहरुका अनुसार उक्त मितिसम्म एनसिसी रसियामा ४,७४ सदस्य सूचिकृत छन् । तर अहिले ७, ७२ पुर्‍याइएको छ । न्यूजील्याण्डमा ५,३८ सदस्य कायम रहेकोमा ८,९८ बनाइएको छ । त्यस्तै लक्जम्वर्गमा सदस्य संख्या ६० बाट २,६५ पुर्‍याइएको छ ।

केन्द्रमा दिईएको उजुरी पत्र

“हालै सम्पन्न एनसीसी चुनावमा एमआइएस सिस्टमको दुरूपयोग गरी सदस्यहरूको नाम फेरबदल गरिएको, इमेल परिवर्तन गरिएको, चुनावको नतिजा नै फेरबदल गरिएको भन्ने लिखित उजुरी केन्द्रमा परेको थियो । तर केन्द्रले त्यस्ता गतिविधि रोक्न कुनै पनि पहल नगरेकाले सोही गिरोह योजनावद्ध ढंगले केन्द्रीय चुनावलाई समेत प्रभावित पार्न लागिरहेको बुझिन्छ । तथापी केन्द्रिय समिती यस्ता गलत चलखेल रोक्न किन उदासिन् भएको हो बुझ्न सकिएन”- आइसिसी सदस्यहरुले लेखेको पत्रमा उल्लेख छ ।

यस अघी बेल्जियम, जापान र बेलायतको राष्ट्रिय परिषद निर्वाचनहरुमा निर्वाचन समितिमा रहेका ब्यक्तीहरुले कुनै एउटा पक्षलाई निर्वाचित गराउन विभिन्न चलखेल गरेको गुनासो आइरहेको थियो ।

तर एनआरएनका केन्द्रिय महासचिव डा. हेमराज शर्माले भने एमआइएस सिस्टम बन्द भएका कारणले पुरानै पंजीकृत सदस्यहरुलाई पछी अपडेट गरिएको बताए । उनले भने- “भनिएको समय पछी कुनैपनि देशमा नयाँँ सदस्यहरु थपिएको छैन । पुरानैलाई अपडेट मात्रा गरिएको हो ।”

शर्माका अनुसार रसिया, न्युजिल्याण्ड, लक्जम्वर्ग मात्र नभएर आयरल्याण्ड, डेनमार्क, तान्जानिया र कंगोका सदस्यहरु पनि भर्खरै सिस्टममा अपडेट गरिएको छ । एनआरएन केन्द्रले बोत्सवाना, मादागास्कर, मोजाम्विक, कोष्टारिका र पपुवा न्युगिनीका सदस्य र प्रतिनिधिको नाम एमआइएस सिस्टममा अपडेट गर्न बाँकी रहेको जनाएको छ भने अमेरिका र अष्ट्रेलियाको सदस्यता बिवरण आइनपुगेको बताएको छ ।

तर उजुरीकर्ताहरुले चलाखीपूर्ण तरिकाले जुलाई ३० पछी केन्द्रिय पार्सद र नयाँ सदस्यहरु थपिएको प्रमाण आफुसँग रहेको जनाएका छन् । उनिहरुले भनेका छन्- ‘संघको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवादको छानबिन गर्न एउटा अधिकार सम्पन्न कमिटि गठन गर्न तथा पछि थपिएका सदस्यहरूलाई मान्यता नदिन हामी माग गर्दछौं । ‘यदि संस्थाको बृहत हितमा उठेका कुरालाई बेवास्ता गरि अगाडि बढ्ने प्रयास गरिएमा समग्र संस्थाको हितका लागि उपलब्ध हुने कुनैपनि बाटो अवलम्बन गर्न वाध्य हुने पनि जानकारी गराउँदछौं ।’

त्यस्तै, आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गरिसकेपछि पनि संघका केही पदाधिकारीहरू प्रतिनिधि छनोट गर्न लागिपरेको भन्दै उनीहरूले यसलाई निर्वाचन आचारसंहिताको खुल्ला उल्लंघन भनेका छन् ।

‘यस्तो विषयमा निर्वाचन समितिको भूमिका के हो, प्रष्ट पार्न अनुरोध गर्दछौं’ उनीहरूले पत्रमा लेखेका छन् । संयुक्त पत्र पठाउने आइसीसी सदस्यहरुमा गुणराज शर्मा, चिन्तामणि सापकोटा, सन्तोष जोशी “सुवास”, दयानिधि सापकोटा, रमेश काफ्ले लगायत ११ जना छन । एनआरएनए युरोप संयोजक नारायण आचार्यले अध्यक्ष कुमार पन्तलाई पत्र लेख्दै जुलाई ३० पछी एमआइएस सिस्टममा सदस्यता संख्या थपिनु आपत्तिजनक भएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया