शनिबार, असोज २, २०७८

ए भाई अली चिटिक्क पारिदेउ है !

थानेश्वर सापकोटा२०७८ भदौ १४ गते ०:३९

(माधव नेपालको फोटो सांकेतिक हो । यो फोटो ब्रेक एण्ड लिंक्स डटकमबाट लिएको हो।)

उतिबेला माधव नेपालका गाला चिल्ला थिए । आजभोलि लत्रक्क परेर लत्रिएका छन् । अब बुढा भए यिनी पनि । यिनको एउटा अजीवको सौख छ- फोटा मनग्य खिचिरहनु पर्दछ । पहिले पहिले यिनको कोटको गोजीमा एउटा इत्रुको क्यामेरा हुने गर्दथ्यो । नयाँँ ठाउँमा पुग्ने बित्तिकै कसै न कसैलाई पक्रेर भनिहाल्दथे- “एउटा फोटो खिचिदिनुस् त” । माधव नेपालको फोटो खिच्न पाए को तयार नहोस ? फोटो खिच्ने पनि मख्ख खिचाउने पनि मख्ख ।

साँढे दुई दशक अघीको समय अली अर्कै थियो । मतलव नेताहरुको ‘फेवरमा’ थियो । गालीको तुलनामा ताली नै बढी थियो । अहिले त्यस्तो छैन । राजनीति गर्ने हरेकले गाली खान्छ । तालिको समय पखालिएर गयो । त्यतिबेलै उनका घरमा फोटो एल्बमका खात थिए । आजभोलि कम्प्युटरमा राख्दा हुन । कहिलेकाही हामीले फोटो खिच्दा पनि उनले सुटुक्क भनिहाल्दथे- “धुलाए पछी एक कपी मलाई दिनुहोला है” ।

माधव नेपाललाई कोटेश्वर घरको माथिल्लो तलामा बसेर कालो चिया पिउने बानी परेको थियो । उनी घरको झ्यालबाट अगाडिको मुल ढोकामा चियाउँथे र को मान्छेलाई भेट्ने वा नभेट्ने भनेर निर्णय गर्थे । पत्रकार तिनका प्रिय थिए । किनभने पत्रकारले फोटो खिचिदिन्थे । माधव नेपालसँग एक दशकसम्म चलेका भेटघाट अचम्म लाग्दा थिए । तिनले नेपाल राष्ट्रलाई कस्तो बनाउन चाहन्थे भन्ने कुरा कसैले पनि भेउ पाउन सकेन । खासमा मैले चाही कहिल्यै पत्तो पाइन । तिनको मसिनो बोलेर चर्को भाषाण गर्न सक्ने कला पनि त्यती लोभलाग्दो थिएन । शारिरिक बनावट पनि त्यस्तो आकर्षन गर्ने खालको छैन । पार्टीहरुका राष्ट्र बनाउने एजेण्डाहरु दरवारले छोप्न नसकेका पंचायतका मसीना थोप्ला जस्ता मात्र थिए । देश बनाउन ति थोप्लाले सम्भव थिएन । तथापी हामीलाई सधैंं पंचायतको त्यही थिग्र्यान देखाएर प्रजातन्त्र भनियो । त्यो थिग्र्यानलाई बेच्न पनि गजबको कला हुनु पर्दथ्यो । माधव नेपाल भित्र त्यही कला थियो ।

माधव नेपालको आइडियामा मार्क्सबाद, लेनिनबाद, नेपाली पंचायत र बेलायती प्रजातन्त्रलाई घोलेर नेस्किएको रस एमालेले बेचिरहेको थियो । पसल माधव नेपालले चलाऊँथे । केपी ओली त्यसका कारिन्दा थिए । मान्छेहरुलाई लाग्यो, पसल केपी ओलीकै हो । कुरो त्यहींबाट बिग्रिएको हो । तथापी पंचायतकालमा कहीं कतै नाम नसुनिएका माधव नेपालले झलनाथ, आरके र सीपी लाई उछिन्दै बिच मैदानमा देखापरेका थिए बहुदलताका । इत्रुको कदका ति मान्छेले आफुलाई गज्जव सँग लम्बु बनाएका थिए । होचो मान्छेको अग्लो कद देखेर दुनियाँ चकित थियो । तर माधव नेपाल त माधव नेपाल नै थिए । साना साना कुरामा दुनियाँ जिते जसरी खुशी हुन्थे र त्यस्तै कुरामा प्रलय गए जसरी दुखी पनि हुन्थे ।

“टीभीको अन्तर्वाताका लागि मेकअप पनि गर्नु पर्छ कमरेड”- मैले भनें । उनी गेटमै लिन आएका थिए भने- “हो हो मेक अप गर्नुपर्ने रैछ, अस्ती बीबीसीले पनि मेकअप गर्देको थ्यो” । बुढा मख्ख परेका थिए । जतिखेर पनि उनलाई टोपी लगाइरहनुपर्ने । मेकअप गर्दा झिक्नु पर्‍यो । निकै गाह्रो माने टोपी झिक्न । कपाल झरेको मुडुलो टाउको देखिदा उदेक लाग्दो रैछ । आजभोली जस्तो सहज तरिकाले कपाल रोप्न पाइने भए रोप्ने थिए होला ।

“ए भाई चिटिक्क पार्देउ है”- मेकअप म्यानलाई पिर्लिका हेरेर उनले भने । उसले टाउको हल्लायो । मेकअप सकिंदा उनी साँच्चिकै चिटिक्क परेका थिए । दुई तीन पटक फर्काइ फर्काइ ऐनामा आँफैलाई हेरे र मुसुक्क मुस्कुराए । “हिरो हुनु भाको छ कमरेड” ! “यो देशको हिरो त मै हो नि” । मैले केही भनिन । तर त्यो बेला देखी लगातार ३० वर्षसम्म नेपाली राजनीतिको हलो समाती रहँदा पक्कै पनि जनताले ठम्याए होला को हिरो हो र को होइन भन्ने ।

एउटा कम्युनिष्ट पार्टीको नेता कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा छैन । कितावमा वर्णन गरिएको माओ र स्तालिनको तस्विर हाम्रो दिमागमा पनि छापिएको छ । सम्भवत: कम्युनिष्ट पार्टीको नेता त्यस्तै हुनुपर्दछ । माधव नेपाल त्यस्ता थिएनन् अथवा नेपालमा कम्युनिष्ट पार्टी थिएन । मलाई उनी अली ‘मस्तमौला टाइप’ को लाग्दथ्यो । पछी पछी कस्तो भयो भने उनी पार्टीभित्र उचालिने र छाँट्टिने गरिरहे । मसिनो आवाजमा चर्को बोल्न छोडेनन् । तर तिनको आवाज कहिल्यै कुनै निर्णयमा पुगेन । सडकका भित्तामा टाँसिएका पोष्टरहरुमा छापिएका तिनका फोटोहरु देखाएर मान्छेहरु भन्थे- “एमालेका रामचन्द्र पौडेल” । कुरा गर्ने तर निर्णय गर्न नसक्ने । सामान्य चिया गफमै लत्रक्क पर्ने ।

नेपाली कांग्रेसका नेताबाट सापटी आएको त्यो छवीलाई नेपालले गतहप्ता देखी समाप्त पारीदिएका छन् । मुसुक्क हाँसेर लत्रक्क पर्ने छविलाई उनले सधैंका लागि तिलान्जली दिएका छन् । पार्टी फुटाउने निर्णय सहि या गलत के थियो यो अर्कै विषय हुन्छ होला । मुख्य विषय उनी रामचन्द्र पौडेलको ‘क्यारेक्टर’ बाट मुक्त भए । उनको राजनीतिक जीवनमा कती मान्छे साथमा आए र कती मान्छेले साथ छोडे भन्ने कुरा उनैलाई पनि सम्झना छैन होला । तर पछील्लो समय साथ छोड्ने र हात समात्नेलाई उनले सधैंभरी सम्झिरहने छन् ।

अस्ती मात्रै उनको एउटा कार्यक्रममा खिचिएको तस्वीर सार्वजनिक भयो । जहाँँ छोडेर जानेहरुलाई सम्झेर उनी भावुक बनेका थिए । त्यो तस्वीरले धेरैलाई भावुक बनायो होला । तर कमरेड, छोडेर जानेलाई सम्झेर के रुनु । छोडि जानेहरु त पराइ जस्ता हुन् । रुदै गरेको तस्वीर त चिटिक्क देखिएन । देश कस्तो बन्ला, नयाँँ पार्टी कस्तो बन्ला थाहा भएन । तर तपाईं भने चिटिक्क बन्नु होला कमरेड ।

तपाइँको प्रतिक्रिया

फेसबुक